‘नेपाल यस्तो भू–राजनीतिक जटिलतामा छ, जसले हामीलाई एउटा छिमेकीसँग लामो समय दुरी बढाएर अर्को छिमेकीसँगको काख रोज्ने सुविधा दिँदैन । जेफ्री जेन्टलम्यानले हालै ‘दि न्युयोर्क टाइम्स’ मा लेखेका छन्, ‘यतिबेला मोदीको मनमा एउटै ख्याल छ, २०१९ अर्थात् आसन्न चुनाव । उनी जहाँ जाँदै छन् र जे गर्दै छन्, ती सबैको मक्सद चुनाव हो ’
-हरि लम्साल प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हेलिकोप्टरमा पटनाबाट उडेर जनकपुरमा यही २८ वैशाख २८ गते शुक्रबार बिहान ९ बजे उत्रेर नेपाल भ्रमण गर्दैछन् । उनको नेपाल भ्रमणमा भव्य स्वागतको तयारी भइरहेको छ । उनी जनकपुरमा उत्रिनेवित्तिकै रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश–२ मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले स्वागत गर्नेछन् ।
भारतीय प्रधानमन्त्री मोदी जनकपुरस्थित जानकी मन्दिर आएर पूजा–अर्चना गर्नेछन् । त्यही नै वेला प्रधानमन्त्री ओली जनकपुर पुग्ने कार्यक्रम तय भएको छ । पूजा–अर्चनापछि ओली र मोदीबीच जनकपुरमा भेटवार्ता हुनेछ । जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले मोदीका लागि विशेष पूजाको तयारी गरेका छन् । मोदीले आधा घण्टाभन्दा बढी मन्दिर परिसरमै बिताउने छन् ।
पूजा–अर्चना सकेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रंगभूमि मैदान फर्कनेछन्, जहाँ उनलाई जनकपुरका मेयर लगायतको समूहले नागरिक अभिनन्दन गर्नेछ । यसै अवसरलाई छोप्दै दुवै प्रधानमन्त्रीले रामायण परिपथ उद्घाटन गर्नेछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर क्षेत्रमा करिब साढे दुई घण्टा बिताउने भएका छन् ।
त्यसपछि मोदी र ओली काठमाडौं प्रस्थान गरी टुँडिखेलमा ‘गार्ड अफ अनर’ पछि राष्ट्रपति–उपराष्ट्रपतिसँग शिष्टाचार भेट गरी पोखरा हुँदै मुस्ताङको मुक्तिनाथ क्षेत्र पुगी दृश्यावलोकनसहित पूजा–अर्चना हुनेछ । सम्भवतः सोही दिन पोखरा वा मुक्तिनाथ नै बस्ने व्यवस्थाबारे पनि छलफल भइरहेको छ । भारतीय प्रधानमन्त्री मोदीले आसन्न राजकीय भ्रमणमा नेपालसँग एकसाथ राजनीतिक, विकास साझेदारी र धार्मिक सम्बन्ध सुदृढ भएको सन्देश दिन चाहेका छन् ।
खासमा तीन वर्षअघि ०७१ साउनमा नेपाल आउँदाको सकारात्मक छवी पुनस्र्थापनामा उनले जोड दिनेछन् । भारतको नेपाल नीतिका जानकार डा. निहार नायक भन्छन्– ‘मोदीको पहिलो नेपाल भ्रमणको जस्तो सम्बन्ध नेपालसँग बनाउने गरी दिल्लीमा कसरत भइरहेको छ । भारतले नेपाल मात्र होइन, समग्र छिमेक नीतिकै समीक्षा गरिरहेको छ । प्रधानमन्त्री मोदीको चीन भ्रमणपछि नेपालसहितका अन्य देश मात्र होइन, अब पाकिस्तानसँग पनि सम्बन्धमा नयाँपन आउने सम्भावना देखिन थालेको छ ।
अगष्टमा सांघाईको अपरेसन अर्गनाइजेसनको आयोजनामा रुसमा भारत र पाकिस्तान संयुक्त सैन्य परेडमा सहभागी हुने तय भएको छ । यसलाई भारत–पाकिस्तान सम्बन्ध सुधारको संकेतका रूपमा बुझ्नुपर्ने र यसबाट भारतको दक्षिण एसिया नीतिमा नै परिवर्तन आउन सक्ने अर्थमा बुझ्नुपर्दछ ।
