घाँटी रेटेर युवाको हत्या

Hatyaमहोेत्तरी, ४ असार । महोत्तरी जिल्लाको जलेश्वर जनकपुर सडकखण्डअन्तर्गत पर्ने कुटमेश्वरी नदी किनारमा घाँटी रेटी हत्या गरिएको अवस्थामा आइतबार बिहान एक युवकको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय, महोत्तरीका डिएसपी दीपक पोखरेलका अनुसार जिल्लाको महोत्तरी गाउँपालिका वडा नं १ पर्सा टोल नजिकै रहेको कुटमेश्वरी नदीको २ सय मिटर उत्तर नदी किनारमा शव फेला परेको हो ।

नाम, थर, वतन नखुलेको अन्दाजी २५÷३० वर्षीय मधेसी मूलको पुरुष व्यक्तिको धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको डिएसपी पोखरेलले बताए ।

घटनाबारे जानकारी पाउनासाथ जिप्रका, महोत्तरीबाट प्रहरी टोली घटनास्थलमा पुगिसकेका छन् भने घटनाबारे विशेष अनुसन्धान भइरहेको तथा शव परीक्षणका लागि जिल्ला अस्पताल, जलेश्वरमा ल्याउने तयारी भइरहेको जिप्रका, महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया