४ वर्षभित्र नगरपालिकाले काँचुली फेर्नेछः नगरप्रमुख पोख्रेल

देउमाई नगरपालिकाका प्रमुख सूर्यप्रसाद पोख्रेलले ०५४ को स्थानीय निर्वाचनमा समेत तत्कालीन जिल्ला विकास समितिको सदस्यमा निर्वाचित भएर स्थानीय निकायको अनुभव लिइसकेका छन् । गत १४ असारमा भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका प्रभावशाली नेता होम दुलालाई पराजित गरी एमालेका तर्फबाट प्रमुखमा निर्वाचित पोख्रेल यतिबेला नगरलाई समृद्ध बनाउने अभियानमा छन् । प्रस्तुत छ प्रमुख पोख्रेलसँग सौर्यकर्मी राम योङहाङले गरेको कुराकानीको सम्पादित अंश :

केमा व्यस्त हुनुहुन्छ ?
देउमाई नगरपालिकालाई समृद्ध बनाउनका लागि पहिलो नगरसभाबाट पारित भएका आयोजनाहरूलाई द्रूत गतिमा अगाडि बढाइरहेका छौँ । सबै टिम यसैमा लागेको छ । नेतृत्वकर्ताको हिसाबले म पनि यसैमा व्यस्त छु ।

तपाईं नगरप्रमुखमा निर्वाचित भएपछि जनताले अनुभूति गर्ने खालको काम चाँही के के गर्नुभयो ?
हामीले नगरसभाबाटै धेरै नीतिगत निर्णय गर्यौ । दीर्घकालीन र अल्पकालीन निर्णय गर्याैँ। नगरप्रोफाइल र गुरुयोजना निर्माणको चरणमा छौँ । यो छोटो अवधिमा देउमाई नगरपालिकालाई मुलुककै स्थानीय तहमध्ये भिन्न तरिकाले सञ्चालन गरिरहेका छौँ । अहिले देउमाई नगरपालिकाले यहाँका वृद्धवृद्धालाई पोशाक भत्ता मासिक एक सयका दरले वार्षिक एकमुष्ठ एक हजार दुई सय रुपैयाँ पहिलो किस्तामा नै दिएका छौँ ।

सुरक्षित मातृत्व अन्तर्गत आमा र बच्चाको स्वास्थ्यका लागि बच्चा जन्मिएर वडा कार्यायमा जन्मदर्ता गरेर आएपछि पाँच हजार दिने गरेका छौँ । यहाँका कुनै पनि नागरिकको मृत्यु भएपछि दाहसंस्कार खर्च मृतकका परिवारलाई पाँच हजार रुपैयाँ दिने गरेका छौँ । राज्यले दीर्घरोगी भनी अस्पतालमा ढेड लाखसम्मको उपचार निःशुल्क नै गरेको छ ।

तर, अस्पतालसम्म पुग्ने पहुँच नभएका बिरामीहरूका लागि अस्पतालसम्म पुग्ने यातायात खर्च पाँच हजार दिने गरेका छौँ । यसरी नयाँ तरिकाले सामाजिक विकासको क्षेत्रमा अगाडि छौँ । पूर्वाधारको क्षेत्रमा समेत नयाँ कामको सुरुवात गरेका छौँ । दिगो विकासका लागि ११ वटा नगरस्तरीय सडक भनेर १० मिटरे सडक निर्माण सुरु गरका छौँ ।

यसलाई अबको सय वर्षसम्म बढाउन पर्दैन । यो सडक निर्माण सकेर लगत कट्टा पनि आगामी वर्षमा सुरु गर्दैछौँ । स्तरोन्नति, ग्राभेलिङ र पिच गर्ने काम प्रदेश र केन्द्रीय सरकारलाई पठाउँदैछौँ । नगरस्तरीय सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । यसको अहिले जिल्लाभरी चर्चा छ ।

स्थानीय सरकार सञ्चालन ऐन ०७४ ले नगरपालिका कायम रहन ३ करोड आन्तरिक आम्दानी हुनुपर्छ भनेको छ । यहाँको अवस्था के छ ?
सरकारले १ साउन ०७५ देखि एकीकृत सम्पत्ति कर, घर नक्सा अभिलेखीकरण नगर्ने नगरपालिकाहरूलाई अनुदान रोक्ने निर्णय गरिसकेको छ । यस्तो अवस्थामा हामी गत असोजमा नै नीतिगत निर्णय गरेर अगाडि बढेका छौँ । घर नक्सा अभिलेखीकरण फागुनदेखि सुरु गरेका छौँ । एकीकृत सम्पत्ति कर वैशाखदेखि लागू हुने यसअघि नै निर्णय गरिसकेका थियौँ ।

