३५ वर्ष नाघेका गर्भवतीमा बढी मुटुको समस्या

डा.अनिल भट्टराई, विशेषज्ञ, टिचिङ अस्पताल

मान्छेको दैनिकीमा बढेको व्यस्ततासँग मुटुरोगीहरूको संख्यामा पनि तीव्र वृद्धि भइरहेको छ । कामको व्यस्तता, तनाव खानपानको अवस्थामा पनि लापरबाही र गर्भवती महिलामा हुने कुपोषणको प्रभावजस्ता कुराले मुटु रोग बढाइरहेको चिकित्सकहरू बताउँछन् । प्रायः सबै रोग मान्छेका लागि समस्या नै बन्छ अझ मुटु रोगले कतिवेला ज्यान लिन्छ भन्न सकिँदैन । सामाजको आधुनिकताले मान्छेको जीवन शैलीमा धेरै परिवर्तन आएको छ । समयमा खाना नखाने, चिल्लो र तयारी खाना बढी खाने अनेक प्रकारका चिन्ताले सताउनेजस्ता कारणले मान्छेको स्वास्थ्यमा असर पार्ने गरेको छ । यसै सन्दर्भमा टिचिङ अस्पताल महाराजगञ्जमा कार्यरत मुट्ट रोग विशेषज्ञ डा.अनिल भट्टराईसँग सौर्य दैनिका लागि सुभानु आचार्यले गरेको सम्पादित अंशः

नेपालमा मुटु रोगको अवस्था कस्तो छ ?

अहिले नेपालमा कुल जनसंख्याको १० प्रतिशतमा मुटुको विभिन्न प्रकारका समस्या देखिएको छ । विश्व स्वास्थ्य संगठनले तयार पारेको तथ्यांकअनुसार विश्वभर करिब १ प्रतिशत मानिसमा जन्मजात मुटुरोग देखिने गरेको छ ।

मान्छेमा जन्मदै लाग्ने मुटु रोगलाई जन्मजात मुटु रोग भन्ने गरिन्छ । नेपालमा स्वास्थ्य क्षेत्रमा कार्यरत विभिन्न सामाजिक सघं-संस्थाले गरेको मूल्यांकनअनुसार करिब १ प्रतिशत मान्छेमा जन्मजात मुटु रोग देखिने गरेको छ ।

मुटु रोग लागेको मान्छेमा सुरु अवस्थामा कस्तो लक्षण देखिन्छ ?

मुटु रोगको पहिलो लक्षण भनेको बाथ ज्वरो आउने गर्छ । त्यस्तै, मुटुमा अप्ठ्यारो भएको जस्तो हुनु, सास फेर्न समस्या भएको महसुस हुनु, शरीरका विभिन्न मांसपेशीमा असर देखिनुजस्ता लक्षण देखिन्छन् । यस्तै, मुटु रोग जन्मजात लाग्ने अर्काे किसिमको रोग पनि हो । मुटुको नली बन्द हुनुलाई पनि मुटु रोग भनिन्छ । मुटुको नली बन्द भएको अवस्थामा विरामीको मुटु शल्यक्रिया गर्नुको विकल्प हुँदैन ।

मुटु रोगको अर्काे लक्षण भनेको उच्च रक्तचाप पनि होे त्यस्ता मान्छेमा मुटु रोगको बढी जोखिम हुन्छ । नेपालमा उच्च रक्तचापको संख्या बढ्नुमा पनि मुटु रोगीको संख्या बढी भएका हुन् भन्ने बुझिन्छ । उच्च रक्तचापले मुटु र मुटु नलीको बीच भागमा बोसो जम्दै जाँदा साँघुरो बनाउँछ । यसले मुटुमा असर पार्छ ।

मुटु रोगको उपचार नै शल्यक्रिया हो ?

