ट्रम्पको फोन ट्याप गरिएको छैनः चीन

बेइजिङ । चीनले अमेरिकी राष्ट्रपतिका निजी कलहरू गोप्य रूपमा सुन्ने गरेको वा ट्याप गरेको भन्ने खबरहरूलाई अस्वीकार गर्दै बेइजिङले एक व्यंग्यपूर्ण जवाफ दिएको छ । उसले राष्ट्रपति ट्रम्पलाई एप्पलको आइफोनको साटो चिनियाँ मोडलको फोन प्रयोग गर्न सल्लाह दिएको छ ।

न्युयोर्क टाइम्स पत्रिकामा प्रकाशित रिपोर्टमा ट्रम्पको विचार बुझ्न उनको निजी आइफोनबाट गरिएका कलहरू चीन र रूसले गोप्य रूपमा सुन्ने गरेको उल्लेखित गरिएको थियो । सो रिपोर्टमा ट्रम्पका सहयोगीहरूले राष्ट्रपतिलाई त्यस्ता कल असुरक्षित भएको भन्दै सजग गराएका थिए ।

तर, राष्ट्रपति ट्रम्पले भने सो रिपोर्ट अस्वीकार गरेका छन् । ट्वीट गर्दै आफूले केवल सरकारद्वारा अनुमोदित फोन लाइन मात्र प्रयोग गर्ने गरेको उनले बताए ।

सोही रिपोर्टबारे सोधिएको प्रश्नको चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ताले बिहीबार व्यंग्यपूर्ण जवाफ दिइन् । ‘त्यो रिपोर्ट पढेर मलाई के लागिरहेको छ भने आज अमेरिकामा त्यस्ता मानिस छन् जसले कथा लेखनमा ओस्कार पुरस्कार पाउन खोजिरहेका छन्,’ प्रवक्ता ह्वा चुनयीँगको भनाइ छ ।

उनले भनिन्, ‘यदि, उनीहरू एप्पल फोनको सुरक्षालाई लिएर साँच्चिकै चिन्तित छन् भने उनीहरूले हुवावे प्रयोग गर्न सक्छन् ।’ हुवावे चिनियाँ मोबाइल कम्पनी हो । ‘अझ पनि चिन्ता भए उनीहरूले सबै आधुनिक सञ्चार उपकरण त्यागेर बाहिरी विश्वसँग नाता तोडे पनि हुन्छ ।’

रूसले पनि अमेरिकी रिपोर्टमा उल्लेखित गरिएका आरोप अस्वीकार गरेको छ ।

प्रतिक्रिया