संस्कृतिका सेतु : टुकुचे र मार्फा

विष्णुप्रसाद शर्मा पराजुली धवलागिरिको काख, कालीगण्डकीको अँगालो र बाग्लुङ कालिकाको संरक्षणमा बसेको पश्चिम पहाडी संस्कृतिको धरोहर बाग्लुङमा राष्ट्रिय सञ्चार विकास केन्द्रको १०२औँ पत्रकारिता तालिम सकेर म बेनीतिर लागेँ भने साहित्यकार एवं पत्रकार प्रमोद प्रधान काठमाडौंतिर लाग्नुभयो । ०७४ असार ७ गते साँझ काठमाडौंबाट चार जना साथीहरू कालीगण्डकी र म्याग्दी नदीको तिरमा १६ वर्षे वैँशालु रुपवती मगर्नी टिमिक्क मिलेको चोली पहिरेर बसेजस्तै बसेको बेनी बजार आइपुगे ।

माथिल्लो मुस्ताङको ल्होमान्थाङ हुँदै दामोदर कुण्ड पुग्ने र फर्कंदा मुक्तिनाथको दर्शन गर्ने हाम्रो योजना गलेश्वरलाई साक्षी राखेर कालीगण्डकी र म्याग्दी खोलाले समर्थन गरे । यो यात्रामा मसहित मिठाराम अधिकारी, माधवलाल श्रेष्ठ र ज्ञानेन्द्र बानिया थियौँ । आकाशका सेता र काला बादलका फुर्का असारे झरीमा नै किन नहोस ‘वर्षा है लाग्यो हरियो भो पाखा सालै जो …कालीको छेवैमा, खेतै है रोप्यो खाउला भनि सालै जो ..पाँगैको फाँटैमा’ भन्ने सालैजो भाकामा एक फन्को त्यहाँका युवायुवती कम्मर मर्काएर नाचेझैँ नाचे ।

कालीको उर्लंदो भेललाई नजिकबाट हेर्दै हामी पनि रमायौँ र चितवनका मयुरझैँ नाचेझैं नाच्यौँ । कालीगण्डकीको तिरलाई आधार मानेर नक्सांकन गरिएको बेनी–जोमसोम सडक खण्ड निर्माण भएको लामो समय भएता पनि कालोपत्रे भएको छैन – मात्र यातायातको एकलौटीपन हटेको छ । सडक खुलेपछि टुकुचे, मार्फा र जोमसोमका पुराना नुन, उन, स्याउ र अन्य सामानको व्यापार गर्ने व्यापारीले समयको मागअनुसार सवारी साधनमा लगानी गरे ।

लगभग एक दशक नै त्यसक्षेत्रका सवारी साधनबाहेक अन्यत्रका साधन त्यता छिर्न नपाएको मात्र होइन कि यात्रुले अनाहकमा पैदल यात्रा गर्दा भन्दा कठोर मानसिक र शारीरिक यातना भोग्न बाध्य भए । नेपाली नागरिक त उकाली–ओराली, देउराली र भन्ज्याङलाई दुधे बच्चालाई आमाले काखमा राखेर माया गरेझैँ माया गर्दै हिँडने गर्छन् ।

अचाक्ली दुःख, कष्ट र यातनालाई सहँदै रुप्सेको झरनालाई साक्षी राखेर जीवन निर्वाह गर्छन् ।यातायात व्यवसायीको लुछाझम्टी गर्ने त्यो ब्यवहारले नेपाली, भारतीय र युरोपबाट आएका तीर्थालु र पर्यटकले अनाहकमा दुःख पाए । तिनीहरूले गलेश्वर, कागबेनी र मुक्तिक्षेत्रजस्ता बराह पुराणमा उल्लेख भएका क्षेत्रमा भोगेका दर्दनाक पीडा फेवातालमा पुगेर आँशु टप्काएर व्यक्त गरे । कच्चीबाटोमा यात्रा गर्दा हुने दुःख उस्तै छ ।

