छुट्टै संगीत विश्वविद्यालय स्थापना गर्नुपर्दछ

ईश्वर जोशी, शास्त्रीय गितारवादक, संगीतकार तथा संगीत प्रशिक्षकको रूपमा परिचित छन् । रेडियो नेपाल र नेपाल टेलिभिजनमा पहिलोपटक शास्त्रीय गितार बजाउने कलाकारको रूपमासमेत परिचित जोशीले संगीत विषयमा स्नातकोत्तर गरेका छन् । उनले बाल गीति यात्रा १ देखि ४ भाग (अडियो) सम्म प्रकाशित गरेका छन् । त्यस्तै, उनका बेसिक गितार कोर्स भोलुम एक र दुई लगायतका आधा दर्जन संगीत सम्बद्ध कृति प्रकाशित छन् । उनी मथुरादेवी संगीत पुरस्कार (०५६), कलानिधि कला पुरस्कार (०५६), त्रिवेणी संगीत पुरस्कार (०५८), कलानिधि स्वर्ण संगीत पुरस्कारबाट जोशी सम्मानित भएका छन् । चार दशकदेखि संगीत कर्ममा लागेका जोशीसँग सौर्य दैनिकका लागि देवेन्द्र थुम्केलीले गरेको संक्षिप्त संवाद ः

० नेपालको वर्तमान संगीतको अवस्थालाई तपार्इं कसरी हेरिरहनुभएको छ ?
समय परिवर्तशील छ । नेपालको गीतसंगीत पनि हाल डिजिटल बनेको छ । संगीतको शैली आधुनिक बनेको छ । संगीत मात्र मनोरञ्जनका लागि नभएर व्यावसायिक र पेसागत भइसकेको छ र यो व्यक्तिको पहिचान बनाउने माध्यम पनि बन्न सफल भएको छ ।

० नेपाली मौलिक संगीत भन्नाले के बुझिन्छ ?
नेपाल सयौँ जातजातिको साझा फूलबारी हो । यी विभिन्न जातजातिका आफ्नै भाषा र संस्कृतिहरू छन् । आफ्नै गीतसंगीतहरू छन् । नेपालभित्रका विभिन्न जातजाति तथा समुदायका गीतसंगीत नै हाम्रा मौलिक संगीत हुन् ।
० आज बाह्य संगीतको प्रभावले नेपाली मौलिक संगीत हराउने अवस्थामा पुगेको छ’नि ?
बाह्य संगीतको प्रभाव आमरूपमा नभई नयाँ पुस्तामा बढी प्रभाव देखिन्छ । पश्चिमी संगीतको प्रभाव स्वरूप नेपाली पप, रक र ¥याप आदि शैलीका संगीत सिर्जना भइरहेको यथार्थ हो । तर, यसलाई अन्यथा नसोची स्वाभाविक मान्नुपर्दछ । आफ्नो मौलिक संगीत बिर्सनु हुन्न ।

० शास्त्रीय संगीत र मौलिक संगीतबीचको अन्तरसम्बन्ध बारेमा बताइदिनुस् न ?
शास्त्रीय संगीत, संगीतको शास्त्र हो, जुन संगीत व्याकरणमा आधारित छ । जुन अथाह अभ्यासविना प्राप्त गर्न असम्भव जस्तै छ । दक्ष संगीत हुन यो अनिवार्य हुन्छ । तर, मौलिक संगीत सरल तथा सहज हुन्छ । जुनविना संगीतको ज्ञानले पनि कलाकार बनिन्छ ।
० के शास्त्रीय संगीतले नेपालको मौैलिक संगीतलाई विस्थापित गरेको देखिन्छ ?
शास्त्रीय संगीत कुनै वैकल्पिक संगीत होइन । यो संगीत मूल आधार हो भने अन्य संगीतहरू यसका हाँगाहरू मान्न सकिन्छ । शास्त्रीय संगीतको ज्ञान लिएर अन्य संगीतमा लाग्दा बढी प्रभावकारी हुन्छ । संगीतमा ज्यान आउँछ । त्यसैले शास्त्रीय संगीतले अन्य कुनै संगीतलाई विस्थापित गर्दैन ।

० नेपाली मौलिक बाजाहरूको अवस्था कस्तो छ ?
नेपालमा जति पनि मौलिक संगीत छन् तिनका आफ्नै सयौँ प्रकारका बाजाहरू छन् । ती बाजाहरू मध्ये हाल केही लोक बाजाहरू मात्र प्रचलित छन् । बाँकी बाजाहरू संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेका छन् ।

० प्रगतिशील गीत संगीतमा लामो समयदेखि लाग्नुभएको छ । नेपालमा ती गीत संगीतको अवस्था कस्तो छ ?
संगीतलाई मनोरञ्जन र पहिचान बनाउनमा मात्र प्रयोग नगरी राष्ट्रियताको भाव उत्पन्न गर्न तथा सामाजिक विकृति र विसंगतिको अन्त्य गर्न सकारात्मक सन्देश दिने उद्देश्यका साथ तयार पारिएका प्रगतिशील गीत संगीतमा निरन्तर लाग्नु आवश्यक छ । देशमा मूलतः राजनीतिक परिर्वतन भयो सामाजिक, सांस्कृतिक, आर्थिक पक्षको परिवर्तन र विकास हुन अझै बाँकी छ । त्यसैले प्रगतिशील गीत संगीतको अझै खाँचो छ । तर, हाल यो कसैको प्रभावमा परेर सेलाएको अवस्थामा छ । त्यसैले प्रगतिशील गीत संगीतलाई कसैको इशारामा होइन स्वतन्त्र रूपमा अगाडि बढाउनु आजको आवश्यकता हो ।

० नेपाली संगीतको विकासका लागि के गर्नुपर्ला ?
समय अनुसार विकास अनिवार्य छ तर हालको संगीतको अवस्था लगामविनाको घोडाजस्तै छ । कुनै राष्ट्रिय संगीतको नीति तथा योजना छैन । संगीतको विकासको लागि सर्वप्रथम संगीतको नीति योजना र संगीत विकास बोर्डको स्थापना हुनपर्दछ । बालबालिकाहरूको सिर्जनात्मक शक्ति बढाउन प्रत्येक सरकारी तथा निजी विद्यालयमा अनिवार्य संगीत कक्षा सञ्चालन गर्नुपर्दछ । त्यस्तै, संगीत शिक्षाको विकासका लागि छुट्टै संगीत विश्वविद्यालय स्थापना गर्नुपर्दछ । संगीत क्षेत्रमा अत्याधिक पेसाको अवसरहरू सिर्जना गर्ने नीति अख्तियार गर्नुपर्दछ । अन्त्यमा मौलिक गीत, संगीत तथा बाजाहरूको संरक्षण गर्न संगीत पुस्तकालय तथा संग्रहालयको स्थापना गर्नुपर्दछ ।

प्रतिक्रिया