प्रतिद्वन्द्वी भेट्न घरमै पुगे पौडेल

विकाश पराजुली
बुटवल, २६ मंसिर । रूपन्देही क्षेत्र नंं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमालेका उपमहासचिव विष्णु पौडेलले निर्वाचनमा प्रतिस्पर्धी कांग्रेसका नेता युवराज गिरीलाई उनकै घरमै पुगेर भेटघाट गरेका छन् ।

सोमबार विहानै बुटवल बेसक्याम्पमा रहेको गिरीको घरमा पुगेका पौडेललाई गिरी परिवारले स्वागत गर्दै टीका माला र खादा पहि¥याइदिएर बधाई दिएको थियो । बिहानै अचानक घरमा पुगेका पौडेललाई गिरीसँगै उनकी ७६ वर्षीय आमा द्रौपती गिरी र धर्मपत्नी उमा गिरीले टीका र खादा लगाएर बधाई दिँदै सबैलाई मिलाएर यसक्षेत्रको विकासमा लाग्न आग्रह गरेका थिए ।

गिरीको आमा द्रौपतीले निर्वाचनमा आफ्नो छोरासँगै चुनावी प्रतिस्पर्धामा रहेका पौडेल पनि आफ्नो छोरा जस्तै रहेकोले पौडेलको जितमा खुशी लागेको बताइन् । ‘छोरा जस्तै हो, जसले जितेपनि बधाई छ, सधैँ जनताको हितमा काम गर्नु’ टिका लगाउँदै द्रौपतीले भनिन् ।

सो क्रममा पौडेलले निर्वाचनलाई आफुले एउटा खेलको रूपमा मात्र लिएको उल्लेख गर्दै आमाको सुझाव र आग्रहलाई सधैँ आशीर्वादको रूपमा लिएर अगाडि बढ्ने बताए । उनले युवराज गिरीसँगको सम्बन्ध राजनितिक र सामाजिक रूपमा मात्र नभई व्यक्तिगत रूपमा पनि सौहाद्रपूर्ण रहेकोले हरेक समयमा सहकार्य गर्ने बताए ।

गिरीले निर्वाचित भएसँगै जनतासँग गरिएका बाचाहरू पुरा गर्ने र राष्ट्रिय राजनीतिमा देखा परेका वैमनश्यतालाई पनि समाधान गर्न प्रभावकारी भुमिका खेल्न आग्रह गरे । उनले निर्वाचनको क्रममा मैदानमा रहँदा प्रतिस्पर्धीको रूपमा रहे पनि पौडेलले यसक्षेत्रको विकास र सम्वृद्धिको लागि अघि सार्ने हरेक योजनामा आफ्नो र आफ्नो पार्टिको समेत सहयोग र सहकार्य रहने बताए ।

यसैबीच एमालेका दुई उपमहासचिव र दुई सचिव एउटै– एउटै जिल्लाबाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित भएका छन् । उपमहासचिवद्धय विष्णु पौडेल र घनश्याम भुसाल रूपन्देहीबाट र पार्टी सचिवद्धय प्रदीप ज्ञवाली र गोकर्ण विष्ट गुल्मीबाट निर्वाचित भएका हुन् ।

उपमहासचिव पौडेल रूपन्देही क्षेत्र नंं २ र अर्का उपमहासचिव भुसाल क्षेत्र नं. ३ बाट निर्वाचित भएका छन् । त्यस्तै सचिव ज्ञवाली गुल्मी क्षेत्र नं. १ र विष्ट क्षेत्र नंं २ बाट निर्वाचित भएका हुन् ।

पार्टिभित्र मात्र नभई राष्ट्रिय राजनितिमा समेत प्रभावशाली मानिने र यसअघि विभिन्न मन्त्रालयको सफल जिम्मेवारी पुरा गरेका महासचिवद्धय र सचिवद्धयको विजयपछि रूपन्देही र गुल्मीवासीले मात्र नभई सिंगो पांच नंं प्रदेशवासीले नै देशको विकास र सम्वृद्धिको दिशामा विजयी उम्मेदवारहरूको भुमिका महत्वपूर्ण हुने अपेक्षा गरेका छन् ।

प्रतिक्रिया