वजारमा भारतीय आँपको राज :स्वदेशी आँप उत्पादन घट्यो

photot_aV5GjCUgCe
जनकपुरधाम १४ असार । हावाहुरी र असिनापानीका कारण मध्य तराईका जिल्लामा यसवर्ष आँप उत्पादनमा निकै कमी आएको छ । माग अनुसारको उत्पादन हुन नसकेपछि जनकपुरमा मात्र भारतको पश्चिम बंगाल, उतरप्रदेशलगायत स्थानबाट ७० प्रतिशतभन्दा बढी आँप आयात भएको छ ।  जनकपुरस्थित थोक फलफूल बजारमा दैनिक खपत हँुदै आएको मध्ये स्थानीय उत्पादन २ टन रहेको छ भने ६ टनभन्दा बढी भारतबाट आयात गरिएको जनकपुर फलफूल व्यवसायी संघका महासचिव भूवनेश्वर पूर्वेले जानकारी दिए । उनले भने, ‘स्थानीय उत्पादनको आँप मीठो हुन्छ तर के गर्ने उपभोक्ताको माग अनुसार बाहिरबाट आयात गर्नुपर्ने बाध्यता छ ।’
बजारमा आँपको माग अत्याधिक रहेका कारण जिरो माइलस्थित फलफूल बजारमा दैनिक एक हजा भन्दा बढी खुद्रा व्यवसायीहरू खरिदको लागि आउने गरेका छन् । माग अनुसारको आँप नफलेपछि खुद्रा व्यवसायीले ग्रामीण क्षेत्रमा पनि जनकपुरबाट खरिद गरेर लाने गरेको पूर्वेले बताए । मालदह र दशहरी प्रतिकिलो ५०÷५० रूपैयाँमा बिक्री हँुदै आएको छ भने बम्बई प्रतिकिलो ६० रूपैयाँसम्म थोकमा बिक्री हुँदै आएको छ । गतवर्ष ६१ करोड २० लाख रूपैयाँ भन्दा बढी मूल्यको झन्डै १७ हजार ५ सय मेट्रिक टन आँप उत्पादन भएको धनुषामा यस वर्ष चार हजार मेट्रिक टन भन्दा कम उत्पादन भएकोे जिल्ला कृषि विकास कार्यालयको अनुमान छ ।

 आँप उत्पादनको पकेट क्षेत्रको रूपमा रहेको पूर्व–पश्चिम राजर्मागको ढल्केबर, भरतपुर, लवटोली, गोदारलगायत स्थानमा पनि यसवर्ष खासै आँप नफलेको कृषि विकास कार्यालयका योजना अधिकृत सुरेन्द्र गोइतले बताए । आवश्यकता अनुसारको उत्पादन नभएपछि गतवर्षको तुलनामा यसवर्ष बजारमा आँप महँगो रहेको छ ।झन्डै २३ सय हेक्टरभन्दा बढी जग्गामा आँपको खेती भइरहेको धनुषामा बर्सेनि ३५ हेक्टर जग्गामा आँपको रुख लगाउने क्रम रहेको छ ।

प्रतिक्रिया