विकास बैंक बाणिज्यमा मर्जरको क्रम बढ्दो छ

१२ वर्षअघि मुक्तिनाथ विकास बैंकबाट बैंकिङ करिअर सुरु गरेका भरतराज ढकाल हाल मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गरिरहेका छन् । एक जिल्ले मुक्तिनाथ विकास बैंकलाई राष्ट्रिय विकास बैंकको रूपमा स्थापित गराउन सफल ढकाल विकास बैंकहरूमा कार्यरत प्रमुख कार्यकारी अधिकृतहरूको संस्था डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्षसमेत रहेका छन् । उनै ढकालसँग विकास बैंकहरू तथा मुक्तिनाथ विकास बैंकको समसामयिक विषयमा केन्द्रित रही सौर्यकर्मी केशव भट्टले गरेको कुराकानी :

देशको वर्तामान वित्तीय अवस्थालाई कसरी विश्लेषण गर्नुहुन्छ ?
समग्रमा भन्नुपर्दा अहिले नेपालको वित्तीय अवस्था त्यति राम्रो देखिँदैन । किनकि, कर्जा लगानी गर्न पैसाको अभाव छ, ब्याजदरमा पनि अस्वस्थ प्रतिस्पर्धा भइरहेको छ । ब्याजदर बजारले निर्धारण गर्ने भए पनि हाल निक्षेप र कर्जाको ब्याजदर बढेको छ, जसले गर्दा ऋणीहरूले गुनासो गर्दै आएका छन् । नियमनकारी निकायले पनि कडा निर्देशन जारी गर्दे जान सक्ने सम्भावना पनि रहेको छ ।

बैंकहरूको लगानी देशको अर्थतन्त्रसँग नजोडिएको हो कि, भन्ने आशंका उब्जिन थालेको छ । दिन–प्रतिदिन व्यापार घाटा बढ्दो अवस्थामा छ । हाल नेपालीहरूको जीवनशैली पनि विलासितातिर उन्मुख हुँदै गएको छ । जनताले उत्पादनशील क्षेत्रमा भन्दा पनि छिटो–छिटो नाफा हुने क्षेत्रमा लगानी गर्ने पद्धतिको विकास भएको छ । आयात प्रतिस्थापन भन्दै विभिन्न नीति तथा कार्यक्रम घोषण भए पनि प्रभाकारी हुन सकेका छैनन् ।

विकास बैंकहरूको वर्तमान अवस्था कस्तो छ ?
नेपालमा वाणिज्य बैंकहरूको सेवा नपुगेका क्षेत्रहरूमा बैंकिङ सेवा प्रदान गर्ने तथा ग्रामीण भेगमा वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले विकास बैंकको अवधारण आएको हो । हाल नेपालमा एक जिल्ले विकास बैंक, तीन जिल्ले विकास बैंक, १० जिल्ले र राष्ट्रिय स्तरका गरी चार किसिमका विकास बैंक रहेका छन् । स–साना निक्षेप तथा कर्जाहरू प्रवाह गर्ने भएकाले तरलता योग्य रकममा विकास बैंकहरूमा वर्तमान अवस्थामा वाणिज्य बैंकहरूमा जस्तो ठूलो समस्या देखिएको छैन ।

स्थापना भएका विकास बैंकहरू वाणिज्य बैंकमा मर्जर हुने क्रम बढेसँगै हाल विकास बैंकहरूको संख्या घट्दै आएको अवस्था छ, तर शाखा सञ्जाल विस्तार हुने क्रम बढेको छ । ग्रामीण भेगमा वाण्ज्यिभन्दा विकास बैंकहरू बढी छन् । आजको मितिसम्म करिब ५० भन्दा बढी विकास बैंक वाणिज्य बैंकमा मर्जर भइसकेका छन् ।

विकास बैंकहरूले प्रयोग गरिरहेका प्रविधिहरू केके हुन् ?
सूचना प्रविधिको विकासले बैंकिङ सेवालाई पनि सहज, सरल, पारदर्शी र छरितो बनाएको छ । सोही क्रममा पछिल्लो समय बैंकिङ क्षेत्रमा भित्रिएका धेरैजसो प्रविधिहरू विकास बैंकहरूले अवलम्बन गरिरहेका छन् । जसअन्र्तगत आधुनिक बैंकिङतर्फ मोबाइल बैंकिङ, एबिबिएस सेवा, एटिएम सेवा, सेल पे, अनलाइन आस्बा र सी आस्बा सेवा अवलम्बन गरेका छन् ।

