सरकार राष्ट्रिय हित र स्वतन्त्रताका लागि झुक्दैन

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पार्टीका प्रभावशाली नेता हुन् । वाम गठबन्धन एकता अभियानमा सशक्त रूपमा लागेका नेता पार्टी एकता संयोजन समिति अन्तर्गतको राजनीतिक प्रतिवेदन कार्यदलको संयोजक पनि हुन् । उनले आफ्नो जिम्मेवारी पूरा गरी राजनीतिक प्रतिवेदन बुझाइसकेको भन्दै एकता प्रकरणमा दुई पार्टीबीच कुनै समस्या नहरेको बताउँछन् । एमालेको विदेश विभाग प्रमुखसमेत रहेका नेता नेपालले वर्तमान सरकारले देशको स्वाभिमान, सार्वभौमसत्ता, राष्ट्रिय हित तथा स्वतन्त्रताका लागि नझुक्ने गरी नीति निर्माण गर्ने बताए ।

तीन दिने राजकीय भ्रमणका लागि भारत गएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि अन्तर्राष्ट्रिय जगतमा नराम्रो सन्देश जाने कुनै पनि कुरामा अग्रसर नहुन र भारलते गरेको प्रस्तावलाई अस्वीकृत गर्न पनि सुझाब दिएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालसँग पार्टी एकता, सरकारको विदेश नीति र प्रधानमन्त्रीको भ्रमणका विषयमा टंक खनालले गरेको कुराकानीको सम्पादित अंश ः

अागामी ९ वैशाखमा पार्टी एकता हुने चर्चा सर्वत्र छ । एकता प्रक्रियाका सम्पूर्ण कुरा टुंगिएका हुन् ?
एकताको सबालमा हामीले तयार पारेका दस्ताबेजलाई अन्तिम रूप दिने अवस्थामा पुगेका छौँ । भनेको दुईटा कार्यदलले आफ्नो–आफ्नो प्रतिवेदन बुझाइसकेको छ । राजनीतिक प्रतिवेदन कार्यदलको म संयोजक भएका नाताले मेरो नेतृत्वमा तयार भएको प्रतिवेदन तथा विधान मस्यौदा कार्यदलको तर्फबाट पनि प्रतिवेदन बुझाइसकेको अवस्था छ ।

अब त्यसमा छलफल हुन्छ । शीर्ष तहमा भएको छलफलले त्यसलाई अन्तिम रूप दिनेछ । तयार पारिएका दस्ताबेजको अन्तिम रूप आएपछि नै पार्टी एकताको घोषणा हुने हो । तर, हामीले अप्रिल २२ अर्थात् ९ वैशाखमा पार्टी घोषणा हुन्छ भनेर सार्वजनिक रूपमा नै भनेका छौँ ।  हामीबीच देशभरका कार्यकर्तालाई काठमाडौंमा बोलाएर सानदार तरिकाले पार्टी एकता घोषणा गर्ने विषयमा पनि हामी सहमत भएका छौँ ।

सकेसम्मका एकता प्रक्रियामा सहभागी हुने नेता तथा कार्यकर्तालाई घोषणा कार्यक्रममा सहभागी गराउने भन्ने नै हाम्रो तयारी छ । यसरी हेर्दा मोटामोटी रूपमा हामी एकता प्रक्रियाको अन्त्यमा आइसक्यौँ । भएका अफ्ठ्यारालाई सजिलो बनाउन छलफल संवादलाई अघि बढाउने भन्ने निर्णय भएको छ । त्यसैले मलाई लाग्छ, एकता प्रकरणमा कुनै पनि समस्या छैन ।

बाहिर हुने गरेको चर्चाजस्तो एकता प्रक्रियामा संख्याको कुरा, विधानको प्रस्तावनामा समेट्ने विषयका कुरामा पनि सहमति भइसकेको हो ?
बाहिर आउने हल्ला भनेको आ–आफ्नो चाहनाअनुसार आएका हुन्छन् । सकारात्मक सोच्नेभन्दा नकारात्मक सोच्ने धेरै छन् । राम्रो हो भन्नेभन्दा पनि नराम्रो चाहने धेर छन् । यस्तो अवस्थामा कहाँकहाँ फेसो ठोक्न सकिन्छ भनेर ठोक्न खोज्नेहरू पनि धेरै नै छन् । यी प्रयासले हाम्रो राजनीतिक कार्यदलमा कुनै विभाजन ल्याएन । हामीले नियमित रूपमा छलफल र संवाद गर्यौ ।

