चमिना भट्टराई
बारा, २९ मंसिर । १५ मंसिरमा शुक्रबार राती बाराको जितपुर–सिमरा उपमहानगपालिका–३ बजनीका दीपक र दीपा सुवेदी दम्पतीको हत्यारा अझै फेला पर्न सकेका छैनन् ।
घटनास्थल देख्ने, घटनाका विवरण सुन्ने र बुझ्ने जो कोहीलाई उक्त घटनाले आङ नै सिरिङ बनाउँछ । हत्यामा संलग्नलाई जस्तो सुकै कारबाही गरे पनि कम हुने प्रत्यक्षदर्शी बताउँछन् ।
घटनापछि उक्त क्षेत्रमा एक प्रकारको त्रास फैलिएको छ । मान्छे यतिसम्म त्रूmर हुन सक्दो रहेछ भन्ने यो घटना एउटा उदाहरण भएको छ ।
आफ्नै गाईको फर्मभित्र निर्वस्त्र क्षतविक्षत अवस्थामा दीपा भेटिनु र फर्मदेखि केही पर शरीर चिरैचिरा भएका दीपक परालले छोपिएको अवस्थामा भेटिँदा कसको मन थामिएला ? घटनाबारे अहिले पनि स्थानीयको आक्रोश कम छैन । ‘त्यो अपराधीलाई भेट्न पाए !’ भन्ने महिलाहरू धेरै भेटिए बजनी र सिमरा बजार वरपर । घटनालाई सिआइबीको टोलीले अनुसन्धान गरिरहेको छ ।
परिवारको आर्थिक समृद्धिका लागि घरदेखि पर गाई फर्म खोलेका उनीहरूले दुई नाबालक सन्तान आफ्नी आमाको जिम्मामा छोड्ने गरेका थिए । अब ती आमाका लागि नाति र नातिनीको जिम्मा सधैँ सधैँका लागि भएको छ । साना छोराछोरीको अनुहार हेर्नेलाई त्यो घटनाले कति पोल्छ कल्पना पनि गर्न सकिँदैन ।
हत्याको भोलिपल्ट शनिबारदेखि नै स्थानीय अधिकारकर्मी, महिला अधिकारवादी र राजनीतिक दालका प्रतिनिधिले हत्यारा पत्ता लगाई कारबाहीको लागि प्रहरीलाई दबाब दिइरहेका छन् । तर, प्रहरीले हत्यारानजिक पुगिसकेको बताए पनि दुई साता बित्दा पनि कसैलाई पक्राउ गर्न सकेको छैन । घटना के कसरी भयो भन्नसम्म सकेको छैन ।
शुक्रबार साँझ घरमा खाना आएर गाई फर्ममा सुत्न गएका उनीहरूको राती बर्बरतापूर्वक हत्या भएको अवस्थामा शनिबार बिहान भेटिएको थियो । चक्कु, फलामको रड र हथौडा जस्ता घरेलु हतियार प्रयोग गरी हत्या गरिएको प्रहरीले बताएको छ । नाम उल्लेख नगर्न भन्दै एक प्रत्यक्षदर्शीले भने, ‘यो घटनाबारे कसैले नसोधी दिए हुन्थ्यो, सम्झन नपरे हुन्थ्यो भन्ने लाग्छ, दीपक र दीपा दुवैको टाउको पाकेको आँप जस्तो थिलथिलो थियो ।
मान्छेले कल्पनै गर्न नसकिने र कुनै पनि मान्छेले आँटै गर्न नसक्ने राक्षसी प्रवृत्तिको अपराध थियो त्यो ।’ घटनाबारे कुरा गर्दा त्यहाँ सबैको ओठ काँपेको अनुभूति हुन्थ्यो ।
अन्तर्राष्ट्रिय रूपमा महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको वेला उक्त आपराधिक घटना भएको थियो । नेपालमा समेत उक्त अभियान चलिरहेको छ । धेरै समाजिक संघ संस्था अधिकार रक्षाका लागि नारा, जुलुस, सभा गोष्ठी गरिहरेका वेला उपमहानगरपालिका भित्र त्यो दुखद घटना भएको थियो । सामाजिक भावना भएकी दिपा र सामान्य किसान दीपकको कसैसँग रिसिइबी होला भन्ने अनुमान कसैको छैन ।
उक्त बर्बरतापूर्वक हत्याविरुद्ध शनिबार सिमरा बजारमा स्थानीय महिलाहरूले प्रदर्शन गरेका छन् । घटनाबारे स्थानीय महिला अधिकारकर्मी मीरा अधिकारीले सौर्य दैनिकसँग भनिन्, ‘त्यो घटना सम्झँदा रातमा निद्रा लाग्दैन, शरीरको रगत त्यसै उम्लेर आएजस्तो हुन्छ, प्रहरी अनुसन्धान गर्दै छौँ भन्छ । तर, आजसम्म केही गरेको अनुभूति भएको छैन । हत्यारालाई पक्राउ गरी कारबाही गरिएन भने चुप लागेर बस्दैनौँ ।’ महिलाहरूले विरोधस्वरूप शनिबार सिमराको मुख्य सडक एक घण्टा जाम गरेका थिए ।
सुवेदी दम्पतीको हत्याका बारोमा इलाका प्रहरी कार्यालय सिमराका इन्स्पेक्टर भुवन भट्टले भने, ‘घटना निकै बर्बरतापूर्वक भएको छ हामी चुप लागेर बसेका छैनाँै । अनुसन्धान भइरहेकोले अहिले नै सबै कुरा भन्न सकिँदैन । हामी हत्यारालाई कारबाहीको दायरामा ल्याएर छाड्ने छौँ, उनले भने, अनुसन्धान निकै गहिराइमा भइरहेको छ अपराधी पक्राउ पर्र्नेछन् । तर, सबै कुरा अहिले भन्न मिल्दैन ।’
बाराको उक्त घटनाले त्यहाँको सुरक्षा व्यवस्थामाथि प्रश्न चिह्न उब्जाएको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मुखमा भएको उक्त घटनाले पाउनुपर्ने जति प्राथमिकता नपाएको स्थानीयको गुनासो छ । निर्वाचनको बहानामा त्यति ठूलो आपराधिक घटना ओझेलमा पार्ने काम गर्न नहुने महिलाहरूको सामूहिक माग छ ।
प्रतिक्रिया