हामीले ऐन नियमको पक्षमा नगरवासीले अगाडि बढाइसकेका छौँ । नगरपालिकालाई समृद्ध बनाउन तीन करोड राजस्व जम्मा गर्ने कुरामा राजनैतिक दल, उद्योगी, व्यापारी, व्यावसायी, संघसंस्थाहरू उत्साहका साथ लाग्नुभएको छ । हामीले पहिले सामान्य बजेटिङ गरिरहँदा एउटा आन्तरिक आम्दानीको अनुमान गरेका छाैँ । यो वर्ष एक करोड ४७ लाखको आन्तरिक आम्दानीको अनुमान थियो ।

तर, अहिलेसम्मको स्थिति हेर्दा दुई करोड कट्ने स्थिति छ । अहिलेसम्म आन्तरिक आम्दानी ६० लाख जम्मा गरिसकेका छौँ । जिल्ला समन्वय समितिमा मौजुदा रहेको हाम्रो बाँडफाँटमा आउने आन्तरिक आम्दानी ३० देखि ३५ लाख छ । मालपोत रजिस्ट्रेसन जहाँ १ करोडभन्दा तल आउने ९० प्रतिशत देउमाई नगरपालिकाको २८ लाख हाम्रोमा आउने स्थिति छ ।

यो सबै हेर्दा एक करोड १५ लाखको हाराहारीमा अहिले राजस्व आइसकेको छ । बाँकी दिनमा राजस्व राम्रो उठ्ने स्थिति छ । वैशाखदेखि एकीकृत सम्पत्ति कर नगरपालिकालाई नतिर्ने सेवाग्राहीलाई नगरपालिकाले सेवासुविधा रोक्ने यसअघि नै निर्णय गरिसकेको छ । वडा सचिवलाई राजस्व महिनामा दुईपटक दाखिल गर्न, बैंकमा दाखिला गरेको भौचर नगरप्रमुखको सचिवालयमा बुझाउने निर्णय गरको छौँ ।

जसका कारण राजस्वको स्थिति सोचेभन्दा राम्रो छ । र घर नक्सा अभिलेखीकरण र नक्सापासबाट समेत यो बीचमा राजस्व राम्रो उठ्ने स्थिति छ । यसकारण हामी नगरपालिकालाई थाम्न र समृद्ध बनाउन ढुक्कका साथ अगाडि बढिरहेका छौँ । व्यवस्थित र सुन्दर नगरको रूपमा विकास गर्न लागिरहेका छौँ ।

तीन करोड आन्तरिक आम्दानी पुर्याउने र नगर टिकाउने कुरामा ढुक्क हुनुहुन्छ ?
हामी ढुक्क छौँ । हामीले यो वर्ष एक लाख प्रक्षेपण गरेका छौँ । आगामी वर्ष ३ करोड ४० लाख पुर्याउने अनुमानित डाटा मन्त्रालय पठाइसकेका छौँ र पुर्याउँछौँ पनि । अर्को कुरा ३ करोड प्रदेश र संघीय सरकारसँग प्रतिशत बाँडफाँड गर्ने पनि होइन । यो यहीँ खर्च हुन्छ ।

आम्दानीको श्रोत के के हुन् ?
स्थानीय तह सञ्चालन गर्ने सबैभन्दा राम्रो श्रोत चाँही एकीकृत सम्पत्ति कर हो । त्यो बाहेक व्यवसाय कर, हाटबजार कर, विज्ञापन कर, ठेक्कापट्टाका लागि इजाजत दिन्छौँ त्यसबाट कर, उद्योग तथा संघसंस्था दर्ताकर, बिचौलिया करलगायत नगरपालिकाका आम्दानीका श्रोत हुन् ।
त्यसबाहेक सेवाशुल्क पनि हुन् । अहिले सडक मान्छेले खन्दैन । सबैमा मेसिन प्रयोग हुन्छ । हामीले सेवाशुल्क लगाएका छौँ । देउमाई नगरपालिकामा मेसिनलाई काम लगाइसकेपछि राज्यलाई तिर्ने कर त छँदैछ । त्यो बाहेक डेढ प्रतिशत सेवाशुल्क नगरपालिकामा बुझाउनुहुन्छ । यसवर्ष मात्र सेवाशुल्कबाट २० लाख आम्दानी हुन्छ ।

बजेट कार्यान्वयनको अवस्था कस्तो छ ?
हामीले ३५ करोडको बजेट निर्माण गरेका थियौँ । यो बजेटलाई समयमै सहज हिसाबले सम्पन्न गर्ने स्थिति छ । बजेट कार्यान्वयनको स्थिति सन्तोषजनक छ । हार्डवेयरको काम ६० प्रतिशत सम्पन्न भइसकेको छ । सम्भव जेठ मसान्तमा सम्पन्न गर्छाै । जुन सफ्टवेयरको पाटा छन् ।

नगर प्रोफाइल, नगर गुरुयोजना निर्माण, सडकको डिपिआर निर्माण, अन्य विद्युतीय सरकार, हस्तलिखित बन्द गर्नुपर्छ भनेर हामीले वैशाखदेखि पञ्जीकरणको काममा अनलाइनबाट गर्दै छौँ । साउन १ देखि पूरै हस्तलिखित बन्द गर्छौं । जसका लागि वडावडामा सहायक कर्मचारी र वडा अध्यक्षहरूलाई विद्युतीय सरकार अवधारणा सम्बन्धी तालिम र गोष्ठी गर्दैछौँ । यी सबै कामहरू असार मसान्तसम्म सक्छौँ ।

निर्वाचनका बेला जनताबीच धेरै प्रतिबद्धता लैजानुभयो । कति पूरा भए, कति बाँकी छन् ?
हामीेले निर्वाचनका क्रममा जनतामा गरेका बाचाहरू लागू गर्न थालिसकेका छौँ । जेष्ठ नागरिकलाई केही सुविधा दिन्छौँ भनेका थियौँ त्यो सुरु गरिसकेका छौँ । सुरक्षित मातृत्व कार्यक्रममा पाँच हजार दिने भनेको लागू गरिसकेको छौँ दाहसंस्कार खर्च पाँच हजार दिने भनेकोमा सुरु गरिसकेको छु । औषधि उपचार खर्च पाँच हजार दिने प्रतिबद्धता गरेको थिए ।

त्योसमेत सुरु गरिसकेको छु । अर्को मैले नयाँ कार्यक्रम घोषणा गरेको छु । पास गरिसकेका छौँ ‘यो उज्यालो नगर’ । ५ वर्षभित्र देउमाई नगरभित्र एउटा पनि काठका पोल हुने छैनन् । एउटा जनताले पनि बत्ती बाल्न पाइन भनेर आउने छैनन् । यो नगरभित्र १५ र २५ केभी क्षमताका ट्रान्सफर्मर हुने छैनन् । यहाँ ५० केभी मुनिका ट्रान्सफर्मर आवश्यक छैन । यसले हाम्रा टुकटुके मिलसमेत चल्ने छैनन् ।

 यी कामहरू गर्नका लागि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ यहाँ आउनुभएको बेला के सहयोग चाहिन्छ, हामी सहयोग गर्न तयार छौँ भन्नुभएको छ । अहिलेसम्म ५० र १०० केभीका ७ वटा ट्रान्सफर्मर अपग्रेट गरिसकेको छु । र अहिले ४०० वटा काठका पोल फ्रेजआउट गरी फलामे पोल प्राप्त भइसकेको छ ।

विद्युत् प्राधिकरणसँग समन्वय गरेर गरेको छ । देनपाले एक करोड २० लाख यो कार्यक्रमका लागि छुट्याएको छ । सडक बत्तीका लागि ५० लाख राखिएको छ । यी कार्यान्वयनका चरणमा छन् ।

कृषि र पशु स्थानीय तहको खासै प्राथमितामा परेन भन्ने गुनासो आएको छ नी ? के छ यहाँको अवस्था ?
देउमाई नगरपालिकामा कृषिमा पनि गुनासो छैन । पशुमा पनि गुनासो छैन । हिजो नेपाल सरकारले देउमाई नगरपालिकामा कृषिमा ३० देखि ३५ लाख बजेट थियो । मैले १ करोड व्यवस्था गरेको छु । अहिले भ्रमण तथा अवलोकनमा आउने धेरैले चर्चा परिचर्चा गर्ने गरेका छन् ।

