कहिले सुध्रिन्छ वीर अस्पताल ?

‘सरकारी अस्पतामा जाने सेवाग्राही सामान्यतया न्यून आर्थिक अवस्थाका हुन्छन् । हुनेखानेले महंगा अस्पतालमा उपचार गराउँछन् । वीर अस्पताल कमजोर भौतिक संरचना भएको र कमजोर दक्ष जनशक्ति भएको अस्पताल होइन । मात्र काम कसरी भएको छ वा सेवाग्राहीले सेवा पाए वा पाएनन् भन्ने हो ‘

-चमिना भट्टराई केही दिन यता मोबाइल टेलिफोनमा स्वास्थ्य मन्त्रालयको सन्देश आउने गरेको छ । ‘स्वस्थ रहुँ तन्दरूस्त रहुँ’ भन्दै यसमा मन्त्रालयले ठूलै रकम खर्चेको होला । तर, मन्त्रालय र स्वास्थ्य मन्त्रीलाई राजधानीको मुुटुमा रहेको मुलुकको सबै भन्दा जेठो र साधन स्रोत सम्पन्न वीर अस्पतालमा सेवा ग्राहीले भोगेको कष्ठ सायद पत्तो नहोला !

हरेक दिन रोग निदान गर्न आउनेहरू त्यहाँको कर्मचारीका व्यवहार र प्राविधिक समस्या भन्दै दिइने झनझटले आजित छन् । सामान्य समस्यामा पनि अनेकन उल्झन दिन्छन् कर्मचारीले र हरेक दिन बत्तीको समस्या नेटको समस्या भोग्न बाध्य हुन्छन् सेवा ग्राही । यति बेला दुई सामाजिक सेवकका प्रयासमा वीर अस्पताल बेहुलीजस्तै रंगिएको छ ।

नाक थुन्दै सास रोक्दै शौचालय जान बाध्य सेवा ग्राहीलाई केही राहत भएको छ । तर, यो कहीलेसम्म हो ? सरकारी अस्पताल सफा राख्ने वा रंग्याउने क्षमता सरकार र मन्त्रालयसँग छैन ? सरकारले केही नगर्ने हो भने किन चाहियो सम्बन्धित मन्त्रालय ? किन राख्नु पर्यो मातहतमा हजारौँ कर्मचारी र निकाय ? कुरो रंग र सफाइको मात्र होइन, सेवाको पनि हो ।

अस्पतालभित्रको वातावरण र त्यहाँको भौतिक संरचनाको रक्षा र सञ्चालन कसरी भएको छ, त्यसको जिम्मा राज्य र सम्बन्धित मन्त्रालयको हो की होइन ? प्रश्न उठ्न थालेको छ ।  हरेक दिनजसो अस्पतालमा समस्या झेल्न बाध्य सेवाग्राहीले जिम्मेवार निकायलाई धारेहात लगाउँदै गाली गरेको धेरै सुनियो सेवाग्राहीको प्रहार सिधै सिंहदरबार र नेताहरूमा पर्छ । ‘राज्यको ढुकुटी लुटेका छन्, उनीहरू टाउको दुखे पनि विदेश जान्छन् हामीले भएको सेवा पनि पाउँदैनौं ।’ भन्दै आक्रोस पोखेको धेरै सुनियो र केही लेख्न मन लाग्यो ।

म केही वर्षदेखि परिवारको नियमित स्वास्थ्य उपचारको क्रममा वीर अस्पताल जाने–आउने गरेको छु । उक्त अस्पतालमा म जस्ता हजारौँ सेवाग्राहीले भोग्ने गरेको सास्ती सम्बन्धित निकायले बुझ्ने र सुन्न प्रयास कहिले गरेको देखिएन । सस्तो लोकप्रियताका लागि विज्ञापन गरेर वा दुई चार शैंय्याको अस्पताल सुभारम्भ गर्ने र मोबाइलमा सन्देश पठाएर मात्र हुँदैन । राज्यसँग भएका साधन र स्रोतको आम नागरिकले बिनाझन्झट उपयोग गर्न पाए कि पाएन त्यस बारेमा सम्बन्धित निकायको ध्यान जानुपर्छ ।

