राखेप च्याम्पियनसिप आइतबारदेखि

काठमाडौं । पहिलोपटक हुन लागेको राखेप च्याम्पियनसिपमा २९ खेल समावेश हुने भएको छ । यसअघि लुम्बिनी च्याम्पियनसिपको नामबाट राष्ट्रिय प्रतियोगिता गर्दै आएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले त्यसको सट्टामा राखेप च्याम्पियनसिप गर्ने निर्णय गरेको थियो । राखेपले शनिबार एक कार्यक्रम गर्दै च्याम्पियनसिपमा ५ विकास क्षेत्र र ३ विभागीय गरी ८ टिमको सहभागिता पक्का भएको बताएको हो । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले च्याम्पियनसिपको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

इन्डोनेसियामा हुने आसन्न १८औँ एसियाली खेलकुद र १३औँ दक्षिण एसियाली खेलकुद (साग) को तयारीलाई मध्यनजर गरी सुरु गर्न लागिएको राखेप सदस्यसचिव केशवकुमार विष्टले जनाएका छन् । मौसमको प्रतिकूलताका कारण पौडी र ट्रायथलन तथा प्राविधिक कारणले कराँते र लनटेनिसको प्रतियोगिता भने भइसकेको छ । च्याम्पियनसिप आइतबारबाट सुरु हुँदा राष्ट्रिय संघले आगामी ९ माघसम्म सक्नुपर्ने राखेपले जनाएको छ ।

यसै च्याम्पियनसिपबाट राष्ट्रिय टिमको छनोट समेत हुनेछ । च्याम्पियनसिप सम्पन्न गर्न ४ करोड ३१ लाख रुपैयाँ विनियोजन गरिएको छ । च्याम्पियनसिपमा स्क्वास, भलिबल, सेपाकताक्रो, एथलेटिक्स, बक्सिङ, ह्याण्डबल, तेक्वान्दो, कुस्ती, फेन्सिङ बास्केटबल, जुडो, टेबल टेनिस, राष्ट्रिय तेक्वान्दो, कबड्डी, सुटिङ, भारोत्तोलन, गल्फ, साइक्लिङ, हक्की, खो खो, उसु, पौडी, आर्चरी, लन टेनिस ट्रायथलन, फुटबल कराँते, ब्याडमिन्टन र सफ्ट टेनिसका खेलहरु हुनेछन् ।

च्याम्पियनसिपमा १७ सय ९१ महिला र २२ सय ४९ पुरुष खेलाडी गरी कुल ४ हजार ८२ खेलाडीले ६ सय १५ स्वर्ण, ६ सय १५ रजत र ८ सय ९७ कास्य गरी कुल २१ सय २७ पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया