जनताले सम्पदा मास्न जिताएका होइनन्

तपार्इं र मेयर विद्यासुन्दर शाक्यबीच विवाद उत्कर्षमा पुगेको छ । यसको मुख्य कारण के हो ?
मेयरज्यू र मेरोबीचमा विवाद खासै केही छैन । महानगरले गर्ने काम र योजनाका बारेमा उहाँले मसँग समन्वय नगरेका कारण विवाद देखिएको हो । महानगरले गर्ने कामका विषयमा जनताले सोधेको कुनै पनि जवाफ म दिन सक्दिनँ । यसको कारण हो, के हुँदै छ भन्नेसम्म मलाई थाहा हुँदैन । यसै कारणले विवाद देखिएको हो ।

मेयरले उपमेयरसँग समन्वय नगर्नुको कारण के हो ?
२० वर्षपछि जनताले स्थानीयतहमा जनप्रतिनिधि पाएका छन् । उनीहरूका अपेक्षा धेरै छन् । म जनताको अपेक्षालाई निराशा बनाउन चाहन्न । निर्वाचनका वेला जनतासँग गरेको प्रतिबद्धता र घोषणपत्रमा जारी गरिएका कुरा पूरा गर्नुपर्छ भन्ने मेरो मान्यता हो । त्यसैअनुसार हामीबीचमा काम र योजनाका विषयमा समन्वय होस् भन्ने चाहन्छु ।

तर, त्यसो हुन सकेको छैन, जसका कारण जनतामा हामी काम गर्न छाडेर लड्न थाल्यौँ भन्ने परेको छ । यसले उनीहरूमा निराशा आउँछ । जनतामा त्यो अवस्था नआओस् भन्ने चाहन्छु । महानगरले गर्ने काममा मेरो पदीय जिम्मेवारी अनुसारको सहभागिता होस् भन्ने अपेक्षा गरेको हुँ । त्यो मेरो अधिकार पनि हो, मेयरज्यूका कारण त्यस्तो हुन सकेको छैन ।

मेयरज्यू र तपाईंको बीचमा चर्को विवाद छ, भन्ने कुराबाहिर छताछुल्ल छ नि ?
उहाँसँग सुरुका दिनमा मेरो सबै कामका विषय सामान्य थिए । जब रानीपोखरी निर्माणको विषय आयो त्यसमा मैले पुरातात्विक हिसाबले बनाऊँ भनेकी हुँ । त्यसलाई उहाँले विरोध ठान्नुभयो । रानीपोखरी निर्माणमा मेरो कुनै अवरोध छैन । त्यो ऐतिहासिक सम्पदा भएकाले पुरातात्विक हिसाबले बनाउनुपर्छ भन्ने मात्रै मेरो धारणा हो ।

तर, उहाँले त्यसमा कंक्रिट प्रयोगलाई जोड दिनुभयो । हामीलाई जनताले पुरातात्विक सम्पदा मास्न जिताएका होइनन् । यसमा मेरो अडान सधँै रहिरहनेछ । यति मात्रै होइन् । उहाँ रानीपोखरीलाई आधुनिक ढंगले बनाउन चाहनुहुन्छ भने अन्य ठाउँमा त्यही बनोटको आधुनिक रानीपोखरी बनाऊँ ।

यसमा मेरो साथ र सहयोग रहन्छ । महानगरपालिका बाहिर अन्य नगरपालिकामा धेरै सरकारी जमिन खाली छन् । त्यसो गर्न सकियो भन्ने अन्य क्षेत्रको पनि विकास हुन्छ । यही रानीपोखरीलाई किन कंक्रिट बनाउने भन्ने मेरो अडान हो ।

म अहिले पनि रानीपोखरी बनाउने कुरामा सकारात्मक छु । रानीपोखरी हामीले नै बनाउनुपर्छ । यो हाम्रा लागि एउटा अवसर पनि हो । रानीपोखरीलाई पुरानै ढाँचामा बनाउने वा कंक्रिट प्रयोग गरी बनाउने भन्ने दिनदेखि उहाँ र मबीचमा समन्वय हुन छोड्यो ।

त्यस यताका कुनै पनि कामका बारेमा मलाई जानकारी हुँदैन । काम सुरु गर्ने वेला मात्र जानकारी गराइन्छ किन हो ? मैले बुझ्न सकेकी छैन । यही विषयमा अल्झेर बस्यौँ भने केही काम गर्न सकिँदैन । यसका बारेमा उहाँले सोच्नुपर्छ । यसले महानगरका जनतामा आक्रोश उत्पन्न गराउँछ ।

