– सञ्चिता घिमिरे ललितपुर । मच्छिन्द्रनाथको जात्रामा मीननाथको रथ बाँध्दै आएका चिरीकाजी महर्जन अहिले छोरा भतिजालाई सिकाउने र सघाउने गर्छन् । रातो मच्छिन्द्रनाथको जात्रामा काठको काम सकिएपछि बेतले रथ बाँध्नेलाई ञँवाल भनिन्छ । ञँवालहरूले पुस्तौदेखि यो काम गर्दै आएका छन् । उमेरका कारणले पनि महर्जन अहिले रथमाथि चढ्न आँट नआउने बताउँछन् ।
उनी भन्छन्, ‘हामी पाकाले सिकाउने र ठिटा चढ्ने हो ।’ उनको पूर्खाले परम्परादेखि यो काम गर्दै आएको छ । उनका परिवारका बाजे र काका रथबाट लडेर घाइते नै भए तैपनि काम छाडेनन्, उनले भने, ‘अहिले पनि काम गर्ने जोश कम भएको छैन ।’ ‘आफ्नो परिवारले नै गर्दै आएकाले आफू गर्दा रमाइलो लाग्छ, मच्छिन्द्रनाथको जात्राका क्रममा हुुने कामलाई यहाँका रकमेहरूले उत्सव मान्छन्,’ महर्जनले भने ।
रथ बाँध्न नौ जना ञँवालाको दरबन्दी हुन्छ । तीमध्ये ६ जना ज्यालाका काम गरेर १५ जनाले मीननाथको रथ बाँध्दै आएका छन् । उनीहरूको खान्की जग्गा छैन । उनी भन्छन्, ‘असुरक्षित भए पनि मछिन्द्रनाथको इतिहास जोगाउन काम गरिरहेका छौँ ।’ मच्छिन्द्रनाथको जात्राको तयारीदेखि जात्रा अवधिभर विभिन्न काममा आवद्ध हुने जात आफूलाई मच्छिन्द्रनाथको काम गर्न पाएकोमा खुसी हुन्छन् । परम्परादेखि नै विभिन्न काम फरक÷फरक जातको जिम्मेवारी हुन्छ ।
मच्छिन्द्रनाथका सेवकलाई गुठी संस्थानको भाषाअनुसार रकमे भनिन्छ । उनीहरूमध्ये धेरैका नाममा पहिले जग्गा थियो । उनीहरू आफैँ मोहीबाट कुत बुझ्थे । अहिले कतिपय जग्गा रैकर भइसकेको छ । रैकर नभएको कतिपय जग्गामा रकमे आफैँ र कतिमा कार्यालयले कुत बुझेर दिन्छन् । कार्यालयले रकमेका लागि खान्की उपलब्ध गराउँदै आएको छ । जग्गा भएका र नभएका आफू गर्दै आएको काममा गर्व गर्छन् ।
पूर्खाले धान्दै आएको संस्कृतिलाई जोगाउन पाउँदा उनीहरू गर्वको महसुससमेत गर्छन् । मच्छिन्द्रनाथको जात्राका क्रममा राँगो काट्दै आएका ८७ वर्षीय भोसी शाही अझैसम्म काम गर्दै छन् । उनी आफूलाई याद भएदेखि नै मच्छिन्द्रनाथको जात्राका लागि मासु काट्दै आएका हुन् । भगवान्को काम गर्न पाउँदा उनलाई खुसी लाग्छ । उनी भन्छन्, ‘भगवान्को काम गरेरै मर्न पाउँदा आनन्द लाग्छ ।’ उनीपछि उनका सन्तानले नै यो काम गर्नेछन् ।
काम गरेबापत जग्गा नभए पनि पारिश्रमिक लिएर काम गर्दै आएका छन् । नेपाल पञ्चांग निर्णय समितिका सदस्यसमेत रहेका कीर्तिमदन जोशीको परिवारले रातो मच्छिन्द्रनाथको जात्राका लागि साइत हेर्दै आएको छ । उनको बुबा र अहिले उनको भाइले साइत हेर्छन् । गणक, लेखक, स्रोता र दर्शक गरेर चार जना ज्योतिषको दरबन्दीको व्यवस्था गुठीले गरेको छ । तर, लामो समयदेखि दुई जना मात्रै कार्यरत छन् ।
आफूलाई याद भएदेखि खान्की जग्गा नभएको जोशी बताउँछन् । आफ्नो पुस्ताले गर्दै आएकामा आफूपछिको पुस्ताले पुख्र्यौली काम गर्ला कि छाड्ला भन्ने चिन्ता उनमा छ । उनी भन्छन्, ‘अहिलेको पुस्तामा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको छ, हामीले संस्कृतिप्रतिको मोह कम हुन दिनुहुँदैन ।’ गुठी संस्थान ललितपुरका शाखा अधिकृत शैलेन्द्र पौडेलले मेरो बाबु–बाजेले गरेको काम छाड्नुहुँदैन भन्ने भावना रकमेहरूमा रहेको बताउँछन् ।
तोकिएको जात र त्यही परिवारका सदस्यले मात्रै मच्छिन्द्रनाथको काम गर्न पाउँछन्, उनी भन्छन्, ‘त्यसैले पनि धेरैमा काम गर्न पाउँदा सम्मानित भएको महसुस गर्नुहुन्छ ।’ अध्ययन वा रोजगारीको सिलसिलामा विदेश गएका कतिपय कामको समयमा आउने गरेका छन् । रकमेहरूको कामका आधारमा पारिश्रमिकको व्यवस्था गरिएको उनी बताउँछन् । वर्षभर धेरै काम गर्नुपर्ने जातलाई धेरै र थोरै गर्नेलाई कम पारिश्रमिकको व्यवस्था हुन्छ ।
रकमेका लागि चामल, चिउरा, नुन, बेसार, अदुवा, मासुलगायतका खान्कीको समेत व्यवस्था गुठीले गर्दै आएको छ । मच्छिन्द्रनाथको सीमित स्रोतबाट खर्च गर्नुपर्ने बाध्यता रहेको पौडेल बताउँछन् । मच्छिन्द्रनाथको नाममा भएका जग्गामध्ये तैनाथी जग्गा गुठीले बढी आम्दानी लिनसक्छ । उनी भन्छन्, ‘कतिपय जग्गा कहाँ छ थाहा छैन, कति थाहा भएर दर्ता हुन बाँकी छ र कतिको आम्दानी लिन नसकिएको छ ।’
रकमेहरू सबैको फरकफरक जिम्मेवारी हुन्छ । साइत हेर्ने काम ज्योतिष, पूजा गर्ने पानेजु फूल चढाउने माली, रंगरोगन गर्ने नेकुको जिम्मेवारी हुन्छ । भाँडाकुडा चढाउने कुमाले, रथ गुडाउन निर्देशन दिने सै–सै बाजे, भात पकाउने सुवाल, काठको काम गर्ने बाराही हुन् । ञँवालले रथमा बेत बाँध्ने, घकुले रथ नियन्त्रण गर्ने गर्छन् । गुठीले यी रकमेको फरकफरक संख्यामा दरबन्दीको व्यवस्था गरेको छ ।
प्रतिक्रिया