जसका कारण हामीबीच कुनै विवादको कुरा उठेन ।  संख्याको विषयमा पनि छलफल गरेर सहमति गर्ने निर्णय नै भएको छ । यो विषयमा पनि बाहिर आएको विषयजस्तो होइन । यसलाई हामी बसेर समस्या समाधान गर्छौं । संख्याको विषयले वाम एकता प्रकरणमा कुनै पनि समस्या निम्तँदैन ।

९ वैशाखलाई नै एकता घोषणाको दिन रोज्नाको कारण चाहिँ केही छ ?
यसको कारण छ । २००६ सालमा कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । ०६ सालको वैशाख १० गते स्थापना भएको थियो । तर, त्यो मिति पनि लेनिनको जन्मदिन पार्दा २२ अप्रिल २००६ सालमा वैशाख १० गते परेको थियो । हामीले पार्टी एकता घोषणाका लागि पनि सोही मिति पार्न खोजेका हौँ । तर, यो वर्षको २२ अप्रिलचाँही ९ वैशाखमा हुने भएकाले यो मिति रोजिएको हो ।

झन्डै सात दशकको कम्युनिस्ट इतिहास हेर्दा यो पार्टी टुटफुटबाट ग्रसित बनेको छ । एकताभन्दा विघटनबाट जोगाउनु ठूलो चुनौती रहेको विश्लेषकहरूको भनाइ छ । तपाईंलाई चाहिँ के लाग्छ ?
हेर्नुहोस्, हामी विचारमा पनि एकताबद्ध, संगठनात्मक रूपमा पनि एकताबद्ध, विकृति विसंगतिका विषयमा पनि दुवै दलबीच के छन्, कम्युनिस्ट पार्टीभित्रका विकृति अन्त्यका लागि के गर्नुपर्छ, भन्ने विषयमा पनि हामीबीच मोटामोटी सहमति भइसकेको छ । त्यसैले, अब हामीले पार्टीलाई क्रान्तिकारी बनाएर लैजानुपर्ने अवस्था आएको छ । युद्धकालमा जस्तै अनुशासन, इमानदारी र निष्ठाका साथ काम गर्नु अहिलेको आवस्यकता छ ।

हामी यस्तो वातावरण निर्माणका लागि जुटेका छौँ । पार्टीमा अनुशासन, इमान्दारी र निष्ठाको राजनीति भयो भने अरू कुनै कुराले टुटाउने फुटाउने गर्नै सक्दैन । एकपटक पार्टी जुटेपछि तपाईंले हेर्दै जानुहोला, कसैले यसलाई फुटाउन सक्दैन । यो अगाडि बढ्छ । अझै धेरैभन्दा धेरै क्षेत्रलाई समेटेर बृहत् रूपमा प्रभावकारी ढंगले यसलाई एकताबद्ध बनाउनेछौँ ।

अहिलेका राजनीतिक दलको समस्या नै गुट हो । अब त झन् धेरै प्रभावशाली व्यक्तिहरू एउटै पार्टीमा हुनुहुने भएको छ, यसले विभाजनको घेरा बढाउँदैन ?
जुन पार्टीमा जति धेरै प्रभावशाली नेता हुन्छन्, जति बुद्धि, खुबी भएका योग्यता, क्षमता भएका नेताहरूको उपस्थिति रहन्छ, त्यसको शक्ति अझै बढ्छ । त्यसको काम गर्ने क्षमता अझै बढ्छ । जम्मै भारी कुनै एक व्यक्तिले बोकेर हिँड्नुपर्दैन । उहिले नै माओत्सेतुङले भन्नुभएको थियो, ‘कोही पनि चुकेल्याङ छैन ।’ भनेपछि, चुकेल्याङलाई सबैभन्दा बुद्धिमान मानिन्थ्यो । तर पनि उहाँको भनाइ थियो, कोही पनि चुकेल्याङ छैन ।

चुकेल्याङलाई पनि अरू दुई जनाको सहयोग चाहिएको थियो । त्यसैले, अब एकताबद्ध हुने पार्टीमा समावेश भएका नेताहरू पनि आफ्नो योग्यता र क्षमताले भरिपूर्ण हुनुहुन्छ । फेरि, हामी एकलमा होइन, सामूहिकतामा विश्वास गर्छौं । यसैको उदाहरण हामीले सबैलाई जिम्मेवार बनाउन एउटा पार्टीमा दुईटा अध्यक्ष बनाउने योजनासहित काम गरिरहेका छौँ । यो मिलाउनका लागि गरिएको काम हो । चाह्यो भने त हुँदो रहेछ नि, मिलाउन सकिँदो रहेछ नि ।

तर, बाहिर आयो भनिएको जस्तो धेरै क्षमता भएका मान्छे एक ठाउँमा भेला हुँदा झगडा हुन्छ, फुट्छन् भन्ने कुराको कुनै तुक छैन । हामी सबै मिलेर जाने हो । हामीबीच फुट्ने कुराको कुनै शंका पनि छैन । जसरी पनि, जस्तोसुकै अवस्थामा पनि हामी जुटेर अघि बढ्ने भन्ने मात्र योजना बनाइरहेका छौँ । यसमा कसैले पनि नकारात्मक कुरा र शंका उपशंका नगर्न पनि हार्दिक अपिल गर्न चाहन्छु ।

एकताको कुराले शीर्ष तहभन्दा स्थानीय तहका कार्यकर्ता बढी उत्साहित छन् । तर उनीहरूमा पनि अवसरबाट चाहिँ पार्टीले विमुख बनाउने हो कि, नयाँ गुटले पार्टी परिचालन गर्ने हो कि, भन्ने चाहिँ शंका रहेछ ?
मैले सधैँ यो समस्या आउन नदिन पाँच वटा कुरालाई ध्यान दिनुपर्छ भन्ने गरेको छु ।  पहिलो : हामीले पार्टीलाई कमिटी प्रणालीबाट चलाउने सोच बनाएका छौँ । एउटा व्यक्तिलाई उसको योग्यता, क्षमताका आधारमा संगठित गर्नुपर्छ ।

संगठित गरिसकेपछि संगठनको नियमित बैठक, एजेन्डासहितको बैठक, कमिटीका सदस्यहरूबीको बृहत् र व्यापक बैठक, विचार विमर्श, साथै त्यसबाट निस्किएको निष्कर्षको परिपालना गरिनुपर्छ ।

दोस्रो : नेता तथा कार्यकर्ताको उचित मूल्यांकन हुनुपर्छ । राम्रो काम गर्नेको प्रशंसासहित आवश्यकताअनुसार प्रमोसन गरिनुपर्छ । अनि गल्ती गर्नेलाई पनि कानुनी दायरामा ल्याउनुपर्छ । अर्थात्, राम्रो गर्ने र नराम्रो गर्नेबीच सांगठनिक रूपमा नै पहिचान हुने खालका काम गर्नुपर्छ ।

तेस्रो : पार्टीभित्र व्यापक छलफल हुनुपर्छ । जुन छलफलले आपसी तिक्तता र मनमा लागेका कुराहरू सार्वजनिक गर्ने ठाउँ खुला हुन्छ । समस्याका विषय थाहा हुन्छ । समाधानको बाटो खुल्छ ।

चौथो : पारदर्शी ढंगले पार्टी चलाउनुपर्छ । भन्नुको अर्थ, नेतृत्वले जे गर्यो, त्यो नै मात्र सत्य हो भन्ने होइन कि, सबैले राम्रो मानेको कुरालाई पार्टीले आत्मसात गर्नुपर्छ । पार्टीका नयाँ नीति तथा कार्यक्रम पनि कार्यकर्ता तहबाट नै पारित गराउने व्यवस्था मिलाउनुपर्छ ।

र पाँचौँ : नेता र कार्यकर्ताबीचको सम्बन्ध । कार्यकर्ताबीचको मनमा फाटो र दरार उत्पन्न भए पार्टी सिथिल हुन्छ । अनि नेताका बीचमा फाटो, दरार आए पार्टी विभाजन हुन्छ । यो हुन नदिनका लागि नेतृत्व तहले सबैलाई व्यवस्थापन गर्न सक्नुपर्छ । विशेष ध्यान दिएर नै मूल नेताहरूको व्यवस्थापन गरिनुपर्छ । यी पाँच कुरा रेलका इन्जिनजस्तै हुन् ।

इन्जिन बलियो बनाउनका लागि नेतृत्वको जिम्मेवारी अलि बढी हुन्छ । बलियो इन्जिन भएको रेल सहज रूपमा सरल रूपले चल्नेछ । उचित व्यवस्थापन भएन भने चाहिँ दुर्घटना हुन्छ । त्यसैले, नेताहरू एकताबद्ध भएर दृढताका साथ अघि बढ्नुपर्छ ।

अहिलेसम्मको कामका आधारमा सरकारको मूल्यांकन कसरी गर्नुभएको छ ?
सरकारले भर्खरै मात्र पूर्णता पाएको छ । अझै पनि केही मन्त्रालय खाली नै रहेको अवस्था छ । यसलाई व्यवस्थापन गर्न अलिकति समय लाग्छ नै । दोस्रो कुरा, सरकारले बजेट ल्याउन बाँकी नै छ । यो अवस्थामा सरकारले गति लिन सकेको छैन । सरकारलाई पूर्णता दिने विषयमा मन्त्रालयको काम, कर्तव्य र अधिकार पहिचान गर्ने विषयमा यही वेला प्रधानमन्त्रीको भारत भ्रमणको कुरा आयो, यिनीहरूले सरकारलाई अल्झाइराखेको अवस्थामा सरकारले गति लिन सकेको छैन ।

तर, सरकारले काम गर्ने छनक ल्याएको छ ।  कोही पनि एकैपटक आकाशमा उँडिहाल्दैन, हामीले बुझ्नुपर्ने कुरा भनेको उँड्ने चाँजोपाँजो मिलाएको छ कि छैन भन्ने हो । यो समयमा विनाकाम त्यत्तिकै बसेको भए सरकारले काम गर्दैन कि, भन्ने हुन सक्थ्यो । यो बीचमा प्रधानमन्त्रीले जुन संकल्प गर्नुभएको छ, देश निर्माणका लागि, भ्रष्टाचार नियन्त्रणका लागि, सुशासन कायम गर्नका लागि, अनि मन्त्रालय र मन्त्रीहरूलाई पनि कामका लागि जुन निर्देशन दिनुभएको छ, यसले सरकार सही ठाउँमा छ र यसले गति लिन्छ भन्नेमा म ढुक्क छु ।

स्थानीय तह र संघीय प्रदेशलाई व्यवस्थित बनाउन चाहिने कानुन निर्माणका लागि सम्बन्धित निकायलाई गरेको खबरदारी तथा उहाँले तयार पार्नुभएको जुन ‘टिम स्पिरिट’ छ, यसले गति लिन्छ नै । अर्को कुरा, जनतासँगको प्रतिबद्धताअनुसार जुन जनमत आएको छ, त्यो जनमत पूरा गर्नका लागि सरकार दृढ हुनेछ । प्रतिबद्धता कार्यान्वयनबाट सरकार भाग्नुहुँदैन । भाग्ने छुट सरकारलाई छैन ।

तपार्इं एमालेको विदेश विभाग प्रमुख पनि, विदेश कूटनीति सरकारले कस्तो राख्छ ?
विदेश कूटनीति भनेको देशको हितलाई केन्द्रमा राखेर विदेश सम्बन्ध परिचालित हुनेछ । नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, हित र स्वाभिमानलाई केन्द्रविन्दुमा राखेर अघि बढ्नुपर्छ । यो कामको थालनी प्रधानमन्त्रीले गरिसक्नुभएको छ ।

विदेशी कूटनीतिक नियोगका प्रतिनिधिलाई बोलाएर उहाँले देशको स्वतन्त्रता, सार्वभौमसत्ता, हित र स्वाभिमानमा आँच आउने कुनै किसिमका काम वर्तमान सरकारले गर्दैन भनेर स्पष्ट भन्नुभएको छ । यसैले नेपालको विदेश नीति कस्तो भन्ने स्पष्ट पार्दछ । हामी अरू देशको पनि संवेदनशीलतालाई बुझ्छौँ, अरू देशले पनि हाम्रो संवेदनशीलतालाई बुझ्नुपर्छ । सानो देश भनेर हेप्ने छुट कसैमा हुनेछैन ।

सरकारको आर्थिक समृद्धिको आधारचाहिँ के–के हुन् त ?
अब देशको एक मात्र लक्ष्य हो, सुशासन, विकास र आर्थिक समृद्धि । यो लक्ष्य प्राप्तिको बाटोमा अघि बढ्नका लागि राज्यस्तर र निजीस्तरबाट पनि आपसी सम्बन्धलाई बढाएर लैजानुपर्ने अवस्था छ । अवस्य पनि हाम्रो देशभित्रको पुँजी बढाउनका लागि आवश्यक सहकार्य गर्न जरुरी छ । देशको पुँजी अर्थात् राष्ट्रिय पुँजीको विकास पहिलो प्राथमिकतामा हुनेछ ।

साथै, वैदेशिक लगानी भित्र्याउनका लागि पनि आवश्यक नीति तथा कार्यक्रम तयार पारिनेछ । यसका लागि सरकारले सरकारी तबरबाट, पार्टीले पार्टीको तर्फबाट गृहकार्य गरिरहेका छन् । नेपाली जनताले चाँडै नै प्रत्याभूत गर्ने गरी नै हाम्रो देशले समृद्धिको बाटोमा पाइला राख्नेछ ।

प्रधानमन्त्री तीन दिने राजकीय भ्रमणका लागि भारत जानुभएको छ । उहाँले के–के गर्नुहुन्छ ? के–के गर्नुपर्छ ?
यो भ्रमण एउटा ठूलो अवसर हो, छिमेकीसँगको सम्बन्ध सुधारका लागि । यो नेपालको मात्र होइन, भारतका लागि पनि अवसर नै हो । यो अवसर दुवैले गुमाउनु हुँदैन । भारतलाई पनि राम्रो छिमेकी चाहिएको छ । नेपाललाई पनि असल मित्र चाहिएको छ । भारतको चाहना पनि नेपालमा शान्ति होस्, स्थायित्व होस्, गरिबी समाप्त होस्, बेरोजगारी अन्त्य होस्, देश समृद्ध रहोस् भन्ने छ ।

यदि नेपाल समृद्ध भयो भने त्यसको फाइदा लिने भारतले नै हो । त्यसैले, नेपालको विकास भारतको हितमा छ । नेपालका लागि त विकास नै एक मात्र लक्ष्य हो, हितमा भैगो । त्यसैले, यो वेलामा विगतमा हामीबीच भएका कमिकमजोरीको रिभ्यु गरेर, पटकपटक कोट्याएर होइन, नराम्रा विषयबाट पाठ सिकेर राम्रा कुरालाई अझै बढावा दिएर अघि बढ्नुपर्छ ।  अर्को कुरा, भारतले नेपालको संवेदनशीलता बुझ्नुपर्छ । नेपालमा बन्ने आयोजनाको शिलान्यास भारतबाट हुनुपर्छ भन्ने प्रस्ताव भारतले गर्नुहुँदैन ।

गर्यो भने पनि नेपालले त्यसलाई स्वीकार गर्नुहुँदैन । मैले सुन्दैछु, अरुण तेस्रोको शिलान्यास भारतमा हुन्छ भनेर, त्यो हुनुहुँदैन । भारतीय कम्पनी, भारतीय नेताहरू, जहाँ आयोजना निर्माण हुन लागेको क्षेत्र हो, त्यहाँ गएर शिलान्यास गर्नुपर्छ । पञ्चेश्वर आयोजनाको सम्झौता भने भारतमा गरे हुन्छ । यो शिलान्यासले अन्तर्राष्ट्रिय जगतमा जाने सन्देश ख्याल गर्नुपर्ने अवस्था छ ।

प्रतिक्रिया