दोस्रो चरण निर्वाचनः ठूला दल उम्मेदवार छान्न व्यस्त

flag
काठमाडौं १३ जेठ। नेपाली कांग्रेसले ३१ जेठमा हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि प्रदेश नं १ को पहाडी जिल्लाका उम्मेदवार टुंग्याएको छ । केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी एवम् वरिष्ठ नेताहरूको बैठकले प्रदेश नं. १ का पहाडी जिल्लाका उम्मेदवार तय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । प्रदेश नं ७ का कैलाली र कञ्चनपुरका विषयमा छलफल सुरु भएको उनले बताए । बैठकमा प्रदेश नं ७ का बाँकी जिल्ला र प्रदेश नं २ का विषयमा छलफल गरिने उनले बताए । कांग्रेसले निर्वाचन क्षेत्रीय कार्यसमितिलाई क्षेत्रअन्तर्गतका नगरपालिका र गाउँपालिकाका उम्मेदवार टुंग्याउने अधिकार दिएको छ । क्षेत्रले उम्मेदवार चयन गर्न नसकेमा जिल्ला कार्यसमितिले गर्ने र जिल्ला समितिले पनि नसकेमा केन्द्रीय कार्यसमितिमा आउने व्यवस्था गरेको छ । केन्द्रीय समितिमा आएका विषयमा पदाधिकारी, पूर्वपदाधिकारी र वरिष्ठ नेताको समूहले निर्णय गर्ने गरेको छ । बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालगायत नेताको सहभागिता थियो ।
यसैगरी, दोस्रो चरणको चुनावका लागि इलाममा उम्मेदवार छनोट गर्न राजनीतिक दल व्यस्त भएका छन् । उम्मेदवार छनोटमा इलाममा एमाले पहिलो पार्टी बनेको छ । १० स्थानीय तह रहेको इलाममा एमालेले सबै तहमा उम्मेदवारको छनोट गरिसकेको छ । अन्य दलले पनि उम्मेदवार छनोट अन्तिम चरणमा पु¥याएका छन् । एमाले प्रचारप्रसार विभाग इलामका प्रमुख उमेश गुरुङका अनुसार १० वटै तहको मेयर, उपमेयर र गाउँपालिका प्रमुख उपप्रमुखको उम्मेदवारी घोषणासँगै कार्यकर्ता घरदैलो कार्यक्रममा जुटेका छन् । एमालेले छनोट गरेका उम्मेदवारमा इलाम नगरपालिकाको मेयरमा महेश बस्नेत, उपमेयरमा सुशीला नेम्वाङ, देउमाई नगरपालिकाको मेयरमा सूर्य पोखरेल, उपमेयरमा पविमाया राई, सूर्योदय नगरपालिकाको मेयरमा आरबी राई, उपमेयरमा चित्रकला बराइली, माई नगरपालिकाको
मेयरमा दीपक थेवे, उपमेयरमा विष्णुमाया आचार्य, सन्दकपुर गाउँपालिकाको प्रमुखमा उदय राई, उपप्रमुखमा शोभा पराजुली, माइजोगमाई गाउँपालिकाको प्रमुखमा जीतबहादुर राई, उपप्रमुखमा सावित्रा भट्टराइर्, रोङ गाउँपालिकाको प्रमुखमा वृहस्पति भट्टराई, उपप्रमुखमा विष्णुमाया खवास, माङ्सेबुङ गाउँपालिकाको प्रमुखमा हेमन्त राई, उपप्रमुखमा सुनिता योङहाङ, फाकफोकथुम गाउँपालिकाको प्रमुखमा दीपेन्द्र खनाल, उपप्रमुखमा सरस्वती राई, चुलाचुली गाउँपालिकाको प्रमुखमा प्रदीपचन्द्र राई, उपप्रमुखमा निर्मला दाहाल रहेका छन् । एमालेले १० वटा तहमा ८१ वटा वडामा एक जना मात्र महिला वडाध्यक्षको उम्मेदवारी तय गरेको छ । जिल्ला तहबाट उम्मेदवार छनोट गर्न नसकेपछि नगरपालिका र गाउँपालिकाको उम्मेदवारको टुंगो प्रदेश कमिटीले लगाएको हो ।  