चीनसँगको सम्बन्धले परिवर्तन आउन सक्छ ।’ नेपाल–भारत सम्बन्धका अर्का जानकार पूर्वमेजर जनरल अशोक मेहता भन्छन्– ‘२०७१ मा भारतीय प्रधानमन्त्रीका रूपमा नेपाल भ्रमण गर्दा पारेको सकारात्मक प्रभाव मोदीले पुनस्र्थापना गर्न चाहन्छन् ।’ नेपालको संविधानप्रति असन्तुष्टि व्यक्त गर्दै भारतले १ सय ३५ दिन लामो नाकाबन्दी लगाएपछि मोदी नेपालमा मात्र होइन, भारतमा समेत आलोचित बनेका थिए।
भारतीय प्रतिपक्षी दल र विश्लेषकहरू नेपाललाई अनावश्यकरूपमा घचेटेर चीनको पोल्टामा पुर्याइएको आक्षेप लगाइरहेका छन् । तसर्थ यो भ्रमणको एउटा लक्ष्य नेपालमा झाँगिदो चिनियाँ उपस्थितिको गति मत्थर गर्नु पनि हो । मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच नेपालसहितका मुद्दामा पनि छलफल भएको बताइन्छ । तर, २०१५ मे मा सी र मोदीबीच बेइजिङमा सम्पन्न बैठकमा नेपाली भूमि लिपुलेकमाथि धावा बोलिएको थियो ।
तर, नेपालका हरेक राजनीतिक परिवर्तनमा नयाँदिल्लीको साथ–सहयोग छ । धेरैजसो संकटमा पनि भारतीय साथको भूमिका पाइन्छ । नेपाल यस्तो भू–राजनीतिक जटिलतामा छ, जसले हामीलाई एउटा छिमेकीसँग लामो समय दूरी बढाएर अर्को छिमेकीसँगको काख रोज्ने सुविधा दिँदैन । जेफ्री जेन्टलम्यानले हालै ‘दि न्युयोर्क टाइम्स’ मा लेखेका छन्– ‘यतिवेला मोदीको मनमा एउटै ख्याल छ, २०१९ अर्थात् आसन्न चुनाव । उनी जहाँ जाँदैछन् र जे गर्दैछन्, ती सबैको मक्सद चुनाव हो ।’
प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीचको भेटवार्ता र छलफलपछि राष्ट्रपति, उपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्रीहरूसँग राजनीतिक भेटघाट हुने भएपछि अहिले नेपाल मोदीमय बनिरहेको छ । पटनाबाट सिधै तीन हेलिकोप्टरसहित जनकपुरमा उत्रिएपछिको मनाङ मुक्तिनाथ क्षेत्र पनि तरंगित भएको छ भने राजधानी काठमाडौं पनि तरंगित भइरहेको छ ।
नेपालको राजनीतिक, आर्थिक, सामाजिक विषयमा सामरिक महत्व राख्ने मात्र होइन, परोक्ष र कैयौँपटक प्रत्यक्ष हस्तक्षेप गर्न रुचाउने भारतको नेतृत्व वर्गले आफ्नो हरेक भ्रमणमा कुनै न कुनै सन्देश दिएकै हुन्छन् वा दिने प्रयास गरेको देखिन्छ । यसपटक भारतीय प्रधानमन्त्री मोदीले पनि कुनै खास सन्देश दिनकै लागि सोझै जनकपुर झर्ने योजना बनाए वा अन्य कुनै अवस्था आइप¥यो, जसले गर्दा काठमाडौंभन्दा जनकपुर पहिलो प्राथमिकतामा पर्यो । त्यो कुराको विश्लेषण नेपालका नेतृत्व वर्गले छिटो गर्नु जरुरी छ । यसै पनि प्रदेश–२ मा भारतको आँखा गढेको कुरा संविधान जारी हुँदाताका नै छरपस्ट भइसकेको हो ।
