इद्को निक्र्यौल गर्नै गाह्रो

idएजेन्सी, ७ असार । रमजानको अन्त्यका क्रममा ईद–उल–फित्रका दिन महत्वपूर्ण धार्मिक विदा दिइन्छ। उक्त दिन परिवारहरु राम्रा लुगा लगाएर जम्मा हुन्छन् र भोजहरु आयोजना गर्दछन्। तर विश्वव्यापी महत्व रहेको यो चाड कुन दिन पर्छ भन्ने टुंगो लगाउन सधैँ अप्ठेरो पर्ने गरेको छ। त्यसबारे व्याख्या गर्दैछन् अहमेन ख्वाजा र आमिर रावश।
इस्लामिक पवित्र महिना रमजान अन्त्यतिर आउनलाग्दा विश्वभरका एक अर्ब ८० करोड मुसलमानहरु कहिले आकाश खुल्ला र ईद–उल–फित्रका लागि तयार पारेर राखेका नयाँ लुगा निकाल्ने संकेत पाइएला भनेर कुरिरहेका हुन्छन्।

इस्लाम धर्मावलम्बीहरुले चन्द्र पात्रो अनुसरण गर्दछन्, जसको मुख्य आधार चन्द्रमाको अवस्थिति हो। रमजान नवौं महिनामा शुरु हुन्छ। प्रत्येक वर्ष चन्द्र पात्रो अनुसारको महिना अघिल्लो सौर्य वर्षको तुलानामा ११ दिन पहिले शुरु हुने गर्छ। चन्द्र पात्रोलाई पालना गर्नु मुसलमानहरुका लागि एकदमै महत्वपूर्ण छ र यसले प्रत्येक वर्ष मानिसहरुले रमजान पर्व मनाइरहँदा ठूलो प्रभाव पार्ने गर्छ।

मुसलमानहरु रमजानका क्रममा सूर्योदय भएदेखि सूर्यास्त नहुञ्जेल निराहार व्रत वस्ने गर्दछन्। यदि इस्लामिक महिनाहरु, विभिन्न यामहरु पहिले नै निश्चित भएको, सौर्य पात्रोमा आधारित हुन्थे भने एक ठाउँमा बसिरहेका मानिसहरुले दिन लामो हुने गर्मी याममा रमजान मनाउँथे भने अन्य ठाउँमा बस्नेले दिन छोटो हुने जाडो याममा यो पर्व मनाउनुपर्थ्यो।

चन्द्र पात्रो अनुसरण गरेर प्रत्येक मुसलमानले आफ्नो जीवनकालको ३३ वर्षभित्र विभिन्न मौसम र विभिन्न अवधिमा व्रत बसेको अनुभव गर्न पाउँछन्। ईद पर्व दशौं महिना शव्वालको पहिलो दिनमा पर्दछ।तर इस्लाम धर्मावलम्वीहरुमाझ ईद कहिले शुरु हुन्छ भन्नेमा बहस चल्दै आएको छ।

धेरै देशका मुसलमानहरुले आफैंले आकाशमा हेर्नुभन्दा पनि चन्द्रमा देखिएको आधिकारिक खबरलाई आधार मान्ने गर्दछन्। कतिपय चाहिँ चन्द्र पात्रोमा आधारित हुने गर्छन् भने अन्यले खोगलशास्त्रीय विश्लेषणका आधारमा नयाँ चन्द्रमा देखिएको घोषणा गर्ने गर्दछन्। र, कैयौँले चाहिँ अर्ध चन्द्रमा आकाशमा देखिएपछि मात्रै नयाँ महिना शुरु भएको भनेर ईद–उल–फित्र मनाउने गर्दछन्।

विश्वभर कहिल्यै पनि एकै दिन ईद पर्व पर्दैन तर एक वा दुई दिनको अन्तरालमा सबैतिरका मुसलमान धर्मवलम्बीले यो चाड मनाउने गर्दछन्। उदाहरणका लागि सुन्नी मुसलमानहरुको बाहुल्य रहेको र इस्लाम धर्मको जन्म भएको देश साउदी अरेबियाका अधिकारीहरुले रमजान शुरु र अन्त्य भएको निर्णय चन्द्रमा आँखाले हेरेर सुनाइने बयानका आधारमा लिने गर्दछन्।

अन्य धेरै देशका मुसलमानले त्यसैलाई आधार मानेर यो पर्व मनाउँछन्।  तर शिया मुसलमानको बाहुल्य रहेको इरानमा चन्द्रमा आँखाले देखिएपछि आउने सरकारी घोषणालाई आधार मानिन्छ। र, शिया बाहुल्य र सुन्नी अल्पसंख्यक रहेको इराकमा शियाहरुले आफ्ना प्रभावशाली धर्म गुरु आयातोल्लाह अली अल सिस्तानीको घोषणालाई आधार मान्ने गर्दछन् भने सुन्नी अल्पसंख्यकले चाहिँ आफ्नै धर्मगुरुलाई पछ्याउँछन्।

इराकमा दुवै सुन्नी र शिया मुसलमानले कैयौँ वर्षपछि पहिलो पटक सन् २०१६ मा एकै दिन ईद–उल–फित्र मनाएका थिए। औपचारिक रुपमा धर्मनिरपेक्ष रहेको टर्कीमा चाहिँ खगोलीय हिसाबकिताबमार्फत रमजान शुरु भएको र अन्त्य भएको निर्क्यौल गर्ने गरिन्छ। र, युरोपमा अधिकांश मुसलमानले आफ्ना स्थानीय धार्मिक नेताहरुको घोषणाको प्रतीक्षा गर्दछन्। यद्यपि इस्लाम धर्म अंगालेका अरु देशमा चन्द्रमा देखिएपछि मात्रै त्यस्ता घोषणा आउन सक्छन्।

प्रतिक्रिया