कलाकारहरू भोजभतेरमा लगाउने गहना होइनन्

नृत्य निर्देशक तथा अनुसन्धानकर्ता
केपी पौडेल, नेपाली मौलिक नृत्यका क्षेत्रमा विगत साढे दुई दशकदेखि काम गर्दै आएका छन् । उनले लोक एवं शास्त्रीय नृत्यका बारेमा खोज–अनुसन्धान गर्दै नृत्य क्षेत्रको प्रवद्र्धन तथा संवद्र्धनमा काम गर्दै आएका छन् । उनी विभिन्न सामाजिक संघ÷संस्था रहेर यस क्षेत्रको विकासका लागि काम गर्दै आएका छन् ।

भारतको प्रयाग संगीत समिति इलाहावादबाट संगीत प्रवीण र समाजशास्त्रमा त्रिभुवन युनिभर्सिटीबाट स्नातकोत्तर गरेका पौडेलले ‘नृत्य परिचय भाग १, कथ्थक नृत्य परिचय, हाम्रो संस्कृति भाग १, हाम्रा पोसाक र गरगहना’ लगायत पुस्तक प्रकाशन गरिसकेका छन् । हाल विभिन्न कलेजमा नृत्य विषयको प्राध्यापन पेसामा आबद्ध पौडेलसँग नेपाली नृत्यका विषयमा सौर्यकर्मी देवेन्द्र थुम्केलीले गरेको कुराकानी :

० नेपाली मौलिक नृत्यको वर्तमान अवस्था कस्तो छ ?
– नेपाली मौलिक नृत्यको वर्तमान अवस्थालाई हेर्ने हो भने केही नाचहरू लोप भइसकेका छन्, केही लोप हुने अवस्थामा छन् भने केही प्रचलनमै रहेका र विकसित अवस्थामा पुगेका पनि छन् ।

० नेपालमा चलेका मुख्य–मुख्य नृत्य शैलीहरू के–के हुन् ?
– नेपालमा मुख्यतः तीन नृत्य शैलीहरू प्रचलनमा रहेका छन् । जसमा (१) मौलिक लोक नाचहरू (२) परम्परागत एवं शास्त्रीय शैलीका नाचहरू (३) आधुनिक शैलीका नाचहरू रहेका छन् ।

० यी शैलीमा पछिल्लो समय बाह्य प्रभाव हाबी भएको देखिन्छ नि ?
–यो कुरा सत्यताको नजिक छ । नेपालमा रहेका सबै शैलीका नृत्यहरूमा पाश्चात्य नृत्य शैलीको प्रभाव परिराखेको छ । त्यसै कारण हाम्रो मौलिक लोकशैलीका नृत्यहरू दिनानुदिन लोप हुँदै गएका छन् । नृत्यको संरक्षण गर्ने भनेर स्थापित संघसंस्थाहरूले यसमा गहन अध्ययन र बहस गर्न सकिरहेका छैनन् । सरकारी निकायबाट खासै कुनै ठोस कार्य हुनै सकिरहेको छैन ।

० मौलिक नृत्यहरू बिस्तारै लोप हुने अवस्थामा पुगिसकेका छन् नि ?
– नेपाली लोक नाचको अवस्था हेर्दा निकै दुःख लाग्छ । नेपाली लोक नाच तपार्इंले भनेजस्तै अवस्थामा पुगेको छ । यो अवस्था आउनुको प्रमुख कारण यस क्षेत्रमा लागेका नृत्यकारहरूलाई राज्य र समाजबाट सम्मान र सहयोग नहुनु नै हो । राज्यले अहिलेसम्म नृत्यलाई खालि मनोरञ्जनको साधनको रूपमा मात्रै हेरिरहेको छ । हाम्रो देशमा मौलिक एवं परम्परागत नृत्य संरक्षण गर्ने नृत्यकर्मीलाई कुनै निकायले पनि सही ढंगले मूल्यांकन गर्न सकिराखेको छैन । उनीहरूको अवस्था नाजुक छ, अनि कसरी नृत्यको संरक्षण हुन्छ त ल भन्नुस् त ? देशभित्रका विभिन्न कला संस्कृति भनेको देशकै अमूल्य सम्पत्ति हो, आफ्नो सम्पत्तिको संरक्षण आपैmँले गर्नुपर्छ अर्थात् त्यो जिम्मेवारी राज्यको हो । राज्यले त्यो कुरा बुझ्नुपर्छ ।

