खानेपानी लिन घन्टौँ धाउनुपर्ने

पाल्पा । पूर्वी पाल्पाका स्थानीयवासीलाई पानी खोजेर जीवन गुजारा गर्न निकै समस्या परेको छ ।  निस्दी गाउँपालिका–५ को गल्धा, बेलडाँडा, केवरापानी, नाम्सुर्घा र ढल्लाबारीका स्थानीयवासीले गाउँमा पानीको मुहान सुक्दै गएपछि बस्तीदेखि झन्डै तीन किलोमिटर टाढाबाट पानी बोकेर जीविका चलाउँदै आएका छन् ।  रामपुर–आर्यभञ्ज्याङ सडकखण्डको बेलडाँडा, सिलुवालगायत क्षेत्रका धारामा पानी भर्नेको बिहानैदेखि लाइन देखिन्छ । यस सडकमा बिहान चार बजेदेखि नै ग्यालेन, बाल्टी, गाग्री बोकेर पानी खोज्नेको ठूलो जमात देखिन्छ । भूकम्पपछि गाउँमा रहेका सानासाना पानीका मुहान सुक्दै गएपछि खानेपानीको हाहाकार मच्चिएको स्थानीयवासी बताउँछन् ।  भूकम्पअघि गाउँकै धारामा खानेपानी उपभोग गर्दै आएका गल्धा, बेलडाँडा, केवरापानी, नाम्सुर्घा र ढल्लाबारी गाउँका करिब ५२ घरपरिवारलाई रातदिन खानेपानीको समस्याले सताएको छ ।

यस क्षेत्रका स्थानीयवासीले एक मात्र विकल्पको रूपमा रामपुर नगरपालिका–४ को गिजिनडाँडामा रहेको एउटा पानीको पँधेराबाट खानेपानी आपूर्ति गर्दै आइरहेका छन् । यहाँबाट बस्तीमा पानी बोकेर घर पु¥याउन निकै कठिन भएपछि हिजोआज केहीले गाडीमा पानी बोकेर लैजान थालेका छन् ।  खानेपानीको कहालीलाग्दो समस्या देखेपछि रामपुर आर्यभन्ज्याङ सडकखण्डअन्तर्गत भएर चल्ने बस, ट्र्याक्टरले यसवर्षदेखि भने पानी ओसारेवापतको भाडा लिने गरेका छैनन् । पश्चिम नेपाल बस व्यवसायी संघ बेलडाँडाका कर्मचारी देवबहादुर फालले गतसाल हिउँदमा प्रतिग्यालेन पाँच रुपैयाँका दरले पैसा लिने गरेकोमायसवर्षदेखि शुल्क लिन छाडिएको बताए । गाडीले पानी बोकेको ज्याला लिन छाडेपछि यहाँका स्थानीयलाई ठूलो राहत भएको छ । साविक गल्धा–८ केवरापानीका ८७ वर्षीय रामेश्वर सोमै सकिनसले बस्तीदेखि तीन किलोमिटर टाढाबाट पानी बोकेर जीवन चलाउन निकै समस्या भएको बताए । ‘गाउँनजिकै कतै पनि पानी छैन, बिहान उठेपछि पानी ओसार्दै ठिक्क छ’ उनले भने ।
केवरापानी बस्ने राममाया सोमैले भूकम्पअघि पानी सानो भए पनि गाउँमै धारामा आउने गरेको तर भूकम्पपछि धारामा पानी आउनै छाडेको बताइन् । गाउँदेखि दैनिक एक घन्टाको बाटो पानी बोकेर गुजारा चलाउन गाह्रो भएको राममाया बताउँछिन् । २० घरधुरी रहेको गल्धा नाम्सुर्घामा पनि गाउँको पँधेरामा पानी आउन छाडेपछि सिलुवाको लोस्दीबाट पानी बोक्दै आएका छन् । टाढाबाट पानी ल्याउन समस्या भएपछि जेनतेनले दैनिक एक÷दुई गाग्रीको भरमा गुजारा चलाउन बाध्य भएको खेमानसिं सारु बताउँछन् । उनी भन्छन्, ‘पानीको थोपालाई तेलभन्दा बढी महत्वका रूपले लिन थालिएको छ । दैनिक ज्यालादारी गरेर जीवन गुजारा गर्ने मजदुर गरिब वर्गका परिवारलाई पानी खोज्ने कि काम गरेर खर्च जुटाउने भन्ने समस्याले पिरोलेको छ ।’

प्रतिक्रिया