-निनाम लोवात्ती कुलुङ कुरो आजभन्दा लगभग चारवर्ष अघिको हो । ०६४ वैशाखमा भएको ऐतिहासिक संविधानसभाको निर्वाचनद्वारा गठित पहिलो संविधानसभा विघटन भएपछि ०७० मंसिरमा भएको दोस्रो संविधानसभाको निर्वाचनको प्रचारप्रसारको क्रममा माओवादीले काठमाडाैँमा आयोजना गरेको आमसभामा प्रचण्डले भनेका थिए, ‘एमाले भनेको कम्युनिस्टको हिङ बाँधेको टालो मात्रै हो ।
तर, माओवादी भनेको असली हिङ हो । अब असली हिङ नै भैसकेपछि हिङ बाँधेको टालोको के काम ?’ तर, नेपालको गाउँघरमा अझैँ पनि ‘… हू पुछेर फालेको सिन्का पनि कुनै बेला काम लाग्छ !’ भन्ने भनाइ वा भनौँ उखान कायमै छ । नभन्दै कमरेड प्रचण्डलाई पनि ‘… हू पुछेर फालेको सिन्का’ झैँ ‘एमाले नामक कम्युनिस्टको नाममा हिङ बाँधेको टालो नभई भएको छैन । अझ प्रस्टसँग भनौँ भने कम्युनिस्टको हिङ बाँधेको टालो अर्थात् नेकपा एमालेसँग एकता नगरी नहुने अवस्था किन आएको हो ? बुझिनसक्नु छ ।
तर, जान्ने बुझ्ने हौँ भन्नेहरूका अनुसार उनलाई जसरी हुन्छ, सकेसम्म एकपटक नेपालको राष्ट्रपति (कार्यकारी) हुनु छ । अनि लगभग ११ वर्षसम्म चलाएको आन्तरिक युद्घ (माओवादीको भाषामा जनयुद्घ !) को क्रममा कमाएको (कसैकसैले लुटेको पनि भन्छन्)सम्पत्तिको सुरक्षा पनि गर्नुछ । त्यस्तै सकेसम्म नेपालको एकीकृत कम्युनिस्ट पार्टीको आधा कार्यकाल भए पनि अध्यक्ष र आधा कार्यकाल भए पनि पुनः प्रधानमन्त्री आफू हुने सपना पनि प्रचण्डमा जीवितै छ ।
तर, नेपालको राजनीतिमा मोहोरा कताबाट र कसरी घुम्ने हो ? ‘इन्द्रेको बाबु चन्द्रे’लाई समेत थाहा हुँदैन ! हुन त प्रचण्डबारे भन्नु पर्दा ०६२÷६३ को परिवर्तनपछिको खासगरी ०६४ यताको इतिहास हेर्दा समग्रमा प्रचण्डको खुबी भनेको चरम अवसरवादिता देखाउनु र बिरालोले मुसो खेलाए झैँ अरू पार्टीका नेताहरूलाई खेलाउनु र, अन्तमा आफूले राजनीतिक फाइदा लिन सक्नु हो ।
प्रचण्डले गरेको यस्ता केही काम कारबाहीेको प्रमाण भनेको ०६४ को पहिलो संविधानसभाको निर्वाचनअघि स्वर्गीय गिरिजाप्रसाद कोइरालालाई ‘तपाईं गणतन्त्र नेपालको पहिलो राष्ट्रपति !’ भनी दिएको आश्वासन र पछि धोका दिएको, माधवकुमार नेपाललाई पनि सुरुमा राष्ट्रपतिको ललिपप देखाएर अन्तमा थाङ्नामा सुताएको प्रसंग, त्यसअघि नेपालका आदिवासी जनजाति, दलित, महिला, मुस्लिम, पिछडिएको क्षेत्र, उत्पीडित जातजातिलाई आत्मनिर्णयको अधिकारसहित राज्य दिन्छौँ भनी उनीहरूको कथित जनयुद्घमा होमेको र, अन्तमा दिएको धोका आदिलाई पनि लिन सकिन्छ ।
खासमा कमरेड प्रचण्डलाई बाहुन भएर पनि हक्की र नढाँट्ने स्वाभाव भएको बाहुन नेताको रूपमा लिन सकिन्छ । जो अरू पार्टीका (नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा, राप्रपा प्रजातान्त्रिक, राप्रपा एकीकृत, नयाँ शक्ति, राष्ट्रिय जनमोर्चा (राजमो) आदि राजनैतिक पार्टीका नेताहरू जो जातले पनि बाहुन क्षेत्री र, व्यहारले पनि प्रस्टैसँग बाहुन क्षेत्रीको व्यवहार देखाउँछन्) नेताहरू छैनन् । प्रचण्डको यो खालको ईमान्दारिताको भने प्रशंसा गर्नैपर्छ ।
यस प्रसंगमा भन्नुपर्दा ०६२÷६३ को परिवर्तनपछि (०६६÷६७ को बीच समय) मा उनी पटकपटक लैनचौरस्थित भारतीय राजदूतावास गएका थिए । आखिरमा पत्रकारहरूको ट्रयापमा परेपछि (खासमा भारतीय राजदूतावासकै सूचनाका आधारमा) ‘यो पटकसमेत म लैनचौर आएको सातौँ÷आठौँपटक भयो !’ भनी स्वीकार गरेको कुरोलाई लिन सकिन्छ ।
जसले गर्दा, नेपालका जत्ति नै राष्ट्रवादी हौँ भन्ने पार्टी र तिनका नेताहरू पनि आखिरीमा लैनचौरस्थित भारतीय राजदूतावास नगई र, केही न केही मन्त्रणा नगरी धर पाउँदैनन् भन्ने कुरो प्रचण्डको लैनचौर प्रकरणले प्रमाणित गरेको थियो । त्यस्तै ०६९ को अन्तिम ताका नेपालका आदिवासी जनजातिहरूका हकअधिकारका लागि अब म लड्न सक्दिन !, तपाईँहरू आफैँ अघि बड्नोस् !, भनी प्रस्टसँग भनेका थिए ।
तर, प्रचण्डको त्यो भनाइलाई नेपालका परम्परागत विचार भएका मिडिया, पत्रकार, बुद्धिजीवी, लेखक, स्तम्भकार आदिले प्रचण्डले नेपालका आदिवासी जनजातिलाई अनावश्क रूपमा उचाले÷उकासे ! भनी लेखे, टिप्पणी गरेका थिए । यसरी हेर्दा नेपालका परम्परागत विचार भएका मिडिया, पत्रकार, बुद्धिजीवी, लेखक, स्तम्भकार आदिले खासगरी मूलाधार हामी हौं !
