४ फागुनमै हो सोनम ल्होछार

पछिल्लो समय तामाङ समुदायमा ल्होछारको विषयलाई लिएर अनेक टीकाटिप्पणीसँगै बहस हँुदै आएको छ । विगतमा सोनम ल्होछार वा ग्याल्बो ल्होछार भन्ने विषयमा विवाद हुने गरेकोमा योपटक सोनम ल्होछारकै विषयलाई लिएर तामाङ समुदाय विभाजित देखिन्छ । विक्रमसंवत्को पात्रोअनुसार तामाङले मनाउँदै आएको सोनम ल्होछार ४ माघमा उल्लेख गरिए पनि नेपाल तामाङ घेदुङले मन्जुश्री संवत्अनुसार ४ फागुनमा ल्होछार मनाउने निर्णय गरेपछि विवाद उत्पन्न भएको देखिन्छ । कतिपय स्थानमा ४ माघमैै ल्होछार मनाउने तयारी छ भने कतिपय स्थान ४ फागुनमा मनाइने भएको छ । यसले गर्दा तामाङ समुदायमा ल्होछार विवाद उत्कर्षमा पुगेको छ । यसै विषयलाई समेटेर तामाङ समुदायको छाता संगठन नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेसँग सौर्य दैनिकका लागि मिक्साङ वाइबा तामाङले गरेको कुराकानी:

मोहन गोले, अध्यक्ष, नेपाल तामाङ घेदुङ

ल्होछार परम्परा के हो ?
ल्होछार परम्परा तामाङ समाजसँग जोडिएको एउटा अभिन्न सांस्कृतिक अंग हो, जुन परम्पराविना तामाङ समाज पूर्ण हुन सक्दैन । ल्होछार परम्परा तामाङ समुदायको विश्वास र आस्थामा आधारित एउटा विज्ञान पनि हो । यसलाई तामाङ समुदायले हजारौँ वर्षदेखि अपनाउँदै आएका छन् । तामाङ समाज चल्ने नही यही पम्परालाई आधार मानेर हो । यो एउटा पर्व मात्र नभएर साल परिवर्तनसँग पनि आधारित छ । ल्होछारलाई तामाङ समुदायले नयाँ वर्षको रूपमा समेत मान्दै आएको छ ।

 

यसको समाजिक, सांस्कृतिक महत्व के छ ?
ल्होछारले समाजलाई एकताबद्ध बनाउन मद्दत गर्छ । पछिल्लो समय तामाङ समुदायले यसलाई पहिचानको आन्दोलनसँग पनि जोडिएर अघि बढाउँदै लगेको छ । यसको सांस्कृतिक महत्व भन्नुपर्दा ल्होछारमा तामाङ पहिचान झल्किने भेषभूषा तथा खानपानको प्रयोग हुन्छ, जसले समुदायको पहिचान झल्काउने काम गर्छ ।

यस्तै, ल्होछारका वेला आफूभन्दा ठूलाबाट आशिष लिने, टीका लगाउने तथा सबैजना एकै ठाउँमा भेला भएर शुभकामना साटासाट गर्ने गर्छन् । यसले समाजिक महत्व दर्शाउँछ । यससँगै धार्मिक पक्ष पनि जोडिएर आएको हुन्छ । ल्होछारको वेलामा तामाङहरूले लामा गुरुहरूद्वारा पूजापाठ गराउने, लुङ्दर(धजा) दज्र्यु(झन्डा) लगाउने, सालभर नै राम्रो होस् भन्ने कामना गर्दै पूजापाठ लगाउने हुँदा ल्होछारले धार्मिक पक्षलाई पनि महत्वका साथ उजागर गरेको पाइन्छ ।

 

ल्होछार कुन समयमा पर्छ र कसरी ?
तामाङ समुदायले ल्होछार प्रत्येक वर्ष ख्रेला छेपागीमा मनाउने गर्दछ । यो चान्द्र पात्रोमा आधारित छ । जसको विकास उत्तरी क्षेत्रबाट भएको पाइन्छ । नेपालमा प्रचलनमा रहेको सौर्य पात्रोमा आधारित विक्रमसंवत्को पात्रो दक्षिणतिरको ज्योतिष परम्परामा आधारित छ । तर, चान्द्र पात्रो उत्तरतिरको ज्योतिष परम्परामा आधारित पात्रो भएकाले उत्तरी क्षेत्रको सभ्यतासँग मेल खान्छ ।