तर, अहिले भने पोखराको फेवा ताल, विन्ध्यवासिनी, गुप्तेश्वर गुफा, कुश्माका अग्ला र लामा झोलुंगे पुल, बाग्लुङ कालिका, म्याग्दीको गलेश्वर धाम, रुप्से छहरा, आठ हजार मिटरभन्दा अग्ला धवलागिरि र अन्नपूर्ण प्रथमको बीच कालिगण्डकीमा पर्ने संसारको गहिरो गल्छीको धित मरुञ्जेल दर्शन गर्दै तातोपानी, टुकुचे, मार्फाजस्ता ऐतिहासिक गाउँ हेर्दै एउटै सवारी साधनबाट पनि जोमसोम–मुक्तिनाथ पुग्न सकिन्छ ।

यातायात एकलौटीपनको त्यो महारोग अहिले जोमसोम–कोरलातिर सरेको छ । कालीगण्डकीको तीर हुँदै देवघाट–मुक्तिनाथ–दामोदर कुण्ड पुग्ने ऐतिहासिक धार्मिक क्षेत्र पनि यहीँ नै हो । तिब्बतदेखि कोरला भन्ज्याङ पार गरेर ल्होमान्थाङ–जोमसोम–बेनी–बिहादी–रानीघाट–पाल्पा–बटौली हुँदै भारत जाने ब्यापारिक एवं तीर्थ गर्ने यो बाटो आधुनिक युगको सातौँ शताब्दी वा भृकुटी र स्रङचङगम्पोको विवाहभन्दा पहिलेदेखिको हो भन्ने कुरा इतिहासमा उल्लेख छ ।

यहीँ नै त्यो ऐतिहासिक बाटो हो जुन रेसम मार्गको एउटा महत्वपूर्ण अंगको रूपमा रहेको थियो । त्यसबाहेक, धार्मिक एवं वैदिक ग्रन्थ श्रीवराहपुराणमा उल्लेख भएको आधारमा भन्ने हो भने ब्रम्हाका मानस पुत्र पुलस्त्य र पुलह मुनीले धवलागिरि पर्वत र शालग्राम क्षेत्र वरपरका पर्वतका शिरमा गएर तपस्या गरी सृष्टिशक्ति प्राप्त गरेका थिए । धार्मिक र हाल त्यस क्षेत्रमा भएका सांस्कृतिक पक्ष र त्यहाँ स्थापित मठ एवं मन्दिरको महिमा हेर्दा यो समग्र क्षेत्र विष्णुको क्षेत्र हो र हरि भनेका पनि हर नै हुन् अर्थात यो हरिहर क्षेत्र हो ।

त्यसैले गलेश्वर क्षेत्रदेखि कागबेनी, मुक्तिनाथ र दामोदर कुण्ड अत्यन्त महत्वपूर्ण धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक क्षेत्र हुन् । हिमाली संस्कृतिको विकास ई.पु. ४५०० देखि ३५०० पहिले सिन्धु सभ्यताको नजिकको समयमा भएको वmुरालाई आधार मान्ने हो भने त्यसवेलादेखि नै यो क्षेत्रमा मानिसको बसोवास भएको र त्यसैवेलादेखि शालीग्राम, गलेश्वर, मुक्तिनाथ र दामोदर वmुण्डजस्ता क्षेत्रहरू चर्चामा रहेका थिए ।

पुष्टि गर्न बाँकी रहँदारहँदै पनि के कुरा भन्न सकिन्छ भने यो क्षेत्रमा मानिसको आवतजावत कम्तिमा पनि इ.पु. ४५०० वर्ष पहिलेदेखि भएको हुनपर्छ । पुराणहरूको आधारमा भन्ने हो भने अझ धेरै हजार वर्ष पहिलेदेखि हमानिसको ओहोरदोहोर भएको थियो । आधुनिक युगमा भृकुटीको समयभन्दा पहिले त्यो बाटो भएर तीर्थयात्री र व्यापारीले नेपाल–तिब्बत–भारत भएर व्यापारको सँगसँगै तिब्बतमा बौद्धधर्मको विस्तार गर्न यात्रा गरेको पुष्टि भएको छ ।

आठौँ शताब्दिका बौद्धधर्म गुरु पदमसम्भव यो बाटो भएर तिब्बत गएको कुरा गुम्बाहरूको निर्माण र तपस्या गरेका गुफाहरूमा उनले आफ्ना हस्त र पद चिह्न छोडेर गएकोबाट थाह भएको छ । त्यसरी नै भारतका बौद्धगुरु अतिशा यो बाटो भएर १०औँ शताब्दीमा पश्चिम तिब्बतको गुगेमा पुगेर त्यहाँको थोलिङ गुम्बामा बौद्धधर्मसम्बन्धी ज्ञान दिएको वmुरा यसै स्तम्भकारले लेखेको ‘तिब्बत यात्रा’ भन्ने पुस्तकमा उल्लेख गरिएको पाइन्छ ।

