जनताका गुनासालाई शिरोधर गर्दै आगाडि बढ्नेछौँ

स्थानीय तहको निर्वाचनमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी एमालेबाट उम्मेदवार बनेका चक्र कार्की अध्यक्ष पदमा विजयी भएका हुन् । स्थानीय तहको निर्वाचनका वेला तत्कालीन नेकपा एमालेका बैतडी जिल्लाका उपसचिव रहेका अध्यक्ष कार्की सनातन धर्म माविको प्रारम्भिक कमिटी अध्यक्ष हुँदै ०४९ सालमा अनेरास्ववियु, ०५२ सालमा युवासंघको जिल्ला कमिटी सदस्य बनेका थिए । ०६४ सालमा युवासंघको जिल्ला कमिटीको अध्यक्ष भएका कार्की ०६८ सालमा युवा संघको महाकाली अञ्चल कमिटी सचिव भएका थिए । स्नातक गरेका उनी ०५४ सालमा साविकको देउलेक गाविसको अध्यक्षमा समेत निर्वाचित भएका थिए । अध्यक्ष कार्की ०२९ साल १५ असोजमा जन्मेका हुन् । स्थानीय तहको निर्वाचनमा विजयी भएर एक वर्षको अवधिमा गरेका कार्यहरू तथा भावी योजनाबारे केन्द्रित रही सौर्यकर्मीले गरेको कुराकानी ः

 

आव ०७४/७५ को बजेट खर्च गर्न कति सफल भयौँ ?
गत आवको बजेट शतप्रतिशत खर्च गर्न सफल भएका छौँ । पँुजीगत खर्च सबै खर्च गरेका छाँै । पहिलो वर्षको अनुभवमा पनि हामीले धेरै रकम खर्च गरेका छाँै । केही योजना मात्र क्रमागतमा राखेका छाँै । बाँकी योजना सम्पन्न गरिसकेका छौँ ।

एक वर्षको कार्यकालमा के के गर्नुभयो ?
कर्मचारीको अभाव भौतिक संरचनाको अभावका बाबजुत पनि आवश्यकताको आधारमा सबैलाई समेट्ने ढंगले योजना बनाएका थियौँ । एक वर्षमा हामीले जनताका हितका लागि हुने कामको सुरुआती गरिएको छौँ । कृषि, भौतिक पूर्वाधार निर्माण, स्वास्थ्य शिक्षा क्षेत्रमा, पर्यटनको क्षेत्रमा, विकास निर्माणका काम, महिला हिंसा न्यूनीकरणका कामहरू, आर्थिक विकास, लघुउद्यम, शैक्षिक गुणस्तर वृद्धि गर्ने कार्यको थालनीजस्ता काम गरेका छौँ ।

निर्वाचनको समयमा जनतालाई दिएका वाचा कति पूरा गर्नुभयो र कति बाँकी छन् ?
निर्वाचनको वेला गरेका गरेका प्रतिबद्धता अहिले नै पूरा हुनेभन्दा पनि हामी पूरा गर्ने बाटोमा छौँ । अगामी चार वर्षको अवधिमा ती सबै पूरा हुन्छन् । चुनावी प्रतिबद्धताभन्दा पनि एक टोल एक सडक, एक वडा एक चक्रपथ बनाउने कार्य जारी छ । २० वटा सडक निर्माणको कार्य जारी राखेका छौँ । गाउँपालिकाको वडा–१ को केन्द्रबाहेक अन्य वडाहरूमा सडक पु¥याइसकेका छौँ ।

अगामी आवमा १ नं. वडाको केन्द्रसम्म पनि सडक पु¥याउनेछौँ । पिसिसी बाटाहरू, सिँचाइ, खानेपानी, एक घर एक धारा अभियान चलाइरहेका छौँ । चारवटा सोलार पम्पिङ प्रविधिबाट खानेपानी योजना लगाएर ३२ वटा खानेपानी आयोजना निर्माण सम्पन्न गरिसकेका छौँ । धार्मिक पर्यटनका लागि पनि मठमन्दिर जोड्ने बाटाहरू पिसिसी गरेका छौँ ।

युवाको क्षेत्रमा के काम गर्नुभयो ?
हामीले युवाहरूलाई विभिन्न क्षेत्रमा तालिम दिएका छौँ । खास गरी कृषि र पशुपालनमा अनुदान दिएका छाँै । यहाँको भौगोलिक वनोटको अधारमा हामीले सोही अनुसारका कार्यक्रम सञ्चालन गरेका थियौँ । १ सय ३३ जना युवालाई कृषि र पशुपालनमा तालिम दिई अनुदान दिएका छाँै ।

प्रदेश सरकार र संघीय सरकारबाट के कस्तो सहयोगको अपेक्षा गर्नुभएको छ ?
हामीले खास गरेर प्रदेश सरकार र संघीय सरकारबाट ठूला योजना परियोजना निर्माणका लागि सहयोगको अपेक्षा गरेका छौँ । प्रदेश सरकारको बजेटमा केही गाउँपालिकाभित्रका योजना समेटिएको भए पनि त्यो मात्रै पर्याप्त छैन । गाउँपालिकाको समानीकरण अनुदान पनि बढाउनुपर्छ । हरेक कामहरू गर्दा स्थानीय तहसँग समन्वय गरेर अगाडि बढ्नुपर्छ भन्ने हाम्रो चाहना हो । यसो गर्दा योजना निर्माण कार्य प्रभावकारी रूपमा अगाडि बढ्छन् ।

