राष्ट्रपति कतार जाँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी चारदिने औपचारिक भ्रमणका लागि सोमबार कतार प्रस्थान गर्दै छिन् ।

मित्र राष्ट्र कतारका अमिर शेख हमाद बिन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी कतार प्रस्थान गर्न लागेकी हुन् । दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएपछि उनको यो पहिलो विदेश भ्रमणसमेत हो ।

१५ गते बिहीबारसम्म हुने भ्रमणमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, राष्ट्रपति कार्यालयका विज्ञ माधव शर्मा, परराष्ट्र सचिव शंकरदास वैरागी, राष्ट्रपति कार्यालका सचिव विनोद केसी, नेपाल लगानी बोर्डका कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारी, सञ्चारकर्मी एवं उद्योगीसमेत रहेका छन् । भ्रमणका क्रममा द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउन केन्द्रित हुनाका साथै केही सम्झौतासमेत हुने बताइएको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्राध्यक्षको यस किसिमको भ्रमण मूलतः आपसी सम्बन्ध थप सुमधुर र सुदृढ पार्न केन्द्रित हुने भए पनि अतिरिक्त अन्य विषयमा समेत केन्द्रित हुने जानकारी दिए । ‘कतारमा ठूलो संख्यामा रहेका नेपाली कामदारको सुरक्षा र सरोकारका विषयमा विशेष छलफल हुनेछ । भ्रमण टोलीमा नेपालका उद्योगी व्यवसायीसमेत सहभागी हुने हुनाले नेपाल र कतारका बीचमा व्यापार विस्तारका क्षेत्रमा समेत छलफल केन्द्रित रहनेछ ।’ मन्त्री ज्ञवालीले जानकारी दिए ।

यसैगरी, नेपालमा कतारको लगानी र प्रविधि मूलतः कृषि र पूर्वाधार निर्माणका क्षेत्रमा भित्र्याउने सम्बन्धमा विशेष छलफल हुने र सोहीअनुरूपका केही सम्झौता हुनेछन् । नेपालको हिमाली पानी प्रशोधन गरी कतारमा निर्यात गर्ने विषयमा समेत छलफल अगाडि बढेको मन्त्री ज्ञवालीले बताए ।

नेपाल र कतारबीचको आवागमनलाई सहज र निकट बनाउनका लागि सीधा हवाई उडान र कूटनीतिक राहदानीवाहकलाई प्रवेशाज्ञाविना नै आवतजावतको अनुमति दिने सम्बन्धमा समेत छलफल हुने बताइएको छ । राष्ट्रपतिको भ्रमणलाई आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले पनि अनुमोदन गरेको छ ।

बैठकपछि सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले भ्रमणका क्रममा कृषि तथा पशुपक्षी विकास, स्वास्थ्य, सुरक्षा सहयोग, प्रेस तथा सूचना, कूटनीतिक राहदानी बाहकहरूलाई दुवै देशले छुट दिने समझदारी पत्रमा हस्ताक्षर हुने जानकारी दिए ।

प्रतिक्रिया