त्यस्तै, अन्तरबैंकिङ कारोबार तथा इन्टरनेट बैंकिङ कारोबार लगायतका प्रविधिसमेत विकास बैंकहरूले अवलम्बन गरिरहेका छन् । नियमनकारी निकायले पनि प्रविधिलाई उच्च प्राथमिकतामा राखेर काम गर्न भनेका कारण प्रविधिको प्रयोग बढ्दो छ ।

विकास बैंकहरूको लगानी कुन–कुन क्षेत्रमा रहेको छ ?
विकास बैंकहरूले स–सानो पुँजी ५ हजार, १० हजारदेखि लिएर ३० करोड रुपैयाँसम्म लगानी गरेको अवस्था छ । विकास बैंकहरूले ग्रामीण अर्थतन्त्रलाई प्राथमिकतामा राखेर काम गरिरहेका छन् ।

जसअन्र्तगत वित्तीय क्षेत्रमा ग्रामीण भेगमा रहेका महिला तथा विपन्न वर्गको पहुँच पुर्याउन उत्पादनशील क्षेत्र, कृषि क्षेत्र, ग्रामीण सडक तथा यातायातको विकास लगायतका क्षेत्रमा लगानी गरिरहेका छन् ।  विकास बैंकहरूले साना तथा मझौला कर्जा, आवास कर्जा, व्यावसाय कर्जा, कृषि कर्जा, विपन्न वर्ग कर्जा लगायतका कर्जा प्रवाह गर्दै आएका छन् ।

विपन्न वर्ग कर्जा भनेको के हो ?
ग्रामीण भेगमा बसोवास गर्ने समुदाय तथा व्याक्ति जोसँग धितो राख्ने स्रोत छैन, साहु महाजनले ऋण दिँदैनन्, तर उद्यम गरेर खान चाहन्छन् भने त्यस्तो समूह तथा व्याक्तिलाई एक हजारदेखि तीन लाखसम्मको ऋण दिने व्यवस्था नै विपन्न वर्ग कर्जा हो ।

यसअन्र्तगत खास गरी नेपालका ग्रामीण भेगमा बसोवास गर्ने महिलाहरूलाई समूहमा आबद्ध गराएर कर्जा दिएर उद्यम गर्न सिकाउने तरिकाबाट अगाडि बढाउन लघुवित्तमार्फत कामहरू भइरहेका छन् । उक्त सेवाभित्र पैसा दिने, सीप तथा तालिम दिने र उत्पादित वस्तुलाई बजारीकरण गर्नसमेत काम हुँदै छ ।

विनाधितो कर्जा कसरी ? फजुल खर्चमा परिणत हुन सक्नेतर्फ कत्तिको सचेत हुनुहुन्छ ?
हो, पछिल्लो समय उत्पादनशील काम गर्छु भनेर कर्जा लगेर बिहे पार्टी, भोजभतेरमा खर्च गरेको लगायतका घटना सुनिएका छन् । नेपालमा लघुवित्तहरू आवश्यकताभन्दा बढी भएर अस्वस्थ प्रतिस्पर्धा भइरहेको छ । जसका कारण योजनाविनै ऋण प्रवाह हुने गरेको छ । जनताले पनि योजना नबनाइकनै ऋण लिने, तर पछि तिर्न नसक्दा अप्ठ्यारो स्थिति बन्ने गरेको छ ।

कर्जा लिएको रकम आम्दानी हुने क्षेत्रमा खर्च गर्नुपर्छ भनेर सम्बन्धित कम्पनीले पनि सिकाउनुपर्छ भने जनतालाई पनि जानकारी हुनु जरुरी छ । साथै, नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले पनि यसबारे छुट्टै मापदण्ड बनाएर कार्यान्वयन गर्नुपर्ने हुन्छ । यसैलाई मध्यनजर गरेर चेतना विस्तारको लागि विभिन्न वित्तीय साक्षरता कार्यक्रम पनि सञ्चालन गर्ने गरेका छौँ । यस अभियानमा सबैको साथ हुनु जरुरी छ ।

