अब्बल ५ महिला जसले पुरुष प्रतिष्पर्धी हराए

काठमाडौं, २६ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तर्फको निर्वाचनमा ५ महिला निर्वाचित बनेका छन् । प्रत्यक्ष तर्फको निर्वाचनमा राजनीतिक दलले उम्मेदवार बनाउन कन्जुस्याइँ गरे पनि उठेका १८ मध्ये ५ महिलाले विजय भएका हुन् ।
हालसम्म घोषित परिणामअनुसार कमला रोका, पम्फा भुसाल, दुर्गा पौडेल, पवित्रा निरौला र बिना मगर निवार्चित भएका हुन् । निवार्चित सबै वाम गठबन्धनका साझा उम्मेदवार हुन् । रोका पूर्वी रुकुम, भुसाल ललितपुर ३, पौडेल प्युठान, निरौला झापा २ र मगर कञ्चनपुर १ बाट निर्वाचित भई सांसद बनेका छन् । प्रत्यक्षतर्फ उम्मेदवारी दिएमध्ये भुसाल माओवादी केन्द्रका प्रवक्ता हुन् भने मगर र रोका सो पार्टीको पोलिटब्युरो सदस्य छन् । पौडेल भने जनमोर्चा नेपालका उपाध्यक्ष हुन् भने निरौला झापा एमालेका नेता हुन् ।

ललितपुर ३ बाट निर्वाचित भुसालले नेपाली कांग्रेसका उम्मेदवार मदन अमात्यलाई पराजित गरिन् । भुसालले २४ हजार ३६ मत प्राप्त गरी विजयी हुँदा अमात्यले २२ हजार ३२९ मत प्राप्त गरे । कञ्चनपुरबाट मगर निकटतम प्रतिद्वन्द्वीभन्दा दोब्बर मतान्तरले विजयी भइन् । मगरले ३८ हजार ४६७ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार दिवानसिंह विष्टले १९ हजार २१९ मत ल्याएका थिए । बिनाले दिवानभन्दा १९ हजार २४८ बढी मत पाएकी छन् । मगर माओवादी केन्द्रकी अध्यक्ष पुष्पकमल दाहालकी बुहारीसमेत हुन् ।

पूर्वी रुकुमबाट विजयी भएकी कमला रोका माओवादीकी पूर्व–लडाकुसमेत हुन् । १० हजार ४ सय ३४ मत ल्याएर विजयी भएकी रोकाले कांग्रेसका हरिशंकर घर्तीमगरलाई पराजित गरेकी हुन् । मगरले भने ४ हजार ४ सय ६ मत प्राप्त गरिन् ।
निरौलाले भने झापाका कांग्रेस जिल्ला सभापतिलाई पराजित गर्दै सांसदमा विजयी भएकी हुन् ।

उनले ४५ हजार ८ सय १७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उद्धव थापाले ३२ हजार ५० मत मात्र ल्याए । प्युठानबाट विजयी जनमोर्चाकी पौडेलले ४७ हजार ५१५ मत प्राप्त गरिन् । उनले निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार डा. गोविन्दराज पोखरेलले ३१ हजार २ सय ८६ मत ल्याए । पोखरेल भूकम्प पुनर्निर्माण प्राधिकरणका यसअघिका सिइओसमेत हुन् ।

यसैगरी, वाम गठबन्धनबाट उम्मेदवार बनेका दुई महिलाको अझै अन्तिम परिणाम आएको छैन । सुनसरी ३ मा एमालेको तर्फबाट उठेकी भगवती चौधरीले कांग्रेसका विजयकुमार गच्छदारसँग प्रतिस्पर्धा गरिरहेकी छन् । दुईबीच यो समाचार तयार पार्दासम्म निकै कम मतान्तर छ । स्याङ्जा–२ बाट उठेकी एमालेकी पद्मा कुमारी अर्यालले पनि त्यहाँ यो समाचार तयार पारिरहँदा अग्रता बनाइराखेकी छन् । उनले कांग्रेसका गोपालमान श्रेष्ठलाई करिब २ हजार मतले पछाडि छाड्ेकी छन् ।

उदयपुरबाट उठेकी वाम गठन्धनकी साझा उम्मेदवार मञ्जु ५ सय ४८ मतान्तरले मात्रै डा. नारायण खड्कासँग पराजित भइन् । संविधानले संसद्मा ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य गरेकाले प्रत्यक्षतर्फ महिलाले टिकट कम पाएपछि अब सो संख्या समानुपातिकबाट क्षतिपूर्ति गर्नुपर्ने बाध्यता दललाई आउनेछ ।

प्रतिक्रिया