नेपाली कलालाई चिनाउन सकिरहेका छैनौं

मुकेश श्रेष्ठ, नेपाली चित्रकलाका क्षेत्रमा दुई दशकदेखि निरन्तर सिर्जनारत व्यक्तित्व हुन् । ६ पटक एकल कला प्रदर्शनी गरिसेकका श्रेष्ठले चित्रकला विषयमा बनारस हिन्दू विश्वविद्यालयबाट गोल्ड मेडल प्राप्त गरेका छन् । साथै उनले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आयोजना हरेक वर्ष आयोजना गर्ने राष्ट्रिय कला प्रदर्शनीमा समसामयिक कला विधामा पुरस्कार पाएका छन् । उनी दर्जनौँपटक देशविदेशमा भएका सामूहिक कला प्रदर्शनी तथा कार्यशालामा सहभागी भएका छन् ।

ललितकला केन्द्रीय विभाग त्रिवि र लेक्चरर सिर्जना कलेज अफ फाइन आर्टस्मा चित्रकलाको अध्यापन गरिरहेका श्रेष्ठसँग कलाशिक्षा र समसामयिक कलाका विषयमा सौर्य दैनिकका लागि देवेन्द्र थुम्केलीले गरेको कुराकानी ः

० आजकल के मा व्यस्त हुनुहुन्छ ?
केही समय कला शिक्षण र बाँकी समय प्रायः कलाकारितामै व्यस्त हुन्छु ।

० तपाईंको कलायात्राको बारेमा बताइदिनुस् न ।
स्कुल पढ्दादेखि नै चित्रकलामा रुचि थियो । स्कुल सकेपछि ललितकला क्याम्पसमा पढेँ । पाँच वर्ष पढिसकेपछि एमएफए पढ्नका लागि म बनारस हिन्दू युनिभर्सिटी पुगेँ । सन् २००६ देखि २००८ सम्म दुई वर्षे स्नातकोत्तर गरँे । नेपाल आएर केही गर्नुपर्छ भन्ने सोचले म नेपाल फर्कें । तर, मेलै पढेको त्यही विश्वविद्यालयमा काम गर्न मेरो गाइडले भन्नुभएको थियो । पिएचडी गर्न सुझाव पनि दिनुभएको थियो । तर, म नेपाल नै फर्कें र एकल चित्रकला प्रदर्शनी गरेँ । प्रदर्शनीको प्रतिक्रिया राम्रै पाएँ । त्यतिबेलासम्म नेपालमा एमएफएको अध्ययनको वातावरण बनेको थिएन ।

मैले एक वर्ष ललितकला क्याम्पसमा पढाएँ । ०६६ सालमा एमएफए सुरु गर्ने बित्तिकै म शोध एवं प्रयोगात्मक निर्देशकको रूपमा काम गरँे । लगभग सात वर्षपछि त्यहाँको काम पनि छोडिदिएँ । यसबीचमा मेरो कला प्रदर्शनी पनि चल्दै आए । चीनलगायत, भारत तथा अन्य युरोपमा पनि मेरो प्रदर्शनी भए । सन् २०१२ मा राष्ट्रिय ललितकला प्रदर्शनीको समसामायिक चित्रकलातर्फ राष्ट्रिय पुरस्कार पाएँ ।

० नेपालको कलाशिक्षालाई हेर्ने यहाँको दृष्टिकोण कस्तो छ ?
नेपालको कलाशिक्षाको कुरा गर्दा धेरै सुधारको आवश्यकता देख्दछु । हामी प्रायः उच्चशिक्षाको लागि भारतमा जान्छौँ । यहाँ आइसकेपछि पनि उतैको शैली एवं टेक्निक अपनाउँछौँ । यो त्यति राम्रो भने होइन । जबसम्म आफ्नै नेपाली शैली एवं नेपाली माटोको सुगन्ध आउँदैन तबसम्म नेपाली कला यो हो भनेर कसैले चिन्दैनन् । नेपालको कलाशिक्षामा पनि आफ्नो माटो सुहाउँदो, धर्म, भूगोल जातजाति, संस्कार–संस्कृतिलाई ख्याल गरी सुधार गर्न सक्याँै भने आफ्नोपन आउनेछ । यसले हामीलाई विश्व कलामञ्चमा सबल ढंगले उभ्याउन सहयोग पुर्याउँछ । उदाहरणका लागि नेपाली नेवारी पौभा कलालाई लिन सक्छौँ ।