विकास बैंकहरूका समस्या तथा चुनौतीहरू केके हुन् ?
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक र विकास बैंकलाई समान ब्याजदर निर्धारण गरेकाले क्षेत्रीय स्तरका विकास बैंकहरूमा ब्याजदरको समस्या रहेको छ । वाणिज्य बैंकको तुलनामा विकास बैंकहरूको सानो–सानो कारोबार हुने, गामीण भेगमा बढी शाखा सञ्चालन गर्नुपर्ने भएकाले सञ्चालन खर्च बढी हुने गर्दछ । त्यस्तै, गैरब्याज आम्दानीका कामहरू विदेशी मुद्रा विनिमय लगायतका कामहरू विकास बैंकले गर्न नपाउने नीति छ ।

बाणिज्य बैंकको तुलनामा विकास बैंकहरूका आम्दानीका श्रोतहरू कम हुने भएकाले पनि समान ब्याजदरले समस्या ल्याएको छ । यसको सामाधानको लागि विकास बैंकहरूको ब्याजदर केही बढी हुनु जरुरी छ । त्यस्तै, स्थानीय तहहरूमा जानका लागि जनशक्ति तथा प्राविधिक समस्या रहेका छन् ।

वाणिज्य बैंकहरूलाई विदेशबाट ऋण ल्याउन पाउने व्यवस्था भएको छ, यसबारे तपाईं के भन्नुहुन्छ ?
वाणिज्य बैंकले पाउनेवित्तिकै हामीले पनि पाउनुपर्छ भनेर कराइहाल्नु उपयुक्त नहोला, तर यो व्यवस्था गरियो भन्दैमा अहिले सबै वाणिज्य बैंकले विदेशबाट ऋण लगानी ल्याउन पाउँछन् भन्ने पनि होइन । ऋण ल्याउन त दिने निकायले पत्याउनुप¥यो । नेपालका सबै वाणिज्य बैंकलाई पत्याउने र विकास बैंकलाई पत्याउँदैनन् भन्ने पनि छैन । राष्ट्र बैंकले लामो अनुसन्धान गरेर यो व्यवस्था गरेको हो ।

हामीले के भनेका हौँ भने बजारमा तरलता भइरहेको अवस्थामा कुनै विकास बैंकलाई विदेशी बैंकले पत्याएर ऋण दिन्छ, त्यसका लागि राष्ट्र बैंकको नीतिले छेक्नुहँुदैन । राष्ट्र बैंकले त ल्याउन सक्छौ भने ल्याऊ भनेर बाटो खुला गर्नुपथ्र्यो । तर, यसबारे हाम्रो आपत्ति भने होइन । किनकि, पहिला हामी आफ्नो आधार तय गर्छौं, अनि मात्र स्वीकृतिको लागि जान्छौँ । बरु, विकास बैंकको खराब कर्जा कम भएकाले विकास बैंकलाई विदेशी बैंकले पत्याउन सक्ने अवस्था छ ।

मुक्तिनाथ विकास बैंकको वर्तमान अवस्था कस्तो छ ?
आजभन्दा ठीक १२ वर्षअगाडि स्यांजा जिल्लाबाट एक जिल्ले विकास बैंकको रूपमा यस बैंकको सुरुआत भएको हो । मुक्तिनाथ विकास बैंक हाल सबै कुरामा राम्रो अवस्थामा छ र हाम्रा इन्डिकेटरहरू अन्य विकास बैंकहरूका तुलनामा माथि नै छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत राष्ट्रिय स्तरका विकास बैंकहरूको न्यूनतम चुक्ता पुँजी २ अर्ब ५० करोड तोकेकोमा पुस मसान्तसम्ममै यस बैंकले चुक्ता पुँजी २ अर्ब ५९ करोड पुर्याइसकेको छ ।

हाल बैंकको २५ अर्ब निक्षेप, २२ अर्ब कर्जा रहेको छ । सञ्चालन मुनाफा ६७ करोड रहेको छ । ७५ वटा शाखा रहेको मुक्तिनाथ विकास बैंकमा एक हजारभन्दा बढी कर्मचारिहरू कार्यरत छन् । करिब ६ लाख ग्राहक संख्या रहेको छ भने हाल बैंकको खराब कर्जा शून्य दशमलव शून्य एक प्रतिशत रहेको छ ।

