केएनपी महिला भलिबलसँग शिवम् सिमेन्ट

v2काठमाडौं । केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताले नेपालको प्रतिष्ठित कम्पनी शिवम् सिमेन्ट सह–प्रायोजकको रुपमा पाएको छ । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा यही जेठ २३ गतेदेखि सुरु हुने प्रतियोगितामा शिवम् सिमेन्टले सह–प्रायोजन गर्न लागेको हो । सोमबार नयाँबानेश्वरमा आयोजित कार्यक्रममा शेरबहादुर खड्का स्मृति प्रतिष्ठानका अध्यक्ष रन्जन खड्का र शिवम् सिमेन्ट प्रालिका अध्यक्ष सुरेन्द्रकुमार गोयलले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार शिवम् सिमेन्टका तर्फबाट आयोजक शेरवहादुर खड्का स्मृति प्रतिष्ठानलाई नगद तीन लाख रुपैयाँ उपलब्ध गराउने छ । साथै प्रतियोगिता अवधिभर कार्यक्रम स्थलमा ब्यानर, होडिङ बोर्ड तथा तुललगायतका खर्च पनि शिवम् सिमेन्टले बेहोर्ने छ । शिवम् सिमेन्टका अध्यक्ष गोयलले भलिबल नेपालको राष्ट्रिय खेल घोषणा भएकोमा बधाई ज्ञापन गर्दै नेपाली खेलकुद क्षेत्रमा कम्पनीले पहिलो पटक महिला भलिबललाई प्रायोजन गरेको बताए ।

शिवम् सिमेन्टले ब्यक्तिगत स्पर्धातर्फको दुई बिधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गर्नेछ । जसअन्र्तगत शिवम् सिमेन्ट बेस्ट डिफेन्स र शिवम् सिमेन्ट बेस्ट ब्लकरको उपाधि प्रदान गरिने छ । प्रतियोगिताको बिशेष सहयोगी भने राष्ट्रिय खेलकुद परिषद्, नेपाल भलिबल संघ, प्रतिष्ठित रेमिटेन्स कम्पनी आइएमई रेमिट, डल्फिन चियरले साथ दिनेछ । प्रतियोगिताको प्रथम नगद पुरस्कार एक लाख ५० हजारको प्रायोजन क्वायरटुफ म्याट्रेस्ले प्रायोजन गर्ने छ । प्रतियोगितामा केएनपी सर्वोकृष्ट खेलाडीलाई काठमाडौं–मलेसिया– काठमाडौंको आतेजाते हवाई टिकट प्रदान गर्ने गरिने भएको छ । यस्तै शेरबहादुर खड्का स्पेशल अवार्डबाट नगद १० हजारसहित एक खेलाडीलाई सम्मानित गरिने आयोजकले जनाएको छ । बेस्ट प्रशिक्षकको उपाधि विजेताले बुद्ध एयरको माउन्टेन फ्लाइटको टिकट प्राप्त गर्नेछन् ।
अन्य बिद्यागत पुरस्कारमा केएनपी बेस्ट स्पाइकर, केएनपी बेस्ट क्वीकर, केएनपी बेस्ट सेटर र केएनपी बेस्ट सर्भर रहेका छन् । बिद्यागत रुपमा उत्कृष्ट हुने सबै खेलाडीले जनही तीन हजार रुपैयाँसहित आर्कषक ट्रफी प्राप्त गर्ने छन् । केएनपी राइजिङ प्लेयरबाट तीन हजार रुपैयाँसहित एक प्रतिभावान खेलाडी पुरस्कृत हुने छन् । लिगकम नकाउटका आधारमा संचालन हुने प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ क्लब, न्यु डायमन्ड एकेडेमी, नेपाल पुलिस क्लब, पश्चिमाञ्चल भलिबल संघ, त्रिभुवन आर्मी क्लब र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र गरी ६ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताका विजेताले एक लाख ५० हजार, उपविजेताले एक लाख र तेस्रो हुने टोलीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिताको अनुमानित बजेट १२ लाख रहेको जनाइएको छ । प्रतियोगिताका सम्पूर्ण खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुने छ ।

प्रतिक्रिया