तिहारमा लोडसेडिङ नहुने प्राधिकरणको दाबी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले लक्ष्मीपूजाका दिनमा देशभर विद्युत्को सहज आपूर्ति हुने दाबी गरेको छ । अघिल्लो वर्ष केही ठाउँमा समस्या देखिए पनि यस वर्ष भने त्यस्तो कुनै समस्या नआउने गरी विद्युत्भार व्यवस्थापन गरेको दाबी गरेको हो ।

नेपालीको दोस्रो ठूलो चाड तिहारलाई ध्यान दिँदै एक हप्ताअघिदेखि नै विद्युत्भारको व्यवस्थापन गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । विद्युत् उपभोगमा कुनै पनि समस्या नआउने भन्दै उनले ढुक्कसँग विद्युत् उपयोग गरी तिहार मनाउन सकिने बताए । बत्तीको चाड तिहारमा तीन वर्षअघि विद्युत्भार कटौती हुँदा तिहार खल्लो भएको थियो ।

०७३ को लक्ष्मीपूजाकै दिन प्राधिकरणले काठमाडौं उपत्यकाबाट विद्युत्भार कटौती अन्त्यको घोषणा गरेको थियो । अहिले देशभर नै विद्युत्भार कटौती छैन । लक्ष्मीपूजाका दिन विद्युत् खपत बढ्ने भएकाले आवश्यक व्यवस्थापन गरिएको उल्लेख गर्दै प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले भने, ‘अब विद्युत् उपभोगको प्रोत्साहन गर्नुपर्ने अवस्था आइसकेको छ, बत्तीमा ढुक्कसँग तिहार मनाउँदा हुन्छ ।’

उनका अनुसार यसपाली लक्ष्मीपूजाका दिन झन्डै एक सय मेगावाट विद्युत्भार थपिने अनुमान छ । गत वर्ष एक हजार १६५ मेगावाट विद्युत्भार लक्ष्मीपूजाको दिनमा थियो । यस वर्ष विद्युत्भार बढेर एक हजार २५० मेगावाट पुग्ने अनुमान प्राधिकरणको छ । किफायती उपकरणको प्रयोग र सचेतनाका कारण विद्युत् व्यवस्थापन गर्न सहज भएको बताइएको छ । तिहारलाई नै केन्द्रित गरेर प्राधिकरणले भारतसँगको विद्युत् व्यापारलाई चुस्त पार्ने प्रयास गरिरहेको प्रवक्ता अधिकारीले बताए ।

सबै जलविद्युत् आयोजनालाई अधिकतम क्षमतामा चलाउन निर्देशन दिइसकेको प्राधिकरणको भनाइ छ । प्राधिकरणको कुल जलविद्युत् क्षमता ५०७ मेगावाट रहे पनि ४०८ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । तिहारका लागि कालीगण्डकी ‘ए’ १४४, मध्यमस्र्याङ्दी ७० र मस्र्याङ्दी ६९ मेगावाट उत्पादन क्षमताको आयोजनाबाट बढी खपत हुने बेलुकीको समयमा पानी जम्मा गरेरै भए पनि पूर्णजडित क्षमतामा विद्युत् उत्पादन गर्ने व्यवस्था मिलाइएको प्रवक्ता अधिकारीले जानकारी गराए ।

तिहारमा उद्योगधन्दा प्रायः बन्द हुने भएकाले पनि विद्युत् वितरण प्रणाली सहज हुने विश्वास प्राधिकरणको छ । ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट थप विद्युत् आयात गर्न सकिने गरी व्यवस्थापन गरिएको छ । ‘तिहारकै लागि भनेर ल्याउनुपर्ने अवस्था छैन’, प्रवक्ता अधिकारीले भने, ‘नेपाल र भारतका सबै प्रसारण लाइनहरू चुस्त बनाइएको छ, आपतकालीन अवस्थामा मात्रै थप आयात गछौँ ।’

अघिपछि सञ्चालनमा नल्याउने गरिएको १४ मेगावाटको हेटौँडा थर्मलप्लान्ट पनि तिहारका लागि आवश्यक परे सञ्चालनको तयारी छ । प्रसारण व्यवस्थापनमा सम्पूर्ण ग्रिड सबस्टेशनमा ट्रान्सफर्मर, ब्रेकर, केवल र अन्य उपकरण मर्मत गरिसकिएको छ । प्राविधिक समस्या आएमा तत्कालै विशेष प्राविधिक टोली खटाउन चौबीसै घण्टा निगरानी हुने जनाइएको छ ।

गत वर्ष लक्ष्मीपूजामा भक्तपुर सबस्टेसनमा मुसाका कारण आएको खराबीसमेत निराकरण गर्ने प्रयास भइरहेको छ । काठमाडौं उपत्यकाभित्रका अन्य ग्रिडर सबस्टेसनलाई समेत तिहार लक्ष्य गरी मर्मत गरिएको छ । वितरण प्रणाली व्यवस्थित गर्न र ओभरलोड हुन नदिन विभिन्न क्षेत्रमा ट्रान्सफर्मर र फेज व्यवस्थापन गरिएको प्राधिकरणले जनाएको छ । ओभरलोड भएका फिडरमा कमभार भएका फिडरबाट विद्युत्भार साट्ने व्यवस्थासमेत मिलाइएको प्रवक्ता अधिकारी बताउछन् ।

काठमाडौंभित्र अन्डरग्राउन्ड रहेको चपली–महाराजगञ्ज ११ किलोभोलट डबल सर्किटलाइन चालु गरिएको र महाराजगञ्ज क्षेत्रमा बालाजु सबस्टेसनमा अउने विद्युत् समस्या उक्त लाइनबाट आपूर्ति गरिने छ । काठमाडौं लैनचौर सबस्टेसनबाट बालाजु र न्यु–चाबहिल दुवैतर्फबाट विद्युत् ल्याउन सक्ने व्यवस्था मिलाइएको छ ।

उपत्यकामा अधिकतम ३५० मेगावाट खपत हुने गरेको बताइएको छ । उपत्यकाअन्तर्गत नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र दोलखा समेटिन्छ । उपत्यका र आसपास जिल्लामा गत वर्ष तिहारमा २८५ मेगावाट विद्युत्भार थियो । यसपटक तिहारमा भने ३२० सम्म पुग्ने अनुमान गरिएको छ । नेपालमा अहिले विद्युत् प्राधिकरणमार्फत ४०९ र निजी क्षेत्रबाट ३५६ मेगावाट उत्पादन छ भने भारतबाट अधिकतम ३८० मेगावाट आयात छ । नेपालमा उद्योग क्षेत्रले दैनिक ३०० मेगावाट विद्युत् खपत गर्ने गरेको छ ।

प्रतिक्रिया