० कस्तो हुनुपर्दछ नेपालको कलाशिक्षा ?
नेपाली कलाशिक्षामा धेरै सुधारको खाँचो छ । हुनतः राष्ट्र गरिब भएपछि कलाको स्तर राम्रो हुने कुरै भएन । तैपनि जुन रूपमा भूमण्डलीयकरण आजको समयमा पनि नेपाली कला क्षेत्रमा देखिएको बेथिति छ त्यो अत्यन्तै नाजुक छ । आजको समयमा पनि हामीले आफ्नो कलालाई चिनाउन सकिरहेका छैनौँ ।

यसो हुनुको प्रमुख कारण गरिबी र राजनीतिक अस्थिरता नै हो । अर्को कुरा हामीले आफ्नो महत्व आफैले नबुझ्नु पनि हो । हामी को हौँ, हामीमा के छ, हामीलाई चिनेको के ले हो ? त्यो नै हामीले ख्याल गर्दैनौँ । जबकि यसैमा हाम्रो आफ्नोपन छ । जुन हामीले विश्वलाई दिन सक्दैनौँ । त्यसका लागि हामीले भौतिक पूर्वाधारहरूदेखि लिएर ललितकला शिक्षामा पनि आमूल परिवर्तन ल्याउनुपर्ने हुन्छ । कला क्षेत्रमा सक्षम व्यक्तित्वलाई अध्ययन अनुसन्धानका लागि विभिन्न विकसित मुलुकमा पठाई त्यहाँको सीप एवं ज्ञानलाई यहाँ आफ्नो सापेक्षतामा बदल्नुपर्दछ ।

आफ्नै देशमा भएका कलामा समर्पित दक्ष व्यक्ति एवं कलालाई प्रोत्साहित गरी कसरी आधुनिकीकरण गर्ने, कसरी नयाँ पुस्तालाई कला क्षेत्रमा आकर्षित गर्ने भन्ने कुरामा ध्यान दिनु आवश्यक छ । विभिन्न मुलुकका कलाविद्, कलाकार एवं कलापारखीलाई आमन्त्रण गर्ने, गोष्ठी एवं अन्तत्र्रिmया गरी दस्तावेजहरू तयार पार्ने, ठुल्ठूला प्रदर्शनीहरू गर्ने एवं गराउने । कला कार्यशालाहरू निरन्तर रूपमा गरिरहने । गरिरहेकालाई प्रोत्साहन गरी पुरस्कृत गर्ने । यसै क्षेत्रमा आजीवन लागिरहेकालाई सम्मान एवं राम्रो एवं सबल भविष्य छ भन्ने कुराको सुनिश्चित गर्ने कला क्षेत्रमा विकृति, विसंगति हटाउन उचित कानुनको व्यवस्था गर्नुपर्दछ ।

