‘वीरगञ्ज प्रदेश राजधानी हुनु पर्छ‘

हालै सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा पर्सा जिल्ला अहिले मधेसी गठबन्धनले कब्जा गरेका छन् । पर्सामा चार वटा प्रतिनिधिसभा र आठ प्रदेशसभामा राजपा–फोरम गठबन्धनले चारै वटा प्रतिनिधिसभा सिटमा कब्जा गरेको छ भने प्रदेशसभामा ६ वटामा जित हात पारेको छ ।

त्यसमध्येकै पर्सा–१ बाट प्रतिनिधिसभामा निर्वाचित संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष प्रदीप यादवसँग सौर्य दैनिकका लागि पर्सा समाचारदाता तिवारी यादवले गरेको कुराकानीको अंश:

तपाईं पर्सा–१ मा निर्वाचित भइसक्नुभयो अब तपार्इंको पहिलो प्राथमिकता के रहनेछ ?
पहिलो कर्तव्य मधेसी जनताको हकअधिकार खोसिएको छ त्यसका लागि संसद्मा आवाज उठाएर मधेसको हकअधिकार दिलाउन पहल गर्नेर्छौं ।

संसद्मा सविधान संशोधनको लागि वाम गठबन्धनसँग सहकार्य गरेर मधेसीको हकअधिकार दिलाउने पहल गर्छौं । सफल पनि हुन्छौँ भने विश्वास छ ।

हिजोको दिनमा संविधान संशोधनको चर्को विरोध गर्ने एमालेसँग कसरी सहकार्य गर्नुहुन्छ, तपार्इंहरूको कुराको सुनुवाइ होला त ?
निश्चित रूपमा एमाले अहिले पनि मधेसविरोधी नै हो । तर, हाम्रो अधिकारका लागि हामी पछि हट्दैनौँ । सहकार्य गरेर सम्वोधन गर्न मानेनन् भने जुन उद्देश्यले हामीलाई मधेसका जनताले मत दिएर जिताएका छन् त्यसका लागि हामी संसद् अवरुद्धलगायत सडक संघर्ष गर्न पनि पछि हट्दैनौँ । यो हाम्रो कर्तव्य पनि हो किनभने हामीलाई मधेसी जनताले मधेसको हकअधिकारका लागि आवाज उठाउन नै संसद्मा पठाएका छन् ।

मधेसको हकअधिकारका लागि आन्दोलनमा मधेसी जनताले सहादत प्राप्त गरेका छन् । त्यसका लागि मधेसी सहिदको परिवारका लागि के पहल गर्नुहुन्छ ?
निश्चय पनि आफ्नो हकअधिकारका लागि भएको आन्दोलनमा धेरै मधेसी जनताले सहादत प्राप्त गरेका छन् । उनीहरूको चिन्ता जति तपाईंलाई छ त्यो भन्दा बढी हामीलाई छ । निश्चित रूपमा नै हामी मधेसी सहिदको मात्रै होइन घाइतेका बारेमा पनि सम्बोधन तथा आवश्यक व्यवस्था पनि गर्छाैं।

यी सबै कुराको सम्बोधन गर्छन् भनेर नै मधेसी जनताले यसपालि हामीलाई बहुमतका साथ निर्वाचित गराएका छन् । साथै मधेसमा अहिले पनि विकास भएको छैन । त्यसकारण पहिले आफूहरूले यहाँ राम्रो विद्यालय, विवाह धर्मशाला, सडक नाला, युवाको रोजगारीका लागि विशेष महत्व दिनेछौँ ।

प्रदेश–२ मा त यसपालि जनताले मधेसी नेतालाई निर्वाचित गराएका छन् । यसको मतलव यसपालि विकास हुन्छ ?
अवश्य हुन्छ । यसमा मधेसी जनता ढुक्क भए हुन्छ । सर्वप्रथम मधेस आन्दोलनमा सहादत प्राप्त गरेका तथा घाइतेका हकअधिकारका लागि दिएको मतको कदर गर्छों । उनीहरूको मत खेर जान्न दिँदैनौँ । फेरि भन्छु अब मधेसमा विकास हुन्छ हुन्छ यसमा तपाईं पनि ढुक्क रहनुस् ।

त्यसो भए प्रदेश–२ को राजधानी कहाँ हुन्छ वीरगञ्ज कि जनकपुर ?
वीरगञ्जको बारेमा हरेक नेपालीलाई थाहा छ । वीरगञ्ज राष्ट्रको एक प्रमुख आर्थिक नगरी हो । यसले राष्ट्र चलाउनेगरी भन्सारबाट करबापत रकम दिने गरेको छ । त्यसकारण वीरगञ्ज प्रादेशिक राजधानीको लागि उपयुक्त छ ।

जनकपुर पनि धार्मिक ऐतिहासिक बोकेको सहर हो । त्यसलाई पनि सम्मान गर्दे उच्च प्राथमिकता दिइएको छ । तर, उपयुक्तको हिसाबले हेर्ने हो भने वीरगञ्ज नै उपयुक्त हुन्छ । त्यसका लागि यसमा हामीले मात्र बोलेर हुँदैन बारा, पर्सा, रौतहट र सर्लाहीबाट निर्वाचित भएका साथीहरूसँग पनि सहकार्य हुन्छ ।

तै पनि प्रदेशको राजधानी वीरगञ्ज नै बनाउन हाम्रो जोड हुनेछ । साथै केन्द्रको कांग्रेस सरकारले जनकपुरलाई बनाउनुपर्छ भनेर हामीबीच फुट गराउन चाहेको छ । त्यसका लागि हामी एक छौँ भनेर देखाइदिन्छौँ ।

मत माग्नजाँदा मधेसी युवालाई रोजगारीको ग्यारेन्टी गर्छु भन्नुभएको थियो । अब ती सबैले रोजगारी पाउँछन् त ?
अवश्य पनि म मधेसको हकअधिकार तथा मधेसी जनताका लागि सधैँ नै तत्पर रहनेछु । साथै जुन उद्देश्यले यसपाली एमाले, कांग्रेसलाई मधेसबाट धपाएर हामीलाई निवाचिन गराएका छन् त्यसको कदर र सम्मान गर्छाैं ।

मलगायत हाम्रो पार्टीको उद्देश्य भनेको नै मधेसको अधिकार तथा रोजगारीका लागि पहल गर्ने नै हुनेछ ।

अन्त्यमा मतदातालाई के भन्न्न चाहानुहुन्छ ?
फेरि पनि आफ्नो अमूल्य मत दिएर मलाई निर्वाचित गराउनु हुने सम्पूर्ण पर्सावासीलाई धन्यवाद दिन चाहान्छु । मधेसी जनताले आफ्नो हकअधिकार प्राप्तीका लागि मलाई जिताएर पठाएका छन् त्यसमा एक इन्च पनि पछि नहटी उनीहरूको विश्वास जितेर देखाउनेछु ।

विगतमा विकासका नाममा लुट्ने नेता धेरै आए । यसपालि त्यस्ता लुटेरा नेतालाई पन्छाएर परिवर्तनको चाहानाले जुन विश्वासका साथ मलाई जिताएका छन् त्यसमा म विश्वासघात गर्ने छैन ।

 

प्रतिक्रिया