उनीहरूले अन्यत्र गएर पनि देउमाई नगरपालिकाको चर्चा गरेका छन् । ताकि यहाँ कृषिमा १ करोड बजेट विनियोजन भएको छ । त्यो अहिले कार्यान्वयनको चरणमा छ । पशुमा वार्षिक १० लाख बजेट आउँदैनथ्यो । मैले ५५ लाख व्यवस्था गरेको छु । अहिले कृषक र पशु व्यवसायीहरू साँढे पाल्दैनन् । कृतिम गर्भाधान गर्छन् । नश्ल सुधार हुने र दूध पनि बढी आउने भएकाले कृषकहरू त्यतातिर लागेका छन् ।

मैले त्यसका लागि निशुल्क गरेको छु । कृतिम गर्भाधान सहकारी र पशु प्राविधिकहरूले सेवा दिइरहेका छन् । सबै मैले भुक्तानी गरिदिएको छु । कृषकले सेवा लिनुहुन्छ । मैले अनुदान दिएबापत नगरलाई कुनै शुल्क तिर्नुपर्दैन । सेवाशुल्क मात्र कृषकले तिर्छन् ।

नगर विकासका सम्भावनाहरू के के हुन् ?
विकासका र समृद्ध नगरका लागि प्रशस्त सम्भावनाहरू छन् । सडक सञ्जालको दृष्टिले मंगलबारे केन्द्रमा पर्दछ । अहिले राँके देउराली हुँदै मंगलबारेसम्मको १० मिटरको सडक सुरु भइसकेको छ । मंगलबारे जितपुर हुँदै झापा जोड्ने सडक उन्नतिको सहयोगमा निर्माणाधीन छ । अर्को रक्से मंगलबारे गजुरमुखी इभाङ चतुरे हुँदै दमक जोड्ने सडक छ । जहाँ १३ किलोमिटर पिच हुने क्रममा छ ।

यसैगरी, मंगलबारे पुङफुङ एकतप्पा, फुएतप्पा हुँदै रवि जोड्ने सडक ९ किलोमिटर पिच हुने क्रममा छ ।  पर्यटनका हिसाबले पनि प्रशस्त सम्भावना भएका क्षेत्र छन् । यहाँको कुइभीर, जसलाई पर्यटकीय क्षेत्रका रूपमा चिनिन्छ । यहाँबाट चिनका विभिन्न हिमाल तथा भारतका धेरै क्षेत्रहरू देखिन्छन् । चमैताको चित्रे । जहाँ सहिद रत्नकुमार वान्तवाले जन्मस्थान हो । त्यहाँ धेरै संरचनाहरू बनेका छन् ।

त्यसलाई सहिद पर्यटकीयस्थलका रूपमा विकास गरेका छौँ ।जहाँ देशका विभिन्न क्षेत्रबाट अवलोकनका लागि मानिसहरू आउने गर्दछन् । त्यस्तै ठूलोनागी, संसारकै सबैभन्दा ठूलो लालीगुँरास यहाँ छ । गुफाथुम्की, झ्याउपोखरी, देवीडाँडा मन्दिर, जटेश्वर मन्दिर, शिखरबाबा धाम धार्मिक पर्यटकीयस्थलका रूपमा चर्चामा छ । त्यसैगरी, पानीटारको चियाबारी, अजम्बरे डाँडा, सिद्धिथुम्काको चुली प्रसिद्ध छन् ।

जहाँबाट सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ । अर्को महागुरु राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको ज्ञानभूमि । त्यहाँ अग्नीकुण्ड, चौबिसै घण्टा बलिरहने निर्माणमा छौँ । यस्ता धेरै धार्मिक तथा पर्यटकीय स्थालहरू छन् । जसलाई प्रर्वद्धन गर्नका लागि गुरुयोजना निर्माण गरेर अगाडि बढ्ने तयारीमा छौँ । शैक्षिक क्षेत्रलाई हेर्ने हो भने, दुईवटा प्राविधिक शिक्षा अध्ययन हुने विद्यालय छन् ।

जितपुर माविमा पशुविज्ञान छ । जुन विद्यालय नमुना विद्यालयका रूपमा अगाडि बढ्दै छ । त्यस्तै, भानुभक्त माविमा इन्जिनियरिङ पढाइ हुन्छ । यसबाहेक स्नातक तहको अध्ययन हुने एउटा क्याम्पस छ । तसर्थ, सबै हिसाबमा देउमाई नगरपालिकामा सम्भावना नै सम्भावना छ ।