कालीगण्डकीको बाटो भएर माथिल्लो मुस्ताङमा अतिसाले गुम्बासमेत बनाएको कुरा तिब्बत र नेपालसम्बन्धी विज्ञ इटालियन नागरिक गुसेफ टुकिले ‘जर्नी टु मुस्ताङ’ पुस्तकमा उल्लेख गरेका छन् । आज त्यस क्षेत्रका वासिन्दा, सरकार, पुरातत्व विभाग र आमनागरिकले आफ्नो अति प्राचीन इतिहास र यसको महत्वबारे जानकारी लिन नै नखोजी एक अर्कामा हिलो छ्यापेर इतिहास, धर्म र संस्कृतिको धज्जी उडाउँदै सन्तोष मान्नु कत्तिको जायज कुरा हो ?

अनुसन्धानको कामलाई थाती राखेता पनि कमसेकम तीर्थयात्री र पर्यटकलाई सहजै ओहोरदोहोर पनि गर्न नदिने हामी कति मुर्ख सभ्य हौँ ? छिमकी देश चीनले रेशम मार्गका रेशा रेशा केलाउँदै त्यसको पुनर्निर्माण गर्ने योजना गरेर ‘सँगै काम गरौँ’ भनेर बारम्बार प्रस्ताव गर्दा पनि हामीले प्रतिवद्धता व्यक्त गर्न सक्दैनौँ र लाज पनि मान्दैनौँ । अचम्मको कुरा छ !मथिल्लो मुस्ताङमा कात्तिकदेखि हिउँ पर्न थाल्छ र चैतसम्म रहन्छ ।

त्यसबेला अग्ला भञ्ज्याङमा बाक्लो हिउँ थुप्रिने हुनाले आवतजावत हुँदैन । त्यसैले त्यसवेला त्यहाँका मानिस जाडो छल्न र सँगसँगै व्यापार गर्न बेँसी झर्छन् । अहिले पनि त्यो चलन छ । यातायातको साधनले यात्राका तरिका फरक भएका छन् । आजभन्दा २०÷२५ वर्ष पहिले मुस्ताङका नेपाली र ५०÷५५ वर्ष पहिले तिब्बतीहरू हिउँदको समयमा पैदल यात्रा गरी यहीँ बाटो भएर कालीको तिरैतिर हुँदै भैरहवा र त्यसपछि भारत पुग्थे र वैशाखमा घर फर्कन्थे । त्यो क्रम हरेक वर्ष दोहोरिन्थ्यो ।

रुप्से छहरा, म्याग्दी, तस्बिर लेखक

मलाई पनि सम्झना छ । तिनीहरू माथिल्लो मुस्ताङ क्षेत्रका नेपाली र पश्चिम तिब्बतका तिब्बतीहरू (सन् १९५६ भन्दा पहिले) जिम्बू, सियो, तिब्बती नुन, बोदो, सिलाजित, जडिबुटी, ढुंगा र हाडका माला, बाला, शालीग्राम र अन्य सामान लिएर हाम्रो गाउँ पर्वतको बेनी, फलेबास, बिहादी, रानीघाट, बटौली हुँदै भारत पुग्थे । साँझ परेपछि चौपारी, चौर, ओढारमा बास बस्थे र दिउँसो यात्राकै क्रममा नजिकका गाउँमा पसेर व्यापार गर्थे । भारत पुगेर फर्कने वेलामा उनीहरूले भारतबाट ल्याएका सामान बेच्थे ।

सामान दिएर उनीहरू पैसाको बदलामा कोदो र फापरको पिठो मात्र लिन्थे चामल लिँदैनथे । सेतिबेनी शिला जाने बाटोमा पर्ने लामगराको बनमा उनीहरूले ढिडो ओडालेर खाएको दृश्य म अझै पनि झल्झली सम्झन्छु । त्यसरी उनीहरूले आफ्नो गाउँमा हिउँको राज्य भएको वेला तीर्थ र व्यापार गर्थे भने वृद्ध आफन्त, दुहुना चौरी र गाउँको हेरचाह गर्न गाउँलेले पालैपालो जिम्मा दिन्थे ।