सबै मुटु रोगको उपचार शल्यक्रियाबाट हुन्छ भन्ने छैन । रोग लागेको सुरुको चरण र सामान्य अवस्थामा औषधि, खानपान, व्यायामजस्ता कुराले पनि त्यसलाई नियन्त्रण गर्न सकिन्छ । यो भनेको ९० प्रतिशत मुटु रोगीको उपचार यही विधिबाट हुने गरेको छ । नेपालमा १० प्रतिशत मुटु रोगीको उपचार शल्यक्रियाबाट हुनेगरेको छ ।

सामान्य अवस्थामा मुटु रोगको उपचार औषधि प्रयोग गरेर पनि निको पार्न सकिन्छ । जन्मजात मुटु रोग करिब १ प्रतिशत मानिसमा लाग्ने गर्छ । जन्मजात मुटु रोग लागेका ९० प्रतिशत विरामीकोे शल्यक्रिया भने अनिवार्य गर्नुपर्छ । तर, अन्य ५ प्रतिशतको मुटु रोगमा भने शल्यक्रिया गर्नु पर्दैन । युवा अवस्थाका मान्छेमा लागेको मुटुरोग शल्यक्रियाविना औषधिको प्रयोगले निको हुने गरेको छ ।

मुटुको नली बन्द भएको अवस्थामा उपचारका लागि अस्पताल आउनेहरूको भने शल्यक्रिया नै गर्नुपर्छ । यस्तै, मुटुको नली फुट्ने सम्भावना भएका विरामीको पनि उपचार भनेको शल्यक्रियाबाट मात्रै सम्भव हुन्छ । त्यस्तो अवस्थाका विरामीको उपचारका लागि अरू उपाय सम्भव छैन ।

जन्मजात अवस्थामा मुट्ट रोग कसरी लाग्छ ?

जन्मजात मुट्ट रोग वंशानुगत रूपमा लाग्ने गर्छ । जसका बाबुबाजे वा आमामा मुटु रोगको समस्या छ भने उसको छोरा÷नातिमा त्यो रोग सर्छ । जन्मजात मुटु रोग कुपोषणका कारण पनि लाग्ने गर्छ । बच्चा पेटमा भएकी आमाले सन्तुलित खाना नपाएका कारण कुपोषणले असर गरी मुटुमा समस्या पार्छ । यसैगरी गर्भवती महिलाले गर्भमा बच्चा आएको तीन महिनाभित्र कडा औषधि सेवन गरेको खण्डमा पनि जन्मजात मुटु रोग लाग्ने गर्छ ।

मुटु रोग लाग्नुको खास कारण के हो ?

उच्च भूभागीय क्षेत्रमा बसोबास गर्ने मानिसलाई बढी मटु रोग लाग्ने गर्छ । उच्च भूभागमा अक्सिजनको कमी हुँदा त्यसक्षेत्रमा बस्ने मान्छेमा मुटुको समस्या बढी हुन्छ । रगतमा अक्सिजनको कमी हुँदा मटुमा समस्या हुनाले मुटु रोग लाग्छ । यस्तै ढिला अथवा पाको उमेरमा बच्चा जन्माउनाले पनि बच्चामा मुटु रोग लाग्छ ।

महिलाले ३५ वर्षभन्दा माथिको उमेरका महिलाबाट जन्मिएका बच्चामा पनि यो समस्या हुन्छ । त्यसैले, त्यस्तो ३५ वर्ष नाघेका गर्भवती महिलाले वेलावेलामा मुटुको जाँच गराउनुपर्छ । अर्को ध्यान दिनुपर्ने कुराम के पनि हो भने गर्भवती महिलाले मदिरा र धूमपान गरेमा मुटुरोग बच्चामा मुटु रोग लाग्नसक्ने हुनाले पनि सचेत हुनुपर्छ ।

कस्तो खानपान र जीवनशैली भएका मान्छेमा मुटुरोग लाग्ने सम्भावना हुन सक्छ ?

मानिसको जीवनशैलीका आधारमा लाग्ने मुटु रोग भनेको उच्च रक्तचाप हो । खानपिनमा तलमाथि भई रगतमा कोलेस्टोरको मात्रा बढ्दा पनि मुटु रोग लाग्छ । चिल्लो र बोसोजन्य पदार्थ भएको खाना खाँदा मुटु रोग लाग्न सक्छ । भात र आलुमा गुलियो पदार्थ बढी पाइन्छ ।

भात र आलुले मानिसमा कोलेस्टोर बढाउँदा मुटुमा असर पार्छ । मधुमेहको समस्या हुने मानिसले स्वास्थ्यमा ध्यान नदिँदा मुटु रोग लाग्न सक्छ । मुटु रोगबाट बच्न प्रेसर र डायबिटिज नियन्त्रण गर्नुपर्छ । प्रेसर र डायबिटिज नियन्त्रण गर्ने मानिसलाई मुटु रोग लाग्ने सम्भावना कम हुन्छ ।

