प्रमलाई थप आराम गर्न सुझाब

काठमाडाैं । दुई दिनदेखि मौसमी रुघाखोकी र हल्का ज्वरोको समस्याका कारण निवासमै आराम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्यमा सुधार आएको छ ।

स्वास्थ्यमा सुधार आएपछि प्रधानमन्त्री आइतबार करिब १० मिनेट जति मन्त्रिपरिषद् बैठकमा सहभागी भएका छन् । दुई महत्वपूर्ण निर्णय गर्नैपर्ने भएकाले उनले आइतबार पूर्णरूपमा स्वस्थ नहुँदा पनि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

बैठकले राष्ट्रपतिको कतार भ्रमण र मलेसियासँग श्रम सम्झौतासम्बन्धी निर्णय गरेको छ । छोटो समय उपस्थित प्रधानमन्त्री ओलीले बैठकबाट निर्णय मात्र गराएका थिए । यस्तै, मन्त्रपरिषद्ले गोरखापत्र संस्थानका महाप्रबन्धक वसन्तप्रकाश उपाध्यायलाई पदमुक्त गर्ने निर्णय पनि गरेको छ ।

बिहीबारबाट अस्वस्थ्य भएका उनी शुक्रबार र शनिबारका महत्वपूर्ण कार्यक्रममा सहभागी भएनन् । शुक्रबार बस्ने मन्त्रिपरिषद्को बैठक र शनिबार नेकपाको चियापानमा उनी सहभागी भएनन् । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे विभिन्न टीकाटिप्पणी भएपछि आइतबार प्रधानमन्त्री कार्यालयको सचिवालयले विज्ञप्ति जारी गरेको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले एक प्रेस नोट जारी गर्दै उनी मौसमी रुघाखोकी र हल्का ज्वरोबाट सामान्य अस्वस्थ्य भएकोले चिकित्सकको सल्लाहबमोजिम दुई दिनदेखि नियमित भेटघाट र बैठकबाट टाढा रहेको उल्लेख गरिएको छ । प्रेस नोटमा स्वास्थ्यमा सुधार भएको उल्लेख गर्र्दै पूर्ण सुधार भएपछि सार्वजनिक कार्यक्रममा सहभागी हुने उल्लेख छ ।

प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिलीप शर्माका अनुसार उनको स्वास्थ्यस्थितिमा शनिबारको तुलनामा आइतबार सुधार देखिएको छ । ‘मौसमी रुघाखोकी र ज्वरो देखिएपछि प्रधानमन्त्रीलाई भेटघाट, बैठक र भिडभाडभन्दा टाढा रहन सल्लाह दिएका हाैँ’ उनले भने । चिकित्सकका अनुसार हाल प्रधानमन्त्री ओलीलाई एउटा साधारण एन्टिबायोटिक र रुघाखोकीको औषधि दिइएको छ । उपचारमा संलग्न चिकित्सकले उनलाई थप तीन दिन औषधि सेवनसँगै निवासमै आराम गर्न सल्लाह दिएका छन् ।

प्रधानमन्त्री ओली दुवै मिर्गाैला प्रत्यारोपण गरेपछि अस्वस्थ्य हुँदै आएका छन् । उनी पटक–पटक स्वास्थ्य परीक्षण गराउन सिंगापुर गए पनि विगत एक वर्षदेखि गएका छैनन् । गतवर्ष संघ र प्रदेशको निर्वाचनपछि उनी स्वास्थ्य परीक्षण गराउन सिंगापुर गएका छैनन् ।

ओलीको दौडधुपले समेत अस्वस्थ्य भएका हुन् । पहिले फंगल्स संक्रमणका कारण दायाँ हात सुन्निने भएपछि उनी बैठक गएका थिए । ओली एमालेको अध्यक्षमा उम्मेदवार हुदा पनि बढी दौडधुप गरेका थिए । त्यसपछि पनि उनी लगातार उपचारका लागि सिंगापुर जाने गरेका थिए ।

स्थायी कमिटी बैठक स्थगित

पार्टी एकताका लागि बोलाइएको नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक पुन सरेको छ । पार्टी एकताका आवश्यक प्रक्रिया अगाडि बढाउन सोमबारका लागि बोलाइएको बैठक पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली अस्वस्थ भएपछि सारिएको हो ।

महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा बादल दुई जनाको कार्यदलले काम नसकाएको र ओली अस्वस्थ्य भएकाले बैठक सारिएको हो । कार्यदलले प्रदेश कमिटीलाई पूर्णता दिनुको साथै केन्द्रीय कमिटीका सदस्यहरूको कार्यविभाजन गर्दै स्थायी कमिटीमा पेस गर्न भनिएको थियो ।

तर, कार्यदलले कुनै काम नै गर्न सकेको छैन । एक महिनाअघि सचिवालय बैठकले स्थायी कमिटी बैठकको कार्यसूची तय गरे पनि स्थायी कमिटी बैठक बस्न सकेको छैन । ४५ जनाको स्थायी कमिटी पार्टी एकता भएपछि एकपटक मात्र बसेको छ । प्रत्येक तीन÷तीन महिनामा बस्नुपर्ने स्थायी कमिटी बैठक असार २१ गतेयता बस्न सकेको छैन ।

सचिवालय बैठकले एकताबारे ठोस निर्णय गर्न नसकिरहेका वेला स्थायी कमिटीले त्यसलाई अगाडि बढाउने अपेक्षा गरिएको थियो । एमाले र माओवादीबीच एकता भएको पाँच महिना बितिसक्दा पनि पार्टीको तल्लो तहसम्मको एकता हुन सकेको छैन । एकता नहुँदा तल्लो तहका नेता कार्यकर्तामा नैराश्यता एंव भूमिकाविहीन जस्ता भएका छन् ।

नेकपाका तल्ला तह पनि सञ्चालन हुन नसक्दा जनतामा नेकपाको गतिविधि प्रायः शून्यजस्तै अवस्थामा रहेको छ । निर्माण व्यवसायी र इन्जिनियरको मात्र एकता भएको छ । अन्य १९ वटा जनवर्गीय संगठनको एकता प्रक्रिया अझै सुरु हुन सकेको छैन ।

प्रतिक्रिया