मजदुरलाई थाहा छैन मजदुर दिवस

majdur

दमक । १ सय २८औं विश्व मजदुर दिवस मनाइरहँदा पूर्वी नेपालका वास्तिविक मजदुरहरूले अनभिज्ञता जनाएका छन् । दैनिक ज्यालादारीमा काम गरेर खाने वास्तविक मजदुरहरूलाई यो दिवसले छुन सकेको छैन । खोलाको बगरमा बालुवा चाल्ने, गिटी कुट्ने तथा घर बनाउने वास्तविक मजदुरहरूलाई मजदुर दिवसले छुन सकेन । उनीहरू सोमबार पनि सदाझैँ बिहानै काममा निस्किए । उनीहरूलाई मजदुर दिवसको अत्तोपत्तो छैन, होस् पनि कसरी एकदिन काम गरेन भने साँझ कसरी छाक टार्ने भन्ने पीडाले सताउँछ । सरकारले आजको दिनलाई सरकारी बिदा दिए पनि आफ्नै पाखुरीको भरमा गुजार चलाउने मजदुरलाई त्यो सरकारी बिदा हर्ष न विस्मातको भएको छ । विभिन्न राजनीतिक दलहरूले विविध कार्यक्रमको आयोजना गरी यो दिवस मनाएका थिए ।
ठुल्ठूला होटलमा आयोजना गरिने कार्यक्रमले वास्तविक मजदुरलाई कहिले छुन सकेको छैन । त्यस्ता कार्यक्रम मजदुरका लागि अर्थहीन हुने गरेका छन् । झापा, मोरङ र इलामको संगमस्थल रहेको मावाँ खोलामा सदाझैँ दमक–३ की ६८ वर्षीय वृद्धा खडीमाया विश्वकर्मा बिहानै बालुवा चाल्न आइन् । उनलाई आज मजदुर दिवस भन्ने थाहा नै थिएन । उनले भनिन्, ‘हामीलाई के थाहा मजदुर दिवस भनेर, सधैँ यही खोलामा आएर गिटी चाल्छौँ, यो काम नगरिञ्जेलसम्म खान पनि पुग्दैन ।’ उनका चार जना परिवार विगत लामो सयदेखि यहीँ गिटी बालुवा चाल्दै दैनिकी चलाउँदै आएका छन ्। उनी भन्छिन्, ‘हामी घरमा रहेका चार जना यहाँ काम गर्न आउँछौँ, पति हलो जोत्न जानुहुन्छ, दुई दिनमा गिटी एक ट्याक्टर बनाउँछौँ र दुई हजार दुई सयमा बेच्छौँ र बालुवा सात सयमा बेच्छौँ ।’ खेती गर्ने जग्गा नभएका कारण यो काम नगरेसम्म खानसमेत नपुग्ने उनी बताउँछन् । उनी भन्छिन्, ‘सुकुमम्बासी टोलमा घर छ, खेती पनि छैन, यो काम नगरे के गरेर खानु र ?’ सोही खोलामा मजदुरी गर्न आएका इलाम चुलाचुली–९ का कुमार दर्जीले भने मजदुर दिवस भएको थाहा भए पनि काम नगरी खान नपुग्ने भएकाले यहाँ अरूबेला जस्तै आज पनि आएको बताउँछन्, उनी भन्छन्, ‘मजदुर दिवस भनेर त थाहा छ नि तर, दिवस मनाउन थाल्यो भने बेलुका खाना खान नै पाइँदैन, त्यसैले काम गर्न आएको हुँ ।’ सरकारी कर्मचारीलाई मात्र दिवसहरू आउने उनी बताउँछन् ।
उनी भन्छन्, ‘मजदुर दिवस बनाउनु र नमनाउनु हाम्रा लागि एउटै हो, दिवस त सरकारी कर्मचारीका लागि मात्र हो, उनीहरूले दिवसको बाहानामा बिदा पनि पाउँछन्, बिदामा पनि सरकारी कर्मचारीले त तलब पाउँछन्, हामीले त जति गरे त्यति मात्र पाउँछौँ, बिहान उठेदेखि साँझसम्म काम गर्दा पनि राम्ररी खान पनि पुग्दैन ।’ यस्तै, मोरङ मिक्लाजुङ–७ का ६८ वर्षीय खड्गबहादुर राउतले पनि मजदुर दिवस अहिलेसम्म मनाएका छैनन् । कहिले मजदुर दिवस पर्छ थाहासम्म छैन उनलाई । उनी भन्छन्, ‘हामी बिहानदेखि बेलुकासम्म काम गर्नेलाई के थाहा मजदुर दिवस, मैले अहिलेसम्म मजदुर दिवस भनेर सुनेको छैन ।’ अरूको जस्तो बालुवा चाल्नेहरूको संगठन नभएकाले आपूmहरूले मजदुर दिवसबारे थाहा नपाएको उनी बताउँछन् । उनी भन्छन्, ‘हाम्रो संगठन पनि छैन, यो विषयमा छलफल पनि हुँदैन, त्यसैले मजदुर दिवस मनाएनौँ मजदुर दिवस त सहरका सुकिला मुकिलाले पो मनाउँछन् त हामी दिनभरी तातो घाममा काम गर्नेले के मजदुर दिवस मनाउनु र !’

प्रतिक्रिया