अरबको विवादले नेपाल पनि प्रभावित:कतार जाने उडान बन्द

ethihadकाठमाडौं । अरब मुलुकमा चर्किएको कूटनीतिक द्वन्द्वको सोझो असर नेपालीमाथि परेको छ । साउदी अरेबियालगायत देशहरूले कतारसँग कूटनीतिक सम्बन्ध विच्छेद गरेकै दिन सोमबारदेखि काठमाडौंबाट आबुधाबी हुँदै कतार जाने नेपाली कामदार मारमा परेका छन् ।काठमाडौंबाट दुबईको आबुधावी हुँदै दोहा जाने यात्रुहरूलाई सोमबारदेखि टिकट दिन बन्द गरिएको छ । सोमबार इतिहाद एयरलाइन्सले एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो कतारतर्फको सबै उडान अर्काे सूचना प्रकाशित नभएसम्मका लागि रद्द भएको जनाएको छ । इतिहाद एयरलाइन्सले कतारको उडान बन्द गरेसँगै नेपाली यात्रु मारमा परेका हुन् । इतिहादले कतारका लागि सोमबार अन्तिम उडान भर्दैछ । अन्तिम उडान स्थानीय समय अनुसार सोमबार राती ९ बजेर ३५ मिनेटमा गर्नेछ । दोहाबाट कतार भने अन्तिम उडान १० बजेर ५० मिनेटमा हुनेछ ।
साउदी अरब, इजिप्ट, युएई र बहराइनका सबै एयरलाइन्सहरूले कतारको उडान नगर्ने घोषणासँगै इतिहादको काठमाडौंबाट दोहा उडान सेवा प्रभावित भएको हो । त्रिभुवन विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायले सोमबार इतिहाद एयरलाइन्सले दोहा जाने यात्रुलाई टिकट नदिएको बताए ।उनले भने, ‘यसअघि यहाँबाट दोहा जाने यात्रुलाई आवुधाबीसम्म लगेर त्यहाँबाट अर्काे विमानमा लगिन्थ्यो, तर सोमबारदेखि त्यो सेवा बन्द गरेको छ ।’ अब कतार जाने नेपाली यात्रुहरूले अन्य विमान कम्पनीको सेवा लिनुपर्ने अवस्था आएको उपाध्यायले बताए ।यसअघि नेपालबाट दोहा जाने यात्रुलाई इतिहाद एयरलाइन्सले आबुधाबीसम्म लाने गर्दथ्यो । उनीहरूलाई आबुधाबीबाट अर्काे विमानमार्फत इतिहादले यात्रुलाई दोहा पु¥याउने गरेको थियो । काठमाडौंमै टिकट काटेर सहजै कतार जान पाइन्थ्यो ।
तर, युएई र कतारको सम्बन्ध बिग्रिएपछि कतार जाने नेपाली कामदारहरू अप्ठ्यारोमा परेका छन् । कतारबाट आबुधावी हुँदै स्वदेश फर्कने नेपालीहरूलाई पनि यसको असर परेको छ । नेपालबाट वैदेशिक रोजगारका लागि कतार जाने कैयन नेपाली यही रुट हुँदै कतार जाने गरेका थिए । तर, सोमबारदेखि भने यो सुविधा अनिश्चित कालका लागि बन्द भएको छ । सोमबारदेखि साउदी अरब, इजिप्ट, बहराइन, युएई, यमन र मालदिभ्सले कतारसँगको कुटनीतिक सम्बन्ध बिच्छेद गरेसँगै यसको सोझो असर नेपाली कामदारहरूमा परेको छ । कतारले आतकंवादलाई संरक्षण गरेको भन्दै उनीहरूले कुटनीतिक सम्बन्धको अन्त्य गरेका हुन् । तर, कतारले भने उनीहरूको आरोप निराधार रहेको बताएको छ ।इतिहादसँगै, फ्लाइ दुबई, इमिरेट्स र एयर अरेबियाले पनि मंगलबारदेखि दोहा हमाद अन्तर्राष्ट्रिय बिमानस्थलबाट आफ्ना उडान बन्द गर्ने भएका छन् ।

आबुधाबीदेखि दोहासम्म दैनिक १० वटा उडान हुने गरेका थिए । ती सबै रद्द हुने भएका छन् ।बहराइनको परराष्ट्र मन्त्रालयले एक सूचना जारी गर्दै दोहाबाट आफ्ना कूटनैतिक कर्मचारी ४८ घन्टाभित्र फिर्ता ल्याउने जनाएको छ । साथै उसले दोहाबाट बहराइन आएका सम्पूर्ण नागरिकहरूलाई दुई हप्ताभित्र आफनो देश छाड्न निर्देशन दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । त्यसैगरी इजिप्टको परराष्ट्र मन्त्रालयले पनि कतारसँग हुँदै आएको हवाई तथा हवाइ एवं जल यातायात दुबै रद्द भएको जनाएको छ । इजिप्ट एयरले सोमबार दुई वटा मात्रै उडान भर्ने भएको छ । कतार एयरवेजले भने अहिलेसम्म आफ्नो कुनै आधिकारिक धारणा बाहिर ल्याएको छैन । कतारका सञ्चार माध्यमहरूले भने साउदी अरबतर्फको उडान रद्द गरेको जानकारी दिएका छन् ।

कतार एयरवेजले प्रत्येक हप्ता साउदी अरेबियाका लागि ३३ हजार ६ सय ९१ सिट र दुबईका लागि ३१ हजार चार सय २७ सीट बेच्दै आएको थियो । कतारमाथिको कूटनीतिक सम्बन्ध विच्छेदको घोषणा गर्नेहरूमा साउदी अरेबिया, इजिप्ट, बहराइन, युएई, यमन र मालदिभ्ससमेत छन् । कतारले यो निर्णयलाई अन्यायपूर्ण भनेको छ । कतारले आतंकवादलाई प्रश्रय दिएको भन्ने आरोप अप्रमाणिक रहेको कतारको विदेश मन्त्रालयले प्रतिक्रिया दिएको छ । यसलाई उसले कतारको सार्वभौमिकतामाथिको हस्तक्षेप भनेको छ ।

प्रतिक्रिया