हामीले उनीहरूलाई टोपे भन्थ्यौँ र एक्लै भएको वेला डराएर भित्र लुक्थ्यौँ । आमा र बाले जिम्बू किन्ने बेला लुकेर हेथ्र्यौैं । महिला पुरुष दुबै अग्ला देखिन्थे । दुवैको कपाल लामो हुन्थ्यो र दुवैले रातो डोरीले लामो केश बाँधेर टाउकोमा फेरो पारेर कस्थे । पुरुषले एउटा बाहुलो बाहिर नै झुन्डाएर लामो बख्खु भिरेका हुन्थे जुन घुँडासम्म झरेको हुन्थ्यो । कपडाका पत्रपत्रले बनाएको जस्तो देखिने भेडाको उनको जुत्ता जसलाई दोचा भनिन्छ त्यो पनि घुँडाभन्दा मुनिसम्म पुग्नेगरी लामो हुन्थ्यो ।

महिलाले पनि घाँटीदेखि कुर्कुच्चासम्म पुग्ने लामो आङ्गी पहिरेका हुन्थे त्यसमा रहेका दुई लामा डोरीजस्ता फुर्काले पछाडी कम्मरमा बाध्थे । त्यसमाथि अर्को पछ्यौराजस्तो देखिने नीलो र कालो उनीधागोबाट हातैले बुनेको पानदेन बाँध्थे जसका फुर्का अगाडि पछाडि दुवैतिर झरेका हुन्थे । हातमा थरिथरिका बाला र घाँटीमा लामालामा माला पहिरेका हुन्थे ।

सबैका हातमा माला हुन्थ्यो र हिँडदा पनि त्यो मालामा भएका १ सय ८ गेडा सार्दै ‘ॐ मणि पद्मे हुँ’ मन्त्र जप्दै गुनगुनाउँदै हिँड्थे । त्यसवेला माथिल्लो मुस्ताङ र तिब्बतका कुन कुन हुन भनेर छुट्याउन कठिन हुन्थ्यो । तिब्बतमा आधुनिक विकासले फड्को मारेको तीन दशक भयो । विकासको गति अहिले द्रुत गतिमा अगाडि बढेको छ ।

तिब्बती फिरन्तेले अहिले व्यावसायिक भेडाच्याङ्ग्रा र चौरी पाल्न थालेका छन् । उनीहरूको मूल घरसम्म मोटरबाटो पुगेको छ । स्वास्थ्य र शिक्षामा कुनै कमी छैन । उनीहरूले पशुचराउन पाटनतिर जाँदा आफ्ना सामान आफ्नै ट्रकमा राख्छन्, सुविधा सम्पन्न, भान्सा सहितको पाल उनीहरूसँग हुन्छ । मोबाइल, इन्टरनेट, टेलिभिजन, खाद्य सामग्री सबै सँगै हुन्छ र ती नोम्याड अर्थात फिरन्ते अहिले आधुनिक लोभलाग्दा व्यावसायिक धनी पशुपालक भएका छन् ।

चीन सरकारले तिनको योजनावद्ध प्रबन्ध गरेको छ । तिब्बतमा त्यसरी विकास हुँदा हाम्रोमा विकासको चक्र घडीको उल्टोसुईतर्फ घुम्यो । हिजो ती नागरिकलाई पिठो दिने छिमेकी नेपाली अहिले चीन सरकारले तिब्बतको नाका कुन दिनदेखि खोलिदेला र पिठोदेखि अन्य मीठो कुरा तिब्बतका सीमाबाट ल्याउला भनेर पात्रो हेरेर बसेका छौँ । ऋग्वैदिक मन्त्रमा रात्रिलाई उषाको संकेत भनेर रात्रिको पनि महिमा उल्लेख गरिएको छ ।

