‘वाम गठबन्धनप्रति जनताले गरेकाे विश्वास गुम्न दिन्न‘

हालै सम्पन्न निर्वाचनमा वाम गठबन्धनका तर्फबाट नुवाकोट–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सदस्य हुन् माओवादी केन्द्रका सचिवालय सदस्य हितबहादुर तामाङ । कांग्रेसका प्रभावशाली नेता डा.रामशरण महतलाई पराजित गर्दै उनी सदस्य बनेका हुन् । ०६८ सालमा युवा तथा खेलकुदमन्त्री बनेका हितबहादुरको जन्म १५ जेठ ०२० मा नुवाकोटको तत्कालीन पञ्चकन्या–१ मा भएको हो । उनले आफ्नो राजनीति नेकपा एकता केन्द्र मसालबाट सुरु गरेका हुन् । ०३८ सालमा उनी नुवाकोटको विद्यार्थी नेतृत्वमा थिए ।

०५२ सालपछि उनी नेकपा माओवादीमा आबद्ध भएका हुन् । उनीले मसालमा छँदा केन्द्रीय सदस्य तथा जिल्ला उपाध्यक्षको जिम्मेवारी सम्हालेका थिए । मावि शिक्षक पद छोडेर तत्कालीन समयमा माओवादी जनयुद्धमा होमिएका उनी उपत्यका र क्षेत्रीय ब्युरो सदस्य भए । ०५६ सालमा उनी रसुवा, नुवाकोट र धादिङको संयुक्त कमान्ड प्रमुख भए । ०५८ सालमा तत्कालीन नेकपा माओवादीको केन्द्रीय सदस्य भएर नेपाली राजनीतिमा योगदान पु¥याएका हितबहादुरसँग समसामयिक विषयमा सौर्य दैनिकका अनील मल्ल ठकुरीले गरेको कुराकानीको अंश :

नुवाकोट–१ मा यसपटक जित हात पार्नुभयो, कसरी लिनुभएको छ ?
यसलाई मैले एउटा अवसरसँगसँगै चुनौतीको रूपमा लिएको छु । जनताका अपेक्षा पनि धेरै छन् । क्षेत्रगत हिसाबले यस क्षेत्रका समस्या पनि उत्तिकै छन् । म निर्वाचित भएको क्षेत्र अविकसित र पछौटे क्षेत्रको एउटा उदाहरण हो । त्यसैले, स्थानीयस्तरको विकास र राष्ट्रिय राजनीति दुवैमा जनताको अपेक्षा पूरा गर्नुपर्छ ।

कस्तो किसिमको चुनौती देख्नुभएको छ ?
राजधानीनजिक रहेर पनि नुवाकोटमा बाटो, पुल र शैक्षिक गुणस्तरमा समस्या धेरै छन् । यहाँ जनता विकास चाहन्छन् । यस क्षेत्रले कैयौँपटक नेतालाई जिताएर राष्ट्रिय राजनीतिसम्म पु¥याएका छन् । प्रत्येकपटक यहाँबाट जितेर गएका जतप्रतिनिधि मन्त्री बनिसक्नुभएको छ । यद्यपि, विकास जनताको चाहनाअनुरूप हुन सकेन ।

त्यसैले, यसपटक उहाँहरूले त्यो अभिभारा मलाई दिनुभएको छ । ती सबै पूरा गर्नु र साथै समग्र देशको विकासका लागि काम गर्नु मेरो लागि चुनौती र अवसर दुवै छन् ।

आफ्नो क्षेत्र विकासका लागि कस्तो योजना बनाउनुभएको छ ?
काठमाडौंदेखि नुवाकोट प्रवेश गर्ने सडकको स्थिति निकै दयनीय छ । त्यसको निर्माण र पुनर्निर्माण गर्न पहल गर्दै प्रत्यक्ष रूपमा आफैँ सहभागी हुनेछु । चीन र भारतको दुवै क्षेत्रबाट व्यापारिक केन्द्रविन्दुका लागि केरुङ नाका बन्दै छ । त्यसलाई थप द्रुत गतिमा विस्तार गर्ने मेरो योजना छ ।