म यहि वैशाख २ गतेको दिउँसो रगत लगायतको परीक्षण गर्न पैसा बुझाउन टोकन लिएर नाइनमा बसे निकै समय बित्यो भित्र काउन्टरमा बस्नेहरू नेटले काम गरेको छैन भन्दै एक आपसमा गफिन थाले । बाहिर सयौँ मान्छे पालो कुरेर बसेका छन् । अस्पतालको नेटले काम गर्न करिब एक घण्टा लगायो । बल्ल बल्ल पैसा तिरेर एक्सरे कोठामा छिरेको स्टाफले कपडा फेर्न उर्दी दिए । जब गाउन लगाएर एक्सरे मेसिनमा पुगियो उताबाट लामो सास तान्नु भन्दै गर्दा झ्याप्पै बत्ती गयो ।

अन्धकार कोठामा एक्सरे गर्नेले हातमा समातेर तान्यो, किन तानेको भन्दा बत्ती गयो भने यो मेसिन खस्छ । नभन्दै मोबाइलको बत्ती बालेर हेरेको मेसिन केही क्षण अघि आफू उभिएको स्थानमा रहेछ । उसले नतालेको भए सायद खुट्टाको उपचारको पनि झन्झट थपिने थियो उसलाई धन्यवाद भने, यो क्रम तीन पटकसम्म भयो, करिब आधा घण्टामा एक्सरे सफल भयो । मरो जस्तो भोगाइ अरूको पनि रह्यो होला । स्टाफलाई सधैँ यस्तै हुन्छ भनी सोध्दा उसले सहजै भन्यो भइरहन्छ । म आफैँले पनि धेरैपटक भोगेको छु ।

अर्को रोमान्चक उदाहरण अर्को हप्ता आइतबार निकालेको रगतको रिपोर्ट लिन बुधबार बोलाइयो । बुधबार १०.३० मा रिपोर्ट लिन जाँदा १२ बजे आउनु रिपोर्ट तयार भएको छैन भन्ने जवाफ पाइयो । आइतबार दिएको रगतको रिपोर्ट आज पनि किन तयार भएन भन्ने प्रश्नको जवाफ स्टाफले सहज दिए, ‘अस्पतालमा केमिकल सकिएकोले रिपोर्ट तयार भएन, धेरैलाई त पैसा नै फिर्ता पठायाैँ, केमिकल ल्याउँदै छ केही समय पर्खनुस् ।’ पुनः १२ बजे जादाँ १ बजेको म्याद दियो । बल्ल रिपोर्ट पाइयो ।

राजधानीमा रहेको अस्पतालको हालत यस्तो छ भने दुर्गम र ग्रामीण भेगको अवस्था के होला ? सहजै अनुमान लगाउन सकिन्छ । राज्यको सम्बन्धित निकायले फिल्डमा गएर यथार्थ बुझ्नुपर्छ । जनताले पाउनु पर्ने सेवा पाएका छन कि छैनन भनेर । अनी अस्पतालका कर्मचारी गाउँबाट आएका निरक्षर सेवा ग्राहीलाई कहाँ के सुविधा पाइन्छ भन्न चाहँदैनन । यो अवस्था कहिलेसम्म रहने हो ? वीर अस्पतालमा मैले जे भोगे, यस्तो हालत सरकारी अधिकांश अस्पतालमा सेवा ग्राहीले भोग्ने गरेका छन् ।

अस्पतालमा नेट अवरूद्ध हुनको कारण के हो ? त्यसका पनि अनेकौँ विकल्प छन् । बत्ति किन गइरहन्छ ? कहिलेकाहिँ जान पनि सक्छ, त्यसको विकल्प पनि छ । त्यतातिर किन ध्यान जाँदैन । वीर अस्पताल प्रांगणमा ठडिएका ठूला ठूला जेनेटरको काम केहो ? चैत लाग्दा पनि हिटर बालेर बस्ने र सेवाग्राहीसँग झर्केर व्यवहार गर्ने सरकारी अस्पतालका कर्मचारीलाई कसले हो निगमन गर्ने ? अनि अस्पताल जस्तो संवेदनशील स्थानमा रहेका भौतिक संरचनालाई तन्दुरूस्त राख्न कसले हो निर्देशन दिने ?