मेयरज्यूले तपाईंलाई काम गर्ने सवालमा हेप्नु भएको त होइन ?
यो सत्य कुरा हो । उहाँले मलाई हेपेकै हो । मलाई राम्रोसँग थाहा छ, उहाँ मेयर नै हो । उहाँसँग महानगरको अधिकार पूर्णरूपमा छ । त्यो अधिकार उहाँले नै प्रयोग गर्ने हो । मेरो अधिकार मैले प्रयोग गर्ने हो । तर, यसको मतलब उपमेयरको कुनै भूमिका हुँदैन भन्ने होइन । म उहाँको निर्णयमा सही गर्न मात्रै आएकी होइन ।

यहाँको विकास निर्माणमा मेरो पनि सहभागिता हुनुपर्छ । म पनि उहाँजस्तै जनताबाट निर्वाचित भएर आएकी हुँ । मेरो पनि केही दायित्व छ । बोर्ड बैठकमा के–के विषयमा छलफल हुँदै छ भन्ने बारेमा मलाई बैठक बस्ने वेलामा मात्रै जानकारी गराइन्छ । मैले बैठकमा के–के विषयमा छलफल हुँदै छ भन्नेसम्म जानकारी पहिला पाउँदिनँ ।

काममा मिलेर जाने हो भने उहाँले मेरो पदीय दायित्वलाई ख्याल गरेर सल्लाहमा काम गर्नुपर्ने हो । म कुनै पनि काममा असहजता देखाउन चाहन्न । अझै पनि उहाँले त्यो व्यवहार देखाउनुभयो भने फेरि पनि मेरो कुनै आपत्ति छैन । मिलेर काम गरे जसअपजस दुवैले लिन सकिन्छ ।

उहाँले तपाईंको भूमिकालाई छायाँमा पार्न खोज्नुको कारण राजनीति आस्था वा महिला भएका कारण त होइन ?
म पनि उहाँजस्तै निर्वाचित भएर आएकी हुँ । पार्टी फरक भए पनि काम दुवैले मिलेर जनताको पक्षमा गर्ने हो । जनताले मिलेर काम गर भनेर अधिकार दिएपछि एक्लै हिँड्छु भनेर हुँदैन । यो हामी दुवैको जन्मथलो हो, हामीले नबनाए कसले बनाउँछ ? राजनीतिक पूर्वाग्रह छाडेर काम गरौँ भन्ने पक्षमा म छु ।

लामोसमय जनप्रतिनिधि नभएका कारण मनपरी काम गर्ने प्रवृत्ति थियो ।त्यसलाई एउटा पद्धतिमा ल्याउने दायित्व हामीमा आएको छ । यसका लागि हामी मिलेर सल्लाहमा काम गर्नुको विकल्प छैन । त्यसो गर्न सकियो भने कर्मचारीका बीचमा पनि सहजता आउँछ । तर, उहाँ मलाई हेपेर अथवा थाहा नदिइकन जान चाहनुहुन्छ । त्यसको कारण के हो मैले पनि बुझ्न सकेकी छैन । उहाँलाई नै थाहा होला ।

तपाईंहरूको विवादले महानगरले गर्ने काममा अवरोध पुग्दा जनतालाई सास्ती हुँदैन ?
महानगरले गर्ने निर्माणको कुनै पनि काममा मैले अवरोध पु¥याएकी छैन । रानीपोखरीमा कंक्रिट बनाउन स्वीकृत दिने विषयमा मात्रै रोकेकी हुँ, ऐतिहासिक ठाउँलाई कंक्रिटले नपुरौँ भनेकी हुँ, दिऊँ पनि कसरी ? उहाँ कंक्रिटको पछि किन लाग्नुभएको हो मैले बुझ्न सकेकी छैन ।

पुरातत्व मापदण्डको आधारमा बनाउन भनेकी हुँ । अन्य काममा मेरो कहीँ कतै अवरोध छैन ।विदेशी पर्यटक नेपालमा ठुल्ठूला कंक्रिटका घर हेर्न आउने होइनन् । उनीहरूकै देशमा कंक्रिटका ठुल्ठूला भवन छन् । उनीहरू यहाँ पुराना सम्पदा हेर्न आउने हुन् ।