यसैगरी, दोस्रो चरणको स्थानीय तहको चुनावका लागि मोरङका राजनीतिक दलहरू उम्मेदवार छान्न व्यस्त देखिएका छन् ।

उम्मेदवार छनोटमा व्यस्त भएका दलहरूलाई विराटनगर महानगरपालिका र केही नगरपालिका तथा गाउँपालिकामा उम्मेदवार छान्न सकस देखिएको छ ।
१७ वटा स्थानीय तह रहेको मोरङमा मुख्य गरी विराटनगर महानगरमा उम्मेदवार छान्न दलहरूलाई सकस परेको हो । अन्य स्थानीय तहमा भने दलहरूले उम्मेदवार छान्ने कामलाई तीव्रता दिएका छन् । अहिलेसम्म उम्मेदवारको टुंगो लगाउनेमा माओवादी केन्द्र अगाडि देखिएको छ ।  माओवादी केन्द्रले दुईटा स्थानीय तहबाहेक १५ वटा स्थानीय तहमा मेयर र उपमेयर तथा अध्यक्ष र उपाध्यक्षका उम्मेदवारहरूको टुंगो लगाएको छ । यस्तै, एमाले ३ नगरपालिका र ५ गाउँपालिकामा उम्मेदवारको टुगो लगाएको छ । त्यसैगरी, राप्रपाले दुई नगरपालिकामा प्रमुखको टुगंो लगाएको छ भने कांग्रेसले भने हालसम्म १७ मध्ये कुनैमा पनि उम्मेदवारको टुंगो लगाउन सकेको छैन । कांग्रेस र एमालेमा धेरै आकांक्षी भएकाले उम्मेदवारको टुंगो लगाउन ती दलहरूलाई सकस परेको छ ।
माओवादी केन्द्रले विराटनगर उपमहानगरपालिका भएको अवस्थामा मेयरमा भोग्रेन्द्र यादव र उपमेयरमा नमिता न्यौपानेलाई उम्मेदवार घोषणा गरेको थियो । अहिले महानगरपालिका बनेपछि मेयर र उपमेयर परिवर्तनको चर्चासमेत हुन थालेको छ । माओवादीले उर्लाबारी नगरपालिको मेयरमा राजेश पौडेललाई अघि सारेको छ भने उपमेयरमा टुंगो लगाएको छैन । एमालेले भने उर्लाबारी नगरपालिकाको मेयरमा भूपाल जिमि र उपमेयरमा लक्ष्मी भण्डारीलाई उम्मेदवार बनाएको छ । रंगेली नगरपालिकामा एमालेका तर्फबाट मेयरमा सन्तोष साह र उपमेयरमा उषा ठाकुर उम्मेदवार बनेका छन् भने माओवादी केन्द्रका तर्फबाट दीलिप अग्रवाल मेयर र केशवकुमारी खराललाई उपमेयरको उम्मेदवार बनेका छन् ।
