भूकम्पपीडितले ७ असारदेखि ट्याक्सी नम्बर पाउने

काठमाडौं ३ असार । लामो समयदेखि सर्दै आएको भूकम्प अतिप्रभावित १४ जिल्लाका भूकम्पपीडितलाई ट्याक्सी नम्बर बाँड्ने दिनको टुंगो लागेको छ । यहि ७, ८ र ९ असारमा ३ दिन गोला प्रथाबाट ट्याक्सी पाउनेहरूको चयन गरिने यातयात व्यवस्था विभागले जनाएको छ । गोलाप्रथा प्रक्रियाद्वारा विभागले १५ सय ट्याक्सी वितरण गर्ने लागेको यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले बताए । ट्याक्सीका लागि एक लाख ४८ हजार आवेदन परेको छ । विभागले भूकम्प अतिप्रभावित जिल्लाबाट २५ साउनदेखि ५ भदौ ०७३ सम्म आवेदन संकलन गरेको थियो । भूकम्प अतिप्रभावित जिल्लाका पीडितहरूले सरकारले जारी गरेको भूकम्पपीडित कार्डका आधारमा निवेदन दिएका थिए । जसमा सिन्धुपाल्चोक, गोरखा, काभ्रेपलान्चोक, रसुवा, धादिङ, नुवाकोट, ललितपुर, काठमाडौं, भक्तपुर, मकवानपुर, सिन्धुली, ओखलढुंगा र रामेछापका पीडितहरू छन् ।

ठूलो संख्यामा निवेदन परेकाले भनेकै मितिमा वितरण गर्न असहज भए पनि समस्या समाधान गरी व्यवस्थित गरेर वितरण गर्न लागिएको प्रवक्ता पाण्डेले बताए । १४ जिल्लाका वासिन्दालाई फरकफरक मितिमा ट्याक्सी वितरण गर्न लागिएको हो । उनका अनुसार काभ्रेपलान्चोक, रामेछाप र नुवाकोटका पीडितलाई ७ असारमा वितरण गरिने छ । यी तीन जिल्लाका पीडितलाई चार सय ९१ ट्याक्सी पाउनेछन् । यस्तै दोलखा, सिन्धुली र सिन्धुपाल्चोकका पीडितलाई ८ गते वितरण गरिनेछ । यी तीन जिल्लाका पीडितले पाँच सय १३ ट्याक्सी प्राप्त गर्नेछन् । काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, धादिङ, ओखलढुंगा, रसुवा र गोरखाका पीडितले ९ गते पाउनेछन् । यी जिल्लाका बासिन्दाले चार सय ९६ ट्याक्सी पाउनेछन् । विगतमा तीन पटकसम्म विभिन्न कारण देखाउँदै मिति सार्दै आएकोमा विभागले यो पटक भने दिने निश्चित भएको छ ।

प्रतिक्रिया