सामाजिक उत्तरदायित्वअन्र्तगत कुन–कुन काम गर्दै आउनुभएको छ ?
समाजिक कामलाई पनि निरन्तरता दिन भन्दै यस बैंकले वार्षिक ७५ लाखदेखि एक करोडसम्म रकम खर्च गर्ने गर्दछ । स्थापनाकालदेखि नै मुक्तिनाथ विकास बैंकले सामाजिक कामहरू गर्दै आएको छ । त्यसमै झन् गत वर्षदेखि राष्ट्र बैंकको अनिवार्य सामाजिक काम गर्ने निर्देशन बमोजिम काम थप्दै आएका छौँ । सबैभन्दा पहिले गाउँ–गाउँमा गएर विभन्न वित्तीय साक्षरताका कामहरू गर्ने बैंक नै मुक्तिनाथ बैंक हो । दूरदराजमा गएर शाखा स्थापना गरेर वित्तीय कारोबार गरेका छौँ । लघुवित्तको कार्यक्रमलाई विकास बैंकमा अवलम्बन गर्ने यही बैंक हो ।

त्यस्तै, व्यावसयिक तालिम दिने काम तथा वागमती सरसफाइ अभियान र पोखरा सरसफाइ अभियानमा सुरुदेखि नै हामी सहभागी आएका छौँ ।  गत आवसम्म एक सयभन्दा बढी वित्तीय साक्षरताका कामहरू गरेका छौँ । जसअन्र्तगत, १००औँ कार्यक्रममा आइपुग्दासम्म २१ हजार ९ सय १८ जना सर्वसाधारणलाई तालिम प्रदान गरिसकेका छौँ । आव ०७३÷७४ मा आजको ‘आवश्यकता विद्यार्थीहरूमा साक्षरता’ कार्यक्रमअन्र्तगत ४७ विद्यालयका ५ हजार २० जना विद्यार्थीलाई वित्तीय साक्षरता कार्यक्रममा सहभागी गराइएको थियो ।

मुक्तिनाथ विकास बैंकका भावी योजना केके छन् ?
यस बैंकको उच्च व्यवस्थापनमा वाणिज्य बैंकहरूमा अनुभव बटुलेका नयाँ साथीहरू आउनुभएको छ । यस बैंकलाई वाणिज्य बैंकमा स्तरोन्नति गर्ने प्रमुख रणनीति रहेको छ । त्यसको लागि आवश्यक पूर्वाधार व्यवस्थापनको लागि पनि बैंक लगिरहेको छ । आधुनिक, प्रभावकारी, प्रविधिमैत्री सेवा प्रदान गर्ने योजना रहेको छ । साथै, गाउँ–गाउँमा शाखाहरू विस्तार गर्दै जाने योजना पनि रहेको छ । यस बैंकलाई समाज, राष्ट्रमाझ राम्रो बैंकको रूपमा चिनाउन कर्मचारीहरूलाई ग्राहकमैत्री बनाउँदै छौँ ।

अन्तमा
नेपाल कृषिप्रधान देश भए पनि अहिले कृषकको उत्पादनले उचित मूल्य पाएको छैन, उपभोक्ताले पनि ताजा तथा उपभोगयोग्य वस्तु बजारमा पउने अवस्था छैन । यसैलाई मध्यनजर गरेर मुक्तिनाथ विकास बैंकले ग्रामीण क्षेत्रमा उत्पादित वस्तुको बजारीकरण कसरी गर्ने भनेर छलफलसमेत अगाडि बढाएको छ । कृषि उत्पादनले राम्रो बजार पाउने हो भने नेपाली युवाहरू कृषितर्फ आकर्षित हुन सक्छन् । कृषिलाई नाफामुखी बनाउन सकियो भने तथा नेपालमै उत्पादित वस्तुलाई सहजै बजारमा सुपथ मूल्यमा पठाउन सके खाद्यान्न आयातलाई घटाउन सकिन्छ ।

प्रतिक्रिया