उत्साह र उमंगसँगै उम्मेदवारी दर्ता

main photo
काठमाडौं । ३१ वैशाखमा हुने पहिलो चरणको स्थानीय तह निर्वाचनका लागि राजधानी काठमाडौंसहित प्रदेश नं ३, ४ र ६ अन्तर्गतका ३४ जिल्लाका दुई सय ८३ वटा स्थानीय तहमा विभिन्न दल र स्वतन्त्र उम्मेदवारले उत्साहपूर्वक उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगले मंगलबार बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता तालिका सार्वजनिक गरेको थियो । झन्डै दुई दशकपछि हुन गइरहेको स्थानीय तहको निर्वाचनमा उम्मेदवारले उत्साहपूर्वक उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । काठमाडौंमा जिल्लामा नगर प्रमुख, उपप्रमुख र सदस्य गरी निर्वाचन हुने जम्मा सात सय १२ पदमा विभिन्न दल तथा स्वतन्त्र गरी हजारौँको उम्मेदवारी परेको छ ।
जिल्लामा एक महानगरपालिका र १० नगरपालिका छन् । काठमाडौं महानगरपालिका तथा नागार्जुन, शंकरापुर, गोकर्णेश्वर, दक्षिणकाली, ताकरेश्वर, कागेश्वरी मनहरा, चन्द्रागिरि, टोखा, कीर्तिपुर र बूढानीलकण्ठ नगरपालिकामा जम्मा एक सय ३८ वडा रहेको क्षेत्रीय निर्वाचन कार्यालय काठमाडौंले जनाएको छ ।
क्षेत्रीय निर्वाचन अधिकारी चन्द्र गौतमका अनुसार काठमाडौंका एक महानगर र १० नगरपालिकामा एक प्रमुख तथा एक उपप्रमुख गरी २२ पदमा निर्वाचन हुँदैछ । त्यस्तै सबै नगरपालिकाका जम्मा एक सय ३८ वडामा एक अध्यक्ष तथा चार सदस्य गरी ६ सय ९० पदमा निर्वाचन हुन लागेको हो ।
राजनीतिक दलहरूले उम्मेदवारी दिँदा नगरपालिकाको प्रमुख तथा उपप्रमुखमध्ये ५० प्रतिशत महिला उम्मेदवार हुनै पर्ने प्रावधानअनुसार दलहरूले प्रमुख र उपप्रमुखमध्ये एक पदमा महिलाको उम्मेदवारी दिएका छन् । निर्वाचनका लागि काठमाडौंमा सबैभन्दा बढी ४७ दल दर्ता भएकाले अन्य जिल्लाको तुलनामा यहाँ बढी उम्मेदवारी दर्ता भएको छ । जिल्लाका सबै तहमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन् ।
जिल्लाका एक मुख्य निर्वाचन अधिकृतको कार्यालय र १० निर्वाचन अधिकृतहरूको कार्यालयमा मनोनयन दर्ता गर्ने उम्मेदवार तथा तिनका समर्थकको बाक्लो घुइँचो थियो । काठमाडौंमा सबैभन्दा बढी ६ सय ८६ मतदान केन्द्र रहेको र जम्मा पाँच लाख ५९ हजार चार सय मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचनका लागि तीनवटै प्रदेशमा गरी चारवटा महानगरपालिका, एक उपमहानगरपालिका, ९२ वटा नगरपालिकाका प्रमुख, उपप्रमुख र सदस्य तथा एक सय ८६ वटा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र सदस्य पदका लागि मंगलबार मनोनयन दर्ता भएको छ । देशभर मनोनयन उत्साहजनक भएको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले बताए ।
कांग्रेस कार्यालयमा हातपात 