० तपाईंले ललितकला क्याम्पसमा पढाउनुभयो कस्तो छ त्यहाँको वातावरण ?
मैले सन् २००९ देखि ललितकला क्याम्पसमा पढाउन थालेँ । त्यहाँ विद्यार्थीको उपस्थिति उत्साहजनक पाएँ । तर, जुन रूपमा विद्यार्थी प्रशासन एवं शिक्षकहरूले गर्नुपर्ने भूमिका हो त्यो पाइनँ । जबसम्म यी तीन वटै पक्षले सही ढंगले काम गर्दैनन्, शिक्षा दिने, शिक्षा लिने एवं व्यवस्थापन पक्ष नाकाम हुन्छन् । यसो हुनुमा धेरै कुरा जोडिएर आउँछ । नीतिनियम, पैसाप्रति विश्वासको अभाव (त्यसमा आर्थिकको कुरा पनि आउँछ) अनुशासन एवं दण्डहीनताको कुरा सारै अभाव छ । यसको लागि भौतिक पूर्वाधारको विकास हुनु पर्यो ।
विद्यार्थी एवं शिक्षकहरू अनुशासित हुनुपर्यो । प्रशासनिक निकाय नैतिक रूपले जिम्मेवार हुनुपर्यो । त्यसरी यी सबै चिजलाई मूल्यांकन गर्दा ललितकला केन्द्रीय विभाग, विश्वविद्यालय एवं ललितकला क्याम्पसको वातावरण त्यति राम्रो नदेखिनु स्वभाविकै हो ।

० तपाईंका कलाका बारेमा ?
आजसम्म आइपुग्दा मैले विभिन्न विषय एवै शैलीमा काम गरेँ र गर्दै पनि छु । यस्तो हुनुको कारणचाहिँ आफूले बुझाउन नसक्नु नै हो जस्तो लाग्छ । जबसम्म यो क्रम चल्छ तबसम्म कलाकारलाई सन्तुष्टि प्राप्त हुँदैन । त्यसैले जब म सन्तुष्ट हुन्छु तब मैले केही बुझेजस्तो लाग्नेछ ।

त्यसैले मैले आपूmलाई बुझ्नेक्रममा विभिन्न शैलीमा काम गरेँ । मूलतः म बनारसमा छँदा आध्यात्मिक चेतनाको रसयुक्त लयात्मक युक्त रेखा एवं रंगलाई प्राथमिकता दिई काम गरेँ । यस शैलीको काममा मेरो व्यक्तिगत भावनालाई वातावरणीय चेतनाको अवस्थालाई उतार्ने कोसिस गरेँ । त्यसपछिका र हालसम्म मैले सामाजिक संरचनामा आधारित सामाजिक, धार्मिक एवं राजनीतिक पृष्ठभूमिमा देखिएको अभाव विसंगति एवं चेतनाका कुरालाई लिएर काम गरेँ । सोसिओ–पोलिटिक्समा आधारित मेरा सिर्जनाहरू पहिलेको विषय एवं शैलीबाट नै प्रेरित भएका हुन् ।

यसमा खालि लयात्मक रेखाहरू अलि कठोर र आकृतिहरू सजिवरूपमा देखापरेका हुन् । मैले यो शैलीका चित्रमा विषय, रेखा स्थान एवं विचारलाई प्रत्यक्ष देखाएको छु । खालि रेखालाई प्राथमिकतामा राखी विचार संप्रेषण गरेको छु । हाल अलि बढी तर विगत आठ वर्षदेखि मैले कठोर रूपमा नै एउटा छुट्टै शैली एवं विषयलाई लिएर कलाकारिता गर्दै आइरहेको छु । यस शैलीअन्तर्गत हाम्रो परम्परागत बुद्धिष्ट विषयवस्तुमा आधारित कलालाई आधुनिक तवरले काम गर्दै छु । यस शैलीसम्म आइपुग्दा मलाई अलि सहजताको अनुभूति भइरहेको छ ।
परम्परादेखि चल्दै आएको पौभा वा बौद्धमार्गीहरूको कलाको शैलीलाई मैले आधुनिक चस्माले हेर्ने कोसिस गरेको छु । मेरो यस शैलीका कलाले आधुनिक मानिसहरूलाई परम्परागत कला शैलीलाई पहिलेको आँखाले हेर्न प्रेरित गर्नेछ एवं विचार र महत्व पाउनेछ भन्ने पनि लाग्छ ।

प्रतिक्रिया