मेरो भनाइ रानीपोखरी बनाऊँ, नमासौँ भन्ने हो । भएका सम्पदा मास्न थाल्यौँ भने के हेर्न आउँछन्, पर्यटक नेपालमा ? काठमाडौं महानगर बनाउनका लागि म मेयरसँग झुक्न तयार छु ।निर्वाचन जितेर आउनेबित्तिकै उहाँलाई भनेकी पनि हुँ, अब मिलेर काम गरौँ । राजनीति आफ्नो ठाउँमा छ ।

अब महानगर हाम्रो जिम्मामा छ भनेर । कसले के गरेको छ जनताले कामको मूल्यांकन गर्नेछन् । अब उहाँसँग लड्ने वा मिलेर जानेको विकल्प छैन । त्यो वातावरण बनाउने काम उहाँको हो । महानगर बनाउने अभियानमा मेरो पनि सहयोग र भूमिका होस् भन्ने मात्रै हो अरू केही निजी स्वार्थ छैन ।

रानीपोखरी सेनालाई दिने कुरा पनि आएको थियो के हो ?
हो, सेनालाई दिने कुरो मैले पनि सुनेँ । आधिकारिक रूपमा थाहा पाएकी होइन, समाचार पढेर नै थाहा पाएँ । बोर्डको बैठकमा वडाध्यक्षहरूले प्रश्न उठाए, मेयरज्यूले सेना, प्रहरी वा अरू कसैलाई पनि दिन सकिन्छ भनेर अमूर्त जवाफ दिनुभयो । मैले सेनालाई दिने कुराको विरोध गरेँ ।

सेना राज्यको एउटा प्रमुख अंग भएकाले यहाँ अल्मल्याउन हुँदैन, मैले भनेँ । उहाँले मेरो कुराको जवाफ दिनु भएन । तर, त्यही कुरा पत्रिकामा पढेर फेरि थाहा पाएँ सेनालाई दिने निर्णय भएको छैन भनेर । यस्तो विषय निर्णय गर्नु पहिला छलफल होस् पत्रपत्रिकामा समाचार आएपछि के हो भनेर सोध्नुपर्ने अवस्था नआओस् भन्ने मेरो भनाइ छ ।

पत्रपत्रिकामा आएपछि जनप्रतिनिधि भएका कारण जनताले सोध्छन् । थाहा छैन भन्न पनि गाह्रो, थाहा छ भन्न पनि गाह्रो हुन्छ । विषय बढ्दै जाँदा उहाँलाई पनि राम्रो हुँदैन । यस्तै, विषयले हो जनतामा भ्रम उत्पन्न हुने । मेयर र उपमेयरका बीचमा सल्लाह हुँदो रहेनछ भनेर ।

उहाँको काम गर्ने तौर तरिकामा तपाईंलाई के–के कुरामा चित्त बुझेन् ?
सबैभन्दा ठूलो कुरा महानगरले गर्ने काम, बैठकका एजेन्डा र भावी योजना बनाउँदा गर्ने समन्वय हो । त्यसमा उहाँले पूरै मलाई हेपेर जानुभएको छ । एउटै कार्यालयमा बसेपछि सूचना त हुनु पर्यो नि ? बैठकका एजेन्डा बनाउँदा मेरो पनि सहभागिता हुनुपर्छ यही हो, मेरो उहाँसँग चित्त नबुझेको कुरा ।

निर्वाचित भएर आएको पनि १५ महिना भयो, उहाँले मसँग कुनै दिन पनि सल्लाह गर्नुभएको छैन । यस विषयमा पटकपटक भनेकी छु । तर, वास्तै गर्नु हुँदैन । रानीपोखरीमा मेरो अडानपछि उहाँले कुनै पनि विषयमा मलाई सहभागिता गराउन चाहनुभएको छैन ।

निर्णय गर्दा जानकारी दिनुहोस्भन्दा उहाँको जवाफ आयो, ‘कुन कानुनमा लेखेको छ तपाईंलाई बोर्ड बैठकको एजेन्डाबारे पूर्वसूचना दिनुपर्छ भनेर ।’ यसको अर्थ उहाँले मलाई ती प्रक्रियाहरूमा सहभागिता गराउन नचाहेको हो भन्ने देखाउँछ । त्यसले उहाँलाई के घाटा हुन्छ मैले बुझेकी छैन ।