काठमाडौं महानगरपालिका लगायतका स्थानीय तहमा उम्मेदवार चयन गर्दा कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी गरेको र कृष्ण सिटौलालाई भागबन्डामा सामेल गरेको भन्दै रामचन्द्र पौडेलले आपत्ति जनाएका छन् । जिल्लाबाट आएको सिफारिसलाई केन्द्रमा उल्ट्याएको आरोप लगाउँदै पौडेलले आपत्ति जनाएका हुन् । यता काठमाडौंको टिकट वितरणमा प्रकाशमान सिंहले मनपरी गरेको भन्दै भिमसेनदास प्रधान पक्षले पार्टी कार्यालयमा नाराबाजी गरेको छ । काठमाडौं कांग्रेसका पूर्वसभापति तथा सांसद प्रधानसँगै गएका एक हुल युवाले नाराबाजी गर्नुको साथै प्रकाशमाननिकट एक कार्यकर्ता अनिल श्रेष्ठलाई कुटपिट गरेपछि तनाव सिर्जना भएको थियो । श्रेष्ठलाई चक्कु प्रहार गर्न खोज्दा प्रहरीले जोगाएको प्रत्यक्षदर्शीले बताए । ललितपुर, भक्तपुर, धादिङ,
चितवनलगायत जिल्लामा सभापति देउवाले जिल्लाको सिफारिसविपरीत टिकट दिएको भन्दै पौडेलले आक्रोश व्यक्त गरेका थिए । पौडेलले पत्रकारहरुसँग भने, ‘सभापतिजी तानाशाही शैलीमा अघि बढ्नुभयो ।’ देउवाले चितवनमा टेकप्रसाद गुरुङलाई टिकट नदिई कृष्ण सिटौला समूहका दिनेश कोइरालालाई दिएकोमा पौडेलले असहमति जनाएका थिए । त्यस्तै ललितपुरमा पनि अरूको कुरै नसुनी देउवाले आफ्नो गुटका चिरिबाबु महर्जनलाई टिकट दिएकोमा पौडेलको आपत्ति रहेको छ ।

मतदान लगत्तै मतगणना
स्थानीय तहको निर्वाचन दुई चरणमा हुने भए पनि पहिलो चरणको मतगणना निर्वाचनलगत्तै सार्वजनिक हुने भएको छ । पहिलो चरणको निर्वाचनको एक महिनापछि मात्रै दोस्रो चरणको निर्वाचन हुने भएकाले पहिलो चरणको निर्वाचनलगत्तै मतगणना सुरु हुने भएको हो ।
निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद सापकोटाका अनुसार मतगणनास्थलमा सबै मतपेटिका आइपुगेपछि मतगणना सुरु हुन्छ । ‘नियमावलीमा यही व्यवस्था छ’, उनले भने, ‘दोस्रो चरणको निर्वाचनसम्म पर्खिनु पर्ने कुनै प्रावधान छैन ।’
उम्मेदवारी दर्ताका रोचक घटना
काठमाडौं । मंगलबार बिहान १० बजेसम्म पनि चुनाव हुन्छ कि हुँदैन, उम्मेदवारी मनोनयन हुन्छ कि हुँदैन भन्ने संशय र आशंका थियो । यही आशंकाबीच तीन वटा प्रदेशभित्र ३४ जिल्लाका दुई सय ८३ स्थानीय तहमा उम्मेदवारी मनोनयन दर्ता भएको छ ।
उम्मेदवारी मनोयनबाट चुनाव सुनिश्चित हुनु आफैंमा एउटा अपत्यारिलो र रोचक विषय भइसकेको थियो । तर देशैभरि शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता भएकाले चुनावमा जनताको सहभागिता व्यापक हुने देखिएको छ ।
मंगलबार उम्मेदवार मनोयन अघि र पछि केही रोचक त केही दुःखद् घटना भएका छन् ।
हेलिकोप्टर एउटाको टिकट लिएर अर्कै उड्योे
