अन्तर्राष्ट्रिय मजदुर दिवसको सन्देश

‘सरकारी कार्यालयहरूमा समेत ट्रेड युनियन स्थापना गरी सेवाग्राहीहरूलाई सुविधा दिनेभन्दा पनि विभिन्न कार्यक्रम, गोष्ठी, आन्दोलनहरूमा मजदुरहरू सरिक हुने गलत परम्पराको अन्त्य हुनु आवश्यक देखिन्छ । कर्मचारी हकहित र मजदुरहरू एकताबद्घ हुने नाममा सरकारी कार्यालयलाई नै राजनीतिक थलो बनाउनु सकारात्मक मान्न सकिँदैन ‘

-न्हुंछेनारायण श्रेष्ठ सन् १८८६ मे १ का दिन अमेरिकाको सिकागो सहरबाट सुरु भएको मजदुरहरूको आन्दोलनले ८ घण्टा काम ८ घण्टा मनोरन्जन गर्ने मान्यतामा स्थापना गरिएको सम्झना र श्रमिकहरूमाथि मालिकहरूको अत्याचारका विरुद्घमा मजदुरहरूले गरेको आन्दोलनको स्मरणस्वरूप हरेक वर्ष मे १ का दिन अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइने गरिएको छ ।

नेपालमा समेत गत मंगलबार सो दिवस भव्यताका साथ मनाइसकिएको छ । नेपालका कैयन शिक्षित युवाहरूले रोजगारी पाउन सकेका छैनन् । देशमा पर्याप्त मात्रामा उद्योग, कलकारखानाहरू स्थापना हुन नसक्नु र भएका उद्योगहरू समेत बन्द हुँदा दिनहुँ सयौँको संख्यामा शिक्षित युवा रोजगारीका लागि विदेशीने क्रम रोकिन सकेको छैन ।

नेपालमा संविधानअनुरूप तिनै तहको निर्वाचन सम्पन्न भै स्थायी सरकारको परिकल्पना गरिएको छ । वाम गठबन्धनको दुई तिहाइ बहुमतको सरकार गठन भएको अवस्थामा समेत बेरोजगार युवाहरूले रोजगारीको प्रत्याभुत गर्न सकिरहेका छैनन् । निर्वाचनताका आफ्ना घोषणापत्रहरूमा युवा बेरोजगारीहरूलाई रोजगारको प्रत्याभूत गराइने कुरा हात्तीको देखाउने दाँत मात्रै भएको मान्न सकिन्छ ।

समयमै शिक्षित बेरोजगार युवाहरूको मागलाई नेपाल सरकारले सम्बोधन गरी स्वदेशमै विकास निर्माण कार्यमा लगाउनुपर्ने अपरिहार्य भैसकेको छ । नेपालको इतिहास हेर्ने हो भने ०३ सालमा रघुपति जुटमिलमा पहिलोपटक मजदुरहरूको हड्ताल र आन्दोलन भएको थियो ।

कामदारहरूको वृद्धि विकास, सुरक्षा, पारिश्रमिकका साथसाथै विभिन्न हकाधिकार प्राप्तिका लागि विभिन्न मजदुर संघसंगठनहरूले आफू कार्यरत संस्थाका व्यवस्थापन पक्षमा पेस गर्ने र तिनकै तजबिजका आधारमा सेवा सुविधामा परिवर्तन हुने परम्परा रहीआएकोमा हालै मात्र संशोधन भएको श्रम ऐन, श्रम नियमावली कार्यान्वयन पश्चात् दुवै पक्ष विन–विनको अवस्थामा पुगेको अनुमान गरिएको छ । तर, पनि उक्त संशोधनले मजदुरलाई भन्दा पनि व्यवस्थापनलाई नै फाइदा हुने देखिन्छ ।

पछिल्लो समय नेपाल सरकार अन्तर्गतका सरकारी कार्यालयहरूमा समेत ट्रेड युनियन स्थापना गरी सेवाग्राहीहरूलाई सुविधा दिने भन्दा पनि विभिन्न कार्यक्रम, गोष्ठी, आन्दोलनहरूमा मजदुरहरू सरिक हुने गलत परम्पराको अन्त्य हुनु आवश्यक देखिन्छ । कर्मचारी हकहित र मजदुरहरू एकताबद्घ हुने नाममा सरकारी कार्यालयलाई नै राजनीतिक थलो बनाउनु सकारात्मक मान्न सकिँदैन ।

नेपालका सरकारी कार्यालय, विश्वविद्यालय, होटल, कलकारखानाहरूमा समेत विभिन्न राजनैतिक दलहरूका संघसंगठनहरूले आ–आफ्नो जनवर्गीय संगठन स्थापना गरी कस्तो लोकतन्त्र दिन खोजिएको हो ति संघ, संगठन किन र कसका लागि ? कुनै पनि काम गर्नका लागि राजनीतिक सोर्सफोर्स नै चाहिने कस्तो विडम्बना ?

