विद्यालयको गुणस्तर सुधार्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव र विभागीय प्रमुखहरूलाई परिवर्तनशील ढंगबाट काम गर्न निर्देशन दिएका छन् । मन्त्रालयमा आयोजित कार्यशाला गोष्ठीमा मन्त्री पोखरेलले नयाँ शैली तथा ढंगबाट सामुदायिक विद्यालयको गुणस्तर सुधार्न निर्देशन दिएका हुन् ।

पोखरेलले भने ‘अब पुरानो ढंगबाट काम गरेर हुँदैन । नतिजामुखी भएर अगाडि बढ्नुहोस् । जनताप्रति उत्तरदायी भएर नतिजा आउनेगरी काम गर्नुपर्ने अवस्था आएको छ ।’ मन्त्री पोखरेलले सामुदायिक विद्यालयहरूलाई रूपान्तरणको प्रक्रियामा लैजाने निर्णय भएको जानकारी गराउँदै अब विद्यालय सुधारका कार्यक्रम ल्याउन पनि निर्देशन दिए ।

प्राविधिक शिक्षा र जिवन उपयोगी शिक्षा अनिवार्य आवश्यक भएको उल्लेख गर्दै मन्त्री पोखरेलले ज्ञान र सीपमा आधारित शिक्षा प्रदान गर्नेगरी शिक्षाको पुर्नसंरचना आवश्यक भएको बताएका छन् । शिक्षामा विज्ञान र प्रविधि अनिवार्य जोड्नुपर्ने बताउँदै मन्त्री पोखरेलले विज्ञान र प्रविधिलाई बुझेर विकास गर्नुपर्ने बताए ।

‘हामी शिक्षाको आमूल परिवर्तनको पक्षमा छौँ । सुधारको सूचांक देखिएको छ, नयाँ ढंगबाट शिक्षाको पुर्नसंरचना गर्दा समस्या देखिन सक्छन्’ मन्त्री पोखरेलले भने ‘तपाईंहरू नेतृत्वमा हुनुहुन्छ नेतृत्वले समस्याको समाधान पनि खोज्नुपर्छ ।’

राष्ट्रले मागेको भन्दा आफूअनुकूल निर्णय गर्ने परम्पराको अन्त्य गर्नुपर्ने बताउँदै मन्त्री पोखरेलले नतिजामा आधरित भएर सबैको कामको मूल्यांकन हुने बताएका छन् । मन्त्रालयको आयोजनामा बिहीबारबाट आर्थिक वर्ष ०७५÷७६ मा प्रदेश सरकार मातहत सञ्चालन हुने शिक्षा सम्बद्ध कार्यक्रमहरू कार्यान्वयन सम्बन्धमा अभिमुखीकरण कार्यक्रम सुरु भएको छ ।

कार्यक्रममा मन्त्रालयका सहसचिव एवं योजना महाशाखा प्रमुख बैकुण्ठप्रसाद अर्यालले आ.व. ०७५÷७६ को शिक्षा तथा विज्ञान प्रविधिसम्बन्धी बजेट तथा कार्यक्रमको प्रस्तुति गरेका थिए । प्रदेश तहमा शैक्षिक कार्यक्रम कार्यान्वयनसँग सम्बन्धित समस्याहरूको पहिचान गरी समाधानका उपायहरू पहिल्याउने उद्येश्यले कार्यक्रम आयोजना गरिएको महाशाखा प्रमुख अर्यालले बताए ।

संघ प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्यका उपयुक्त विधि पहिचान गर्न, शैक्षिक कार्यक्रमको प्रगति प्रतिवेदन मोडालिटी र कार्यान्वयन विधि पहिचान गरी कार्यान्वयन गर्न गोष्ठीले सहयोग गर्ने अर्यालले बताए ।

बिहीबार र शुक्रबार दुई दिन सञ्चालन भएको गोष्ठीमा चालु आर्थिक वर्षको वार्षिक बजेट कार्यक्रमको कार्यान्वयन, प्रदेशमा शैक्षिक कार्यक्रम सञ्चालनको क्रममा देखिएको समस्या, समाधानका उपाय तथा आगामी योजना, केन्द्र र प्रदेशबचिको समन्वय लगायतका विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया