सामाजिक रूपान्तरणमा नाटकको महत्वपूर्ण भूमिका रहन्छ

पुरु लम्साल, नाटक तथा साहित्यका क्षेत्रमा परिचित नाम हो । लम्साल गीत, गजल, कविताका साथै नाटक लेखन तथा निर्देशनमा समेत उत्तिकै सक्रिय छन् । उनका ‘ठूलीका सपनाहरू (नाटकसंग्रह–०६७), आधा जलेको खप्पर (गजलसंग्रह–०६८), अर्को ओरालो (नाटकसंग्रह–०७१), देश हराएका मान्छेहरू (नाटक–०७२) र पानीघट्ट (नाटक–०७४)’ प्रकाशित छन् । लम्सालको निर्माण तथा निर्देशनमा कवि हरिभक्त कटुवालमाथि निर्मित ‘अनि हरिभक्त फर्किएनन्’ वृत्तचित्रले नेपाल तथा भारतमा खुबै चर्चा पायो ।

उत्कृष्ट गीतकार राष्ट्रिय जागरण गीत प्रतियोगिता रेडियो नेपाल–०७३, राष्ट्रिय कविता महोत्सव–०७३ मा द्वितीय नेपाल प्रज्ञा प्रतिष्ठानलगायत आधा दर्जन पुरस्कार पाएका लम्सालले केही साहित्यिक पत्रिकाको समेत सम्पादन गरेका छन् । पछिल्लो समय लमजुङ तथा भारतको कोलकातामा मञ्चन भएको नाटक पानीघट्ट र नेपाली नाटकको बारेमा लम्सालसँग सौर्य दैनिकका लागि देवेन्द्र थुम्केलीले गरेको संक्षिप्त संवाद ः

० ‘पानीघट्ट’ कस्तो नाटक हो ?
‘पानीघट्ट’ सामाजिक नाटक हो । मैले यसमा केही सांस्कृतिक पक्षहरूलाई पनि उठाउने प्रयास गरेको छु । हुन त ‘पानीघट्ट’ आपैmँमा एउटा संस्कृति हो । पानीघट्टसँगै धेरै कुराहरू जोडिएर आउँछन् । नाटकमा विशेषगरी लोप हुन लागेको ठाडोभाका, जुन लमजुङमा मात्रै गाइन्छ, त्यो पनि समावेश छ । दीर्घराज अधिकारी भेडीखर्के साइँलाको निधनपछि सो भाका कसले गाउँला वा के होला भन्ने एकखालको अन्योल पनि रहेको अवस्था छ । साथसाथै वैदेशिक रोजगारी र त्यसबाट उत्पन्न समस्याहरूको उठान नाटकले गरेको छ ।

० लमजुङको परिवेशमा आधारित यो नाटकमा त लोप हुन लागेको ठाडोभाकाको सन्दर्भ पनि आएको छ’नि ?
ठाडोभाका पश्चिमको पनि विशेषगरी लमजुङमा गाइने भाका हो । यो भाका लोप हुन लागेको अवस्थामा छ । कम्तिमा यसलाई नाटकमा समेट्न सकियो भने त्यो लेख्य रूपमा भए पनि केही समय त बाँच्छ भन्ने मेरो मनसाय हो । देउबहादुर दुरा, पञ्चे सुब्बा गुरुङ हुँदै भेडीखर्के साँइलासम्म आइपुगेको ठाडोभाका अबको पुस्ताले पनि गाउने हो भने त मर्दैन । तर, खासै कसैले पनि चासो नदिएको अवस्थामा यो भाका बचाइराख्न पनि ‘पानीघट्ट’ मा यसलाई समेटेको हुँ । यसको लागि मञ्जरी नाट्य समूह लमजुङका कलाकारहरूको र विशेष अध्यक्ष केदार बोहराको महत्वपूर्ण भूमिका छ । अर्को कुरा नाटक ‘पानीघट्ट’ लमजुङकै स्थानीय कलाकारलाई लिएर तयार परिएकोे नाटक हो जुन हामीले माघको १८ देखि २० गतेसम्म पाँच सो लमजुङमै मञ्चन पनि ग¥यौँ । पानीघट्ट नाटक लिएर हामी अन्तर्राष्ट्रिय नाटक महोत्सवमा भाग लिन कोलकातासम्म पुग्यौँ । यो हिसाबले हेर्ने हो भने त अब ठाडोभाका पनि अन्तर्राष्ट्रिय स्तरमा पुगेको छ । यो हाम्रा लागि खुसीको कुरा पनि हो ।

० नेपाली संस्कृतिलाई नाटकमा कसरी संबोधन गर्न सकिन्छ ?
हामीले वास्तवमा उठाउन पर्ने विषय भनेकै सांस्कृतिक विषय हो । तर, यो विषयमा कलम अलि कम चलेको छ चाहे नाटकमा होस् वा अन्य विधामा होस् । पानीघट्ट अहिले लगभग लोप हुने अवस्थामा छ र अहिलेको पुस्तालाई सायदै थाहा छ । ‘पानीघट्ट’ पेसा पनि हो । यसैको कमाइले परिवार पाल्नेहरूको दैनिकी असहज भएको छ । हामीले हाम्रा समाजिक, सांस्कृतिक विषयहरूलाई नाटकमार्फत उठाउने हो भने यसले नेपालको मात्रै नभई अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि प्रवेश पाउँछन् । हाम्रो कला, संस्कृति नै हाम्रो पहिचान हो । हामीले यिनै विषयवस्तुलाई उठाउन जरुरी पनि छ । चाहे त्यो नाटकका माध्यमबाट होस् चाहे अन्य कुनै माध्यमबाट ।

० प्रसंग बदलौँ, नेपाली नाटकको पछिल्लो चरण कसरी गुज्रिरहेको छ ?
पछिल्लो समय नेपालमा नाटक हेर्ने संस्कारको विकास भएको छ । नाटकघरहरू खुलेका छन् । केही हदसम्म नाटक व्यावसायिक भइरहेको छ । तर, बिडम्वना नेपाली नाटकको मञ्चनको अवस्थामा चाहिँ खासै उत्साहजनक अवस्था छैन । अर्को महत्वपूर्ण पाटो भनेको नेपाली नाटकमा अनुसन्धान हो, त्यो पनि साह्रै कम भएको छ । विश्वविद्यालयमा नाटकको सिद्धान्त पढाइ हुन्छ तर अभ्यास हुँदैन ।
अर्को कुरा नाटक पढेको विद्यार्थीलाई थेसिस लेख्नचाहिँ निबन्धको लगाउँछन् । कम्तिमा नाटकमै थेसिस गर्न लगाए वा क्षेत्रगत हिसाबले पनि त्यही क्षेत्रको नाटकको बारेमा थेसिस लेख्न लगाए एउटा राम्रो थेसिस तयार हुन्थ्यो । दुःखको कुरा नेपालमा सरकारी मान्यतामा आजसम्म अभिनय पढाइ हुँदैन सिद्धान्तले मात्रै नाटकले पूर्णता पाउँदैन । अर्को कुरा नाटक पढाउने प्रोफेसरहरूलाई कमैलाई मात्र रंगमञ्चको बारेमा जानकारी छ । सिद्धान्त मात्रै नाटक होइन ।

० नेपाली नाटक प्रायः एनजिओ÷आइएनजिओको प्रोजेक्टमा बढी मञ्चन भएको देखिन्छ’नि ?
त्यस्तो मात्रै पनि हैन । मौलिक नेपाली नाटकहरू पनि मञ्चन भएका छन् । लेखिएका पनि छन् । एनजिओ÷आइएनजिओका नाटकहरूलाई खासगरी विकासे नाटक भनिन्छ जुन नाटकहरू सडकमा देखाइन्छ । त्यस्ता नाटकको लक्षित वर्ग हुन्छ सीमित सन्देश हुन्छ । एक हिसाबले हेर्दा कलाकारलाई पनि राम्रै आम्दानी हुने यी नाटकको दीर्घकालीनचाहिँ छ कि छैन र त्यो नाटक कति समयसम्म बाँच्छ भन्ने कुरा महत्वपूर्ण हो । एनजिओ÷आइएनजिओका नाटकहरू मञ्चमा खासै मञ्चन हुँदैनन् ।

० नेपाली अर्गानिक नाटकभन्दा पनि बढी विदेशी नाटककारका नाटक प्रायः चलेका रंगकर्मीको रोजाइमा परेको देखिन्छ’नि ?
पहिलो कुरा को चलेको वा को नचलेको भन्नेभन्दा पनि कसले कस्तो नाटक मञ्चन ग¥यो भन्ने कुरा गौण हो जस्तो मलाई लाग्छ ।
पछिल्लो समय नेपाली रंगमञ्चमा देखिएकोे विवादको एउटा पाटोचाहिँ यो पनि हो । केही अग्रज निर्देशकहरूले नेपालीमा नाटक लेखिएका छैनन् भनेर विदेशी नाटक अनुवाद गरेर मञ्चन गरे र गरिरहेका छन् । त्यसमा कसैको निहीत स्वार्थ पनि जोडिएको हुन सक्ला । कतैबाट स्पोन्सर मिलेको हुन सक्ला, वा दूतावासले आफ्नो देशको नाटक मञ्चन हुने भनेर आर्थिक सहयोग गरेको हुन सक्ला । सबै नाटक निर्देशकलाई नेपाली नाटकको माया नहुन पनि त सक्छ ।

अनुवाद नाटक मात्रै होइन उपन्यासलाई नाटकमा रूपान्तरण गरेर मञ्चन गरिरहेका छन् । जीवनीलाई नाटकमा रूपान्तरण गरेर पनि मञ्चन भएका छन् । अरूको उपन्यासलाई वा जीवनीलाई नाट्य रूपान्तरण गरेर मञ्चन गर्न सक्नेले आफैँ नाटक लेखेर मञ्चन गर्नचाहिँ किन नसकेको होला ? केही यस्ता निर्देशकहरू पनि छन् जसलाई नेपालीमा नाटक छैनन् भनेर अफवाह फैलाएरै वर्षको एक÷दुई वटा विदेशी प्रोजेक्ट हात पार्नुपर्ने पनि हुन सक्छ । तर, पछिल्लो समय नेपाली नाटकहरू उल्लेख्य रूपमा मञ्चन भएका छन् ।

० नेपाली नाटकको पछिल्ला प्रवृत्तिका बारे बताइदिनुस् न ।
वर्तमान नेपाली नाटकमा देखिएको विभिन्न प्रवृत्तिहरू छन् । अस्तित्ववादी–विसंगतिवादी, उत्तरआधुनिक चेतना, नारीवादी चेतना, मिथकीयता, स्वैरकाल्पनिक चेतना, प्रगतिवादी चेतना, सांस्कृतिकपन अन्य पनि छन् । प्रवृत्तिगत हिसाबले मेरा नाटक कहाँ छन् भनेर केलाउने काम खासमा समालोचक वा प्रोफेसरहरूको हो । मेरा नाटकहरूमा खासगरी प्रगतिवादी चेतना, नारीवादी चेतना र सांस्कृतिकपन बढी आएको छ । त्यस्तै सामाजिक तथा राजनीतिक विषयमा केन्द्रित रहेर पनि नाटक लेखेको छु ।

० जनस्तरसम्म रंगकर्म लैजानलाई के कस्ता चुनौती छन् ?
पहिलो कुरा नाटक खासै सर्वसाधारणको पहुँचमा अहिले पनि छैन । काठमाडौं वा केही ठूला सहरमा नाटक देखाएर वा नाटकघर बनाएर मात्रै नाटक जनस्तरमा पुग्ने कल्पना गर्नु बेकार हो । दोस्रो कुरा जबसम्म हामी हाम्रा कुरा नाटकमा ल्याउन सक्दैनौँ तबसम्म सीमित घेरोभित्र रहन्छ नाटक । विदेशीको कथा हेर्न किन आउने ? जनताको कुरा लेखौँ, जनताका समस्या नाटकमा देखाउँ अनि बल्ल नाटक जनस्तरमा पुग्छ ।