भन्ने नेपालका परम्परागत विचार भएका मिडिया, पत्रकार, बुद्धिजीवी, लेखक, स्तम्भकार आदिले प्रचण्डले जनजातिलाई अनावश्क रुपमा उचाले÷उकासेको जस्तो देखे तापनि प्रचण्डले नै नेपालका आदिवासी जनजाति, मधेसी, महिला, दलित, मुस्लिम, पिछडिएको क्षेत्र आदिको वास्तविक समस्यालाई हल गर्लान् कि त ? भन्ने आशा गरेका थिए, नेपालका आदिवासी जनजाति, मधेसी, महिला, दलित, मुस्लिम, पिछडिएको क्षेत्र आदिका अगुवाहरूले ।
र, नै नेपालका आदिवासी जनजाति, मधेसी, महिला, दलित, मुस्लिम, पिछडिएको क्षेत्र आदिकाहरूले ०६४ को पहिलो संविधानसभाको निर्वाचनमा तत्कालीन नेकपा (माओवादी) को पक्षमा मतदान गर्न आफ्ना समुदायलाई आग्रह गरेका थिए । तर, आखिरमा ‘बिरालोले म्याऊँ गरेरै छाड्छ’, नत्र ऊ कसरी बिरालो हुन्छ ? भने झैँ प्रचण्डले पनि ‘म्याऊँ गरेरै छाडे !’ तर, प्रचण्ड र उनको पार्टीले त्यसको फल चाख्न धेरै समय कुर्नुपरेन, ०७० को दोस्रो संविधानसभाको निर्वाचन परिणामले देखाई हाल्यो ।
त्यस्तै ०७४ को ३ वटै निर्वाचनको परिणामले पनि प्रचण्ड र उनको पार्टीले नेपालका आदिवासी जनजाति, मधेसी, महिला, दलित, मुस्लिम, पिछडिएको क्षेत्र आदिका जनताहरूलाई दिएको धोकाको पुष्टि भयो । तर, नेपालका परम्परागत विचार भएका मिडिया, पत्रकार, बुद्धिजीवी, लेखक, स्तम्भकार आदिले खासगरी मूलाधार हामी हौँ ! भन्ने हरूले भने, नेपालका जातिवादी र साम्प्रदायिकहरूको पत्तासाफ भएको रूपमा बुझे ।
यसरी राजनीतिक रूपमा हेर्दा कमल थापा, विजयकुमार गच्छदार लगायत अन्य केही नेता सरह नै सत्तामोह देखाउने गरेका प्रचण्डले अहिले आएर हिङ बाँधेको टालो अर्थात् एमालेको आवश्यकता महसुस गर्नुको अर्को कारण भनेको जनयुद्धकालमा पार्टीको नाममा जोडेको अकूत सम्पत्तिको सुरक्षा गर्नु पनि हो भन्ने त माथि नै उल्लेख गरियो ।
जुन कुरो प्रचण्डको नजिकका नातागोता, विश्वासपात्र केही हनुमानहरू, एमाले, कांग्रेस, राप्रपा, राप्रपा प्रजातान्त्रिक, राप्रपा राष्ट्रवादी, नयाँ शक्ति, राष्ट्रिय जन मोर्चा (राजमो) लगायतका ‘हाई प्रोफाइल’का नेता, त्यस्तै नेपालका ठूला र भ्रष्ट व्यापारीहरूलाई मात्रै थाहा छ । त्यसैले प्रचण्ड आफू एमालेमा विलय हुन तयार भएर बसेका छन् ।
तर, प्रश्न छ, लगभग ०४० सालदेखि पार्टीमा आफू सँधै सुप्रिम रहँदै आएका प्रचण्डले एमालेसँग आफ्नाे पार्टी एकीकरण गरीहालेमा÷विलय गराइहालेमा उनी आफू दोस्रो तहमा बस्लान् ? वा एमालेका नेताहरूले प्रचण्डलाई सुप्रिम मान्न तयार होलान् ? यो पनि भविश्यकै गर्भमा छाडौँ ।
किनभने, यही एक मात्र कारण हुनसक्छ, निर्वाचन लगत्तै एमाले र एमाओवादीले पटक पटक एकता घोषणाका लागि मिति तय गरीएको भए तापनि हालसम्म एकता हुन सकेको छैन । जे भए पनि प्रचण्डले आफ्ना केही विश्वासपात्र हनुमानहरू जस्तै वर्षामान पुन ‘अनन्त’, जनार्दन शर्मा ‘प्रभाकर’ लगायतको राजनीतिक भविष्य भने सुरक्षित गरेरै छाड्नेछन् भन्ने आशा गरौँ !
प्रतिक्रिया