यसर्थ चान्द्र पात्रो कृषि (सोनम ल्होथो) अनुसार यो वर्ष मलमास परेकाले ल्होछार ४ फागुनमा पर्न गएको छ । विक्रमसंवत््को तिथिअनुसार प्रत्येक वर्षको माघशुक्ल प्रतिपदाका दिन तामाङ समुदायले ल्होछार मनाउने गर्छ । र, त्यही दिनबाट नयाँ साल सुरु हुन्छ । तर, नेपाल पञ्चांग निर्णायक समितिले निकालेको विक्रमसंवत् पात्रोमा सोनम ल्होछार ४ माघमा पर्ने उल्लेख छ । त्यो दिन हाम्रो पात्रोअनुसार हिसाब गर्दा १२औँ महिनाको २ गते पर्छ । त्यो गलत हो, यसबारे भ्रममा नपर्न म सबैसँग अनुरोधसमेत गर्न चाहन्छु ।

 

पछिल्लो समय ल्होछारका सम्बन्धमा देखिएको विवाद के हो ?
यसको मुख्य कारण भनेको विक्रमसंवत्को क्यालेन्डर हो । नेपाल पन्चांग निर्णायक समितिमा चान्द्र पात्रोबारे ज्ञान भएका विज्ञ समावेश नभएका कारण ल्होछारको मिति फरक पर्न गयो । यो विषयमा नेपाल तामाङ घेदुङबाट पनि समयमै सच्याउन पहलकदमी भएन, त्यो हाम्रो कमजोर पक्ष रह्यो । केही अग्रजलाई पहिल्यै थाहा थियो तर सरकारले सार्वजनिक बिदा दिएकै दिन देश तथा विदेशमा ल्होछारको अवसरमा सांस्कृतिक कार्यक्रम गरी मनाएर ल्होछारको दिन ४ फागुनमा चाहिँ सबैले घर–घरमा मनाऔँ भन्ने हाम्रो योजना थियो ।

यसैक्रममा यसवर्ष ल्होछारको उपलक्ष्यमा चान्द्र पात्रोमा आधारित तामाङ क्यालेन्डर प्रकाशन ग¥यौँ । त्यसलाई कार्यान्वयनमा ल्याउने क्रममा जुन दिन ल्हो फेरिन्छ, अन्य सांस्कृतिकलगायत कार्यक्रम पनि त्यही दिन गर्नुपर्छ भन्ने कुरा आएपछि हामीले कार्यक्रम पनि ४ फागुनमा नै तय गरेका हौँ । यसैलाई लिएर विवाद देखिएको हो ।

विगतमा माघशुक्ल प्रतिपदामा ल्हो (वर्ष) फेरिन्थ्यो र तामाङ समुदायको नयाँ वर्ष सुरु हुन्थ्यो मात्र भनिएको छ । त्यस हिसाबले माघशुक्ल प्रतिपदा विक्रमसंवत्को क्यालेन्डरमा जहिले पर्छ, त्यही हिसाबले नै पञ्चांग निर्णायक समितिले ल्होछारको मिति तय गर्दै आएको छ । तर, चान्द्र पात्रोमा पर्न जाने मलमासबारे समितिलाई ज्ञान नहँुदा ल्होछारको मिति फरक पर्न गएको हो ।

 

घेदुङले समयमा जानकारी गराएन, एकलौटी निर्णय भयो भन्ने आरोप पनि छ नि ?
गत वर्ष हामीले क्यालेन्डर प्रकाशन गरेकाले सबैलाई जानकारी होला भन्नेमा हामी विश्वस्त रह्यौँ । त्यही नै हाम्रो कमजोरी रह्यो । त्यो क्यालेन्डर सबै तामाङको घरघरमा त पुग्न सकेन होला तर घेदुङका जिल्ला शाखामार्फत सबै जिल्लामा पु¥याउने कोसिस भने भएको थियो । हामीसँग सम्पर्कमा रहेका गाउँ कमिटीहरूमा पनि पठाएका थियौँ । तर, त्यो क्यालेन्डर हेर्नेतर्फ कसैको ध्यान गएन । अर्को कुरा हाम्रो समुदायमा अझै पनि विक्रमसंवत््को क्यालेन्डर मात्रै हेर्ने प्रचलन छ, हाम्रो आफ्नो क्यालेन्डरबाट तिथिमिति हेर्ने चलन नै चलेन, त्यसकारण यी सबै समस्या उत्पन्न भएका हुन् ।