अर्का तर्फ आफ्नो संगठनमा नलागेकै निहुँमा समकक्षीको जागिर नै खाइदिने, मानसिक यातना दिने कार्यको अन्त्य स्वयं मजदुर संगठनले नगरेसम्म मजदुरहरूको हकाधिकारको विषय उठाउने संगठनहरूको औचित्य समाप्त हुन सक्दछ ।मजदुरहरूको वृत्तिविकासका अलावा तालिम, समयसापेक्ष पारिश्रमिक वृद्घि, मनोरञ्जन, ब्मिा, पेन्सन लगायतका विविध पक्षहरू कार्यान्वयनका लागि मजदुर संघसंगठनको कार्य हुनसक्दछ ।

मजदुरहरूका तर्फबाट व्यवस्थापन पक्ष समक्ष पेस गरिएका मागहरू पूरा गराउनेतर्फ सधैँ मजदुर संघसंगठनहरू एक हुनु आवश्यक रहेको छ । विभिन्न कलकारखाना, उद्योग, सरकारी कार्यालयहरूमा कार्यरत मजदुरको व्यवस्थापन पक्षबाट हुने गरेको चर्को दमन, बिना कारण सेवाबाट बर्खास्ती गर्ने गलत परम्पराजस्ता विषयहरूलाई अन्त्य गर्न ट्रेड युनियनको आवश्यकता रहेको छ ।

राजनैतिक दलहरूको भातृसंगठनको रूपमा मजदुर संघसंगठनहरूको कार्यालयहरू स्थापना, कार्यरत कलकारखाना, उद्योगहरूमा हुने र तिनले समग्रमा आम मजदुरहरूको पक्षमा भन्दा पनि आफ्ना नेता कार्यकर्ताहरूको आवाज बुलन्द गर्ने गलत प्रवृत्ति हावी भएको हुँदा मजदुरहरूले हकाधिकार प्राप्त गर्न सकिरहेका छैनन् । मजदुर संघसंगठनहरूले मजदुरहरूको माग समाधान भन्दै विगतमा उद्योग, कलकारखाना, विश्वविद्यालय महिनौँ तालाबन्दी, घेराउ, बन्द गर्ने गलत प्रवृत्तिको अन्त्य गर्नु अपरिहार्य भइसकेको छ ।

अहिलेको वर्तमान अवस्थामा आम मजदुरहरूको सेवा सुविधा र रोजगारीलाई व्यवस्थित, वैज्ञानिकीकरण, निष्पक्षता र सेवाप्रदायक बनाउनुपर्ने आवश्यकता रहेको छ । देश निर्माणमा मजदुरहरूको महत्वपूर्ण भूमिका र योगदान रहने भएकोले सरकारले पनि मजदुरहरूको हक, अधिकार संरक्षण प्रवद्र्घन गर्ने कार्य गर्नु पर्दछ । ट्रेड युनियन आफैँमा विकृति होइन समस्या समाधानको बाटो पनि हो ।

मुलुकमा भएका विविध समस्याहरू समाधानका लागि ट्रेड युनियनको महत्वपूर्ण भूमिका रहेको छ । देशमा रोजगारीको पर्याप्त अवसर सिर्जना नभएकै कारण कैयन नेपाली दाजुभाई तथा दिदीबहिनीहरू रोजगारीको खोजीमा खाडीलगायत विश्वका विभिन्न मुलुकहरूमा पुगी काम गरिरहेका छन् । सिमित श्रम र सिप वातावरण अनुकुल , कामदारमैत्री तथा मालिकको चरम यातनाका कारण थुप्रै नेपालीहरूले दुःख मात्रै होइन अपांग र ज्यानै गुमाएका घटना हाम्रा अगाडि नभएका होइनन् ।

वैदेशिक रोजगारले नेपालमा गरिबी घटाउन, शिक्षा, स्वास्थ्यमा सुधार गर्न, वेरोजगार कम गर्न, पिछडिएका वर्ग तथा समुदायहरूको सशक्तिकरण र मूलप्रवाहीकरणमा सहयोग गर्न र विपन्न तथा गरिबीको चपेटामा परेकाहरूलाई जीवनयापन गर्नमा महत्वपूर्ण भूमिका खेलेको पाउँछाैँ यो राम्रो कुरा हो । खाडी मुलुकहरूमा कामदारहरूले उचित रूपमा तलब, सुविधा नपाउने र श्रम शोषणमा पर्न बाध्य भएका छन् ।

वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सरकार वेलैमा लाग्नुपर्दछ । सरकारले आप्रवासनमा रहेका कामदारहरूबाट प्राप्त आम्दानी, सीप र दक्षतालाई राष्ट्र विकासमा लगाउने, प्रभावकारी योजना निर्माण गरी कार्यान्वयन गर्ने, सेवामा प्रभावकारिता ल्याउन उपलब्ध संरचनाहरूलाई विस्तार गर्ने, प्रभावकारी योजना कार्यान्वयन गर्ने र अन्य मुलुकबाट नेपालमा काम गर्न आएका व्यक्तिहरूको लगत राख्ने र उनीहरूको अधिकार रक्षा गर्न थप प्रयासहरू गर्नु आवश्यक छ ।

सरकारले मुलुकभित्रै रोजगारीको पर्याप्त अवसर प्रदान गर्न नयाँ नयाँ उद्योग कलकारखाना, होटलहरू खोल्न पहल गर्नुपर्दछ । देश संघीयतामा गइसकेको र सातवटै प्रदेशमा प्रादेशिक सरकारले आफ्नो काम थालनी गरिसकेको हुँदा देशभित्र र बाहिर रहेका सम्पूर्ण मजदुरहरूको हकाधिकारलाई समयमै सम्बोधन गर्ने तथा देशभित्रै रोजगारीको व्यवस्था मिलाउनेतर्फ सरकार अघि बढ्नुपर्दछ र मजदुर संघ संगठनहरू आफ्नो व्यक्तिगत भन्दा पनि राष्ट्रको उन्नति, प्रगतिमा लाग्नुपर्ने आवश्यकता रहेको छ ।

प्रतिक्रिया