रात नभएको भए बिहान कसरी हुन्थ्यो ? बिहान हुनमा रातको योगदान छ । ‘ज्योतिहरूमा पनि श्रेष्ठ ज्योति प्रकट भयो, अद्भुत प्रकाश सर्वत्र फैलियो । सूर्यले जसरी रात्रिलाई जन्मिन ठाउँ दिएको थियो, त्यसरी नै रात्रिले उषाका निम्ति ठाउँ छोडिदिई ।’ भनि मदनमणि दीक्षितले ‘त्यो युग’ पुस्तकमा उल्लेख गर्नुभएको छ । मेरो मनमा नेपालमा रहेको लामो कालो रातको अन्त्य हँुदै छ अन्ने झिनो आशा जन्मेको छ । धेरै मानिसहरू उषा झर्छिन् भन्ने कुरामा विश्वस्त छन् ।

उषालाई स्वागत गर्न कठोर त्याग, बलिदान र मिहिनेत पनि गरेका छन् । जोमसोमदेखि चीनको स्वशासित क्षेत्र तिब्बत जोड्ने कोरला सीमासम्म मोटरको बाटो खुलेपछि माथिल्लो मुस्ताङका गाउँहरूमा उषा झरेको संकेतले हर्षोल्लास छाएको छ । त्यहाँका बासिन्दा यति प्रफुल्ल बनेका छन कि मानौँ त्यहाँ वर्षभर ल्होसार आएको छ । मानौँ पहराका गुफामा ध्यान मग्न पदमसम्भव उषासँगै प्रादुर्भाव भएका हुन् । बुद्धले भूमि स्पर्शमुद्राबाट औँलाहरू हटाएर खुसी बाँड्न ल्होमान्थाङ, यारा, घारा, छोसेर पुगेका हुन् ।

यथार्थमा, अबको केही वर्षमा भैरहवादेखि कालीगण्डकीको किनार, बेनी, जोमसोम, ल्होमान्थाङ, कोरला हुँदै तिब्बतमा पुग्न १४÷१५ घण्टा मात्र लाग्नेछ । आजकल हाम्रा दाजुभाइ वर्ष दिनको काम ६ महिनामा सक्ने मात्र होइन कि उवा र फापर खेती लगाउने, बाली थन्क्याउने, भेडाच्याङ्ग्राको हेरचाह गर्ने, बालबालिका र वृद्धको स्याहार गर्नेजस्ता काम सम्पन्न गरेर बाँकी समय सरकारलाई नपर्खी गाउँमा मोटर बाटो पुर्याउन अहोरात्र खटेका छन्, ओठभरी मुस्कान छरेर ।

नभन्दै धे र सामजोङ गाउँबाहेक माथिल्लो मुस्ताङका सबै गाउँमा अहिले ट्रयाक्टर पुगेको कुरा याराका जामयाङ तेन्जिङ गुरुङले सुनाउँदा मैले मेरा गाउँलेको घर अगाडि पनि तिब्बतमा झैं ट्रक, ट्रयाक्टर, मोटरसाइकल, कार, गोठभरी हजारौँका संख्यामा रहेका भेडाच्याङ्ग्रा, याक र चौरी झलझली देखेको थिएँ । गाउँका मानिसको उत्साह, मिहिनेत र जाँगर देख्दा यस्तो लाग्थ्यो कि त्यहाँका मानिसहरू अँधेरी रातलाई उषामा परिणत गरेका छन् ।

लोभ, लालच, दोष थोपर्ने, आत्मविश्वासको कमी, तर्सने बानीले गर्दा तराईको हुलाकी राजमार्ग ४० वर्षसम्म बनेन, पञ्चेश्वर गफमा सीमित भयो । पूर्व–पश्चिम राजमार्गको कर्णालीदेखि महाकालीको खण्ड १५ वर्ष ढिलो भयो, नेपालगञ्ज–सुर्खेत खण्ड कालोपत्रे हुन ३० वर्ष लाग्यो । अब अरुण, कर्णाली, वीरगञ्ज–काठमाडौं रेलमार्गजस्ता आयोजना यथार्थमा जन्मन कति वर्ष कुर्न पर्ला ? नेपालका सम्पूर्ण योजनालाई एउटा थैलोभित्र हाल्ने, त्यसको मुख बाँध्ने अनि फुकाउन प्रयासै नगर्नेजस्ता सिद्धान्तले नेपालको विकास हुन्छ र ?

