एक्लिएको कतारसँग अमेरिकाको ‘बिग डिल’

qatar
काठमाडौं ३ असार । वासिंगटन डिसीमा कतारका रक्षामन्त्री खालिद अल अत्तिया र उनका अमेरिकी समकक्षी जिम म्याटिसले हस्ताक्षर गरेसँगै एअरक्राफ्ट खरिद प्रक्रिया पूरा भएको कतारी न्युज एजेन्सीलाई उदृत गर्दै अलजजिराले जनाएको छ । अमेरिकी सरकार र कतारबीचको दीर्घकालीन रणनीतिअनुसार खरिद सम्झौता भएको अत्तियाले बताए । उनले अतिवादीविरुद्ध र खाडी क्षेत्रको शान्ति कायम राख्न दुई देशबीचको सैनिक सहकार्यका रूपमा यो डिललाई व्याख्या गरे । ‘यो डिल हाम्रो सैन्य रणनीतिक र सहकार्यको क्षेत्रमा एउटा कोशेढुंगा हो ।

अमेरिकासँगको हाम्रो संयुक्त सैन्य गतिविधिहरू जारी रहने छ,’ उनले भने । कतारको रक्षा मन्त्रालयले वक्तव्य जारी गर्दै यो डिलले सैन्य क्षमता वृद्धि र दुई देशबीच सुरक्षामा सहकार्यलाई थप अगाडि बढाएको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियासँग १ सय १० अर्बको हतियार खरिद÷बिक्री सम्झौता गरेलगत्तै केही साता नबित्दै कतारसँग यस्तो डिल भएको हो । सम्झौताले साउदी अरेबियाको नेतृत्वमा सुरु भएको कतारविरुद्धको नाकाबन्दी नयाँ मोडमा पु¥याउने अपेक्षा गरिएको छ ।

यसै महिनाको सुरुमा नै साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स र बहराइनले कतारसँगको सम्बन्ध तोडेका थिए । उनीहरूले इरानसँग कतारको सम्बन्धमाथि प्रश्न उठाउँदै आतंकवादीलाई सघाइरहेको आरोप लगाएका थिए । खाडीमा उत्पन्न कुटनीतिक संकट समाधान गर्न अमेरिकाले मध्यस्तकर्ताको भूमिका खोजिरहेको छ । मंगलबार मात्रै अमेरिकाको स्टेट डिपार्टमेन्टले संकटको अहिलेको अवस्थामा कूटनीतिक पहल सकारात्मक दिशातिर गइरहेको जनाएको थियो ।

कतारसँग सैन्य अभ्यासका लागि २ अमेरिकी जलसैन्य समूह बुधबार नै दोहा पुगेको छ । अमेरिकी सैन्य जहाज दोहाको उत्तरमा रहेको हामद तटमा आइपुगेको हो । कतार इमिरी नेभीसँग अमेरिकी नेभीको टिमले संयुक्त अभ्यास गर्ने कतार न्युज एजेन्सीले जनाएको छ । गल्फमा तनाव हुनुअघि नै सैन्य अभ्यासको तयारी थियो या त्यसपछि तय भएको भन्ने चाहि खुलेको छैन । कतारमा अमेरिकी सैन्य आधार छ जहाँ ११ हजार अमेरिकी सैनिक रहन्छन् भने सयभन्दा धेरै एअरक्राफ्ट यही आधारबाट सञ्चालन हुने गर्छ ।
(अलजजिरामा प्रकाशित सामग्रीको भावानुवाद)

प्रतिक्रिया