शरीरको तौल बढेर गएका एक मानिसमा मोटोपन देखिँदा मुटुरोग लाग्ने सम्भावना बढी हुन्छ । मानिसले दैनिक शारीरिक व्यायाम गर्ने र सन्तुलित खाना खाँदा मुटु रोगबाट बच्न सकिन्छ । शारीरिक व्यायाम नगर्ने मानिसलाई बढी मात्रामा मुटुरोग लाग्छ । यस्तैगरी, दैनिक एकनास चिन्तामा डुब्ने तनावमा रहने मानिसलाई मुटुरोगले बढी सताउँछ ।

कस्तो क्षेत्रमा बसोबास गर्ने मानिसलाई बढी मुटुरोग लाग्न सक्छ ?

काठमाडाैं उपत्यकामा बसोबास गर्ने मानिसलाई मुटु रोगले छिट्टै समाउन सक्छ । काठमाडौं उपत्यकामा बसोबास गर्ने मानिसलाई पछिल्लो १० वर्षमा दुई गुणा बढी मुटुरोग लागेको अस्पतालको तथ्यांकले देखाउँछ । मुटुको नली बन्द हुँदा पछिल्लो समय दुई गुणा बढी मानिसमा मुटु रोगी उपचारका लागि अस्पताल आएका छन् । सहरी वातावरणमा रमेका मानिसले मुटु रोगको समस्या बढी भोग्नुपरेको छ ।

टिचिङ अस्पतालमा दैनिक कतिजना मान्छे मुटु रोगको उपचार गर्न आउने गरेका छन् ?

टिचिङ अस्पतालको ओपिडीमा दैनिक २ सयभन्दा बढी मान्छे मुटुरोगको उपचारका लागि आउने गरेका छन् । टिचिङ अस्पतालमा वर्षको ६ देखि ७ सय मानिस मुटुको शल्यक्रिया गर्ने गरेका छन् । यहाँ हरेकदिन मुटुको शल्यक्रिया गर्ने व्यवस्था छैन । यहाँ हरेकदिन बिराएर मात्रै मुटुकोे शल्यक्रिया गरिन्छ । मासिनको शरीर नचिरी शरीरमा तार छिराएर वर्षको ४ देखि ५ सयको शल्यक्रिया हुने गरेको छ ।

नेपालमा कति प्रतिशत मानिस मुटु रोगी होलान् ?

नेपालका १० देखि १५ प्रतिशत मानिस मुटुरोगी भएको अहिलेसम्मको तथ्यांकले देखाउँछ । सबै मुटुरोग एकै प्रकारका हुँदैनन् । कोही सामान्य अवस्थामा उपचारका लागि आउँछन् । उनीहरूले वेलैमा सचेतना अपनाउँदा आर्थिक र शारीरिक रूपमा धेरै समस्या झेल्नुपर्दैन ।

कडा मुटुरोग लागेको खण्डमा मुटुको शल्यक्रिया अनिवार्य हुन्छ । बाथरोग वा मुटुको भल्ब बिग्रिनु नै कडा किसिमको मुटु रोग हो । जन्मजात मुटु रोगमा मुटुको नली फट्ने समस्या पनि हुनसक्छ । मुटु ब्लक भई मांसपेशीको माध्यबाट पनि मटुरोग लाग्ने गर्छ । मुटुको चाल कम हुँदा मुटु सञ्चालन गराउन प्रेज मेकर हाल्नु पर्छ । यो पनि अर्को उपचार पद्धति हो ।

नेपालमा सामान्य नागरिकले सरल रूपमा मुटुको उपचार कहाँ गराउन उचित होला ?