सो विकासको माध्यमबाट औद्योगिक नगरी बनाउन ठूला व्यवसायीलाई आकर्षित गर्ने खालको खाका बनाउँदै छु । यहाँ सबैभन्दा सहज भनेको प्राकृतिक रूपमा पाएको कृषिमैत्री वातावरण हो । कृषि क्षेत्रमा केही योजना ल्याएर उत्पादनमूलक काममा यहाँका जनतालाई प्रोत्साहित गर्ने योजना छ ।

साथै, उत्पादित खाद्यान्न राजधानीलगायत अन्य जिल्लामा आपूर्ति गराउन कोल्ड स्टोरलगायत सेवा बनाउने योजना छ । साथै, यो क्षेत्र ट्राउट माछा पालनामा केही सक्रिय पनि छ । त्यसलाई थप प्रोत्साहित गर्दै करोडौँ मात्रमा दैनिक रूपमा भारतबाट आयातित स्वास्थ्यमा हानिकारक हुने माछा माग कम गराउने मेरो लक्ष्य छ ।

योजना त धेरै राम्रो बोक्नुभएको रहेछ । कार्यान्वयनमा कत्तिको सहज होला ?
मैलै वाम गठबन्धनको साझा उम्मेदवार भएर जितेको छु । साथै, फरक राजनीतिक विचार राख्नुभएका राजनीतिकर्मीले समेत मलाई मत दिनुभएको छ । त्यसैले, उहाँहरूले मलाई जिताउन मात्र होइन, विकासको योजना निर्माणमा पनि मलाई सहयोग गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।

साथै, म एक्लैले यो क्षेत्र विकास गर्न सम्भव हुँदैन । त्यसका लागि स्थानीय व्यक्तित्व, विज्ञ र विभिन्न राजनीतिका पार्टीसँगको सहकार्य गर्नेछु । अनि मात्र मेरो दूरगामी योजना सफल हुनेछन् ।

नुवाकोटमा शिक्षा क्षेत्रको गुणस्तर घटेको छ । त्यहाँका युवा उब्जनी हुने खेतबारी बाँझो राखेर वैदेशिक रोजगारीका लागि अत्यधिक मात्रमा पलायन हुन थालेको सुनिन्छन् नि ?
यो नुवाकोटको मात्र होइन, पछिल्लो समय राष्ट्रियस्तरको समस्या बनिसकेका छन् । मलाई लाग्छ, शैक्षिक गुणस्तर घट्नुमा केन्द्रिकृत विकास सबैभन्दा समस्या होला । सबै किसिमको सेवा हामीले गाउँगाउँमा पु¥याउन सक्यौँ भने समस्या हल हुन्छ ।

यद्यपि, सबै पार्टी मिलेर देशका युवालाई स्वदेशमा रोजगारी दिलाउने योजना बनाउनुपर्दछ । साथै, शैक्षिक गुणस्तरका लागि सबै पार्टीको साझा घोषणा बन्नुपर्छ । यसमा हाम्रो मतान्तर भयो भने, यो समस्या हल गर्न निकै कठिन हुन्छ ।

यो क्षेत्रबाट लामो समय राजनीति गरेको विपक्षीलाई हराउनुभयो । के कारणले होला ?
नेपालका जनता प्रतिनिधि चयनमा विवेक पु¥याउँदै आएका छन् । उनीहरू वास्तवमा परिवर्तन चाहन्छन्, त्यो जुनै किसिमबाट होस् । हिजो तत्कालीन माओवादी पार्टीले चलाएको जनयुद्ध होस् या ०७ सालदेखि भएका परिवर्तनको प्रयास, जुनसुकैपटक नेपाली जनता राजनीतिक पार्टीसँगै परिवर्तनमा होमिएका छन् । वास्तवमा जनताको चाहअनुरूप काम भएन भने उनीहरूले जनमतबाट आफ्नो परिवर्तनको खाका कोर्छन् ।

