धमाधम बोर्डिङ छाड्दै विद्यार्थी

maxresdefaultदमक । विद्यालय शिक्षामा अंग्रेजीले प्राथमिकता पाउने क्रम बढिरहेका बेला झापाको ग्रामीण भेगका सामुदायिक विद्यालयले अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेका छन् । जिल्लामा सञ्चालित अधिकांश सामुदायिक विद्यालयहरूले पछिल्लो समय अंग्रेजी माध्यमबाट पढाउन थालेका हुन् । बजार क्षेत्रका सामुदायिक विद्यालयहरूले भने धेरै अघिदेखि नै अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेका थिए । निजी विद्यालयका कारण सामुदायिक विद्यालयमा विद्यार्थी नै आउन छाडेपछि धेरैजसो समुदायिक विद्यालयहरूले अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेका हुन् ।

झापाको शिवसताक्षी– ७ स्थित दूधेमा रहेको राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा यसै शैक्षिक सत्रदेखि अंग्रेजी माध्यमबाट पठनपाठन सुरु भएको छ । अंग्रेजी माध्यमबाट पढाउन सुरु गरेपछि कक्षा ८ मा मात्रै एकैपटकमा २६ जना विद्यार्थी बढेको विद्यालयले जनाएको छ । प्रत्येक कक्षामा अंग्रेजी माध्यमबाट पठनपाठन गराउने उद्देश्यका साथ यस शैक्षिक सत्रबाट नर्सरी, एलकेजी, युकेजी, १, २, ७ र ८ कक्षामा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेको प्रधानाध्यापक कालीप्रसाद रिजालले बताए ।
‘अंग्रेजी माध्यमबाट पढाउन सुरु नगर्दा विद्यालयमा विद्यार्थी ह्वातै घटेका थिए, हामीले विद्यार्थी तान्न नै अंग्रेजी माध्यमबाट पढाउन सुरु गरेका छौँ’, उनले भने, ‘अभिभावकबाट सहयोगबापत केही रकम लिने गरेका छौँ, उक्त सहयोगबाट ८ जना शिक्षक अंग्रेजी शिक्षाका लागि राखेका छौँ ।’ वैदेशिक रोजगारीका कारण पछिल्लो समय अंग्रेजी शिक्षाको माग बढेको उनको बुझाइ छ । ‘देशमा रोजगारीको वातावरण छैन, विदेश गएकाले अंग्रेजी नजान्दा आफूले पाएको दुःख सम्झेर सहरमा राखेर छोरा–छोरीलाई अंग्रेजी पढाउँछन्, त्यसैले सहरसम्म जाने बाध्यता मेट्न हामीले अंग्रेजी शिक्षा सुरु गरेका हौँ ।’ शिवसताक्षी– ७ कै ग्रामीण भेगमा रहेको भानु माविले अंग्रेजी माध्यमबाट पढाउन सुरु गरेको ९ वर्ष भयो ।

यसबीचमा धेरै कठिनाइ झेल्नुपरेको अनुभव प्रधानाध्यापक डामकुमार कुँवरको छ । ’हामीले अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन गरेको त लामो समय भयो, तर अहिले धेरै समस्या छ, हामीले कक्षा ६ सम्म अंग्रेजीबाट पढाउँछौँ, अंग्रेजीबाट पढाउन दक्ष शिक्षकहरू पाउनै गाह्रो छ, पुराना शिक्षकहरूले पढाउन गाह्रो पर्छ’, उनले भने, ‘एकैचोटी अंग्रेजी पढाउन गाह्रो हुँदोरहेछ, अंग्रेजीमा दक्ष शिक्षक निजी स्रोतबाट तलब दिएर राख्नुपर्छ ।’ निजी स्रोतबाट अहिले एकमात्र शिक्षक राखेको भन्दै उनले अब थप शिक्षक राख्नका लागि अभिभावकहरूसँग सहयोग माग्ने सोचमा रहेको बताए ।
सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पशुपति अधिकारी अंग्रेजी माध्यमको शिक्षा लागू गर्दा धेरै समस्या झेल्नुपरेको बताउँछन् । ‘सरकारले पुस्तकका लागि १ सयदेखि २ सयसम्म मात्र दिन्छ, जनक शिक्षा सामग्रीको पुस्तक चलाए अभिभावकले बोर्डिङजस्तो भएन भन्छन् । त्यसैले बोर्डिङको पाठ्यक्रम पढाउन बाध्य छौँ । पुस्तक खर्चिलो हुन्छ’, उनी भन्छन् ।

प्रतिक्रिया