राजनीतिमा नैतिक चरित्रको विषय अझै ओझेलमा

‘यदि राजनीतिमा सिद्धान्त र मर्मलाई कुल्चिमिल्ची पारेर सत्ता, प्रभुत्व र पैसालाई आम संस्कृतिको रूपमा चट्टानीकरण गर्न खोजिन्छ भने त्यो वास्तवमै राजनीति नभएर बाजनीति वनन पुग्छ । पृथ्वीमा आजसम्म राजनीतिशास्त्रको पछिल्लो संस्करणसम्मले सिद्धान्त र मूल्यहरूविनाको राजनीतिक अभ्यासको कल्पना गरेको छैन ‘

-मोहन नेपाली  दिनहुँजस्तो सुन तस्करी, आर्थिक घोटाला र भ्रष्टाचार काण्डहरू सार्वजनिक भइरहने नेपाली समाजको नैतिक चरित्रको जग र सामाजिक मनोवैज्ञानिक ढाँचाबारे खासै बहस हुने गरेको पाइँदैन । बरु व्यक्ति र घटनामा केन्द्रित भएर बढी सूचना सम्प्रेषण भइरहेको पाइन्छ । प्रतिक्रियात्मक टिप्पणीहरू पनि बढीजसो व्यक्ति—केन्द्रित नै भेटिन्छ ।

वास्तवमा, नेपालको राजनीतिमा यतिसम्म विकृति र सैद्धान्तिक विचलन आउनुमा नेपाली समाजको नैतिक चरित्र र मनोवैज्ञानिक ढाँचाको प्रकृति प्रमुख कारणहरू हुन्, जसले अन्य कारणहरूलाई जन्म दिन्छन् । जस्तै, गरिबी, अशिक्षा, बेराजगारी आदि त समाजकै उत्पादनहरू हुन्, सहायक कारणहरू हुन् । मुख्य कारण त हामी कस्तो मानव बन्यौँ र हाम्रो नियत कस्तो बन्यो भन्ने नै हो ।

यस सन्दर्भमा एउटा प्रसिद्ध भनाइ छ : क्रियाकलापले बानी निर्माण हुन्छ, बानीबाट चरित्र बन्छ भने चरित्र नै कालान्तरमा नियति बनिदिन्छ । यो प्रकृति–प्रदत्त एवं अनुभव–परिक्षित कथन हो । यदि राजनीतिमा सिद्धान्त र मर्मलाई कुल्चिमिल्ची पारेर सत्ता, प्रभुत्व र पैसालाई आम संस्कृतिको रूपमा चट्टानीकरण गर्न खोजिन्छ भने त्यो वास्तवमै राजनीति नभएर बाजनीति बन्न पुग्छ ।

पृथ्वीमा आजसम्म राजनीतिशास्त्रको पछिल्लो संस्करणसम्मले सिद्धान्त र मूल्यहरूविनाको राजनीतिक अभ्यासको कल्पना गरेको छैन । यदि नेतृत्व पंक्ति नैतिक सिद्धान्त र जनपक्षीय राजनीतिक अभ्यासबाट विचलित भएर कर्मकाण्डमुखी र धन्दामुखी राजनीतिमा होमिने हो भने राजनीतिक आवरणमा अपराध उद्योग निर्धक्कसँग सञ्चालन गर्न चाहने पक्षहरूलाई विशेष प्रोत्साहन मिल्न जाने देखिन्छ । साथै, यसबाट कार्यकर्ता र समर्थक पंक्तिसम्म विकृतिहरूको द्रुत गतिमा विस्तार हुन्छ ।

पृथ्वीमा मानवले गर्ने जुनसुकै क्रियाकलाप पनि प्रकृतिको कानुन विपरित भएको खण्डमा परिणाम राम्रो आउँदैन । प्रकृतिको कानुनले प्राणीहरूको सह—अस्तित्व र प्राणीवर्ग र भौतिक पदार्थबीचको वैज्ञानिक (परीक्षण र प्रमाणित गर्न सकिने ) सम्बन्धलाई निर्देशित गर्छ । संयुक्त राष्ट्र संघको वडापत्र र मानवअधिकर सम्बन्धी विश्वव्यापी घोषणापत्र तथा तत्पश्चातका अभिसन्धिहरूले मानवजातिको नैसर्गिक अधिकारको कुरा गरेको पनि प्रकृतिकै कानुन बमोजिम हो ।

