नयाँ वीरगञ्ज बनाउँछौँ : बसरुद्दिन अन्सारी, मेयर उम्मेदवार एमाले

अगामी २ असोजमा हुन गइरहेको २ नम्बर प्रदेशकोे तेस्रो चरणको स्थानीय निर्वाचनमा प्रदेशकोे एक मात्र महानगर वीरगञ्जमा सबैको ध्यान आकृष्ट भएको छ । महानगरपालिकामा सांसद भइसकेका, खेलाडी र सांसदको निर्वाचनमा लडेका एकसेएक धनाढ्यहरू उम्मेदवार बनेकाले पनि सबैको ध्यान खिचिएको हो । एकसेएक उम्मेदवार मध्ये पनि देशका ठूला पार्टी कांग्रेस र एमालेका उम्मेदवार चर्चाको शिखरमा छन् । यीनै शिखरमध्येका एक नेसनल मेडिकल कलेजका प्रबन्धनिर्देशकसमेत रहेका एमालेका तर्फबाट मेयरका उम्मेदवार बसरुद्दिन अन्सारीसँग सौर्य दैनिकका लागि तिवारी यादवले गरेको संवाद ः

basruddin ansari

– तपाईंको उम्मेदवारी केका लागि ?
वीरगञ्ज महानगरपालिकाको आजको जुन परिस्थिति छ । यहाँ २० वर्षसम्म यो महानगरपालिकालाई ब्युरोक्रेटलाई दिई तहसनहस पारिएको छ । यो महानरकपालिकालाई महानगरपालिका बनाउनका लागि र यहाँ रोकिएका कार्यहरू सम्पादन गर्नका लागि नै म यो महानगरपालिकाको मेयरको उम्मेदवार बनेको हुँ ।

 वीरगञ्ज महानगरपालिकाको लागि यहाँको प्रमुख एजेन्डा के हो ?
मेरो एउटै सपना छ वीरगञ्जलाई हराभरा सुन्दर स्मार्ट सिटी बनाउने । जुन पुरानो वीरगञ्जको रोड, नाला र फोहर व्यवस्थापन यी कामहरू मेरो तत्कालका कार्य हुन् । वीरगञ्वलाई अझ सुव्यवस्थित गर्नका लागि हामीले एउटा नयाँ अवधारणा पनि ल्याएका छौँ ।

त्यो हो नयाँ वीरगञ्ज । जबसम्म हामी नयाँ वीरगञ्जको स्थापना गर्दैनौँ तबसम्म हामीले स्मार्ट सिटीको परिकल्पना गर्नु बेकार छ । वीरगञ्ज एउटा आर्थिक र औद्योगिक नगरीको साथसाथै स्वास्थ्य र शिक्षाको क्षेत्रमा ठूलो सम्भावना बोकेको हाई पोपुलेटेड एरिया भएकोले यहाँ स्वास्थ्य र शिक्षालाई जति बढाउन सक्यो त्यति बढ्ने भएकाले वीरगञ्जलाई स्वास्थ्य र शिक्षाको हब बनाउने सपना पनि छ ।

एमालेले वृद्धाहरूको लागि सय रुपैयाँबाट सुरुगरी अहिले २ हजार पु¥याएको छ हामी त्यसलाई ५ हजार पु¥याउनेछौँ । हामीले दलित असाहय गरिबहरूका लागि स्वास्थ्य र शिक्षाको क्षेत्रमा स्पेसल प्याकेजको पनि व्यवस्था गरेका छाँै । जबसम्म उनीहरूको स्पेसल प्रभिजन गरिँदैन तबसम्म अगाडि बढ्न सक्दैनन् । त्यस्तै स्वास्थ्यको क्षेत्रमा हामीले मेडिकल इन्स्योरेन्सको अवधारण पनि ल्याएका छौँ ।

यो महानगरपालिकाभित्रका सबै जनताको मेडिकल इन्स्योरेन्स गर्नेछौँ । जनता आवासअन्तर्गत सुरुमा हामी यो महानगरपालिकाभित्र हजारबाट सुरु गरी ५ वर्षमा करिबकरिब १० हजार घर बनाउने हाम्रो लक्ष्य छ । आजको मूख्य समस्या भनेको बेरोजगारी हो । एउटा व्यापारी भएको नाताले म जोडिएको संस्थामा जब २४ सय कर्मचारीलाई रोजगारी दिन सकिन्छ भने अरू उद्योग व्यापारलाई प्रवद्र्धन गरी किन गर्न सकिन्न ? मैले उधोगीहरूबीच कुराहरू राखेको छु ।

जसले जति बढी रोजगारी दिन सक्छन् महानगरपालिकाले त्यसलाई त्यति सम्मान र सेवा सुविधा उपलब्ध गराउँछ । यस्तै जसले एक्सपर्टतिर जति बढी ध्यान दिन्छ त्यसका लागि पनि हामीले खास प्याकेज राखेका छौँ । यस्ता थुप्रै हाम्रो एजेन्डाहरू छन् ।

वीरगञ्जको समस्याहरू के के छन् ? र कसरी समाधानगरी अगाडि बढाउनु हुन्छ ?
अहिले वीरगञ्जमा जुन जातीय विभेदीकरणको कुराहरू आइरहेका छन् । हामी त्यो गर्न दिँदैनाँै । त्यसैगरी अहिलेको सबैभन्दा ठूलो बिमारी भनेको बन्द हड्ताल हो । बन्द गर्नु कुनै ठूला कुरा होइन । तर, यसले धेरै नकारात्मक असर पार्ने भएकाले यस्ता समस्याहरू सहज समाधानको बाटो औल्याउँछु । यहाँको समस्या थुप्रै छन् त्यसलाई समाधान गर्छौं ।

महानगरपालिकाभित्र राम्रो अडिटोरियम, पार्क र एक व्यक्ति बराबर एउटा रुखे अवधारणा बनाएर अगाडि बढछौँ । यस्तै नारायणी अस्पताललाई ५ सयभन्दामाथि बेड बनाएर अत्याधुनिक, सुविधा सम्पन्न बनाएर टेली प्रतिष्ठानमा परिवर्तन गर्ने हाम्रो लक्ष्य छ । यस्तै वीरगञ्जमा एउटा विश्वविद्यालयको आवश्यकता छ । त्यसको लागि पनि पहल गरेको छु ।
वीरगञ्जमा एउटा औद्योगिक क्षेत्र त्यसमाथि पनि राजस्व बढी संकलन हुने । तर, स्थिति एकदमै खराब छ । त्यसैले वीरगञ्जमा एउटा रिङरोडको एकदमै आवश्यकता छ । किनभने एउटा सहर सुन्दर हुनका लागि त्यहाँको सडक, नाला सुन्दर हुनुप¥यो, फोहर व्यवस्थापन हुनुप¥यो ।

तपार्इंको प्रतिस्पर्र्धा कुन पार्टीसँग छ ?
मेरो प्रतिस्पर्धा कसैसँग छैन । म त जितिसकेछु । खाली घोषणा गर्न बाँकी छ । मैले सोचेकोभन्दा बढी वीरगञ्जवासीको माया पाएको छु । ममाथि वीरगञ्जवासीलाई पूर्ण विश्वास भएको पाएको छु । त्यसकारण म ढुक्क छु ।

एमाले मधेस विरोधी हो भनेर मधेसी दल भन्छन् नि ? अनि तपार्इं कसरी जित्नुहुन्छ ?
एमाले मधेस विरोधी पार्टी होइन । एमाले मधेसीजन प्रेमी पार्टी हो । एमाले मधेस विरोधी भएको भए मैले सोचेको भन्दा बढी मान्छे मेरो मनोनयन दर्तामा पुग्दैन थिए । मधेसमा जति विकासको काम भएको छ जुन एमालेले गरेको छ । एमालेविना यो नेपाल वा मधेस चल्न सक्दैन ।

प्रतिक्रिया