एमालेले सुनवर्षी नगरपालिकाको मेयरमा हसन इमाम बक्स एवं उपमेयरमा मीरादेवी दासलाई उम्मेदवार बनाएको छ । माओवादी केन्द्रले मेयरमा श्याम राजवंशीलाई उम्मेदवार बनाएको छ भने उपमेयरको टुंगो लगाउन बाँकी रहेको छ । त्यसैगरी, कानेपोखरी गाउँपालिकाको एमालेका तर्फबाट अध्यक्षमा ताराबहादुर काफ्ले र उपाध्यक्षमा राजकुमारी इङ्नाम उम्मेदवार बनाएको छ । माओवादी केन्द्रले भने सूर्य धिमाललाई अध्यक्षको उम्मेदवार बनाएको छ । उपप्रमुखको टुंगो नलागेको माओवादीले जनाएको छ । एमालेले धनपालथान गाउँपालिकाको अध्यक्षमा मुसहरु मण्डल र उपाध्यक्षमा उपासी राजवंशीलाई उम्मेदवार बनाएको छ भने माओवादी केन्द्रले विक्रम पासवानलाई अध्यक्ष बनाएको छ । तर, उपाध्यक्षको टुंगो लागेको छैन । एमालेले ग्रामथान गाउँपालिकाको अध्यक्षमा शिवनारायण माझी र उपाध्यक्षमा गुणावती धामीलाई उम्मेदवार बनाएको छ भने माओवादी केन्द्रको तर्फबाट रमेश भवत थारु अध्यक्ष र उपाध्यक्षमा रेनुका चौधरी थारु उम्मेदवार बनेका छन् ।
एमालेले कटहरी गाउँपालिकाको अध्यक्षमा मुक्ति राजवंशी र उपाध्यक्षमा सुनिता सरदारलाई उम्मेदवार बनाएको छ भने माओवादी केन्द्रले कटहरी गाउँपालिकाको अध्यक्षमा भोगेन्द्र यादवलाई उम्मेदवार बनाएको छ । उपाध्यक्षमा भने टुंगो लगाउन बाँकी छ । एमालेले केराबारी गाउँपालिकको अध्यक्षमा नविन थापामगर र उपाध्यक्षमा शान्ति लिम्बूलाई उम्मेदवार बनाएको छ । यहाँ माओवादी केन्द्रको तर्फबाट उम्मेदवारको टुंगो लागेको छैन । माओवादी केन्द्रले पथरी शनिश्चरे नगरपालिकाको मेयरमा जहमान लिम्बू र उपमेयरमा राधिका गौतमलाई उम्मेदवार बनाउने घोषणा गरेको छ । राप्रपाले पनि पथरी शनिश्चरे नगरपालिकामा उम्मेदवार घोषणा गरेको छ । यहाँ मेयरमा हेमा ढुंगानालाई राप्रपाले उम्मेदवार बनाएको छ । यस्तै, बेलबारी नगरपालिकाको मेयरमा माओवादीले तिलक राई र उपमेयरमा सुशीला भट्टराईलाई उम्मेदवार बनाएको छ ।
रतुवामाई नगरपालिकामा माओवादी केन्द्रले मेयरमा प्रकाश पौडेल र उपमेयरमा जुवा स्वरेनलाई उम्मेदवार बनाएको छ । सुनवर्षी नगरपालिकाको मेयरमा माओवादी केन्द्रका तर्फबाट श्याम राजवंशी रहेका छन् भने उपमेयरको टुंगो लाग्न बाँकी रहेको छ । राप्रपाको तर्फबाट मेयरमा जवुरुद्दिन मियाँ उम्मेदवार बनेका छन् । जदाहा गाउँपालिकामा माओवादीका तर्फबाट राजकुमार यादवलाई मेयरका रूपमा अघि सारिएको छ भने उपमेयरको टुंगो लाग्न बाँकी छ । लेटाङ नगरपालिकामा मोओवादी केन्द्रको तर्फबाट मेयर र उपमेयरमा गोपाल नेपाली र शान्ता राई उम्मेदवार बनाइएको छ । त्यसैगरी, मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा माओवादीका तर्फबाट प्रम विभक लिम्बू रहेका छन् भने उपाध्यक्षका उम्मेदवारको टुंगो लाग्न बाँकी छ । मोरङ जिल्लामा एक महानगरपालिकासहित ८ नगरपालिका एवं ८ गाउँपालिका गरी १७ वठा स्थानीय तह रहेका छन् ।

प्रतिक्रिया