विश्व

ब्राजिलमा राष्ट्रपति चुनाव : बामपन्थीसंग कडा टक्कर

पहिलो चरणमा दक्षिणपन्थी उम्मेदवार अगाडि

एजेन्सी २०७५ असोज २२ गते ९:०२ मा प्रकाशित

ब्राजिल । पहिलो चरणमा कुनै पनि उम्मेदवारले आवश्यक ५० प्रतिशत मत नल्याएकाले ब्राजिलमा दोश्रो चरणको निर्वाचन हुने भएको छ ।
उग्र–दक्षिणपन्थी उम्मेदवार जइर बोल्सोनारु ब्राजिलको पहिलो चरणको राष्ट्रपतीय चुनावमा विजयी भएका छन्।

अक्टोबर २८ मा हुने दोस्रो चरणको चुनावमा उनले बामपन्थी वर्कर्स पार्टीका उम्मेवार फर्नाडू अडाडको सामना गर्नेछन्। जइर बोल्सोनारुले जितका लागि आवश्यक ५० प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको चुनाव हुने भएको हो।

लगभग सबै मत गणना भइसक्दा बोल्सोनारुले ४७ प्रतिशत मत हासिल गरेका छन् भने अडाडले २८ प्रतिशत मत ल्याएका छन्। जनमत सर्वेक्षणहरूले दोस्रो चरणको चुनावमा दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखाएका छन्।

साओ पाउलोका पूर्व नगर प्रमुख फर्नान्डू अडाडलाई पूर्व राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले समर्थन गरेका छन्।  जनमत सर्वेक्षणहरूले देखाएका नतिजा विपरीत जइर बोल्सोनारुले पहिलो चरणबाटै निर्वाचित हुने अपेक्षा गरेका थिए।

आइतवार मतदानमा उपस्थित भएका बेला उनले आफ्नो आत्मविश्वास दर्शाउँदै भने, ‘अक्टोबर २८ मा चाहिँ हामी सबै समुद्री तटमा जानेछौँ।’

हप्तौँदेखि बोल्सोनारुका समर्थकहरूले उनी निःसन्देह विजयी हुने बताउँदै आएका छन्। बोल्सोनारु अगाडि देखिए पनि भावी नेता उनी अथवा फर्नान्डू अडाड को हुने भन्ने अन्तिम नतिजाका लागि ब्राजिलका मतदाताहरूले अर्को तीनहप्ता कुर्नुपर्ने हुन्छ।

ब्राजिलले अहिले आफूलाई निकै विभाजित र कमजोर पाइरहेको छ। मतदाताहरूसँग कुरा गर्दा तपाईँ महसुस गर्न सक्नुहुन्छ। मलाई धेरै मतदाताले आफूहरूले ‘कम खराब’ उम्मेदवारलाई जिताउने बताएका छन्। अर्को तप्का छ जो वर्कर्स पार्टीलाई कहिल्यै सत्तामा आउन दिन चाहँदैन।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय