लिगको उद्घाटनमा आर्मीको प्रतिद्वन्द्वी एनआरटी


काठमाडौं । लामो समयपछि पुनः सञ्चालनमा आउन लागेको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उद्घाटन खेलमा न्युरोड टिम (एनआरटी) र विभागीय टोली त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् । करिब ४ वर्षपछि हुन लागेको लिगलाई एनआरटी र आर्मीले यादगार बनाउने अवसर प्राप्त गरेका छन् ।

पहिलोपटक रेलिगेसनविना हुन लागेको लिगमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार जारी गरेको ‘ड्र’ अनुसार आगामी १३ असोजमा एनआरटीले विभागीय टोली आर्मीविरुद्ध चुनौती प्रस्तुत गर्नेछ । पहिलो चरणको खेलअन्तर्गत एनआरटी र आर्मीबीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा अपराह्न ३ बजे हुनेछ ।

सोही दिन उद्घाटन समारोह हुने भएकाले १ खेल मात्र खेलाइने एन्फाले जनाएको छ । पहिलो चरणमा हुने ७ खेलमा दोस्रो दिनदेखि प्रतिदिन २ खेल हुनेछ । कुल १४ क्लबले प्रतिस्पर्धा गर्ने लिग १६ माघसम्म चल्नेछ । यसअघि, थ्री–स्टार र मनाङ मस्र्याङ्दीलाई दाबेदार मानिँदै आएको लिग लामो समयपछि हुन लागेकाले सबै क्लब राम्रो तयारीमा छन् ।

लिगमा नेपाल पुलिस, एपिएफ, आर्मी, जावलाखेल युथ, फ्रेन्ड्स, संकटा, मच्छिन्द्र, सरस्वती युथ, च्यासल युथ, एनआरटी, ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले खेल्नेछन् । राउन्ड रोबिन लिगको आधारमा हुने प्रतियोगितामा कुल ९१ खेल हुनेछन् । प्रत्येक खेलका विजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

लिगको विजेताले ५० लाख नगद पुरस्कार र एएफसी एसियन कप फुटबलमा सहभागिता जनाउन पाउनेछ । लिगको उपविजेताले ३५ लाख, तेस्रोले २५ लाख, चौथोले १५ लाख, पाँचाैँले ७ लाख र छैटौँले ५ लाख पाउनेछन् ।

फेयर प्ले टिमले १ लाख र म्यान अफ दी म्याचले १० हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् । एन्फाले लिगको तयारीको लागि प्रत्येक क्लबलाई २० लाख रुपैयाँ दिने जनाएको छ ।

प्रतिक्रिया