विकासका लागि जसरी हिमालपारी र हिमाली जिल्लामा रहेका आमाबुबाले मिहिनेत गरेका छन् त्यसरी नै तिनले गरेको मिहिनेतलाई साक्षी राखेर काम गर्ने हो भने एक दशकमा हामीले हामीलाई आत्मनिर्भर बनाउन सक्छौँ । हिमालमा बस्ने बासिन्दालाई फुर्सद हुँदैन । त्यो क्षेत्र वर्षमा ६ महिनासम्म हिउँमा पुरिने भएकाले ६ महिनामा एक वर्षको काम सकेर तीर्थव्रत र व्यापारका लागि निस्कन पर्छ । राज्यको उपस्थिति यस्ता हिमाली क्षेत्रमा कति होला अनुमान गरे मात्र पुग्छ । उनीहरू अहोरात्र खटेर आफ्नो गाउँको विकासमा हातेमालो गर्छन् ।

नेपालीको खास संस्कार पनि त्यहि नै हो । हिमालवारी पानी परेर दुःख भए पनि हिमालपारीका महत्वपूर्ण क्षेत्रमा भ्रमण गर्न वैशाखदेखि असोजसम्मको समय राम्रो हुन्छ । यसपटकको हाम्रो यात्रामा ल्होमान्थाङ र दामोदर कुण्ड परेका थिए । पहिलेका ख्यातिप्राप्त व्यापारिक गाउँ टुकुचे, मार्फागाउँ मोटरबाटो खुलेपछि सुनसानजस्ता भएका छन् । यी गाउँहरू पौराणिक कालमा नेपाल हुँदै तिब्बत, भारत र नेपालकै डोल्पा र जुम्ला जाने मुख्य नाका हुन् ।

यी नेपालको हिन्दू र बौद्ध धर्मका सेतु हुन् । टुकुचे, मार्फादेखि उत्तरतिर हिन्दूधर्मका ठूला तीर्थस्थल भएता पनि यी गाउँदेखि उत्तर लागेपछि बौद्ध धर्म, संस्कार र संस्कृति पाइन्छ । अन्नपूर्ण परिक्रमा मुख्य पदमार्गसमेत रहेको यो क्षेत्र मोटरबाटो खुलेपछि चहलपहलमा कमी आएको छ । पदयात्री कम भएता पनि पुराना होटल र लज पोखराका जस्ता आरामदायी बनेका छन् भने पुराना शैलीका माटो, ढुंगाको गारो लगाइएका, काला ढुंगा र काठका फलेकले छाएका छानोका घर लोप भएका छन् ।

गुसेप टुकीले आफ्नाे पुस्तक ‘जर्नी टु मुस्ताङ’ पुस्तकमा टुकुचे र मार्फालाई व्यापारको केन्द्र मात्र होइन धर्म र संस्कृतिको संगमस्थल भनेका छन् । उनको भनाइमा ती गाउँभन्दा उत्तरी गाउँमा बौद्धधर्म मान्नेको प्रभाव पाइएको, भाषा, वेशभूषा र संस्कृतिमा पनि फरक भएको उल्लेख गरेका छन् । तल्लो मुस्ताङका थकाली जाति शेर्पा, नेवारजस्तै व्यापार गर्न जान्ने जातिमा पर्छन् । बेनीमा एक रात बसेर भोलिपल्ट बिहान हामी जोमसोमको बसबाट गलेश्वरधाम, रुप्से छहरा, संसारको सबैभन्दा गहिरो गल्छी हुँदै टुकुचे र मार्फा गाउँ पार गरेर जोमसोम पुग्यौँ ।

सडक सञ्जालबाट जोडिएपछि जोमसोममा झन् चहलपहल बढेको प्रष्टै देखिन्थ्यो । टुकुचे र मार्फापछि धर्म र संस्कृति, वेशभूषा र संस्कारमा मात्र होइन प्रकृतिमा पनि फरकपन देखिएको थियो । रुप्सेतिर देखिएको गाढा हरियाली त्यहाँ पुग्दा बलौटे र फुस्रोपनमा रूपान्तरण भएको थियो । त्यसैगरि अग्ला सल्लाका रुखहरू पोथ्रामा सीमित भएका थिए । जोमसोम पुग्दा हामीलाई बालुवासहित हुँइकिँदै आएको बतासले हार्दिकताकासाथ स्वागत गरेको थियो ।

प्रतिक्रिया