हिन्द महासागरबाट नाविकको उद्धार


नयाँदिल्ली । हिन्द महासागरको मध्यभागमा फसेका एक गम्भीर घाइते भारतीय नाविकको उद्धार गरिएको अधिकारीहरूले बताएका छन् । आँधीका क्रममा शुक्रबार डुंगामा नराम्ररी क्षति पुगेपछि पश्चिमी अस्ट्रेलियादेखि ३२ हजार किलोमिटर पर हिन्द महासागरमा नाविक अभिलाष टमी फसेका थिए । ‘गोल्डेन ग्लोब’ नामक डुंगा दौड प्रतियोगितामा उनले सहभागिता जनाइरहेका थिए ।

आफ्नो शरीरको पछाडिको भागमा गम्भीर चोट लागेको भन्दै टमीले प्रतियोगिताका आयोजकलाई सन्देश पठाएका थिए । भारतीय नौसेनाका प्रवक्ता कप्तान डिके शर्माले पत्रकारहरूलाई भने, ‘टमीलाई स्ट्रेचरमा राखेर उनको डुंगाबाट बाहिर निकालिएको हो । उनी होसमा छन् र सकुशल छन् ।’ भारतसहित विभिन्न मुलुकका उद्धार टोली टमीको उद्धारका लागि खटिएका थिए।

तर, माछा मार्न प्रयोग गरिने फ्रान्सको एउटा पानीजहाजले उनलाई भेट्टाएको हो । सो पानीजहाजमा एकजना डाक्टरका साथ एउटा स्ट्रेचर पनि थियो । आफूसँग भएको स्याटेलाइट फोनले काम गर्न बन्द गरेपछि एउटा ‘टेक्टिङ युनिट’ बाट टमीले सञ्चार सम्पर्क गरेका थिए ।

शरीरको पछाडिको भागमा गम्भीर चोट लागेको र आफू चल्न एवं खानपिन गर्न नसक्ने अवस्थामा पुगेको भन्दै टमीले सन्देश पठाएका थिए । प्रतियोगिताका आयोजकका अनुसार टमीले आइतबार अर्को सन्देश पठाए, ‘आइस टीको भारी बोकेको छु, त्यही खाइरहेको छु । तारन्तार बान्ता भइरहेको छ, छाती पोलिरहेको छ ।’

११ जनामध्ये अधिकांश प्रतियोगी अझ उत्तरतर्फ बढिसकेका थिए र उनीहरू आँधीबाट जोगिएका थिए । फ्रान्सबाट जुलाइ १ देखि सुरु भएको प्रतियोगिताबाट अहिलेसम्म सात वटा डुंगा बाहिरिइसकेका छन् ।

प्रतिक्रिया