तपाईंहरूबीच भएको लडाइँको जुहारी जनताले कहिलेसम्म भोग्ने ?
मेरो कारणले महानगरमा जनताका पक्षमा गर्ने कुनै पनि काम रोकिएको छैन । यदि, मेयरज्यूलाई त्यस्तो लाग्छ भने, कुन–कुन विकासका काम मेरो कारणले रोकिएका छन् उहाँले बुदाँगत रूपमा देखाउने आँट गर्नुहोस् ।

म त्यसको जवाफ दिन तयार छु । मैले रोकेको रानीपोखरी हो, त्यसमा मेरो अडान कायमै छ । फेरि रानीपोखरी मैले बनाउन नचाहेको होइन, बनाऊँ तर, सम्पदा नमासौँ मात्रै भनेकी हुँ । महानगरले ब्रुमर ल्याएको विषय पनि ल्याएपछि मात्रै थाहा पाएकी हुँ । तर, मैले कुनै आपत्ति गरिनँ बाटो सफा गर्न जनताकै लागि ल्याएको हो, भनेर ठीकै ठानेँ । ससाना कुरामा मेरो चासो छैन ।

अहिले आएर भने मैले महानगर रहेको बागदरबार भवन बनाउने कुरामा मेरो अडान छ । निर्वाचनको केही दिनमा त्यो भवन नयाँ बनाउने निर्णय गरेका थियौँ । मैले पनि सहमति गरेकी हुँ । तर, भूकम्पले भत्काएको वसन्तपुर दरबार, सर्वोच्च अदालत, शीतल निवास पूरानै शैलीमा बन्दोरहेछ भने बागदरबार पनि त्यही शैलीमा किन नबनाउने भन्नेमा म पुगेकी छु ।

नयाँ बनाउँदा सयौँ करोड खर्च लाग्छ, मर्मत र रंग रोगन गर्ने हो भने १०÷१५ करोडमा बन्छ र बनाउनुपर्छ भन्ने हो । वसन्तपुरको नयाँ रूप देखेर मलाई बागदरबारका विषयमा पनि नयाँ सोच आयो । नयाँ बनाउने भन्दै पूराना सम्पदा मास्ने काम हामीले नगरौँ भनेकी हुँ ।

अबका बाँकी साँढे तीन वर्ष मिलेर काम गर्नुहुन्छ कि, यसै गरी लडेर बिताउनुहुन्छ ?
विकास निर्माणमा कहीँ कतै मेरो कुनै विरोध हुँदैन । मात्रै सम्पदाहरू नमासौँ यसलाई सकेसम्म बचाएर राखौँ भन्ने हो । यसमा उहाँ पनि सकारात्मक भएर जानु भयो भने बाँकी समय जनताका पक्षमा धेरै काम गर्न सकिन्छ ।

यो महानगर उहाँको पनि हो मेरो पनि हो दुवैले मिलेर बनाउने दायित्व छ । हामी यो ठाउँ छाडेर कहीँ जाने होइन । तर, सबै कुरामा आफ्नै मात्रै निर्णय लागू गर्न खोज्नु भयो भने बाँकी समय यसैगरी बित्न सक्छ । म आफ्ना लागि होइन, यहाँको सम्पदा जोगाउन एक्लै पनि लडिरहन्छु । चाहे पदमा रहूँ वा न रहूँ मेरो अडान उस्तै हो ।

आफूले गरेका काममा उपेक्षा गरिँदा र सम्मानजनक काम गर्न नपाउँदा महिला भएका कारण हेपिएँ कि, भन्ने लाग्दैन ?
महिला भएका कारण हेपिएँ कि भन्ने कहिल्यै लागेन । राजनीति गरेर नै यहाँसम्म आएकी हुँ । जायज कुरामा झुक्नु हुँदैन भन्ने बुझेकी छु । त्यो बुझाइ आज पनि छ । महिला भएका कारण काम गर्न गाह्रो हुन्छ भन्ने कहिल्यै लागेन । आस्था उहाँको आफ्नो ठाउँमा छ मेरो आफ्नो ठाउँमा ।

आवश्यकता पर्दा जिम्मेवारीअनुसार सबै काम गर्न तयार छु । तर, जिम्मेवारीअनुसार भूमिका पाइनँ भने चुपचाप रमिते भने बन्दिनँ । त्यसो गरियो भने जनतालाई पनि अपमान हुन्छ । केही गर्न नसक्नेलाई जिताइएछ भन्नेपर्छ, म त्यो अवस्था आउन दिन्नँ ।

प्रतिक्रिया