हामीसँग भएका साधन र स्रोतलाई सहिरूपमा प्रयोगसम्म गरिएको छैन । यस्ता कुरामा आवाज उठाउनेलाई उल्टै आलोचना गर्ने र जे छ ठिक छ भन्ने संस्कारको विकास हुँदै छ । यसले जिम्मेवार निकायलाई कमजोर बनाउने काम गर्छ । जहाँ जे कमजोरी छ त्यसलाई त्यहीँ सच्याउन सकियो भने राज्य जिम्मेवार ठहरिन्छ ।

सम्बन्धित निकाय बलियो बन्छ । सचेत नागरिकले अकबर र वीरबलको कथामा जस्तै सम्बन्धित निकायलाई भेट्दा त्यहाँ यो समस्या छ सुधार गर्नु भन्न छोडेर जे छ ठीक छ राम्रो छ भन्न थाल्यौँ भने त्यो निकाय कमजोर बनाउने खेलमा हामी सक्रिय छौँ भन्ने ठाने हुन्छ । मेरो आसय राज्यका हरेक निकाय नागरिकप्रति जिम्मेवार बन्नुपर्छ भन्ने हो । त्यसका लागि जिम्मेवार निकाय अघि पर्दा आँखा चिम्लेर कमि कमजोरी ढाकछोप गर्न हुँदैन ।

एउटै व्यक्ति वा निकायको ध्यान सबै स्थानमा नपुगेको हुनसक्छ । हामीले जहाँ जे देखेका छौँ त्यसलाई सुधार गर्न सल्लाह दिनु राज्य र सम्बन्धित निकायप्रतिको सहयोग ठान्छु म र त्यसैको प्रयास हो यो ।  कुनै वेला गगन थापा स्वास्थ्य मन्त्री हुदाँ वीर लगायत सरकारी अस्पताल सुधारका विषयले निकै चर्चा कमायो । उनले सुरु गरेको भनिएको वीरमा टिकट काट्दा र पैसा तिर्न टोकनको सिस्टम उनी नै मन्त्री रहेका बखत हप्तामा दुई दिनजसो बिग्रन्थ्यो ।

खर्च गरेपछि त्यसको उपयोग कति भएको छ वा छैन अनुगमन गर्ने कुन गुणस्तरको मेसिन जडान गरियो ? उनलाई पनि उनका शुभचिन्तकले त्यसमा भएको समस्या राखेनन् होला । त्यस यता धेरै नेतृत्व फेरियो तर अवस्था फेरियन । सस्ता लोकप्रियताको कुरा गरेर समाज बदल्न वा जिम्मेवारी पूरा गर्न सकिदैँन । जिम्मेवारी पूरा गर्न काम गर्नुपर्छ देखिने र लक्षित वर्गमा पुग्ने गरी । सरकारी अस्पतालमा जाने सेवाग्राही सामान्यतया न्यून आर्थिक अवस्थाका हुन्छन् ।

हुनेखानेले महंगा अस्पतालमा उपचार गराउँछन् । वीर अस्पताल कमजोर भौतिक संरचना भएको र कमजोर दक्ष जनशक्ति भएको अस्पताल होइन । मात्र काम कसरी भएको छ वा सेवाग्रीले सेवा पाए वा पाएनन् भन्ने हो । वीरमा भएका पुराना र राम्रा संरचनालाई उपयोग गर्ने बिग्रेकालाई मर्मत गरी प्रयोग गर्ने हो भने कहिँ नभएको सेवा लिन र दिन सकिन्छ । यसका लागि सम्बन्धित निकायको ध्यान जानुपर्छ । वेला कुरा र प्रचार गर्नेको होइन काम गर्ने हो ।

प्रतिक्रिया