अहिलेसम्म काठमाडौंमा नै मुटु रोगको उपचार गर्न राम्रो व्यवस्था छ । काठमाडौंबाहेकका अन्य क्षेत्रमा राम्रो मुटु रोगको उपचार पाउन गाह्रो छ । मुटुको शल्यक्रिया र काडियोलोजीको व्यवस्था काठमाडौंमा मात्र उपलब्ध छ । दोस्रो नम्बरमा मुटु रोगको उपचार हुने भनेको धरानमा हो । अन्य रोगका विरामीभन्दा नेपालमा मुटु रोगका विरामी बढी छन् । नेपालमा मुटु रोगका विरामी दिनानुदिन बढी रहेका छन् ।

दुर्गम क्षेत्र जस्तैः कणाली र सुदूर पश्चिममा बसोबास गर्ने विरामीले मुटु रोगको उपचार पाउन सकेका छैनन् । नेपालमा सरकारले एउटा मुटु रोग सेन्टर स्थापना गर्नु अनिवार्य देखिन्छ । दुर्गम क्षेत्रका मानिसले काठमाडौंमा आई मुटुको उपचार गराउन सकेका छैनन् । भौगोलिक रूपमा उनीहरूलाई यहाँ आएर उपचार गराउन र बस्न आर्थिक र अन्य समस्या हुन्छ । त्यसैले यसबारेमा सरकारले सोच्नुपर्छ भन्ने लाग्छ ।

नेपालमा कुन प्रविधिका माध्यमले मुटुको भल्भ फेर्ने गरिन्छ ?

नेपालमा मुटुको लागि आवश्कीय उपकरणको व्यवस्था छ । तर, कृत्रिम मुटु हाल्ने र मुटुको प्रत्यारोपण गर्ने सुविधाको व्यवस्था भने नेपालमा हालसम्म पनि छैन । करिब ९५ प्रतिशत मानिसको मुटु उपचार नेपालमा हुने गरेको छ । नेपालमा मुटुको भल्भ फेर्दा युरोपियन ÷अमेरिकी प्रविधि प्रयोग गरिन्छ । विदेशमा ४÷५ हजार खर्च गरी भल्भ फेर्नुपर्छ । तर, नेपालमा ४÷५ सय रुपैयाँमा भल्भ फेर्न सकिन्छ । मुटुको प्वाल भर्ने विधि संसारभरि एउटै किसिमको हुन्छ । हामीले प्रयोग गर्ने विधि पनि त्यही हो ।

मुटु रोगका कारण विश्वमा वार्षिक कति मान्छेको अकालमै मृत्यु भएको छ ?

विश्वमा करिब ७ दशमलव ५ मिलियम मानिस रहेका छन् । वार्षिक करिब २ करोड मानिसको मुत्यु मुटु रोगकै कारण मृत्यु हुने गरेको छ । विकसित देशमा लगभग ३० प्रतिशत मानिसको मुत्यु मुटु रोगका कारण हुने गरेको छ । अहिले नेपालका मानिसमा बढी देखिएको समस्या नै मुटु रोग हो । नेपालीमा देखिएको दोस्रो रोग भनेको क्यान्सर हो । पश्चिमेली देशमा मुटु रोगले मानिसलाई बढी ग्रसित पारेको छ । मुटुमा देखिने समस्याका कारण संसारका बढी मानिसको मुत्यु हुने गरेको अनुमान विश्व स्वास्थ्य संगठनले गरेको छ ।

जन्मजात मटु रोग लागेको बच्चामा कस्तो लक्षण देखिन्छ ?

जन्मजात मटु रोग लागेको बच्चाले छातीमा हात राख्ने गर्छन् । यस्तै, बच्चाको मुटुबाट असामान्य किसिमको ध्वनि सुनिन्छ । बच्चाको तौल नबढ्नु, बच्चाको तौल ६ महिनासम्म एकै प्रकारको रहनु, बच्चालाई धेरै रुघाखोकी र चिसो लाग्नु जन्मजात मटुरोगका लक्षण हुन् । जन्मजात मटुरोग लागेको बच्चाले आमाको दुध पनि राम्रोसँग चुस्न सक्दैन । यसैगरी बच्चामा अल्छिपन हुनु पनि मुटु रोगको संकेत हो । सामान्यतया साना बच्चा चन्चले हुन्छन् तर, जन्मजात मुटु रोग लागेका बच्चा लोसे सुस्तजस्तो देखिन्छ । त्यस्तो अवस्थामा अभिभावकले उनीहरूको स्वभाव हेरेर स्वास्थ्यमा ध्यान दिनुपर्छ ।

प्रतिक्रिया