नेकपाकाे एकता प्रक्रिया: १० प्रतिशत मात्रै काम

नेकपा सचिवालयले सात प्रदेश, २१ जनवर्गीय संगठन र ७७ जिल्ला कमिटीमा ५ भदौभित्र एकता गर्ने गरी साउन मसान्तभित्र प्रतिवेदन बुझाउन कार्यदललाई निर्देशन दिएको थियो । तर, ताेकिएकाे समयमा कर्णाली र प्रदेश, ५ ले मात्र बुझाए

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी एक भएको तीन महिनाभित्र मातहतका सबै कमिटीको एकता गर्ने भन्दै साउन मसान्तसम्म प्रदेश कमिटी र भ्रातृसंगठनलाई प्रतिवेदन बुझाउन भने पनि तोकिएको समयमा प्रदेश–५ र कर्णाली प्रदेशले मात्र प्रतिवेदन बुझाएका छन् ।

 पाँच वटा प्रदेश कमिटी र २१ वटा भ्रातृसंगठनले नेतृत्व र नाममा सहमति जुट्न नसक्दा केन्द्रीय सचिवालयलाई प्रतिवेदन बुझाउन सकेनन् । कर्णाली प्रदेशको एकताका लागि गठित कार्यदलले पनि अपुरो प्रतिवेदन बुझाएको छ ।

कार्यदलका सदस्य यमलाल कँडेलले प्रदेश र जिल्ला कमिटीमा रहनेको मात्र नाम बुझाइएको बताए । उनले नेतृत्वको बारेमा छलफल गरेर पछि टुंग्याइने जानकारी दिए । प्रदेश–५ को एकताका लागि गठित कार्यदलले भने प्रदेश नेतृत्वबाहेक जिल्ला कमिटीमा रहने नेतृत्वको टुंगो लगाएको छ ।

प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेलसहित मणि थापा, गणेशमान पुन र दलबहादुर राना रहेको कार्यदलले बिहीबार पार्टी महासचिव विष्णु पौडेललाई प्रतिवेदन बुझाएको हो । प्रदेश कमिटीमा १ सय ५१ जनाको नामावली र जिल्ला कमिटीमा विधानअनुसारको नामावली राखिएको छ ।

जिल्ला कमिटीमा दाङ, प्युठान, रूपन्देही, कपिलवस्तु, अर्घाखाँची, गुल्मी र पाल्पामा पूर्व नेकपा (एमाले) बाट नेतृत्व र पूर्वी रुकुम, रोल्पा, बाँके, बर्दिया र नवलपुर जिल्लामा पूर्वमाओवादी केन्द्रको नेतृत्व रहने टुंगो कार्यदलले लगाएको छ । कर्णाली प्रदेशले जिल्ला कमिटीको नेतृत्वको नामावली टुंग्याएको छैन । यस्तै, प्रदेश–३ ले पनि आफ्नो प्रतिवेदन बुझाउन सकेन ।

कार्यदलका सदस्य काशीनाथ अधिकारीले नेतृत्वमा सहमति हुन नसकेपछि प्रतिवेदन बुझाउन नसकिएको बताए । उनले शुक्रबार जिल्ला नेतृत्वबारे छलफल गरेर प्रतिवेदन बुझाइने जानकारी गराए । प्रदेशभित्र दोलखामा मात्रै जिल्ला नेतृत्व टुंगिएको छ । दोलखामा अध्यक्ष भीम दाहाल (पूर्वएमाले) र सचिव कुलबहादुर बुढाथोकी (पूर्वमाओवादी) हुने टुंगो लागेको हो ।

ठूला भ्रातृसंगठनले पनि नेतृत्व र नाममा विवाद हुँदा प्रतिवेदन बुझाउन सकेनन् । अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले पनि नाम र नेतृत्वमा विवाद देखिएकाले शुक्रबार कार्यदलको बैठक बसेर प्रतिवेदन बुझाइने कार्यदल सदस्य तथा क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङले बताए ।

सहमति भएका जिल्ला 

बर्दियाः भुवन थारू (पूर्वमाओवादी)

बाँकेः अक्कलबहादुर बम (पूर्वमाओवादी)

पूर्वी रुकुमः होमप्रकाश श्रेष्ठ (पूर्वमाओवादी)

रोल्पाः सुरेन्द्र घर्ती (पूर्वमाओवादी)

नवलपरासीः घनश्याम यादव (पूर्वमाओवादी)

दाङः शिव आचार्य (पूर्वएमाले)

प्युठानः तुलसीराम शर्मा (पूर्वएमाले)

कपिलवस्तुः झविलाल पोखरेल (पूर्वएमाले)

अर्घाखाँचीः पीताम्बर आचार्य (पूर्वएमाले)

रूपन्देहीः गोपाल भट्टराई (पूर्वएमाले)

गुल्मीः बालसिंह काउछा (पूर्वएमाले)

पाल्पाः राधाकृष्ण कँडेल (पूर्वएमाले)

मुस्ताङः रमेश भट्टचन (पूर्वएमाले)

मोरङः ऋषि पोखरेल (पूर्वएमाले)

दोलखाः भीम दाहाल (पूर्वएमाले)

ललितपुरः हरिकृष्ण व्यञ्जनकार ( पूर्वएमाले)

कैलालीः पूर्वएमाले

कञ्चनपुरः पूर्वमाओवादी

डडेल्धुराः पूर्वमाओवादी

दार्चुलाः पूर्वएमाले

अछामाः पूर्वएमाले

डोटीः पूर्वमाओवादी

बैतडीः पूर्वएमाले

बाजुराः पूर्वमाओवादी

बझाङः पूर्वएमाले

प्रतिक्रिया