घेदुङले सबैको घरघरमा गएर क्यालेन्डर हेर त भन्न सक्दैन । यस्तै, सबैलाई थाहा भएकै कुरा हो, यो वर्ष चुनावको वर्ष रह्यो । हामी आफैँ पनि तामाङ जिताऔँ अभियानमा लाग्यौँ । स्थानीय निर्वाचन, प्रतिनिधिसभा निर्वाचन, प्रदेशसभा निर्वाचनका साथै हिन्दूहरूको दसैँ, तिहारलगायत चाडले गर्दा घेदुङ केन्द्रीय कमिटीको बैठक बस्न ढिलाइ भयो । २८ असोजमा बसेको केन्द्रीय कमिटी बैठकले यो वर्ष ४ फागुनमा ल्हो फेरिन्छ, त्यहीअनुसार सबै जिल्लामा सर्कुलर गर्ने निर्णय गरेको छ । सबै जिल्ला तथा प्रवासका संघसंस्थालाई समेत हामीले सर्कुलर पठाएका छौँ ।

तर, सायद साथीहरूले त्यो सर्कुलर पनि पढ्नुभएन । त्यसपछि २८ मंसिरमा ल्होछार मूल आयोजक कमिटीको बैठक बसी ४ फागुनमा नै ल्होछार गर्ने निर्णय भएको हो । ४ फागुनमा मात्रै ल्हो फेर्ने भएपछि सांस्कृतिक कार्यक्रम पनि सोही दिनमा मात्रै गर्नुपर्छ, समाजलाई भ्रममा राख्नुहँुदैन भन्ने आवाज उठेपछि हामीले सो निर्णय गरेका हौँ । यस हिसाबले अलिकति ढिलो जानकारी भएको हो, त्यो हामी स्विकार्छौं तर जुन खालको विवाद, बहस र छलफल भयो यसबाट सकारात्मक परिणाम नै आउनेछ भन्नेमा आशावादी छौँ ।

अहिले प्रवासका साथीहरूले पनि बिस्तारै बुझ्दै जानुभएको छ । स्वदेशमै पनि सांस्कृतिक कार्यक्रम सार्न मिल्ने ठाउँमा सारिएको पनि छ तर सार्न नमिल्ने ठाउँहरूमा भने कार्यक्रम त्यही मितिमा गरे पनि ल्हो फेर्ने दिन ४ फागुन नै हो भन्ने कुरामा कन्भिन्स हँुदै जानुभएको छ । विदेशको हकमा काममा बिदा तथा कलाकारहरूलाई नेपालदेखि लानुपर्ने हुँदा भिसालगायत समस्या हुने भएकाले कार्यक्रम सार्न मिल्दैन भन्ने कुरा आएको छ । यो ठूलो समस्या हैन ।

 

घेदुङले चाहेको भए यस्ता खालको विवाद सायद आउन नदिन पनि सक्थ्यो, घेदुङकै केही जिम्मेवार पदाधिकारी पनि विवादास्पद अभिव्यक्ति दिँदै हिँडेको पाइन्छ, यी सबै व्यवस्थापनमा नेतृत्व कहीँ चुकेको हो ?
एकदुई जना साथीहरू कुन स्वार्थप्रेरित हुनुभएको हो, त्यो थाहा पाउन सकिएन । उहाँहरू आफ्नै डकुमेन्टविरुद्ध बोल्दै हुनुहन्छ । उपाध्यक्ष अजितमान तामाङको कुरा गर्नुपर्दा उहाँ आफैँले लेख्नुभएर्को ल्होखोर च्युङी’ नामको पुस्तकमा स्वयंले लेख्नुभएको छ कि, ल्होछार अधिकमासका कारण कहिलेकाहीँ एक महिना तलमाथि हुन सक्छ ।

