घरमा आएका शिक्षकलाई चिठी

–हरिसुन्दर छुकां ‘हामी फलानो स्कुलबाट आएका हौँ । तपाइँको बच्चा हाम्रो विद्यालयमा पढाउनका लागि पठाइदिनुपर्यो’ भनेर मेरो हातमा स्कुलको विशेषता उल्लेख भएको ब्रोसर थमाएर गएपछि मैले दोहोर्याएर पढेँ । स्कुलको विशेषता उल्लेख भएको ब्रोसरमा त धेरै राम्रा राम्रा कुराहरू रहेछन् । तर, मैले कसरी ती विशेषताहरूलाई विश्वास गर्ने ? मैले ‘हामी फलानो स्कुलबाट आएका हौँ ।

तपार्इंको बच्चा हाम्रो विद्यालयमा पढाउनका लागि पठाइदिनुपर्यो’ भन्ने तपाईंको अभिव्यक्तिलाई कुन आधारमा स्वीकार्ने ? भन्ने प्रश्न मनमा खेलिरह्यो । माथिका प्रश्न मनमा खेल्नुमा अरू कारण नभएर मलाई ती विशेषता कार्यान्वयन गर्ने मियो अर्थात् शिक्षकप्रति नै विश्वास नभएर हो भन्ने लागिरह्यो । यसैले मलाई सोध्न मन लागिरहेको छ ?

–‘विद्यार्थी भर्नाको नाममा विद्यालयले औपचारिकता निभाउन गरेको घरदैलोमा सहभागी भएका शिक्षकहरू के तपाईंहरू अभिभावकसामु प्रतिबद्धता जाहेर गर्न सक्नुहुन्छ ? यदि अभिभावकको इच्छा, आकांक्षा र अपेक्षा पूरा गर्न सक्ने क्षमता राख्दैनौ भने घरदैलोको नाममा मलाई मजस्ता अभिभावकसँग भेट्नु, घरघरमा आउनु बेकार छ । आज सरकारी स्कुललाई भन्दा बढी विश्वास निजी वा बोर्डिङ स्कुललाई गरिरहेका छन् अभिभावकहरू । (यो तीतो सत्य नै हो) त्यसको कारण के ? के त्यसो हुनुमा शिक्षकहरू जिम्मेवार छैनन् ?

यदि छन् भने आफूले गर्नुपर्ने, आफूबाट नगर्नुपर्ने कुराहरू के के हुन् ? मनन गरी अघि बढ्न सक्नुहुन्छ ? सरकारी स्कुलका शिक्षकहरू समयमा स्कुल पुग्दैनन्, समयसम्म बस्दैनन्, राम्रो पढाउँदैनन्, आफूसँग तालिम भए पनि तालिमको सदुपयोग गर्दैनन्, राजनीतिक काममा बढी समय लगाउँछन् भन्ने आरोप चिर्न नसकेसम्म ‘कम तलबमा काम गर्ने शिक्षक’ ले पढाउने निजी स्कुलप्रति नै अभिभावकहरू आकर्षित हुन्छन् । यति मात्र होइन, सरकारी स्कुलका शिक्षकलाई आफूप्रति पनि विश्वास छैन ।

आफूप्रति विश्वास हुँदो हो त आफ्ना सन्तानलाई पनि आफूले पढाउने स्कुलमै किन नपढाउँदा हुन् ? यो प्रश्न तेस्र्याएर अभिभावकहरू शिक्षकको, प्रअको जाँच लिइरहेका छन्, जाँचमा उत्तीर्ण हुन नसकेका शिक्षकहरूलाई अभिभावकले कसरी विश्वास गर्ला ? एक आम अभिभावकले विद्यालयलाई नै आफ्नो सरकार ठान्छ, त्यहाँका प्रधानाध्यापक, वि.व्य.स पदाधिकारी र शिक्षकलाई सरकार चलाउने व्यक्तिका रूपमा लिन्छन् ।

यो अवस्थामा अभिभावकहरू शिक्षकबाट, अभिभावकबाट, प्रअबाट आफ्नो सन्तानको उज्ज्वल भविष्यको लागि के चाहन्छ ? के यो बारेमा विद्यालयले कहिल्यै सोधीखोजी गर्ने गरेको छ ? सन्तान पढाएका अभिभावकका घरमा शैक्षिक सत्रभरी कतिपटक कुन शिक्षक पुगे ?, कतिपटक सन्तानको पढाइबारेमा अभिभावकसँग अन्तरक्रिया गरे ? यो विषयमा पनि समग्र विद्यालयले सोच्नु जरुरी छ।

घरमा ब्रोसर लिएर आएका प्रत्येक शिक्षकले भर्ना अभियानकै क्रममा अभिभावकसमक्ष आफूलाई आफ्नो कर्तव्य, दायित्व र जिम्मेवारीप्रति आफू भित्रैबाट प्रतिबद्ध रहेको विश्वास दिलाउन सकेको खण्डमा सामुदायिक विद्यालयहरूमा वर्षौंदेखि परिररहेको विद्यार्थी खडेरीका कारण रुखो बनेको विद्यालयका कक्षाकोठाहरू मुर्झाउने थिए ।

यसको लागि घरदैलोमा गएका÷आएका शिक्षकले अभिभावकलाई ‘म तपाइँको बच्चाको पढाइ र भविष्यको जिम्मेवारी लिन्छु, तपाइँको बच्चाको शैक्षिक उपलब्धिलाई न्युनत्तम यत्ति पुर्याउँछु, तपाईंसमझ गरेको यो प्रतिबद्धता पूरा गर्न सकिन भने यसको दोषी म स्वयं हुन्छु, यसको लागि तपाईंहरूले सहयोग गर्नुपर्छ ।’

भनेर भन्ने आँट गरे मात्र सरकारी शिक्षकप्रति विश्वासको मात्रा बढाउन सकिन्छ । विद्यार्थीको मनभन्दा बढी अभिभावकको मन जित्न प्रयत्नमा शिक्षकले भूमिका खेले, सरकारी स्कुलहरूमा पनि विद्यार्थी संख्या क्रमशः थप हुँदै जान्छ । हुन त विद्यालयले ‘गुणस्तरीय शिक्षा: हाम्रो प्रतिबद्धता’ भन्ने कर्णप्रिय नारा तय नगरेको होइन । यहाँ सवाल नाराको होइन, त्यो नाराको मर्मको कार्यान्वयनको हो ।

विद्यालयले त्यो नारा तय गर्नुको खास कारण कति शिक्षकले बुझेका छन् ? त्यो बुझाउने काम प्रअ वा विव्यसले गर्नुपर्छ । गुणस्तरीय शिक्षाको प्रतिबद्धतालाई सुनिश्चित गर्न निश्चय नै शिक्षक प्रतिबद्ध हुनु अनिवार्य छ । यही कारण सबै मिलेर शिक्षकलाई प्रतिबद्ध बन्न सघाऔँ । त्यसबाट सरकारी स्कुलमा पक्कै केही सुधार हुन्छ ।

प्रतिक्रिया