प्रमद्वारा अस्पतालबाटै काम सुरु

काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यमा सुधार आएपछि अनौपचारिक रूपमा अस्पतालबाटै काम गर्न सुुरु गरेका छन् । शारीरिक रूपमा स्वस्थ्य भए पनि संक्रमण फैलन सक्ने अवस्था अझै रहेकाले केही समय अस्पतालमा राख्नुपरेको त्रिवि शिक्षण अस्पतालका चिकित्सकले बताएका छन् ।

प्रधानमन्त्रीले पटक–पटक डिस्चार्ज गर्न आग्रह गरे पनि चिकित्सकले केही समय अझै निगरानीमा राख्नुपर्ने भएकाले छुट्टी दिन नमिल्ने बताएका छन् । चिकित्सकको सल्लाहपछि प्रधानमन्त्री ओलीले बुधबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र ऊर्जामन्त्री वर्षमान पुनसँग पछिल्लो अवस्थाका बारेमा छलफल गरेका छन् । कुर्सीमा बस्न र हिँड्डुल गर्न थालेका प्रधानमन्त्रीले मन्त्रीहरूसँग देशको अवस्था र भइरहेका कामको प्रगति मागेका थिए ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिँदै प्राडा अरुण सायमीले रक्षा, गृह र ऊर्जामन्त्रीसँग अस्पतालमै बैठक राखी आफ्नो कामको सुरुवात गरेको बताए । उनले बुधबार नै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना र महान्यायधिवक्ता अग्नि खरेलसँग पनि कुराकानी गरेका छन् ।

प्रधानमन्त्री ओली स्वास्थ्यमा सुधार भए पनि डिस्चार्ज कहिले गर्ने भन्ने अझै यकिन नभएको उनले जानकारी दिए । ‘डिस्चार्ज यही दिन भन्ने छैन । एक दुई दिन अझै राख्छाैन् । उहाँ डिस्चार्ज हुन्छु भन्नुभएको छ’ उनले भने, ‘तर हामीले फकाई फुलाई राखेका छाैन् । तन्द्रुस्त बनाएर हामी डिस्चार्ज गर्दछाैँ।’

प्रधानमन्त्रीले राम्ररी सुत्ने, खाने गर्न थालेका बताउँदै डा. सायमीले आरामका लागि मात्र केही दिन अस्पतालमा राखिएको बताए । प्रधानमन्त्री ओलीले बुधबार नियमित दालभात र तरकारीसमेत खाएका थिए । अस्पतालका निर्देशक प्राडा. उत्तमकृष्ण श्रेष्ठले गत सोमबार भर्ना भएपछि अहिलेसम्मको अवधिमा प्रधानमन्त्रीको स्वास्थ्यमा प्रत्येक घण्टा सुधार आएको भन्दै एन्टिबायोटिकको कोर्स एक-दुई दिन बाँकी रहेकाले त्यो अवधिसम्म अस्पतालमै रहनु उपयुक्त हुने सल्लाह प्रधानमन्त्री ओलीलाई दिएको जानकारी दिए ।

प्रधानमन्त्रीको पछिल्लो रिपोर्टहरू सन्तोषजनक रहेको र स्वास्थ्य स्थितिमा थप सुधार देखिएको उल्लेख छ । मंगलबार आफैँले दाह्री काटेर बिहानको खाजासमेत खाएका ओली बुधबार शिक्षण अस्पतालको शय्याबाट उठेर कुर्सीमा बसेका थिए ।

बिहीबारदेखि प्रधानमन्त्री ओलीलाई औषधि खान र स्लाइन चढाउनसमेत नपर्ने सायमीले बताए । प्रधानमन्त्री तंग्रिएसँगै बुधबार साँझको खानामा माछाको तरकारीसमेत खाएका छन् । ज्वरो र छातीमा संक्रमण फैलिएसँगै प्रधानमन्त्री ओलीलाई सोमबार बिहान साढे चार बजे त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो ।

प्रतिक्रिया