भरतपुर नगरपालिकामा कांग्रेसबाट टिकटको मुख्य दाबेदार थिए–मिलनबाबु श्रेष्ठ । उनको टक्कर थियो रामचन्द्र पौडेल पक्षका टेकप्रसाद गुरुङसँग । टिकट लिन मंगलबार बिहानैसम्म उनी काठमाडौंमै थिए । टिकट लिएर उम्मेदवारी दर्ता गर्न गाडीमा जाँदा नभ्याउने भएपछि उनले हेलिकोप्टर चार्टर गरेका थिए ।
एकाएक भरतपुर महानगरपालिकाको टिकट कृष्ण सिटौला पक्षका दिनेश कोइरालाले उछिट्याएपछि श्रेष्ठले चार्टर गरेको हेलिकोप्टर लिएर पार्टी सभापति जितनारायण श्रेष्ठ भरतपुरतिर लागे । चार्टरको पैसा भने उनले नतिर्ने बताए ।
चुनाव गराउनेले नै गरे आत्महत्या प्रयास
रसुवाको कालिका गाउँपालिकामा चुनावराउने जिम्मेवारी थियो निर्वाचन अधिकृत सन्तोष गिरीको । तर उम्मेदवारी मनोनयनको दिन अर्थात मंगलबार बिहान उनी कालिका गेस्ट हाउसमा खादाको पासो लगाएर झुण्डिएको अवस्थामा भेटिए ।
समयमै उद्धार गर्न सकिएकाले उनलाई हेलिकोप्टरबाट काठमाडौं ल्याई उपचार गराइँदैछ । निर्वाचन अधिकृत सन्तोष गिरीले आत्महत्या प्रयास गर्नुको कारण खुलेको छैन ।
उपमेयरका उम्मेदवारको नामै भेटिएन
माओवादी केन्द्रले मंगलबार बिहान मात्रै ललितपुर महानगरपालिकाको उपमेयरमा मञ्जली शाक्यलाई उम्मेदवार तय गरेको थियो । माला र खादा लाएर उनी हर्षोल्लासका साथ उम्मेदवारी मनोनयन गर्न निर्वाचन कार्यालयमा गइन् । तर मञ्जलीको खुसी धेरैबेर टिकेन । कर्मचारीले मतदाता नामावलीमा उनको नामै नभेट्टाएपछि खैलाबैला मच्चियो । पम्फा भुसालसहितको टोलीले केहीबेर नामावलीमा मञ्जलीको नाम खोज्यो । तर भेटिएन । सूचीमा नाम चढाएको भए पो भेटियोस् मतदाता नामावलीमा नाम नभेटिएपछि मञ्जली निराश बनिन् । र उनका ठाउँमा अर्की हँसिली युवती हसिना शाक्यलाई माओवादीले महानगरको उपमेयरमा उम्मेदवार बनायो ।
डीभीले टिकट खोस्यो जागिरले मेयर बन्न दिएन
रामेछापको मन्थली नगरपालिकामा कांग्रेसले तीन दिनअघि नै युवराज भट्टराईलाई मेयरको उम्मेदवार तोकेको थियो । तर अन्तिममा उनको अमेरिकन ग्रिनकार्ड रहेको पाइएपछि टिकट रद्द गरियो । डीभीवाला पछि हटेपछि मेयर बन्न तम्सिए, मन्थली क्याम्पसका पूर्वप्रमुख गुञ्जबहादुर श्रेष्ठ । कांग्रेस पार्टीले मंगलबार बिहान उनलाई मेयरको उम्मेदवार तोक्यो । तर उनको पनि मेयरको टिकट तीन घन्टा जतिमात्रै कायम रह्यो । श्रेष्ठ क्याम्पस प्रमुखमात्रै नरहेर मन्थली नगरपालिकाको कर्मचारी पदपूर्ति समितिको सदस्यसमेत रहेछन् । लाभको पद भएकाले राजीनामा नदिई उम्मेदवार बन्न नपाउने ऐनमा व्यवस्था भएकाले राजीनामा स्वीकृत गर्न बोर्ड बैठक बस्नुपर्ने हुन्थ्यो । तर बोर्डका पदाधिकारी मन्थलीमा नभएकाले उनको राजनीनामा स्वीकृत हुन पाएन । अन्ततः उनी पनि तीनघन्टे उम्मेदवार बने । अन्ततः कांग्रेसबाट मेयरको टिकट विनोद कार्कीले पाए ।

प्रतिक्रिया