तसर्थ, राजनीतिलाई पनि प्रकृतिको कानुन एवं विश्वव्यापी सिद्धान्तमा आधारित भएर बुझ्नु आवश्यक छ । राजनीतिमा थोरै व्यक्तिहरूको इच्छा र नियन्त्रणलाई प्राथमिकता दिँदा एउटा राष्ट्र वा जातिलाई मात्र होइन कि समग्र मानव सभ्यतालाई नोक्सानी पुग्छ । राजनीति सही नभएसम्म समाजको कुनै पनि क्षेत्र सही ढंगले चल्न सक्दैन । किनकी राजनीति मानव समाजको केन्द्रीय स्नायु प्रणालीको भूमिकामा छ ।

मानव समाजका सबै विषयगत क्षेत्रहरूलाई समेत दिग्दर्शन गर्ने नीतिको निर्माण र कार्यान्वयन गर्ने भूमिका भएको राजनीति विचौले शैलीको मिलाएर खाने धन्दाको रूपमा संस्थागत हुँदा बहुजनको हित नहुने कुरा स्पष्टै छ । बहुसंख्यक जनताको भलाइमा केन्द्रित भै असल नैतिक चरित्रमा अडेर राजनीतिक अभ्यास गर्ने व्यक्ति नै राजनेता हो, जो एउटा पार्टी वा गुट वा परिवारभन्दा हजारौँ गुणामाथि उठी आम जनसमुदायको साझा सम्पत्ति बन्छ ।

वास्तवमा, राजनीतिकर्मीको लागि नितान्त आवश्यक गुण भनेकै असल नैतिक आचरण र असल नियत हो । यदि नेतृत्वदायी शक्तिहरूको नैतिक चरित्र र नियत ठीक छैन भने राजनीतिको नाममा अपराधबाहेक केही पनि हुँदैन । यो सत्यलाई वैज्ञानिक कोणबाट बुझ्ने हो भने २५०० वर्ष पहिले गौतम बुद्धले दिएको वैज्ञानिक शिक्षालाई मूलधारको बहसमा समेट्नु आवश्यक छ ।

बुद्धले प्रकृतिको कानुन के हो र त्यो हाम्रो भौतिक जीवनमा कसरी काम गरिरहेको हुन्छ भन्ने सम्बन्धमा शिक्षा दिएका छन् । उनले आफ्नो जीवनभरि मानवको चेतना र पदार्थवीचको अकाट्य र समिकरणात्मक सम्बन्धबारे पढाएका हुन् । आजको राजनीतिलाई व्यवहारतः वैज्ञानिकीकरण गर्ने र गुणसम्पन्न पार्ने दिशामा शिल, समाधि र प्रज्ञा जस्ता बुद्धका शिक्षाका मूलभूत तत्वहरू सान्दर्भिक मात्रै होइन नितान्त आवश्यक पनि देखिन्छन् ।

शिलले मानव जीवन सुखी र सम्पन्न बनाउने उसको नैतिक विकासको सिद्धान्तलाई जनाउँछ भने समाधिले इन्द्रीय आशक्ति र घृणाबाट मुक्त पार्ने कसरत र मानसिक विकासलाई समेट्छ । त्यस्तै, प्रज्ञाले भने उसको गहिरो अनुभूतिद्वारा प्राप्त ज्ञान, उ आफैँले अनुसन्धान, परीक्षण र प्रयोग गरेर हासिल गरेको वैज्ञानिक ज्ञान तथा मनको शुद्धिकरणबाट स्वतः विकास हुने जागृति र अन्तर्दृष्टियुक्त क्षमतालाई संकेत गर्छ ।

नेपाली समाजको राजनीतिक गुणस्तरको सम्बन्धमा समालोचनात्मक एवं विश्लेषणात्मक बहस र संवाद गर्ने सञ्चार संस्कृतिको विकास गर्न अलि बढी लागि पर्नुपर्ने खाँचो देखिन्छ । सानो भू—भाग, पुग्दो जनसंख्या र असीमित प्राकृतिक सम्पदा भएको नेपाल किन राणा शासनको अन्त्यपछिको ६७ वर्षसम्म पनि भ्रष्टाचार, कु—शासन र गद्दारीको शृंखलाहरूबाट गुज्रिरहेको छ ?