यसले गर्दा कहिले माघमा र कहिले फागुनमा पनि पर्न सक्छ भन्ने उल्लेख गर्नुभएको छ । उहाँ आफ्नै अभिव्यक्तिविरुद्ध बोल्नुहुन्छ भने मेरो भन्नु केही छैन । अहिले आएर ४ माघ राटनमा लाग्नुभएको छ उहाँ । त्यसको कारण के हो बुझ्न सकिएको छैन । अजितमान तामाङको कुरा गर्नुपर्दा विगतमा तामाङ समुदायको ल्होछारलाई संस्थागत गर्नका लागि उहाँले ठूलो भूमिका निर्वाह गर्नुभएको छ । एउटा व्यक्तिको स्वार्थका लागि सिंगो तामाङ समुदाय भ्रममा पर्नुहुँदैन । हामीले घेदुङका पूर्व नेतृत्व, अग्रज तथा तामाङ बुद्धिजीवीहरूसँगको छलफलपछि नै ल्होछार सार्ने निर्णय गरेका हौँ । यो एकलौटी निर्णय हैन ।

 

योबाहेक तामाङ समुदायले मनाउने ग्याल्बो र सोनम ल्होछारको बीचमा पनि विवाद छ, यस सम्बन्धमा तपाईं के भन्नुहुन्छ ? यी दुईमा भिन्नता के छ ?
सोनम ल्होछार तामाङ समुदायको ल्होछारका रूपमा नेपाल सरकारले आधिकारिक मान्यता दिएको पर्व हो । तामाङ समुदायले गर्ने अहिलेसम्मको अभ्यासलाई हेर्दा यो नै आधिकारिक हो । तर, कतिपय तामाङ समुदायले ग्याल्बो ल्होछार मनाउने गरेका छन् । सोनम ल्होछार अन्तर्राष्ट्रिय रूपमा मनाउने गरिन्छ । यो मंगोल राष्ट्रको सभ्यतासँग विकास भएको हो । विश्वका धेरै राष्ट्रहरूले यो ल्होछारलाई मनाउने परम्परा छ । यो ग्याल्बो ल्होछारको कुरा गर्नुपर्दा, तिब्बतको एउटा राजाले एक प्रान्त जितेको खुसीयालीमा सुरु गरिएको ल्होछार हो । तिबेतियन भाषामा ग्याल्बोको अर्थ राजा भन्ने पनि हुन्छ ।

तिबेतियको एक मंगोलियन शासकले मियाक भन्ने एक प्रान्त जित्यो, यो १२२७ को कुरा हो । राजाले आफ्नो जितको खुसीयालीमा तिमीहरू अब ल्होछार मनाउनू है भनेर सुरु गरिएको परम्परा हो । यो विभिन्न डकुमेन्टहरूले पनि पुष्टि गरेको छ । यस हिसाबले यसको इतिहास धेरै लामो देखिँदैन । यो राजाले सुरु गरेको परम्परा हो, एउटा देशको परम्परा अर्को देशका जनताले पालाना गरिरहनुपर्छ भन्ने जरुरी पनि छैन । राज्यले पनि ग्याल्बो ल्होछारलाई शेर्पाको ल्होछार भनेर आधिकारिकता दिएको छ । तर, सोनम ल्होछारको परम्परा महामानव मन्जुश्रीसँग जोडिएको छ । मन्जुश्री तामाङ समुदायले गर्ने हरेक कार्यमा जोडिएर आउँछन् । हरेक शुभ, अशुभ कार्यमा तामाङहरू मन्जुश्रीलाई इष्टदेवको रूपमा पुज्ने गर्छौं ।

इतिहासअनुसार मन्जुश्रीले काठमाडौँ उपत्यकाको चोभार डाँडाबाट पानी निकालेर मानवबस्ती बसाएका थिए । उपत्यका मानवबस्ती योग्य भएपछि उहाँसँगै उत्तरतिरैबाट आएको मान्छे जसलाई इतिहासमा धर्माकर भनेर भनिन्छ । तामाङहरूले यसलाई छ्योचेन भन्ने गरेका छन् । उही छ्योचेनलाई राजा बनाएर उहाँ जानुभएको कथन छ । तामाङको पुर्खा महामानव मन्जुश्री हुन् जसलाई अहिले पनि हामी पुज्ने गर्छौं ।