० यिनको संरक्षण र प्रवद्र्धनका कार्यहरू किन अगाडि बढ्न सकेका छैनन् ?
– यसको प्रमुख कारण राज्यसँग स्पष्ट सांस्कृतिक नीति नियम नहुनु नै हो । नृत्यको विकास र संरक्षणका लागि नृत्य विकास बोर्ड नहुनु पनि हो । हाम्रा मौलिक नृत्यको विकास र संरक्षणका लागि नृत्य विकास बोर्ड गठन गरी राज्यले यस क्षेत्रमा ध्यान दिनु अत्यन्त आवश्यक छ ।

० अध्ययन अनुसन्धानको क्षेत्रमा खासै काम भएको देखिँदैन नि ?
–केही नृत्य अनुसन्धानकर्ताहरूले अनुुसन्धान त गरेकै छन् । तैपनि, संस्थागत र विस्तृत रूपमा अध्ययन अनुसन्धान हुन नसकेकै हो । नृत्य क्षेत्रलाई अनुत्पादक क्षेत्रको रूपमा राज्यले लिएको छ । यसको अध्ययन अनुसन्धानमा सरकारी तवरबाट केही कार्य हुन नसकेको यथार्थ हामीसामु छँदै छ ।

० नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको मूल कार्यभार यी र यस्तै नृत्यको खोज अनुसन्धान हुनुपर्ने होइन र ?
– हुनुपर्ने त्यस्तै हो, तर नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा नृत्य अनुसन्धानमा लागेका नृत्यमा विशेषज्ञता हासिल गरेका व्यक्तिलाई ठाउँ दिइएको छैन । नृत्यमा ज्ञान नभएका राजनीतिक व्यक्तिलाई स्थान दिएको छ । नृत्य क्षेत्रभन्दा अन्य संगीत क्षेत्रको व्यक्तिलाई नृत्य हेर्ने जिम्मा दिइएको छ । त्यसैकारणले गर्दा पनि नृत्यको खोज अनुसन्धान हुन नसकेको हो ।

० नेपालका लोक तथा परम्परागत नृत्यको अभिलेखीकरण तथा अनुसन्धानमा राज्यको भूमिका कस्तो छ ?
– नेपालका लोक तथा परम्परागत नृत्यको अभिलेखीकरण तथा अनुसन्धानमा राज्यको भूमिका खासै केही पनि छैन । नेपालमा कुन ठाउँ, कुन जाति, कुन चाडपर्व आदिमा के कस्ता किसिमका नृत्य छन्, त्यसमा काम गर्ने नृत्यकर्मीहरूको अवस्था के छ ? भन्ने विषयमा राज्यसँग कुनै रेकर्ड छैन । नाचका लागि भनेर स्थापित राष्ट्रिय नाचघर, संगीत नाट्य प्रज्ञा प्रतिष्ठान केही व्यक्तिको जागिर खाने र राजनीति गर्ने ठाउँको रूपमा मात्रै परिणत भएको छ । उनीहरूसँग नृत्य, नृत्य अनुसन्धानकर्ता, नृत्य निर्देशक, नृत्यकार आदि कुनै पनि विषयमा कसैको पनि वास्तविक रेकर्ड नै छैन ।

० अन्त्यमा ?
–कलाकारहरू भोजभतेरमा लगाउने गहना होइनन्, कलाकार राष्ट्रका पहिचान हुन्, इतिहास निर्माणकर्ता हुन्, सभ्य समाजको निर्माणकर्ता हुन् । कला र कलाकारहरूको राज्यले सही ढंगबाट सम्मान गर्न सक्नुपर्छ । नृत्यको संरक्षण र विकास गर्ने हो भने नृत्य विकास एवं संरक्षण बोर्डको गठन गर्नुपर्छ भन्ने मेरो सबै पक्षसँग जोडदार माग रहेको छ ।

 

प्रतिक्रिया