० समाज परिवर्तन र रूपान्तरणमा नाटकको भूमिका कस्तो हुनुपर्दछ ?
कला मात्रै यस्तो एउटा भाषा हो जसलाई जसले जसरी पनि बुझ्न सक्दछ । चाहे आपूm अनुकूल होस् वा प्रतिकूल । नाटकका माध्यमबाट हामी धेरै कुराहरू परिवर्तन गर्न सक्दछौँ । आममान्छेले सजिलै बुझ्ने भाषा भनेकै प्रस्तुतिको भाषा हो । हुन त विश्वमा धेरै खालका नाटक लेखिएका छन् । कतै आशा छन् कतै निराशा छन् कतै चरम भाग्यवादका कुरा छन् कतै विसंगतका नाटक छन् यी सब वाद र सिद्धान्त छुट्याउने काम समालोचकहरूको हुन सक्ला । तर, सामाजिक रूपान्तरणमा नाटकको महत्वपूर्ण भूमिका रहन्छ । नाटकबाट थोरै समयमा धेरै कुराहरू जनमानसमा पु¥याउन सकिन्छ र सन्देश प्रवाह गर्न सकिन्छ ।

० राजनीतिक स्थायित्वसँगै समृद्धिको नारा आइरहेको छ । देशलाई समृद्धितर्फ लैजानेक्रममा नाटकको भूमिका कस्तो हुनुपर्दछ ?
हामीले केलाई समृद्धि मान्ने भन्ने अर्को प्रश्न छ । विकास हुँदैमा देश समृद्ध हुन्छ भन्ने छैन । हाम्रो पहिचान के हो भन्दा हाम्रो कला संस्कृति हो । हामीले हाम्रो पहिचान जोगाइराख्न कला संस्कृतिलाई जोगाउनुपर्छ । यो देशमा भएका विभिन्न जातजातीका आफ्नो आफ्नो संस्कृति छन् पर्वहरू छन् । ती सबै हामीले बचाएर राख्न सक्यौँ भने वा खोज गरेर हामीले सुरक्षित गर्न सक्यौँ भने ती कुरा अरूलाई नयाँ हुन्छ । भनिन्छ सबैभन्दा बहुमुल्य सम्पति भनेकै कला र संस्कृति हो । हामीले हाम्रो कला संस्कृतिलाई जोगाउन सक्यौँ भने हामी समृद्ध हुन सक्छौँ । ती कला संस्कृतिलाई हामी नाटकको माध्यमबाट विश्वसामू लैजान सक्छौँ ।

० अन्त्यमा ?
नेपालीमा नाटक नलेखिएका हैनन् । निर्देशकहरूको आँखामा नपरेको मात्रै हो । धेरै नाटक लेखिएका छन् र थन्किएका छन् वा छापिएर थन्किएका छन् । हामी रंगकर्ममा लागेकाहरूले कम्तिमा खोजौँ न अहिलेसम्म कति नेपाली नाटक लेखिएका छन् भनेर ? मलाई लाग्दैन कि नेपालमा यस्तो नाटक निर्देशक छ जसले नेपाली नाटकको खोज अनुसन्धान पनि गरेको छ र मञ्चन पनि गरेको छ । वा नाटक लेखेको छ । वर्षभरिमा कति नाटक छापिन्छन् भन्ने जानकरी राख्ने नाटक निर्देशक कति छन् यहाँ ? कुन निर्देशकलाई थाहा छ नेपाली नाटक हालसम्म कति लेखिए ? नेपाली नाटकलाई माया गर्ने दर्शक जति पनि छन् तर नेपाली नाटकलाई माया गर्ने निर्देशक कति होलान ?

प्रतिक्रिया