सायद त्यही भएको हुनुपर्छ । साथै, उहाँहरू केही कुरामा चुक्नु पनि भयो । यद्यपि, म केही सजक हुनेछु । जनताको आवश्यकता पूरा गर्नेछु । जीवनका झन्डै तीन दशक कैयौँ किसिमका राजनीति उतारचढाव व्यहोरिसकेको छु । मैले जस्तै नेपाली जनताले पनि कैयौँपटक धोका पाएका छन् । योपटक त्यो विश्वास गुम्न दिने छैन ।

स्वयं पार्टी पनि एकताको प्रक्रियामा होमिँदै छ । वाम गठबन्धन टिकाउ हुनेमा तपाईं विश्वस्त हुनुहुन्छ ?
बजारी हल्लाको पछाडि नलाग्नुस् । साथै, नेपाली जनतालाई पनि यही भन्न चाहन्छु । वाम गठबन्धन टिकाउनेभन्दा पनि नेपाली जनताको विश्वास गुम्न दिन हुन्न भन्ने मलाई लाग्छ । त्यसै पनि जनताले गठबन्धनलाई त्यसै बहुमत दिएका होइनन् । जनताको चाहना स्थायी सरकार हो । हामीले जनताको भरोसा तोड्नुहुँदैन ।

साथै, यसअघि भएको लिखित या मौखिक सबै किसिमको सहमतिबाट माओवादी र एमालेले इमानदारी देखाउनुपर्छ । देशलाई सहज तरिकाले अगाडि बढाउन सहमतिको अक्षरशः पालना दुवै पार्टीका नेताले गर्नुपर्छ ।

नुवाकोटले सदाझैँ यसपटक पनि आफूले जिताएको जनप्रतिनिधिलाई सरकारको नेतृत्वमा पाउँछन् भन्ने सुनिन्छन् नि ? तपाईंले पनि चाह राख्नुभएको हो ?
मानव जाति सबैको लक्ष्य हुन्छ, आफूले योगदान गरेको क्षेत्रको सर्वोच्च क्षेत्रमा पुग्ने । त्यो स्वाभाविक पनि । त्यसैले, सबै राजनीतिकर्मीमा यस्तो चाहना पक्कै पनि होला । यद्यपि, सबैभन्दा अगाडि मेरो पार्टीको निर्णय महत्वपूर्ण हुनेछ । मलाई मेरो पार्टीले जस्तो जिम्मेवारी दिन्छ, त्यो नै मेरा लागि ठूलो पद हो ।

अन्त्यमा आफूलाई जिताएका मतदातालाई के भन्न चाहनुहुन्छ ?
नुवाकोटवासीले जसरी वाम गठबन्धनलाई विश्वास गरी मतदान गर्दै जिताउनुभएको छ, त्यो विश्वासलाई गुम्न दिन्न । ढिलै भए पनि नुवाकोटका सबै मतदाता र समग्र देशका जनतालाई धन्यवाद दिन्छु । उहाँहरूको महत्वपूर्ण मतदानले देशमा नयाँ आयाम थपिँदै छ ।

आगामी दिनमा पनि जिल्लाको समग्र विकास–निर्माणमा यसरी नै सबै मतदाता आमनागरिकको सहयोग, साथ र सुझाब पाइराख्ने विश्वास गरेको छु ।  तपाईं, हामी सबै मिलेर अगाडि बढ्यौँ भने राजनीतिक स्थिरता आउँछ । देशको नेतृत्वकर्ता पनि विचलित हुन पाउने छैनन् । अन्त्यमा व्यक्तिगत लाभभन्दा सामूहिक हितमा काम गर्न सबैमा अनुरोध गर्दछु ।

प्रतिक्रिया