जसले २८५३ वर्षअगाडि पञ्चशीर्ष डाँडामा बसेर मुसा वर्षको समय धर्मदेशाना गर्नुभयो, सोही दिनलाई आधार मानेर हामी तामाङ समुदायको ल्होछार परम्परा सुरु भएको बताइन्छ । सोनम भनेको कृषक हो । परापूर्वक कालदेखि तामाङहरू बढी कृषि पेसामा संलग्न पाइन्छ । तर, यसबीचमा राज्यका तर्फबाट विभेदका कारण हाम्रो संस्कृति, परम्परा तथा पहिचान सबै मेटियो । बिस्तारै पुनर्जागरणका क्रममा रहेकाले केही विवाद भ्रम देखिएको हो । त्यसलाई चिर्न हाम्रो विभिन्न अभियान जारी छ आशा गरौँ, केही समयपछि यो सबै टुंगोमा पुग्नेछ ।

 

कुनै वर्ष यी दुइटै ल्होछार एकै महिनामा पनि पर्ने गरेको पाइन्छ हैन ?
यो मलमासका कारणले हुने गर्छ । चान्द्र पात्रोका अनुसार यसको एउटा नियम हुन्छ, दुई वर्ष साँढे आठ महिनाको बीचमा एउटा मलमास थप्नुपर्ने हुन्छ । त्यसैले, गर्दा कहिले सोनम ल्होछारपछि सरेर ग्याल्बोसँगै पर्छ त कहिले ग्याल्बो ल्होछार अघि आएर सोनमसँगै पर्छ ।

यो वर्ष सोनम ल्होछार ग्याल्बो ल्होछारको समयसँग मिल्न गयो । अर्को वर्ष ग्याल्बो ल्होछार सोनम ल्होछारको मितिमा पर्छ । भन्नेले त यो वर्ष सोनम ल्होछार मान्नेहरूले ग्याल्बो ल्होछार मनाउन गयो पनि भनेका छन् । यो ज्योतिषशास्त्र नबुझ्नेहरूले भनेको हो, यसको भ्रममा नपर्न आमतामाङ समुदायलाई म आग्रह गर्न चाहन्छु ।

 

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
ल्होछार हाम्रो मौलिक पर्व हो, धेरै वर्षसम्म राज्यका तर्फबाट भएको विभेदका कारण हाम्रो संस्कार–संस्कृति ओझेलमा परेको छ । वर्षौंसम्म हामीले आफ्नो पहिचान र अधिकारका लागि संघर्ष ग¥यौँ । अहिले आएर केही संस्थागत भएको छ । सरकारले ल्होछारलाई राष्ट्रिय चाडको रूपमा मान्यता दिँदै सार्वजनिक बिदा दिएको छ ।

अझै पनि गाउँ–गाउँसम्म हामीले यसलाई पु¥याउन सकेका छैनौँ । ल्होछारलाई घर–घरमा मनाउन सकेका छैनौँ । हाम्रो संस्कृृति पुनर्जागरणको क्रममा नै रहेकाले ल्होछारका साथै लिपि, भाषाका विषयमा समेत विभिन्न विवाद टीकाटिप्पणी आउने गरेको पाइएको छ । यो समय भनेको विवाद गर्ने समय हैन ।

सबै एकजुट भएर संस्कृति पहिचान तथा अधिकार संरक्षणका लागि लड्ने समय हो । ल्होछारको विषयमा पछिल्लो समय केही व्यक्तिको अभिव्यक्तिका कारण तामाङ समुदायमा भ्रम छरिएको छ । यस्तो भ्रमको पछि नलाग्नुहोला, ढुक्क भएर ४ फागुनमै ल्होछार मनाऔँ । अर्काको क्यालेन्डरमा खोजेर हाम्रो ल्हो परम्परा भेटिँदैन । हाम्रो आफ्नो आधिकारिक ल्होछार ४ फागुनमा नै हो ।

 

प्रतिक्रिया