गाउँपालिकामा कर्मचारीको अभावका कारण काम गर्न कतिको समस्या भयो ?
पक्कै पनि कर्मचारी नहुँदा सुरुआती समयमा काम गर्न निकै कठिनाइ भयो । खास गरेर प्राविधिक कर्मचारी अभाव खड्किएको थियो । जुन गतिमा काम हुनुपर्ने हो, त्यसरी हुन सकेन ।

हाल आएर त्यो समस्या समाधान हुँदै गएको छ । पहिलो वर्ष कर्मचारीको अनुभवको कामले तथा जनप्रतिनिधिसमेत अलमलमा परेका थिए । कर्मचारी अभावमा भौतिक पूर्वाधार तथा आन्तरिक व्यवस्थापनमा समस्या देखिए पनि हामी निराश छैनौँ । जनताको हितको कामका लागि निरन्तर लागिरहेका छौँ ।

योजना छनोट तथा कार्यान्वयनका कामहरू जनप्रतिनिधि आइसकेपछि कसरी हुँदै छन् ? विगतमा आवश्यकताभन्दा पनि व्यक्तिमुखी योजना हुने गरेका थिए । हामीले योजना छनोट तथा कार्यान्वयन गर्दा व्यक्ति केन्द्रित भन्दा पनि आवश्यकताको आधारमा गरिरहेका छौँ । विगतमा सर्वदलीय संयन्त्रले गर्ने कामभन्दा फरक ढंगले अगाडि बढाइरहेका छौँ । कामको गुणस्तरमा विशेष ध्यान दिएका छौँ । यसका साथै अनुगमनको पाटोलाई कडाइका साथै लागू गरेका छौँ ।

दोगडाकेदार गाउँपालिका अगामी चार वर्षमा कस्तो गाउँपालिका बन्छ ?
हामीलाई आधारभूत आवश्यकताका रूपमा खानेपानी र बिजुली देखिएको छ । त्यसैले यसलाई कार्यान्यवन गर्ने पक्षमा छौँ । ऊर्जा वर्ष बनाउने विषयमा दुईमत छैन ।

सबैभन्दा अगाडि ऊर्जाको कार्यक्रम दोगडाकेदारमा सञ्चालन भएकाले यसको कार्यान्वयन गरी नमुना तथा उज्यालो दोगडाकेदार बनाउँछौँ । यो आवमा पनि धेरै विपन्न, दलित, अपांग एकल महिला, गरिबहरूलाई निःशुल्क सोलार वितरण गरेका छाँै । चार वर्षपछि दोगडाकेदार गाउँपालिकाको प्रत्येक टोलमा सडक पुगेको हुनेछ ।

प्रत्येक घरमा खानेपानीको धारा हुनेछ । हरेक टोलहरूमा पिसिसी बाटो हुनेछन् । कम्तीमा पनि सिँचाइयोग्य जमिनमा सिँचाइको व्यवस्था गर्छौं । मासु, अण्डा र फलफूलमा आत्मनिर्भर हुँदै निर्यात योग्य बनाउनेछौँ ।

प्रविधिको क्षेत्रमा गाउँपालिकामा भइरहेका कामहरू केके हुन् ?
विभिन्न चुनौतीबीच प्रविधिलाई पनि हामीले सँगसँगै अगाडि बढाएका छौँ । गाउँपालिका कार्यालयमा सिसिटिभी क्यामेरा जडान, इन्टरनेट जडान तथा वाइफाई, ई–हाजिरी सुरु गरिसकेका छौँ भने पालिकाभित्र रहेका चार विद्यालयमा इन्टरनेट जडान गरिएको छ । यस्तै, अगामी वर्षहरूमा बाँकी रहेका माध्यमिक विद्यालयमा इन्टरनेट जडान गरिन्छ ।

ई–लाइब्रेरी, ई–पाटी, पोजेक्टरको माध्यमबाट पढाइ गर्ने तयारी छौँ । कम्तीमा पनि एउटा वडामा रहेको एउटा विद्यालयलाई प्रविधिमैत्री बनाउँछौँ । गाउँपालिकाका सबै आठ वटै वडा कार्यालयमा इन्टरनेट जडान गर्ने तयारी छ ।

यति काम गर्दागर्दै पनि नागरिकका गुनासा कति आउँदै छन् ?
नागरिकको गुनासो आउनु स्वाभाविक हो, तर गुनासो गरिहाल्ने समय भने भएको छैन । नागरिकको चाहनाबमोजिम नै योजना, नीतिनियम बनेका छन् । कर्मचारी, पदाधिकारी, जनप्रतिनिधिको संख्या र क्षमताले भ्याएसम्म काम गरेका छौँ । जनचाहनाभन्दा पनि बढी काम भएको छ । जनताको गुनासो नै हाम्रा लागि अझै अगाडि बढ्ने पेरणादायी बाटो हो । त्यसैले जनताका आएका गुनासालाई शिरोधर गर्दै आगाडि बढिरहेका छौँ ।

अन्त्यमा गाउँपालिकावासीलाई के भन्न चाहनुहुन्छ ?
यस गाउँपालिकामा सबै कुरा सम्भव छ । अलिक मिहिनेत गर्ने बानीको विकास गर्न जरुरी छ । सबैको साथ र सहयोगको खाँचो छ । गाउँपालिकालाई केही नयाँ बनाउने, नमुना बनाउने कुरामा पदाधिकारी, जनप्रतिनिधि तथा कर्मचारीले गरेर मात्रै हुँदैन । यहाँका सबै पालिकावासीको साथ र सहयोग पाए बैतडीका अन्य स्थानीय तहभन्दा दोगडाकेदार गाउँपालिका पाँच वर्षमा सबैभन्दा अगाडि हुनेछ ।

प्रतिक्रिया