९÷९ महिनामा सरकार बदलिने विषयमाथि प्रतिक्रिया मात्र जनाएर मौलिक चिन्तनको विकास नभएको कुरा छर्लंगै भइसकेको छ । नेपालमा विगतमा ९÷९ महीनामा कैयौँपटक किन सरकार बदलियो भन्ने प्रश्न मूलतः नैतिक चरित्र र नियतसँग गाँसिएको छ, जुनबारे आपसी लाञ्छना लगाउने प्रतिक्रिया जनाउने कामबाहेक कुनै प्रकारको प्राज्ञिक अध्ययन भएको छैन । बाहिर देखिने कारणहरू त प्राविधिक र प्रक्रियागत कुराहरू मात्र हुन् ।

अध्ययनकै नाममा मात्र पनि अन्तर्राष्ट्रिय दाताहरूले नेपालमा अर्बौं रूपैयाँ खर्च गरिसकेका छन् । सुशासन, पारदर्शिता र जवाफदेहीताकै नाममा वर्षेनी करौडौँ खर्च हुने गरेको छ । तैपनि, नेपाली समाजले स्पष्ट दिशाबोध अझै प्राप्त नगरेको तथ्य जगजाहेर छ । रूप र नाम सम्बन्धमा सधैँ झगडा गरिरहने बानी लागेका हामीहरूलाई सारको बारेमा किन खासै अन्वेषण गर्ने जाँगर चलेन ?

किन चीन र रुसले नेपालको औद्योगिक विकासको मेरुदण्डीय पूर्वाधारका रूपमा बनाइदिएका दर्जनौँ ठूला उद्योगहरू नीजिकरणको निहुँमा बन्द गराएर खर्बाैंको व्यापार घाटा हुने आयातमुखी अर्थतन्त्रलाई धेरै असन्तुलित र अस्वाभाविक ढंगले अवलम्बन गरियो ? स्वदेशी रोजगार प्रवद्र्धन बोर्डको सट्टा किन वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड खोलेर १८ पुगेका श्रमजीवी युवाहरू सकेसम्म कोही पनि स्वदेशमा रहनुहुन्न भन्ने अर्थ लाग्ने खालको गलत मनोवैज्ञानिक ढाँचाको विकास गरियो ?

के यी प्रश्नहरू राजनीतिक नेतृत्व पंक्तिहरूको नैतिक शक्तिसँग पनि गाँसिइदैनन् ?  खै त हाम्रो लोकतन्त्रमा अनिवार्य तत्व मानिने समालोचनात्मक तथा विश्लेषणात्मक बहस र संवाद हामीलाई निरन्तर प्रभावित पारिरहेको विद्यमान मनोवैज्ञानिक ढाँचातिर लक्षित भएको ? त्यसैले, संघीय लोकतान्त्रिक गणतन्त्रलाई सही तरिकाले कार्यान्वयन गर्न कर्ताहरूको मनोबनोटको रूपान्तरण एवं पुनर्संरचनामा जोड दिनु आवश्यक छ । नीति, कार्यक्रम र नियमित पैरवीको कार्यसूचीमा पर्नुपर्ने विषय हो यो ।

समाजको नैतिक चरित्रको यथेष्ट मात्रामा विकास हुन नसक्दा नै भ्रष्टाचार, व्यभिचार, हिंसा र अनेक अपराधहरू फैलिने गर्छन् । संविधानको पालना र कानुनी शासनको लागि नैतिक चरित्रको विकास अनिवार्य सर्त हो, जुन परिवार र स्कुलको पहिलो खुट्किलोदेखि नै सुरु गर्नुपर्ने प्रक्रिया हो । नैतिक चरित्र जस्तो हुन्छ त्यस्तै नियत निर्माण हुन्छ । नियत जस्तो बन्छ त्यस्तै कार्य गरिन्छ । कार्य जस्तो गरिन्छ त्यस्तै परिणाम आउँछ ।

परिणाम जस्तो आउँछ, त्यस्तै प्रतिक्रिया उत्पन्न हुन्छ । यो कुरा बुद्धले धेरै पहिले नै सिकाइसकेका थिए । वास्तवमा, प्रतिक्रियामुखी एवं हचुवा पाराको राजनीति, अन्धविश्वास र कुसंस्कारका विरुद्ध ठोस रूपमै वैज्ञानिक अनुसन्धान, प्रमाणीकरण र विश्लेषणको शिक्षा दिने अगुवा गौतम बुद्ध नै थिए । यसको प्रमाण त्रिपिटक स्वंय नै छ ।

सिर्जनात्मक विकास र रूपान्तरणको बाधक प्रतिक्रियामुखी संस्कारको अनन्तः शृंखलालाई तोड्न राजनीतिक क्षेत्रभित्रको नैतिक चरित्र र नियतलाई मुख्य मुद्दा बनाइनु आवश्यक छ । स्कुल, कलेज र विश्वविद्यालयहरूमा मात्रै होइन समाजको हरेक क्षेत्रमा नेपाली समाजको नैतिक, मानसिक र वैज्ञानिक विकासको अवधारणालाई औपचारिक र अनौपचारिक दुवै तबरले आत्मसात गर्नु समयको माग हो ।

प्रतिक्रिया