यती एअरलाइन्सको नयाँ बोर्डिङ पास

DSCN0870काठमाडौं ३० असार । नेपालमा दिगो विकास लक्ष्य (एसडीजी) का बारेमा सर्वसाधारण माझ जनचेतना जगाउने सोचका साथ यती एअरलाइन्सले नेपालस्थित संयुक्त राष्ट्रसंघसँगको सहकार्यमा एसडिजि लोगो अंकित नयाँ बोर्डिङ पास सार्वजनिक गरेको छ । ११ जुलाइमा एसडिजीको ब्रान्डिङसहित सार्वजनिक गरिएको नयाँ बोर्डिङ पासमा एसडिजीका १७ बुँदाहरूलाई विशेष जोड दिइएको छ । सन् २०१५मा नेपाललगायत युएन सदस्य राज्यद्वारा अंगीकरण गरिएको एसडिजी सन् २०३० सम्ममा सबै प्रकारका गरिबीको उन्मूलन गरी मानव, पृथ्वी र समृद्धिको लागि एक समान न्यायपूर्ण र सुरक्षित विश्व निर्माण गर्ने परिकल्पना हो ।

एसडिजी उपलब्धिका लागि निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकता दिइएको छ । एसडीजीको तीव्र र सफल कार्यान्वयनका लागि निजी क्षेत्रसँग क्षमता, स्रोत, प्रविधि र नवप्रवर्तन छ । मे महिनामा युएन नेपाल र यती एअरलाइन्सले नेपालमा एसडिजीको प्रचार र उपलब्धिका लागि सहकार्यका लागि सहमति गरेको थियो । यो सहकार्यअन्तर्गत एसडिजीसम्बन्धी जनचेतना जगाउनुका साथै दुबै संस्थाले उडान तथा पर्यावरण सन्तुलनका क्षेत्र, गरिबी निवारण र लैंगिक समानताका लागि नवप्रवर्तनात्मक तथा दिगो विजनेस मोडल अपनाउनसमेत सहकार्य गर्नेछन् ।

प्रतिक्रिया