धूम्रकेतुको अन्तिम साक्षात्कार

dhumraकाठमाडौं । पुछ्रेतारा (धूम्रकेतु सी २०१५ भी २) सोमबार पृथ्वीबाट सबैभन्दा नजिक देखिएको छ । सो धूम्रकेतुको पृथ्वीसँग पहिलो र अन्तिम साक्षात्कार भएकोे नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । खगोलविद् जेस जोन्सनले सन् २०१५ नोभेम्बर ३ मा आकाशीय ग्रह निरीक्षण (कटेलिना स्काइ सर्वे) अन्तर्गत पहिलोपटक सो धूम्रकेतु पत्ता लगाएका थिए । सो धूम्रकेतु हाइपरबोलिक भएकाले फेरि पृथ्वी नजिक आउने छैन । पृथ्वीको सबैभन्दा नजिक रहँदा सोमबार १२ करोड १३ लाख ३९ हजार सात सय ८६ किमीको दुरीमा देखिने सोसाइटीले जनाएको छ ।
खगोलीय दुर्लभ यो घटनालाई नजिकबाट नियाल्न चाहनेका लागि सोसाइटीले बेलुकी ६ः३० बजेदेखि ९ बजेसम्म अंकुुर विद्याश्रम विजयचोक, गौशालामा देखाउने व्यवस्था मिलाएको थियो । सो अवसरमा पृथ्वीको चन्द्रमा तथा वृहस्पति ग्रह र यसका चार चन्द्रमाको पनि अवलोकन गराइएकोे अध्यक्ष भट्टराईले बताए । अवलोकनमा सहभागी भएकालाई खगोल, खगोल भौतिक विज्ञान र अन्तरीक्ष विज्ञानसम्बन्धी जिज्ञासा पनि विज्ञसमक्ष राख्न सक्ने व्यवस्था मिलाइएको थियो । सोसाइटीले १० वर्षअघिदेखि खगोलीय घटना सम्बन्धमा इच्छुकलाई निःशुल्क देखाउँदै आएको छ ।

प्रतिक्रिया