छिमेकी मित्रराष्ट्रको इच्छा–आकांक्षा परिपूर्ति गर्नु नेपालको नाजायज कदापि होइन, तर यसतर्फ छलफल भएर नै गरिएको होला भन्ने नै ठानिन्छ । सत्ता राजनीतिको नेपाल–भारत सम्बन्धको अधिकांश अवधि अविश्वास र आशंकाको जाँतोमा पिसिएको छ । धेरै पिसिएपछि जाँतो खिइन थाल्नु स्वभाविकै हो । तर, जाँतो मर्मतको कुरै छाडौँ, खिइने क्रम पनि रोकिएको छैन । यसैले दशकौँ पहिले भएका सहमतिलाई प्रमाणिकता दिन राष्ट्राध्यक्ष वा सरकार प्रमुखहरू साक्षी बसेर गरिएका सम्झौताहरू कार्यान्वयन गर्ने सहमति हासिल गर्ने एक्लो एजेन्डा लिएर नेपालका ६ जना प्रधानमन्त्री भारत पुगे र प्रत्येकले आफ्नो भ्रमण ‘अत्यन्त सफल भएको’ दावी नेपाली जनतालाई सुनाएर आफ्नो पिठ्युँमा आफैँले धाप दिए ।
तर, सरकारको क्षमतामा सुधार भएको छैन । राजनीतिक नेतृत्वको मानसिकता र शैली पनि पुरानै छ । एमालेकी विद्या भण्डारी, माओवादीका पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराई, नेपाली कांगे्रसका शेरबहादुर देउवाले दिल्ली पुगेर दिएको वचन पूरा नगरेको गम्भीर आरोप सन् २०१५ डिसेम्बरमा विदेशमन्त्री सुष्मा स्वराजले लगाएकी थिइन् । तीन पार्टीका चार नेताहरूले खण्डन गर्न नसकेको यो आरोप भविष्यको सम्झनाका लागि भारतीय संसद्को आधिकारिक दस्तावेजमा लेखिएको छ ।
त्यस्तै, सन् १९५५ देखि नै स्थिर रहेको नेपाल–चीन सम्बन्धमा पनि बेचैनी अनुभूत हुन थालेको छ, चिनियाँ मुखबाट सार्वजनिक असन्तुष्टि सुनिन थाल्नु शुभ होइन, अर्थात् चीनले नेपालप्रति अविश्वास जनाउनु राम्रो पक्ष मान्न सकिंदैन । दिगो नेतृत्व, दूरगामी सामरिक सोच र संस्थागत स्मरण भएका देशहरूको नीति–कौशल सुहाउँदो नभई नेपालले आफ्नो हित बचाउन सक्दैन । यसैले नेपालले अहिले सोच्नुपर्ने स्थिति होइन र ? भारतीय प्रधानमन्त्री मोदीको आसन्न नेपाल भ्रमणमा अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास गर्ने तयारी छ ।
वैशाख २९ मा दुवै प्रधानमन्त्रीले काठमाडौंबाट स्विच थिचेर परियोजनाको शिलान्यास गर्नेछन् । बहुचर्चित पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अहिलेसम्म मोदीको भ्रमण एजेन्डामा नपर्नु र विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बारे असहमतिका विषय टुंगो लगाउन दुई देशका ऊर्जा सचिवस्तरीय विज्ञ समूहबीच बैठक बस्ने मात्र निर्णय हुनु दुःखद् पक्ष हो । प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा रक्सौल–काठमाडौं रेलमार्ग निर्माणबारे सहमति भएकाले मोदीको नेपाल भ्रमणमा यो एजेन्डा बन्ने छैन ।
हुलाकी राजमार्ग निर्माणबारे भने छलफल हुन सक्नेछ । यसैगरी भारतीय लाइन अफ क्रेडिट (एलओसी) अन्तर्गत १७ वटा सडक सुधार कार्यक्रमलाई समयमै सम्पन्न गर्ने र भारतले नेपालका विभिन्न ५ वटा स्थान जयनगरदेखि जनकपुर–कुंथा, जोगबनीदेखि विराटनगर, जलपाइगुडीदेखि काँकडभिट्टा, नौतनवादेखि भैरहवा र नेपालगञ्ज रोडमा रेल यातायातले जोड्ने कार्यक्रमलाई दु्रत बनाउनेबारे छलफल हुन सक्नेछ । थप बन्दरगाह खुला गर्ने सम्भावनाबारे पनि छलफल भएर टुंग्याइने स्थिति छ । नेपाल–भारत मित्रता दिगो बन्न सकोस्, हाम्रो शुभकामना छ ।
प्रतिक्रिया