अहिलेसम्म कतिवटा कानुन बनाइसक्नुभयो ?
अहिलेसम्म ७ वटा कानुन बनायौँ । स्थानीय सरकार सञ्चालन गर्ने, राजस्व उठाउने, राजश्व अनुमान गर्नु, व्ययको अनुमान गर्नेजस्ता कानुनहरू निर्माण गर्याै । पाँच वटा कानुन स्वीकृत गरेर लागू गर्ने चरणमा छाैँ । यो असार मसान्तसम्म सम्पूर्ण कानुन निर्माण गरिसक्छौँ ।

न्यायिक समितिले कसरी काम गरिहेको छ ?
न्यायिक समिति दुई महिनाअघि मात्र गठन भएको छ । न्यायिक समितिले लिखितको कुनै पनि काम गरेको छैन । समन्वय गर्ने, समझदारी गर्ने र दुवै पक्षलाई राखेर मेलमलिाप गर्नेसम्मको मात्र काम गरेको छ ।

कतिपय स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीबीच असमझदारी भएको सुनिन्छ । यहाँको अवस्था के छ ?
हाम्रोमा केही समस्या छैन । सबैभन्दा संयम हिसाबले चलेको, अत्यन्तै धेरै कर्मचारीले सहयोग गरेको, राजनीतिक आग्रह–पूर्वाग्रहबेगर चलेको नगरपालिका यही हुनपर्छ । यहाँ कुनै पनि कुनै कुराको समस्या छैन । उहाँहरूले नगरको काममा राती १२ बजे पनि सहयोग गर्नेपर्यो भन्दा गर्नुहुन्छ ।

अन्य दलको सहयोग र समन्वय कस्तो छ ?
सबैको सहयोग छ । सबैसँग समन्वय गरेर अगाडि बढिरहेको छु । राजनीतिक कुरा गर्ने हो भने म एमालेबाट निर्वाचित प्रमुख हुँ । जम्मा ९ वटा वडामध्ये ५ वटा वडाको अध्यक्ष कांग्रेसको साथीहरू हुनुहुन्छ । तर उहाँहरूको भरपुर सहयोग छ । सबैले के बुझ्नु जरुरी छ भने, स्थानीयको तहको सरकार, यो सरकार सत्तापक्ष र प्रतिपक्षको होइन । स्थानीय सरकारमा प्रतिपक्षी भन्ने हुँदैन । यो सबै सत्तापक्ष हो ।

नीतिगत निर्णय गर्ने कुरामा पनि ऐनले भरसक सहमति गर्नु, भरसक बहुमतका कुरा नलेख्नु, र सबै कुरा मिलाएर अन्तिममा केही गर्दा मिलेन भने प्रमुखले जे भन्छ त्यही निर्णय लेख्नु भन्छ । त्यसैले म ढुक्क छु यो पाँच वर्ष एउटा आग्रह, पूर्वाग्रहबेगर अल्पमत र बहुमत नभनिकन साझा दस्तावेजका रूपमा यो नगरलाई अगाडि बढाउँछौँ । अहिलेसम्म कुनै विवाद छैन । अल्पमत र बहुमतको कुरा छैन ।

विद्युतीय सरकारलाई व्यवस्थित गर्न के भइरहेको छ ?
हामीले साधन र श्रोतको हिसाबले तथा भौगोलिक विकटताले भर्खरै मात्र लैजाने क्रममा छौँ । ९ वटै वडामा कम्प्युटरको व्यवस्थापन गरेर इन्टरनेट जडान गरिसकेका छौँ । तर त्यसका लागि दक्ष जनशक्तिको अभावमा केही समस्या छ ।

तर थप तालिमको व्यवस्था गरेर कार्यानवयनमा जाँदै छौँ । सबै कुरालाई व्यवस्थापन गरेर साउन १ देखि विद्युतीय सरकार सञ्चालन गर्र्ने सोचका साथ अगाडि बढेका छौँ ।

अबको ४ वर्षमा देउमाई नगरपालिका कस्तो हुन्छ भन्ने सपना देख्नुभएको छ ?
छोटोमा भन्दा अबको ४ वर्षभित्र देउमाई नगरपालिकाले काँचुली फेर्नेछ । समृद्ध नगर हुनेछ । सबै जनताले शिक्षा, स्वास्थ्य, विद्युत, खानेपानी, यातायात लगायतका सुविधाहरू पाएका हुनेछन् । समग्रमा यहाँका जनताहरू सुखी हुनेछन् । हाम्रो भिजन पनि त्यही छ र मोडेल पनि त्यही छ । हामी त्यही तरिकाले अगाडि जान्छौँ ।

प्रतिक्रिया